भर्खरै :

प्रधानमन्त्रीको सन्दर्भहीन अभिव्यक्ति

पहिरोले छियाछिया बनाएको जाजरकोटका जनताले आफ्नो जीउज्यानको रक्षाको जिम्मेवारी लिएका प्रधानमन्त्री काठमाडौँमा रामायणको गफ चुटिरहेको कुरा सायदै कल्पना गर्लान् । भारतले बनाएको बाँधको कारण हरेक वर्षजस्तै यो वर्ष पनि डुबानमा परेको सप्तरी जिल्लाको तिलाठीका जनताले सीमावर्ती बाँध र तटबन्ध भत्काउन पहल गर्नुको सट्टा बालुवाटारमा प्रधानमन्त्री पौराणिककालीन साहित्यको पात्र कहाँ जन्मे र कहाँ विवाह गरे भन्ने विषयमा प्रवचन दिइरहेका छन् भन्दा सायद पत्याउन गाह्रो होला । सिन्धुपाल्चोक र म्याग्दी जिल्लामा गएको पहिरोको कारण आफ्नो धनजन गुमाएका जनतालाई आफ्नो घाउमा मल्हम दल्ने दायित्व बोकेका प्रधानमन्त्री अयोध्या कहाँ छ भन्ने विषयमा असान्दर्भिक तर्क गरिरहेका छन् भन्ने सुन्दा उनीहरूको आहत अझ बढ्नेछ सायद । विडम्बना ¤ नेपाली जनता यही नियति भोग्न बाध्य छन् ।
प्रथमतः जनता सयौँ अरू समस्यासँग लडिरहेको बेला प्रधानमन्त्रीले यस्ता बिनाअर्थका कुरा गरेर जनताको ध्यान अन्यत्र मोड्न खोजिरहेका छन् । अझ प्रस्टरूपमा उनी आफ्ना असफलता छोप्न रामायणको सहारा लिइरहेका छन् । झन्डै चार महिना लामो लकडाउनपछि किन देशको राजधानी नै अहिले कोभिड–१९ सङ्क्रमणको केन्द्र बन्दै छ ? किन कोभिड–१९ को परीक्षण प्रभावकारी र व्यापक बनाउन सरकार असफल छ ? सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित भारतले मिचेका भूभागसहित नेपालको नयाँ नक्सा जारी ग¥यो । तर, भारतीय सिमाना रक्षा बलले सीमामा तैनाथ सशस्त्र प्रहरीलाई कालापानीको भूमिसमेत टेक्न दिएनन् । नेपालले जारी गरेको नक्साप्रति भारतले असहमतिको कूटनीतिक नोट पठायो । यो विषयमा सरकारले के गरिरहेको छ ? नक्सा जारी गर्नु मिचिएको भूमि फिर्ता गर्ने प्रारम्भिक पाइला हो । यतिमै आत्मरति गरेर बस्ने अवस्था होइन । देश आर्थिक मन्दीको दैलोमा पुगिसक्दा पनि त्यसको प्रतिरोधको लागि सरकारले के ग¥यो ? यस्ता प्रश्नको थुप्रोलाई पन्छाउन प्रधानमन्त्री अर्को बेतुकको कुरा गरेर जनतालाई अलमल्याउने पासा फालेका छन् ।
दोस्रो कुरा, रामायण र महाभारतका कथासँगै जोडिएका दक्षिण एसियाली देशमा अनगिन्ती ठाउँ छन् । बाल्मिकीले रामायण कहाँ लेखे, कहाँ साफी गरे, उनी कहाँ कहाँ गए भन्ने विषयमा अनगिन्ती अनुमान र कथा छन् । महाभारतका पात्रहरूकै सन्दर्भमा पनि यस्ता धेरै ठाउँ छन् । ती स्थानमध्ये कति स्थानको नामकरण जनताको आस्थाबाट पनि निःशृत भएका छन् । कति ठाउँका आफ्नै अलग कथा छन् । तर, त्यसको प्रमाणिकता भने अझै खोजीकै विषय छ । यसप्रकार अप्रमाणिक कुरा सार्वजनिक पदमा बसेका व्यक्तिले मनोगतरूपमा बोल्नु शोभनीय छैन । प्रमाणको आधारमा नबोल्दा प्रधानमन्त्रीको व्यक्तिगत छविमात्र होइन, पदको मर्यादासमेत कायम रहन्न । प्रधानमन्त्री ओलीले यसअघि पनि धेरै यस्ता बेतुकका कुरा गर्दा उनी हाँसोको पात्र बनेका थिए । तथापि, कुर्सीमा बसेर बोल्दा जे पनि ठीक हुने ओली चिन्तनले देशलाई सही स्थानमा पु¥याउँदैन । कोही पनि व्यक्ति सबै विषयका ज्ञाता हुनसक्दैन । राष्ट्रपति र प्रधानमन्त्री हुँदैमा कोही पनि व्यक्ति चामत्कारिकरूपमा सर्वज्ञाता हुनसक्दैन । बरु पदमा बसेका व्यक्तिहरूले सम्बन्धित क्षेत्रका विज्ञहरूका कुरा सुनेर सही र देशहितको पक्षमा लाग्नु बुद्धिमानी हो । पदाधिकारीहरू अध्येताहरूलाई अनुसन्धानको निम्ति प्रोत्साहित गर्नुपर्छ । विज्ञ अध्येता एकातिर अनि शासक अर्कोतिर हुँदा सही बाटो कदापि पहिल्याउन सक्दैनौँ । प्रधानमन्त्रीका अभिव्यक्ति उनकै लागि भारी हुने गरी आउनु शोभनीय होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *