भर्खरै :

एमसीसीविरुद्ध चन्द्रागिरीमा विरोध प्रदर्शन

काठमाडौँ, २३ असार । अमेरिकी सहश्राब्दी चुनौती परियोजना (एमसीसी) सम्झौताको विरोधमा चन्द्रागिरी नगरपालिका काठमाडौँमा मङ्गलबार विरोध प्रदर्शन भयो । नेपाल मजदुर किसान पार्टी चन्द्रागिरी नगर समितिको आयोजनामा बलम्बुमा विरोध जुलुस र कोणसभा सम्पन्न भएको हो ।
कोणसभामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले संरा अमेरिकी साम्राज्यवादको निर्देशनमा हिन्द–प्रशान्त सैन्य गठबन्धनमार्फत विकासको नाममा सेना तैनाथ गर्ने रणनीति नै एमसीसी परियोजना भएको बताउनुभयो । अमेरिकी साम्राज्यवाद पुगेका देशहरूमा अमेरिकी सेनाले परेड खेलेको इतिहास हामीले बिर्सन नहुने उल्लेख गर्दै उहाँले सदन र सडकमा निरन्तर विरोध गरेर एमसीसी पारित हुन नदिने उल्लेख गर्नुभयो ।
नेमकिपा वैकल्पिक केन्द्रीय समिति सदस्य राजेन्द्र चवालले एमसीसी परियोजना अमेरिकी हिन्द–प्रशान्त रणनीतिकै अङ्ग भएकोले यसको विरोध गर्नुपरेको बताउनुभयो । उहाँले समाजवादी देश चीनको आर्थिक उन्नति रोक्ने दुष्प्रयासस्वरुप यो परियोजना अगाडि ल्याएको उल्लेख गर्नुभयो । समसामयिक विषयमा उहाँले अहिले विश्व नै कोभिड–१९ महामारीले थिलोथिलो परेको अवस्थामा सरकार सत्ता लुछाचुँडीमा अल्झनु लज्जास्पद भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समिति अध्यक्ष सविन ख्याजुले नेपालको संविधान र सार्वभौमिकतामाथि नै धावा बोल्नेगरी ल्याइएको एमसीसी सम्झौता खारेज गर्नुपर्नेमा जोड दिनुभयो । ८० भन्दा धेरै देशहरूमा अमेरिकी साम्राज्यवादले सेना तैनाथ गरेको चर्चा गर्दै उहाँले  लिविया, बोलिभिया, इरान, दक्षिण कोरियालगायतमा शान्ति तथा अमन चयन ध्वस्त गरेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा चन्द्रागिरीका सन्त महर्जन र रूपा थापा मगरले पनि बोल्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *