भर्खरै :

ट्रम्प – एक नकारात्मक राष्ट्रपति

अभिभावक साथीहरू,
काठमाडौँ, नेपाल
नेपाल, भारत, पाकिस्तान बङ्गलादेश एवम् श्रीलङ्कामा पनि केही अभिभावकहरू ‘राजनीति फोहरी खेल हो’, ‘जुत्ता खाने र जुत्ता हान्नेहरूको खेल हो’, ‘गुन्डा, ठग, ठेकेदार, कालाबजारी, घर–जग्गाका दलालहरूको कारोबार हो’, ‘नेपाली युवाहरूलाई विदेशमा दासजस्तै बेच्ने दास व्यापारीहरूको खेल हो’, ‘आधाभन्दा बढी सांसदहरू चोर, डाँकु, ज्यानमाराजस्ता अभियोगी र अपराधीहरूको शरण स्थल राजनैतिक दल हुन्’, आदि ठान्दछन् ।
त्यस्तो फोहरी खेलमा लाग्न नदिन राम्रा पढेका, नम्र र मीठो भाषा बोल्ने र शील स्वभाव राम्रो भएका आफ्ना छोरा–छोरीलाई व्यापार, जागिर, ठेक्का–पट्टा, बैङ्क, होटल वा पर्यटन उद्योगमा लगाउने, अदालतमा नोकरी गर्ने र विदेशमा पठाउने गर्छन् । अनि कम पढे–लेखेका नक्कल गरी परीक्षा उत्तिर्ण भएका वा भ्रष्ट एवम् नाफा खान पल्केका, समाजमा सबभन्दा बदमास र बदमास युवाहरूलाई राजनैतिक दलहरूले उपयोग गर्छन् र ती युवाहरू नै पछि नेता, सांसद र मन्त्री हुन्छन् । एउटै माछाले पनि पोखरी नै गन्हाउँछ भनेझैँ एउटै पोखरीमा धेरै धेरै कुहेको माछा भएपछि सुधार्ने के उपाय बाँकी होला ?!
यो स्थिति नेपाल र दक्षिण एसियामा मात्रै होइन अफ्रिका, अस्ट्रेलिया र ल्याटिन अमेरिका, युरोपदेखि संरा अमेरिकासम्मका सबै पुँजीवादी प्रजातन्त्रमा यस्तै तस्वीर देखिन्छ । धेरै व्यक्तिहरूकोे बारे भनिरहनु पर्दैन, आजको संरा अमेरिकाकै राष्ट्रपतिको एउटा उदाहरण दिए पुग्छ । उनी एक अर्बपति उद्योगका मालिक र व्यापारी हुन् । पेशाअनुसार उनी नाफालाई नै प्राथमिकता दिन्छन् भन्नेमा आश्चर्य मान्नुपर्ने विषय होइन ।
ट्रम्पको बारे उनको निर्वाचनको बेलादेखि अमेरिकाका बुद्धिजीवी र सचेत जनता आगोले पोलेजस्तै छट्पटिएका थिए । २–४ करोड डलरले त्यहाँको राष्ट्रपति जित्ने होइन, रिपब्लिकन (गणतन्त्रवादी) र डेमोक्रेटिक (प्रजातन्त्रवादी) बाहेक अरू पनि दलका उम्मेरवादहरू उठ्ने गर्छन्, तर ठुला–ठुला पत्रपत्रिका, टी.भी., रेडियो र अन्य प्रचारमाध्यमहरूले अन्य उम्मेरवादहरूको प्रचार नै गर्दैनन् । अहिले भारत र नेपालमा समेत प्रचारमाध्यम देशी र विदेशी व्यावसायिक (पुँजीपति) वर्गको हातमा पुगिसकेका छन् । ट्रम्प आफँै अर्बपति भएको हुँदा निर्वाचनभन्दा पहिलेदेखि उनी आफ्नै पक्षमा ‘आफूले बोलेकै कुरा छाप्ने’ पत्रकारहरूको खोजीमा लाग्थे । त्यस्तालाई उनी समाचारको स्रोत पनि बताई दिन्थे । कहिलेकाहीँ उनले विशेष सूचना चुहाउँथे र ‘यो चाहिँ अफ द रेकर्ड हो है’ भन्थे, अनि तुरून्तै तिमीले मेरो नाम नराखी यसलाई समाचार बनाए हुन्छ पनि भन्थे ।’ ‘मिडिया, स्कयान्डल र ट्रम्प’ शीर्षकमा प्रचारको लत, विवादको घेरा, प्रेम परीक्षामा उपशीर्षक दिँदै नेपाली पत्रिकाले लेख्यो– ट्रम्प मनोरञ्जक भएकाले पत्रिकाले बेलाबेलामा उनलाई उडाइरहेको हुन्थ्यो । ट्रम्पलाई ‘सन् १९८० को दशकमा न्युयोर्कको भड्किलो पहिरन लगाउने, गफाडी र अश्लील मान्छे’ भनी पुरस्कृत गरिएको थियो । (नागरिक–अक्षर, २ पुस २०७७)
अभिभावक मित्रहरू, ट्रम्प धेरै धनी भए पनि उनी कर छलेर अझ बढी धनी बन्न चाहन्थे ।
‘१८ वर्षदेखि कर तिरेका छैनन् ट्रम्पले’ भनी राष्ट्रपति उम्मेदवार हुन नालायक व्यक्ति सम्झन्थे । विरोधीको प्रचार त्यस्तै थियो र आफूले कर तिरेको दावा गर्न नसकेर उनले ‘कर सम्बन्धी ८ अभिव्यक्ति दिए– पूर्वराष्ट्रपति ओबामालाई बढी कर लिने सुझाव, धेरै अमेरिकी जनता कर तिर्दैनन्, दायित्वबोध हुनुपर्छ (अर्थात् कर तिरे पनि बढी जनता दायित्वबोध भएका छैनन् धनी वर्ग नै खराब), धनीहरूले कर नतिरी गरिबहरूलाई बढी करको घेरामा ल्याउनुपर्छ । मध्यम वर्गप्रति पुनर्विचार हुनुपर्छ (तिनीहरूले राज्यलाई बढी कर तिर्न लगाउनुपर्छ), फेसबुकका सह–संस्थापकलाई बढी छुट
(….तिनीहरूलाई बढी कर लिनुपर्छ), ओबामाको ट्याक्स कटौती (हास्यास्पद) र अमेरिकीहरू परिवर्तन चाहन्छन् (उनको भनाइमा धनीलाई कर बढाउँदा बेरोजगार सङ्ख्या बढ्ने छन् ।) (नयाँ पत्रिका, १८ असोज २०७६)
ट्रम्प राष्ट्रपति पदमा विजयी भएर शपथ लिएपछि दिएको उनको भाषण जातिवादी, धर्म विभेदी, महिला द्वेषी आदि विवादास्पद हुँदा विरोध भयो । राष्ट्रपति ट्रम्पले भने, “इस्लामिक कट्टरपन्थीलाई विश्वबाट निर्मूल पार्नेछौँ ।” उनको महिलाविरोधी अभिव्यक्तिको विरोधमा “ट्रम्पको विरोधमा महिलाद्वारा विश्वव्यापी प्रदर्शन” गरे । अमेरिकी कलाकारहरूले पनि विरोधमा फेसबुकमा लेखे र प्ले कार्ड लिएर प्रदर्शनमा भाग लिए– ‘म सा¥है दिक्दारमा छु’ ट्रम्पको अभिव्यक्तिबाट । (समाचारपत्र, ९ माघ २०७३)
ह्वाइट हाउसमा ट्रम्पका सय दिन, ‘खस्किँदो सान र अमेरिकी जनतामा तीव्र असन्तुष्टी’ शीर्षकमा एक दैनिकले लेख्योे– ‘अहिले १० जनामध्ये ६ जना मानिस उनको प्रशासनप्रति असन्तुष्ट देखिएका छन् ।’
‘मेक्सिको सिमानामा पर्खाल लगाउने’ गरिबलाई फाइदा नहुनेमा ‘ट्रम्पको स्वास्थ्य बीमा नीति’ को जनताले विरोध गरे । (राजधानी, १६ वैशाख २०७३)
सन् १९९६ मा १९ वर्षकी मिस युनिभर्स उपाधि एलिसिया माचाडोले पाइन् । अर्थात् २० वर्षपछि डोनाल्ड ट्रम्पले उनलाई ‘मिस पिग्गी’ (मिस सुँगुर) भनेर गिज्याएको समाचारपत्रलाई बताइन् । (कान्तिपुर, १३ असोज २०७३)
क्यालिफोर्नियाको केन्द्रीय जिल्ला अदालतमा केट जोन्सन नामकी केटीले सन् १९९४ को जून र सेप्टेम्बरको बीचमा ट्रम्पले आफूलाई बलात्कार गरेको भनी मुद्दा दायर गरिन् । समाचारको शीर्षक थियो– ‘ट्रम्पविरुद्ध बलात्कारको आरोप” । (नेपाल समाचारबपत्र, वैशाख १९, २०७३)
ट्रम्प आफैँ कुस्ति लड्ने र तुरून्तै झगडा गर्ने स्वभावका हुनाले निर्वाचनको बेला ‘ट्रम्पका समर्थक र विरोधीबीच झडप’ को समाचार आयो । (राजधानी, १६ जेठ २०७३)
निर्वाचनकै बेला अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपतिलाई प्रशंसा गरेकोमा उनलाई ‘पागल र सूचना अभाव भएको व्यक्ति’ को संज्ञा दिँदै गाली गरेका थिए । लाओसको यात्रामा रहेको राष्ट्रपति ओबामाले ट्रम्पलाई राष्ट्रपति बन्न योग्य’ नभएको बताएका थिए (समाचारपत्र, २४ भदौ २०७३)
७० प्रतिशत अमेरिकी वैकल्पिक राजनीतिक शक्ति चाहन्छन्
अभिभावक साथीहरू,
संरा अमेरिकाले राजनैतिक पार्टीहरूको बन्दोबस्त गरेको एक सर्वेक्षणमा सहभागीहरू मध्ये ३० प्रतिशत युवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्य सम्पादनको विरोध गरेका थिए ।
उनीहरूले राष्ट्रपति ट्रम्पको कार्यशैली र उनका विवादास्पद कार्य नरुचाएको जनाए । एनबीसी न्यूजले गरेको सो सर्वेक्षणमा सहयोगी करिब ६५ प्रतिशत युवाहरूले अमेरिकी राजनैतिक शक्तिहरू गलत दिशातर्फ उन्मुख भइरहेको बताए । परम्परागत राजनैतिक शक्तिहरूले जनताको वास्ता नगरेको सहभागीको आरोप छ । (नयाँ पत्रिका, १६ मंसिर २०७४) अर्को शब्दमा अमेरिकी जनता अमेरिकी राजनैतिक व्यवस्थाकै विरोधमा छन् ।
ट्रम्प कपटी र ढोङ्गी ः हिलारी
राष्ट्रपति निर्वाचनको सिलसिलामा हिलारी क्लिन्टनले ट्रम्प आफ्नो स्वामित्वमा रहेको शिक्षण संस्थाबाट विद्यार्थीहरूलाई हदैसम्मको ठगी गरेको सार्वजनिक गरिन् ।
(नयाँ पत्रिका, २१ जेठ २०७३) । साथ–साथै हिलारीले राष्ट्रपति बाराक ओबामाको संयुक्त कार्यालयमा ‘ट्रम्प राष्ट्रपति र कमान्डर इन चिफ्का लागि सामान्यतया अयोग्य व्यक्ति हुन्’ भनी नर्थ क्यारोलिनामा बताइन् । (नयाँ पत्रिका, २५ असार २०७४)
ट्रम्पको कदम कति आत्मघाती
पेरिस जलवायु परिवर्तन सम्झौतालाई नै ट्रम्पको कारण अमेरिका एक्लो प¥यो । त्यस सम्झौतालाई फ्रान्स र चीनले नेतृत्व गर्दै छ भने जर्मन चान्सलर एन्जेला मर्केलले नेतृत्वको पक्ष लिने देखिँदै छ । (नयाँ पत्रिका, २५ पुस २०७४)
ट्रम्पले दुई वर्षमा ८,१५८ पटक झूट बोले
जनताको आँखा दूरवीनसरह हुन्छ भनेजस्तै शक्तिशाली राष्ट्रपति ट्रम्पले दुई वर्षमा ८,१५८ पटक झूट बोलेको हिसाब जनताले गरेका छन् । सालाखाला हरेक दिन ६ पटक झूट बोल्छन् राष्ट्रपति ट्रम्प । (राजधानी– ९ माघ २०७५)
राष्ट्रपति ट्रम्पले भुले राष्ट्रगानका शब्द
आफ्नो कारोबारलाई मात्रै प्राथमिकता दिने ट्रम्पले आखिर राष्ट्रगानका शब्द पनि बिर्सेको अन्तर्राष्ट्रिय मिडियाहरूले दाबी गरे । (नयाँ पत्रिका, २७ पुस २०७४)
पुँजीवादी निर्वाचनमा पैसा, उपहार, रक्सी र जाँडको छेलोखेलोको बयान गरी साध्य हुँदैन । अनियमितरूपमा चन्दा उठाउने र खर्चलाई चर्चा र मुद्दा चल्नु सबै निर्वाचनका सामान्य विषय भइसकेको छ । संरा अमेरिका यसबारे सबभन्दा बढी र बदनाम देश हो ।
अभिभावक मित्रहरू, अमेरिकी निर्वाचनमा ‘व्यक्तिगत आरोप–प्रत्यारोपको सीमा हुँदैन’ ।
हरेक निर्वाचनमा जस्तै ट्रम्पको चुनावमा पनि डेमोक्रेटिक उम्मेदवार पूर्वपरराष्ट्रमन्त्री हिलारी क्लिन्टनलाई ‘हिलारी चोर हुन्’, ‘फटाहा’ र ‘डरलाग्दो इमेल काण्डमा मुछिएकी उनलाई जेलमा कोच्नुपर्ने’ समेत ट्रम्पले बताए ।’ हिलारी क्लिन्टनले पनि ‘ट्रम्पलाई ‘तानाशाह र फटाहा’ बताइन् । (नयाँ पत्रिका, २३ जेठ २०७३)
व्यक्तिगत आरोप–प्रत्यारोप अमेरिकी निर्वाचनको विशेषता बताइन्छ । हिलारी क्लिन्टनले ‘महिलामाथि दुव्र्यवहार’ गरेको आरोप लगाइन् । (एजेन्सी, न्युयोर्क १७ कार्तिक, १८ कार्तिक २०७३)
आफू राष्ट्रपति भएको केही महिनामै ट्रम्पले स्टिभ बेननलाई आफ्नो रणनीतिकार बनाएका थिए । तर, छिट्टै ट्रम्पलाई आफ्नो पूर्व रणनीतिकार स्टिभ बेननलाई ‘गुप्तता भङ्ग गरेको’ र ‘सूचना चुहाएको’ आरोपमा बर्खास्त गरे ।
पत्रकार तथा लेखक माइकल बल्फले ‘फायर एन्ड फ्युरी इनसाइड द ट्रम्प ह्वाइट हाउस’ पुस्तकमा ‘ट्रम्पको अन्तिम लक्ष्य कहिले पनि जित्नु’ नभएको दाबी गरे । ‘चुनावको राती ८ बजेपछि जब अप्रत्याशितरूपमा ट्रम्पले जितेको प्रस्ट भयो, त्यसबेला यस्तो लागिरहेको थियो कि मैले सायद भूत देखेको थिएँ । मेलेनिया (ट्रम्पकी श्रीमती) खुसी हुनुको साटो रोइरहेकी थिइन् ।’
किताबको अंशअनुसार ‘उनका लामो समयदेखिका साथी रहेका फक्स न्यूजका पूर्वप्रमुख रोजर एलिसले भनेका थिए, यदि तपाईँ टेलिभिजनमा देखिन चाहनुहुन्छ भने सबैभन्दा पहिले राष्ट्रपति पदका लागि उम्मेदवार बन्नुहोस् ।’ न्युयोर्क पत्रिकामा ‘डोनाल्ड ट्रम्प राष्ट्रपति बन्न चाहँदैन थिए’ भन्ने शीर्षकमा किताबको अंश प्रकाशित भएको थियो । तर, त्यसलाई प्रवक्ता सारा स्मान्डसले ‘किताब झूठले भरिएको भनी खण्डन’ गरेकी थिइन् ।
लेखक माइकल बल्फकाअनुसार ‘ह्वाइट हाउसमा प्रवेश गरेपछि पनि ट्रम्पलाई राष्ट्रपतिको कार्यकालको बारेमा धेरै कम जानकारी थियो । उनले ट्रम्पलाई सुझाव दिन पनि धेरै जटिल रहेको दाबी गरे ।… आफ्नो विचार जतिसुकै अप्रासाङ्गिक र तुच्छ भए पनि उनी आफ्नो विशेषज्ञतामाथि विश्वास गर्दथे ।
डोनाल्ड ट्रम्पको आफ्नो पूर्वप्रमुख रणनीतिकार स्टिभ बेननले ट्रम्पलाई मानसिक सन्तुलन गुमाएको टिप्पणी गरेका थिए । ह्वाइट हाउसबाट बर्खास्त गरिएपछिको टिप्पणी भनी खण्डन गरिएको थियो । (राजधानी, २१ पुस २०७४)
निर्वाचनको बेला ट्रम्पका छोरा र रुसी समूहबीच भएको भेटलाई ‘देशद्रोहपूर्ण र मुलुकविरोधी’ भएको उल्लेख गरियो । तर, ट्रम्प पनि मुखमुखै लाग्ने हुँदा ह्वाइट हाउसको प्रवक्ताले खण्डन गरिसक्दा पनि उनले ‘बेननलाई मानसिक सन्तुलन गुमाए’ को बताए ।
माइकल बोल्फले ‘राष्ट्रपति भवनभित्र झगडालु मानिस’ (‘फायर एन फ्युरीः इन्साइड द ट्रम्प ह्वाइट हाउस’) लेख्नुभन्दा पहिले उनले सञ्चार बादशाह रूपर्त मर्डोकको जीवनी पनि लेखेका थिए । पुस्तकमा उल्लेख भएअनुसार मर्डोकले ट्रम्पलाई ‘मूर्ख’ बताएका थिए । (कान्तिपुर, २१ पुस २०७४)
स्टिभ बेननलाई ह्वाइट हाउसको मुख्य रणनीतिज्ञ र निकै चलाख ह्वाइट हाउसका मुख्य खेलाडी मानिन्थ्यो । ‘अमेरिका पहिलो’ भन्ने ट्रम्पको अभियानको आकार दिने महत्वपूर्ण भूमिका स्टिभ बेननले नै खेलेका थिए । (एजेन्सी, न्युयोर्क, २० पुस २०७४)
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै विदेशमन्त्री रेक्स टिलरसनको कूटनैतिक पहललाई नकारात्मक टिप्पणी गरेको र ‘लिटिल रकेट म्यान’ र ‘मूर्ख’ बताएका थिए । उक्त कुरा अक्टोबर ४ मा पहिलो पटक एनबीसी न्यूजमा प्रकाशित भएको थियो । यसैकारण टिलरसनलाई ट्रम्पले आइक्यूमा चुनौती दिएका थिए । (समाचारपत्र, २६ असोज २०७४)
अभिभावक साथीहरू, माथिका सबै विवरणलाई ट्रम्पजस्ता व्यक्तिहरू राजनीतिमा आउनुको कारण असल र योग्य मानिसहरू राजनीतिबाट पन्छिनु हो । यसकारण, योग्य र असल छोरा–छोरीहरूले राजनीतिमा योगदान गर्न उत्साहित गर्नु आवश्यक छ ।
ट्रम्पविरुद्ध संसद्मा खेद प्रस्ताव पारित
कुनै व्यक्तिले पदअनुसार आचरण गरेन वा व्यवहार गरेन अथवा बोल्न जानेन भने व्यक्तिको इज्जत र प्रतिष्ठामा आँच आउने त छ नै, त्यसले देशकै गौरवमा समेत आँच आउनु स्वाभाविक छ । आफ्नै सहयोगीहरूले नै ‘मानसिक सन्तुलन’ नभएको र ‘मूर्ख’ भन्ने स्थिति देखेपछि राष्ट्रपति आफैँले पनि वा अन्य सहयोगीहरूले सम्हाल्नुपर्नेमा झन्–झन् विषय चर्किँदै जाँदा राजनैतिक व्यक्तिहरू र देशलाई नै आँच आउनु स्वाभाविक हो । ट्रम्पले आफ्नो बोलीमाथि नियन्त्रण नगरेको देखियो ।
ट्रम्पले शृङ्खलाबद्धरूपमा ट्वीट गर्दै चार जना प्रतिपक्षी डेमोक्रेट सांसदलाई पूर्णरूपमा असफल राष्ट्रबाट अमेरिका आएको भन्दै पुरानै स्थानमा फर्किन भनेपछि विवाद सुरु भएको थियो । त्यसै सिलसिलामा ल्याइएको निन्दा प्रस्तावमा भनिएको थियो, “ट्रम्प रङ्गभेदी प्रतिक्रियाले मानिसहरूको रङ्ग र नव अमेरिकीमाथिको भय एवम् घृणालाई प्रश्रय दिएको छ ।” ट्रम्पको नाम नलिई आप्रवासी चारजना महिला सांसदमाथि आक्षेपपूर्ण अभिव्यक्ति दिएका थिए । ती सांसदले स्वास्थ्य सेवा, बन्दुकजन्य हिंसा र मेक्सिको सीमामा आप्रवासीलाई बन्दी बनाइएका जस्ता विषयमा ध्यान केन्द्रित गरिनुपर्ने धारणा व्यक्त गरेका थिए । ट्रम्पले निशाना बनाइएका एलेक्जान्ड्रिया ओकासियो कार्टेज, रासिदा तलाइब, आयान्ना पे्रस्ली र इल्हान ओमर चारै जना फरक–फरक जातीय पृष्ठभूमिबाट आएका हुन् ।
ओमर बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन् भने अरू तीनै जना अमेरिकामै जन्मे हुर्केका हुन् । उनीहरू चारै जना २०१८ मा सांसद निर्वाचित भएका हुन् । रिपब्लिकन पार्टीका केही सदस्यले मात्र टिप्पणी गरे पनि सिनेटर कोलिन्सले ट्रम्पको अभिव्यक्ति अस्वीकार्य रहेको भनेकी थिइन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले चार जना महिला सांसदप्रति लक्षित गर्दै दिएको विवादस्पद अभिव्यक्तिको साङ्केतिकरूपमा निन्दा गर्दै संसद्मा खेद प्रस्ताव पारित गरिएको थियो । विपक्षी डेमोक्रेट सांसदहरूले प्रस्तावको पक्षमा मतदान गरेका थिए र सत्ताधारी रिपब्लिकन दलसमेत चारजना सांसदको समर्थन पनि प्राप्त गरेका थिए । (राजधानी, २ श्रावण २०७६)
गरिब स्वास्थ्य सुविधा जलवायु विधेयक स्थगित गर्नु राष्ट्रपति ट्रम्पको प्रतिगामी कदम हो । जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्मेलनबाट फिर्ता जानु भनेको पृथ्वीको तापमान बढेर जलवायुमा नकारात्मक असर परी रोगव्याधि बढ्नु र कीरा–फट्याङ्ग्रा वृद्धि भई सारा जनतालाई दुःख हुनु हो ।
डेमोक्रेटिक राष्ट्रपति ओबामाले आफ्नो पदावधिको अन्ततिर ल्याएको गरिबहरूको हित हुने स्वास्थ्य सुविधाको विधेयक र जलवायु परिवर्तनसम्बन्धी योजनालाई पनि शपथ ग्रहणपछि नै राष्ट्रपति ट्रम्पले दुवै विधेयकलाई फिर्ता लिए । (अन्नपूर्ण पोष्ट, ९ माघ २०७३)
अभिभावक मित्रहरू, व्यक्ति जति माथिल्लो पदमा पुग्छ उति धेरै उसको जिम्मेवारी बढ्छ, उसले बोलेका र गरेका हरेक काम र कायरबाहीले आफ्नो देशमा मात्र होइन, विदेश र संसारलाई राम्रो वा नराम्रो प्रभाव पार्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *