युद्धले रूसलाई तहसनहस गरेको थियो । अन्नको नाममा खालि एकचौथाइ पाउन्ड रोटी पाइन्थ्यो । त्यसले नास्ता पनि पुग्दैनथ्यो । दिनमा नुनिलो माछाको सुप खाएर सन्तोष मान्नुपथ्र्यो । मजदुर परिवारहरूको मात्र होइन, यहीँ स्थिति जनकमिसारका सदस्यहरूको पनि थियो । लेनिन पनि यसरी नै बाँच्थे, त्यति नै रासन पाउँथे ।
लेनिनले प्रत्येक दिन परिषद्को बैठक बोलाउँथे । काम धेरै थियो र कुनै काम पछि गरौँला भन्ने खालका उनी थिएनन् । सबैभन्दा जल्दोबल्दो समस्या थियो भोकमरी । अकालका कारण पेत्रोग्रादमात्र होइन सबै सहरहरू पीडित थिए । रूसमा अन्न नभएको पनि होइन । साइबेरिया र भोल्गा प्रदेशमा पर्याप्त अन्न थियो । गाउँमा गई अन्न जम्मा गरी पीडित सहरहरूमा पठाउन आवश्यक थियो । तर यो काम पटक्कै सजिलो थिएन । रेल यातायात अस्तव्यस्त थियो । यसको अर्थ, पहिला रेलमार्ग मर्मत गर्नुपथ्र्यो । सहरमा, घरमा जाडोबाट बच्न दाउरा र कोइलाको अभाव थियो । यसको लागि पनि रेलमार्ग ठीक गर्न जरुरी थियो । तर, मुख्य समस्या के थियो भने प्रत्येक स्थानमा तोडफोड र कालोबजारी गर्ने मानिसहरूको ताँती थियो । कालाबजारी गर्नेहरू जनताको अभावबाट फाइदा उठाउन तल्लीन थिए र तोडफोड गर्नेहरू क्रान्तिको जरा काट्न व्यस्त थिए । बुर्जुवा वर्ग उनीहरूको साथमा थियो ।
बुर्जुवा वर्ग सोभियत सत्तालाई देखिसहँदैनथ्यो । जर्मन सरकारले सोभियत सरकार उल्टाउनेछ भन्ने उसलाई आशा थियो । बुर्जुआ वर्गका मानिसहरू जर्मनीले जितेको सपना देखिरहन्थे ।

जनतासँग लेनिन
यस्तो स्थितिमा लेनिनसामु चिन्ताको पहाड हुनु स्वाभाविक थियो । जर्मन सेना अझै पनि धेरै बलशाली थियो । यता रूसी अर्थात् पुरानो जारशाही सेना नराम्रोसँग तहसनहस भएको थियो । अफिसरहरू सेना छोडेर भागेका थिए । सिपाहीँहरू घर फर्किन आतुर थिए । मातृभूमिमाथि गम्भीर खतरा मडारिइरहेको थियो ।
“के गर्ने होला ?” लेनिन सोच्थे । उनले बारम्बार जनकमिसार परिषद्को बैठक बोलाउँथे । बैठकमा अब के गर्दा उपयुक्त होला भनी उनी विचार–विमर्श गर्थे ।
“साथीहरू, हामीले शान्तिसम्बन्धी अध्यादेश जारी गरेका छौँ । यसको अर्थ हो, हामीले जर्मनीसँगको लडाइँ अन्त्य गर्नुपर्छ,” लेनिनले भने ।
जनकमिसार परिषद्ले जर्मनसामु शान्ति प्रस्ताव राख्यो । जर्मनहरू सहमत भए । तर, जुन–जुन इलाकामाथि उनीहरूको अधिकार थियो, त्यसलाई नछोड्ने सर्तमा उनीहरू सहमत भएका थिए ।
“के गर्ने, मान्नु नै प¥यो । अर्को कुनै विकल्प छैन,” लेनिनले भने ।
दोस्रो विकल्प साँच्चिकै थिएन । जनता युद्ध र बर्बादीले हैरान थिए । जनता शान्तिपूर्वक बस्न र मिहिनेत गरी हातमुख जोर्न चाहन्थे ।
पार्टीको केन्द्रीय समितिका बैठकमा पनि जर्मनीसँगको शान्तिबारे धेरै विचार–विमर्श भयो । युद्ध समाप्त गर्न अत्यावश्यक छ र यस कार्यमा ढिलो गर्नु उचित हुँदैन भनी लेनिनले भनेका थिए । सोभियत जनतन्त्र बचाउन हामीले जस्तोसुकै बलि दिन, जस्तोसुकै सर्त मान्न तयार हुनुपर्छ । जुनसुकै मूल्यमा भए पनि सोभियत सत्तालाई मजबुत बनाउनु छ, मजदुर–किसानहरूको नयाँ सेनाको निर्माण गर्नु छ, अर्थव्यवस्था नियमन गर्नु छ ।
सबै सदस्यले लेनिनको समर्थन गर्दा हुन् त कति जाती हुन्थ्यो ¤ तर यस्तो भएन । केन्द्रीय समितिका सदस्यहरूबीच गम्भीर मतभेद पैदा भयो । कमजोर र ढुलमुले सदस्यहरूले लेनिनको शान्ति प्रस्तावको विरोध गरे र भने, “यसको अर्थ साम्राज्यवादसामु, लुटेराहरूसामु घुँडा टेक्नु बराबर हो । हामी यस्तो लुटपाटे शान्तिमा कहिल्यै सहमत हुँदैनौँ ।”
रूस कति भयावह र विपत्तिको सङ्घारमा छ भनी उनीहरूले बुझेका थिएनन् । शान्ति सम्झौतामा हस्ताक्षर नभए सङ्कट अनिवार्य थियो ।
लेनिनले यी सब कुरा बुझेका थिए । यसकारण उनी अति चिन्तित थिए ।
“साथीहरू, हामी हानिनोक्सानी र भोकमरीको जञ्जालमा जेलिएका छौँ । हामीमा तागत पनि बाँकी रहेन । सोभियत जनतन्त्रलाई बचाउन जरुरी छ । तबमात्र हामीले सास लिने समय पाउनेछौँ र केही सोच्ने फुर्सद पाउनेछौँ ।”
अन्ततः लेनिन साथीहरूलाई आफ्नो कुरा मनाउन सफल भए ।
सोभियत सरकारले जर्मन जनरलहरूसामु पुनः एक प्रतिनिधिमण्डल पठायो । त्यसको नेता त्रोत्स्की थिए । उनी पनि जनकमिसार थिए ।
तर त्रोत्स्कीले लेनिनको आदेश उल्लङ्घन गरे । केन्द्रीय समिति र सोभियत सरकारले जर्मन कमानसँग शान्ति दस्तावेजमा हस्ताक्षर गर्ने फैसला गरेको थियो । कुनै पनि हालतमा शान्ति स्थापित गर्नुपर्छ भन्ने तय भएको थियो ।
तर त्रोत्स्कीले गरे के ? उनले शान्ति दस्तावेजमा त हस्ताक्षर गरेनन् नै । त्यसमाथि रुसको तर्फबाट युद्धबन्दको घोषणा गरे । रुसका सिपाहीँहरू मोर्चा छोडेर घरतिर फर्किन थाले । मोर्चा रित्तिन थाल्यो । जर्मन फौजहरू निर्वाधरूपले रूसभित्र, झन् भित्र घुस्न थाले । उनीहरू राजधानीनजिकै आए । पेत्रोग्रादमा खतरा पैदा भयो । जर्मनहरू राजधानी नै कब्जा गर्न त चाहँदैनन् ? क्रान्ति नै अन्त्य हुने त होइन ?
बुर्जुआ वर्गका मानिस, चोरीचकारी गर्ने र व्यापारीहरू यसैको प्रतीक्षा गरिरहेका थिए । पछि नामेट पार्नुपर्ने व्यक्तिहरूको सूची उनीहरूसँग थियो । तिनमा लगभग सबैजना बोल्शेभिक र मजदुरहरू थिए ।

क्रेमलिनमा लेनिन
त्रोत्स्कीले जर्मन साम्राज्यवादी र बुर्जुवाहरूको सेवा गरे । त्रोत्स्कीले रूसमा कम्युनिस्टहरूको जुुझारु पार्टी निर्माण गर्नमा पहिला पनि बाधाअड्चन उत्पन्न गरेका थिए । लेनिन र लेनिनवादीहरूको विरोधमा थरीथरीका गुट बनाएका थिए ।
केन्द्रीय समिति र जनकमिसार परिषद्को बैठक फेरि हुनथाल्योे । स्मोल्नीमा दाउरा थिएन । हल असाध्यै चिसो थियो । केन्द्रीय समिति र परिषद्का सदस्यहरूले ओभरकोट लगाएर बैठकमा भाग लिन्थे, कलर उठाइराख्थे । बाहिर फेब्रुअरी महिनाको आँधीबेहरी सोस्साइरहन्थ्यो ।
“यो अति नै तीतो र अपमानजनक शिक्षा हो ¤” लेनिनले भने ।
“समाजवादी मातृभूमि खतरामा छ ¤” जनकमिसार परिषद्ले जनतालाई आह्वान ग¥यो । “मजदुर–किसान साथीहरू ¤ मातृभूमिको रक्षा गर्न एकजुट हुनुस् ।”
सहर, गाउँ र मजदुर बस्तीहरूबाट हजारौँ स्वयम्सेवकहरू जनकमिसारहरूको परिषद् र लेनिनको अपिल सुनेर अगाडि आए । एउटा नयाँ सेना गठन भयो । यो लालसेना थियो । यो सोभियत सेना थियो । यो जर्मन सैनिकहरूसँग जुध्न थाल्यो । तिनीहरूलाई अगाडि बढ्न दिइएन ।
यो फेब्रुअरी १९१८ को कुरा हो । त्यसैबेलादेखि प्रत्येक वर्ष फेब्रुअरी २३ तारिखमा सोभियत सेनाको स्थापना दिवस मनाइन्छ । यस सेनाले अनेक पटक शत्रुहरूबाट हाम्रो रक्षा गरेको छ र भोलिका दिनमा पनि सधैँ गर्नेछ ।
लालसेनाको कठोर जवाफ पाएर जर्मन जनरलहरू शान्तिको लागि सहमत भए । अब भने यो सम्झौता अझ बढी हानिकारक भएको थियो । जर्मनहरूले हाम्रा अन्य भू–भागहरू पनि कब्जा गरिसकेका थिए । त्यसमाथि उनीहरूले क्षतिपूर्तिको माग गर्नथाले । पार्टीको सातौँ सम्मेलनले युद्ध र शान्तिको बारेमा जनकमिसार परिषद्का अध्यक्ष लेनिनको रिपोर्ट सुन्यो र त्यसको अनुमोदन ग¥यो ।
केही महिनापछि जर्मनीमा पनि क्रान्ति भयो र असमान सम्झौता रद्द भयो ।
“हाम्रा इल्यीच एकदम दूरदर्शी छन् ¤” मजदुरहरूले मुक्तकण्ठले लेनिनको प्रशंसा गरे ।
मस्को, मस्को !
मार्च महिनाको साँझ । पेत्रोग्रादको बाहिरी इलाकामा निकोलाएभ्स्की लाइनको स्वेतोच्नाया प्लोश्चादका नामक सानो स्टेसनमा गाडी रोकिएको थियो । प्लेटफर्ममा सैनिक गार्डहरूले पहरा दिइरहेका थिए । गाडीसँगै लाटभियाली बटालियनका सैनिक उभिएका थिए । इन्जिनको अगाडि राखिएको मेसिनगनले रातको अँध्यारो चिरिरहेको थियो ।
एउटा डिब्बानिर मझौलो कदको, चस्मा र छालाको ज्याकेट लगाएको व्यक्तिले लामो फौजी ओभरकोट लगाएको व्यक्तिसँग कुरा गरिरहेको थियो ।
“प्रतिक्रान्तिकारीहरूलाई यस गाडीबारे थाहा छैन भन्नेमा हजुर ढुक्क हुनुहुन्छ त ?” स्वर्दलोभले झेर्जिन्स्कीलाई सोधिरहेका थिए ।
“थाहा भएको हुनसक्छ । तर कहाँबाट छुट्छ र कुन बाटो जान्छ, त्योचाहिँ थाहा छैन ।”
“मुख्य स्टेसनबाट नहिँडाली गाडीलाई सानो स्टेसनबाट हिडाल्ने चलाखीले हामीलाई सम्भावित घटनाबाट बचाउला भन्ने आशा छ,” स्वर्दलोभले भने ।
“प्रतिक्रान्तिकारीहरूले विस्फोटको तयारी गरेका थिए । तोडफोड गर्ने षड्यन्त्र हरेक दिन बाहिर आउँछ,” झेर्जिन्स्कीले जवाफ दिए ।
स्वर्दलोभले जस्तै झेर्जिन्स्कीले पनि जारको शासनमा अनेक पटक जेल, निर्वासन र कालापानीको सजाय भोग्नुपरेको थियो ।
अक्टोबर, १९१७ मा उनले लेनिन र पार्टी केन्द्रीय समितिका अन्य सदस्यहरूसँग मिलेर अक्टोबर क्रान्तिको नेतृत्व गरेका थिए । क्रान्तिपछि लेनिनको सुझावमा उनलाई प्रतिक्रान्तिकारीहरूविरुद्ध सङ्घर्ष गर्न गठित अखिल रूसी असाधारण आयोग (चेका) को अध्यक्षमा नियुक्त गरियो ।
झेर्जिन्स्कीको नम्रताबारे सबैलाई थाहा थियो । उनी क्रान्तिका दुश्मनहरूप्रति अत्यन्त निर्मम छन् भन्ने पनि सबैलाई थाहा थियो । झेर्जिन्स्कीलाई बच्चाहरूप्रति अगाध माया थियो । सोभियत सत्ताले आम जनताका निम्ति सुखी जीवन निर्माण गर्नेछ भन्नेमा उनलाई अटल विश्वास थियो । क्रान्ति, पार्टी र जनताको निम्ति उनी एकक्षण पनि विश्राम नगरी रातदिन काममा लागिरहन्थे ।
त्यसैबेला प्लेटफर्ममा केही मानिसहरू देखापरे । लेनिन लमकलमक लम्किँदै आइरहेका थिए । उनको पछिपछि क्रुप्सकाया आइरहेकी थिइन् । उनको हातमा चारखाने बुट्टा भएको बाक्लो ऊनीको लुगा थियो ।
सबैजना डिब्बामा चढे । इन्जिनले सिट्ठी बजायो । लाटभियाली बटालियनका सिपाहीहरू उफ्रेर डिब्बाका पाइदानमा उभिए ।
गाडी बत्ती निभाएर गुड्न थाल्यो ।
झ्यालनिर अलिकति भाँँचिएको टेबलछेउ बसेर लेनिनले झोलाबाट केही कागज निकाले र केही समयअघि लेखेको लेख दोहो¥याउन थाले । त्यसमा उनले लेखेका थिए – हामी आफ्नो क्रान्तिलाई सफल र रूसलाई समृद्ध बनाएरै छोड्नेछौँ ।
रूस शत्रुहरूले घेरेका थिए । प्रतिक्रान्तिकारीहरूले रूसविरुद्ध षड्यन्त्रका तानाबाना बुनिरहेका थिए । तर हामीले आफ्नो समाजवादी मातृभूमिलाई महान् तुल्याउने छौँ भन्नेमा लेनिनलाई पूर्ण विश्वास थियो । क्रान्तिकारी शक्ति बढिरहेको थियो ।
गाडीमा सवार सबै सुतेका थिए । ड्रात्रले वसन्तको रातको अँध्यारोमा सावधानीपूर्वक इन्जिनलाई अगाडि बढाइरहेका थिए । लाटभियाली बटालियनका सैनिक ढोकामा उभिई पहरा दिइरहेका थिए । लेनिन मैनबत्तीको मधुरो उज्यालोमा भोलिको पत्रिकाको लागि लेख लेखिरहेका थिए ।
उनको सामुन्ने नाजेज्दा कोन्स्तान्तिनोभ्ना हत्केलामा गाला राखी चुपचाप सुतिरहेकी थिइन् । लेनिनले सावधानीपूर्वक उनलाई चारखाने बुट्टा भएको कम्बल ओढाए । यो कम्बल आमाले मन्याशासँगै स्टकहोम आउँदा उनलाई भेट दिनुभएको थियो । यो आमाको चिनो थियो ।
११ मार्च, १९१८ को साँझ । विशेष गाडी सोभियत सरकारका सदस्यहरू लिएर सकुशल मस्को पुग्यो । प्रतिक्रान्तिकारीहरूले तोडफोड गर्ने कुनै मौका पाएनन् । लेनिन, अखिल रूसी केन्द्रीय कार्यकारिणी र जनकमिसार परिषद्ले पेत्रोग्राद छोडी दिए । अबदेखि मस्को सोभियत देशको राजधानी बन्यो ।
सुरुमा लेनिन, क्रुप्सकाया र मरिया इल्यीनिच्ना क्रेमलिनमा होटल ‘नेसनल’ मा बसे । चाँडै नै सारा जनकमिसारहरूको परिषद् क्रेमलिनमा बस्ने र काम गर्ने निक्र्योल भएको थियो । पेत्रोग्राददेखि आएको दोस्रो दिन लेनिन र क्रुप्सकाया मस्को घुम्न र क्रेमलिनका सबै ठाउँ हेर्न निस्किए । साथमा उनका पुराना मित्र वोँच–ब्रुएभिच पनि थिए । उनी जनकमिसार परिषद्को प्रबन्धसम्बन्धी मामिलाका प्रभावशाली अधिकारी थिए, यसकारण क्रेमलिनमा बस्ने र काम गर्ने परिपाटी मिलाउने जिम्मा उनैको थियो ।
अक्टोबरमा क्रेमलिनमाथि युन्करहरूले कब्जा जमाएका थिए । यहाँदेखि उनीहरूले तोपका गोला बर्साउँथे । घमासान युद्ध भएको थियो । तर, क्रान्तिकारी सेनाले स्वेत गार्ड र जारशाही चाकरहरूलाई प्राचीन क्रेमलिनबाट बाहिर खेदेका थिए ।
१९१८ सालको वसन्त । लडाइँपछि क्रेमलिन उजाड थियो । धेरैजसो भवनहरू गोलाबारुदले वा आगोले खण्डहर भएका थिए । ठाउँ–ठाउँमा फुटेका इँटा र सिसाका थुप्रा लागेका थिए ।
लेनिन र क्रुप्सकायाले मैदान पार गरे । सामुन्ने शाही घन्ट प्रहरीजस्तै उभिएको थियो । यो सुन्दर, तामाको घन्ट पुरानो युगका कुशल मजदुरहरूका हातले कुँदिएको थियो । शाही तोप, क्रेमलिनका प्राचीन पर्खाल र सुन्दर गगनचुम्बी भवनहरूले पनि उनीहरूको कुशल कालिगडीको प्रमाण दिइरहेका थिए । क्रेमलिनका हरेक चीजले परिकथाहरूले याद दिलाउँथ्यो, हरेक चीज प्राचीन र इतिहासका साक्षी थिए ।
लेनिनले केही सोच्दै पर दृष्टि दौडाए । क्रेमलिनको डाँडादेखि मस्कोको मनमोहक दृश्य देखिइरहेको थियो । फेरि उनी मन्द मुस्कुराए ः
“सलाम छ मस्को तिमीलाई !”
नेपाली अनुवादः माधव अधिकारी
Leave a Reply