भर्खरै :

खोकनामा किसान सङ्घर्ष जारी

ललितपुर, ३ साउन । फास्टट्रयाक बनाउने निहुँमा खोकना र बुङ्गमतीका किसानको सहमतिबिना सरकारले कब्जा गरेको जग्गामा रोपाइँ गर्ने काम शनिबार पनि भयो । सिकाली मन्दिरको चौरमा भेला भई बाजागाजाका साथ ‘फास्ट ट्रयाक चाहिँदैन, जनता भोकै मार्न पाइँदैन’ भन्ने जस्ता नारा लगाउँदै खुडोल फाँटमा पुगेका किसानले बाँझो जग्गामा रोपाइँ गरेका थिए ।
अन्यायपूर्ण जग्गा अधिग्रहणको विरुद्धमा खोकना र बुङ्गमतीका किसानको सङ्घर्षमा ऐक्यबद्धता जनाउन उपत्यकाका तीनै जिल्लाबाट उल्लेख्य सङ्ख्यामा किसानहरू खोकना पुगेका थिए ।
यसअघि असार १५ र २० गते प्रहरी प्रशासनको अवरोधबीच रोपिएको धान सप्रिएर खेत हरियो भएकोमा किसानहरू सन्तुष्ट देखिए । उक्त रोपाइँ कार्यक्रममा भने प्रहरी प्रशासन उपस्थिति देखिएन ।
जनसरोकार समिति बुङ्गमतीका सचिव महेन्द्र ब्रम्हचार्य, जनसरोकार समिति खोकनाका उपाध्यक्ष कृष्णभक्त डङ्गोल, अष्टराज महर्जन र कृष्णशरण डङ्गोलले पनि बोल्नुभएको थियो ।
रोपाइँ सकिएपछि आयोजित कोणसभामा जनसरोकार समिति, खोकनाका अध्यक्ष नेपाल डङ्गोलले विकासको नाममा स्थानीय जनताको उठिबास गर्न खोजिएको भन्दै सम्पदा, संस्कृति संरक्षण विकास सँगसँगै जानुपर्ने बताउनुभयो । खोकनाका जनताले आफ्नो भूमिलाई प्राण रहेसम्म नछोड्ने बताउँदै उहाँले अनधिकृतरूपमा सो क्षेत्रमा बसेको सैनिक व्यारेक हट्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *