भर्खरै :

दक्षिण कोरियामा बढ्यो कोरोना सङ्क्रमित, मेलबोर्नमा कडा लकडाउन

सोल, २५ असार (सिन्ह्वा) । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढेको देखिएको छ ।
यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । गत २४ घण्टामा थप ५० मा कोरोना भेटिएको बताइएको छ । योसँगै यहाँका सङ्क्रमितहरूको सङ्ख्या १३ हजार १९३ जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तीमा ४० देखि ७० जना सङ्क्रमित थपिएका छन् ।
उनीहरूमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । पछिल्लो दुई दिनमा दुई व्यक्तिको मृत्यु भएपछि सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या २८७ जना पुगेको बताइएको छ । यहाँका सङ्क्रमितहरू बढीजसो चर्चमा गएका व्यक्तिहरूबाट भएका बताइएको छ । यहाँ निकै थोरै सङ्ख्यामा मात्र सङ्क्रमितहरू थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरू देशहरूको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो ।
अस्ट्रेलियाको मेलबोर्नमा छ हप्ते लकडाउन
कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबोर्नमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ ।
कोरोना भाइरस फैलिनेक्रम नरोकिएपछि अधिकारीहरूले शहरबासीलाई छ सातासम्म घरभित्रै बस्न आदेश दिएका छन् । भिक्टोरिया राज्यमा बिहीबार अरू १६५ जनामा सङ्क्रमण देखिएको थियो । यस राज्यमा अरू राज्यबाट हुने आवतजावतमा पूर्णरूपमा प्रतिबन्धसमेत लगाइएको छ ।
लकडाउनको सम्भावना रहेसँगै छिमेकी राज्य न्यू साउथ वेल्सबाट मानिसहरू बुधबार ठूलो सङ्ख्यामा भिक्टोरिया प्रवेश गरेका छन् । प्रहरीका अनुसार ३६ घण्टाभन्दा कम अवधिमा ३० हजारभन्दा बढी कार भिक्टोरिया प्रवेश गरेका छन् । यसबाट भिक्टोरियाका अरू क्षेत्रमा पनि कोरोनाभाइरसको संक्रमण अरू बढ्ने खतरा औंल्याइएको छ ।
न्यू साउथ वेल्सका प्रमुख ग्लाडिज बेरेजीक्लियानले सीमावर्ती शहर अल्बरीमा दुई जना नयाँ सङ्क्रमित भेटिएको जनाउँदै अन्य राज्यको भ्रमण गर्दा विशेष सावधानी अपनाउन चेतावनी दिनुभयो ।
क्विन्सल्यान्ड राज्यले पनि बिहीबार भिक्टोरियाबाट हुने आवागमनलाई निषेध गरिएको घोषणा गरेको छ । क्विन्सल्यान्डले यसअघि अन्य राज्यबाट आउने यात्रुलाई १४ दिन क्वारेन्टाइनमा बस्नैपर्ने नियम पनि हाल स्थगित गरेको जनाएको छ । मेलबोर्नमा लकडाउनका कारण उत्पन्न हुनसक्ने आर्थिक तथा मानसिक स्वास्थ्यमाथिको असरका बारेमा चासो र चिन्ता व्यक्त हुन थालेको छ । अधिकारीहरूका अनुसार यस लकडाउनबाट राज्यमा करिब ४ अर्ब २० करोड डलर बराबरको आर्थिक क्षति हुनेछ ।
मेलबोर्नमा रेस्टुराँ र क्याफेहरू आंशिक खुल्न दिइने छ, तर जिम, सौन्दर्य सैलुन र चलचित्र प्रदर्शनमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ । आम मानिसलाई घरभित्रै बस्न भनिएको छ, तर कार्यालयका काम, शारीरिक अभ्यास, स्वास्थ्य सेवा वा अत्यावश्यक सामान खरिद गर्नेगरी काममा निस्कन दिइने छ । सरकारले कडा नियम घोषणा गरे पनि धेरैजसो मानिसले प्रतिबन्धहरूको स्वागत गरेका छन् ।
मेलबोर्नमा सरकारी स्वास्थ्य अधिकारीहरू मानिसको स्वास्थ्य परीक्षणका लागि अहिले घरघरमा पुगेका छन् । अस्ट्रेलियामा हालसम्म कोभिड–१९ बाट करिब ९ हजार व्यक्तिमात्र सङ्क्रमित भएका र १०६ जनाको मृत्यु भएको छ । भिक्टोरिया राज्यबाहेक अस्ट्रेलियामा ज्यादै न्यून सङ्ख्यामा सङ्क्रमित भेटिएका छन् । अधिकांश सङ्क्रमित व्यक्तिहरू विदेशबाट फर्किएका र होटलमा क्वारेन्टिनमा बसेकाहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *