भर्खरै :

एसियामा गार्मेन्ट उद्योगका हजारौँ कामदार रोजगारविहीन

वासिङ्टन, २८ असार (एएनआई) – कोरोना भाइरसका कारण एसियाका तयारी पोशाक (गार्मेन्ट) उद्योगमा कार्यरत हजारौँ कामदार रोजगारविहीन भएका छन् । खासगरी बेरोजगार हुनेहरूमा महिला बढी छन् ।
उत्तर अमेरिका र युरोपका ठुला एवम् व्यापक सञ्जाल रहेका स्टोरहरू कोरोना भाइरसका कारण बन्द भएकाले त्यसको असर एसियाली गार्मेन्ट उद्योगमा परेको हो ।
वालस्ट्रिट जर्नलका अनुसार एसियाका धेरैवटा विकासशील मुलुकहरूमा रहेका कारखानाले टीसर्ट, ट्राउजर उत्पादन गरिरहेका थिए, जसबाट लाखौँ मानिसले रोजगारी पाएका थिए । तर कोरोना भाइरसका कारण पश्चिमा मुलुकका ठुला ब्रान्डहरूले अर्बौं डलर बराबरका सामानको अर्डर रद्द गरिदिएका छन् । स्वेटर र जिन कपडाका सामान खरिद गर्ने ग्राहकसमेत नभेटिएको अवस्था सिर्जना भएको छ ।
परिणामस्वरूप, नोमपेन्ह, ढाका र याङ्गुनसमेतका सयौँ कारखाना बन्द भएका छन् । हालैका महिनामा बग्दाद, भियतनाम र म्यान्मार एसियाका सर्वाधिक असर परेका मुलुक भएका छन् । यहाँ मानिसहरू कारखाना बन्द भएका कारण गाउँ फर्कन बाध्य भएका छन् ।
जर्नलले म्यान्मारकी एक २२ वर्षीया जिन मार ऊ को कथा छापेको छ । दक्षिण कोरियाका व्यापारीको स्वामित्वमा रहेको म्यान्मारस्थित कारखाना गत अप्रिलमा बन्द भएपछि उनी बेरोजगार बनेकी छिन् । कारखानाका मालिक अहिले बेपत्ता छन् भने कारखाना खुल्ने वा बन्द हुनेबारे आफूहरूलाई केही थाहा नभएको उनको भनाइ छ ।
ऊ ले याङ्गुन नजिकैको कारखानामा काम गरेबापत मासिक १५५ अमेरिकी डलर कमाउँथिन् । उनको कमाइबाट आमाको हेरचाह गर्न र परिवारको ऋण तिर्न मद्दत गरिरहेको थियो ।
विश्वभर नै गार्मेन्ट उद्योगमा कोरोना भाइरसको सङ्क्रमण देखिनु अघि नै सङ्कट देखिन थालेको थियो । बङ्गलादेशको विशिष्ट गार्मेन्ट उद्योग समूहकी अध्यक्ष रूबाना हकले विगतकै अवस्थामा गार्मेन्ट उद्योग फस्टाउने सम्भावना कम रहेको बताउनुभयो ।
यसैबीच, तयारी पोशाकको कारोबार गर्ने जेसी पेन्नी कम्पनी, निम्यान मार्कस ग्रुप र जे क्रु ग्रुरूपले हालैमात्र बन्द गर्न आवेदन दिइसकेका छन् ।
कतिपय पश्चिमा कम्पनीहरू युरोपका लागि आफ्ना कारखाना टर्की, पूर्वी युरोप र उत्तर अफ्रिका सार्दै छन् भने अमेरिकी बजारका लागि मेक्सिकोतर्फ कारखाना स्थानान्तरण हुन लागेका छन् ।
सीमित पूर्वाधार र अदक्ष कामदार रहेका कतिपय मुलुकका लागि गार्मेन्ट उत्पादन मुख्य आर्थिक इन्जिन रहेको छ । कार वा स्मार्टफोनमा झैँ लुगा सिलाउने मेसिन चलाउन धेरै ठुलो शिक्षा वा तालिम आवश्यक पर्दैन । त्यसैले पश्चिमा मुलुकको सस्ता कपडाको मागलाई यी मुलुकले सहजै धान्न सक्नेछन् ।
तयारी पोशाकले बङ्गलादेशको कुल निर्यातको करिब ८५ प्रतिशत आर्जन गर्दछ । यहाँ करिब ४० लाख मानिस गार्मेन्टमा काम गर्दछन् । कम्बोडियाका पाँच घरमध्ये एउटा घरमा कम्तीमा एक जना गार्मेन्टमा काम गर्ने व्यक्ति छन् । यस देशको ७५ प्रतिशत निर्यात यही तयारी पोशाक हो । कम्बोडियाली गार्मेन्ट कारखानामा तयारी पोशाक, जुत्ता चप्पल र ट्राभेल सामान उत्पादन हुन्छ । विश्व व्यापार सङ्गठनका अनुसार भारत र भियतनाम पनि गार्मेन्ट निर्यातक ठुला राष्ट्र हुन् ।
एसियाली विकास बैङ्कको अनुमानअनुसार विकासशील एसियाको आर्थिक वृद्धिदर यस वर्ष ०.१ प्रतिशतमात्र हुनेछ । विश्वव्यापी रूपमा कोरोना भाइरसका कारण १० करोड मानिस यस वर्ष गरिबीको चक्रमा हुनेछन् अर्थात् उनीहरूको आय प्रतिदिन १.९० अमेरिकी डलरभन्दा मुनि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *