नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
कोरोना भाइरसबाट थलिएका जनता अहिले बाढी र पहिरोबाट चिन्तित छन् । प्रकृति प्रकोपका कारण हजारौँ जनता प्रभावित छन् । जनताले यस प्रकोपसँग लडिरहेका छन् । तर, अहिले निर्वाचित जनप्रतिनिधिहरू व्यक्तिगत स्वार्थमा लिप्त रहेको देखिन्छ । उनीहरू जनताका समस्या समाधानमा केन्द्रित हुनुको सट्टा आफ्नो व्यक्तिगत तथा राजनीतिक स्वार्थ पूरा गर्नमा केन्द्रित भएका छन् ।
अहिलेको यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निर्वाचितहरू हिजोका पञ्चायत र राणाहरूको व्यवहारभन्दा अलिकति पनि फरक देखिँदैन । यिनीहरूको व्यवहारले देशमा सङ्घीयताभन्दा पनि पञ्चायती व्यवस्थाको उदय भएको जस्तो भान हुन्छ । हिमाल, पहाड र तराईका जनता वर्षभरि कुनै न कुनै कारणबाट पीडित भएको देखिन्छ । बाढी, पहिरो, शीतलहरी, गर्मी र यो वर्ष थपिएको कोरोना भाइरसबाट जनता पीडित छन् । यो प्रकृति प्रकोपको घटना भए पनि यसलाई समाधान गर्न नसक्ने होइन । तर, सरकारले यसबारे कहिले पनि संवेदनशिलता देखाएन । भागबन्डा र पदको निम्ति राजनीतिमा केन्द्रित सत्तासीन दलका नेताहरूको ध्यान जनताका समस्या समाधान प्राथमिकतामा परेन ।
बाढी र डुवान
असार र साउन महिना हिमाल, पहाड र तराईका जनताको लागि साह«ै कष्टकर महिना हुन् । हिमाल र पहाडका जनता बर्सेनि यी महिनामा पहिरोको शिकार बन्न बाध्य हुन्छन् भने तराईवासीहरू बाढी र डुवानबाट पीडित हुन्छन् । यो समयमा सयौँ नेपाली जनता अनाहकमा ज्यान गुमाउँछन् । यो महिनामा हुने घटनाहरू एक्कासि घट्ने घटना होइन । वर्ष दिन अगाडि नै थाहा हुने खालका घटना हुन् । तर, सरकार र सम्बन्धित निकाय यसबाट कमभन्दा कम क्षति र जनता पीडित नहोस् भन्ने खालको कुनै योजना बनाएको देखिँदैन । बिरालोको घाँटीमा घण्टी बाँधेर श्राद्ध गरेझैँ सरकारले केही राहतका प्याकेजहरू ल्याउँछ । ती राहतको प्याकेजमा पनि यति धेरै प्वालहरू हुन्छन् जुन पीडितसमक्ष पुग्दा लगभग रित्तिएको अवस्थामा हुन्छ ।
तराईका जिल्लाहरू बाढी र डुवानमा पर्नुका कारण प्रकृति प्रकोपभन्दा पनि मानव निर्मित समस्या हुन् । तराईका जिल्लाका सिमानाहरू भारतसँग जोडिएका छन् । तराई र भारतको सिमानाको भौगोलिक अवस्था उस्ता उस्तै छन् । नेपाल र भारतबीच खुला सिमाना छन् । नेपालको नदी नालाको बहाव उत्तर–दक्षिण हुने भएकोले स्वाभाविकरूपले पानी माथिबाट तलतिर झर्ने गर्छन् । भारतले आफ्नो सिमाना नजिकै नेपाली भूभाग डुवान हुने गरी अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत अग्ला–अग्ला तटबन्ध बनाएकोले तराईका अधिकांश ठाउँ जलमग्न हुनुका साथै यस क्षेत्रका बासिन्दाहरू अनावश्यक क्षति बेहोर्नुका साथै हजारौँ व्यक्ति घरबारविहीन हुने अवस्थामा पुग्छन् ।
नेपाल र भारतबीच मित्रवत् सम्बन्ध छ । एक अर्कालाई समस्या आइपुग्दा मिलेर समाधान गर्नु नै मित्रताको आधारभूत मूल्य र मान्यता हो । कुनै छिमेकी वा मित्रलाई सङ्कट परेको बेलामा सहयोग गर्नु नै छिमेकी वा मित्रताको कर्तव्य हो । तर, भारतले नेपालप्रति देखाएको व्यवहारले स्पष्ट हुन्छ कि भारत छिमेकीभन्दा पनि नेपाल र नेपाली जनताको माझमा एउटा गैरजिम्मेवार छिमेकी र शत्रुको रूपमा परिचित छ । भारतले यतिमात्र होइन समय–समयमा सिमाना पिलर हराएको निहुँमा पटक–पटक नेपाली भूमि अतिक्रमण गर्ने गरेको छ । अहिले भारतले नेपालको ७१ ठाउँमा ६० हजारभन्दा बढी जग्गा जमिन अतिक्रमण गरिसकेको छ । यसबाट प्रस्ट हुन्छ, भारतीय शासकहरू नेपाल र नेपाली जनताको मित्रभन्दा पनि शत्रु नै हुन् ।
नेपाल र नेपाली जनतालाई दुःख दिने भारतीय नीतिको विरोधमा हाम्रो सरकार र शासक दलहरू किन एक शब्द पनि बोल्दैनन् ? तिनीहरूको व्यवहारबाट प्रमाणित हुन्छ तिनीहरू भारतको इसारामा चल्ने पार्टी र नेताहरू हुन् । नेपाली जनताका मुख्य शत्रुहरूमध्ये तिनै शासक दलहरू पनि हुन् । पटकपटक सरकारमा पुगे पनि नेपाल र नेपाली जनताको निम्ति एउटा पनि काम गर्न नसक्ने पार्टी र नेताहरू कसरी नेपाल र नेपाली जनताको जिम्मेवार पार्टी र सरकार हुनसक्छ ? सर्वंत्र प्रश्न उठिरहेको छ । यस विषयमा सचेत नेपाली नागरिक संवेदनशील भई नेपाली जनताका शत्रुहरूसँग सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ ।
असारे विकास
असारे विकास कहिल्यै पनि निको नहुने रोगजस्तै देखिन्छ । वर्ष दिन मस्त निद्रामा सुतिरहने जिम्मेवार पदाधिकारी जेठ–असार महिनामा ब्युझिन्छ । वर्ष दिनमा गर्न नसकेका कामहरू एक दुई महिनामा पूरा गर्ने गर्छन् । कैयौँ नेपालीहरूको सहादतबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्था पनि विगतका पञ्चायत र राजतन्त्रात्मक व्यवस्थाको कार्यशैलीजस्तै देखिन्छ ।
देशमा सङ्घीयता भए पनि सर्वसाधारण जनताको काममा कुनै तात्विक भिन्नता देखिएको छैन । शासक दलका नेताहरूले निर्वाचनताका भनेका थिए, सिंहदरबारको अधिकार गाउँघरमा पुग्छ । तर, सिंहदरबारको अधिकारभन्दा पनि सिंहदरबारभित्र हुने भ्रष्टाचार अहिले गाउँघरसम्म पुगेको छ ।
स्थानीय तहको निर्वाचन भएको तीन वर्ष बितिसक्यो । अधिकार सम्पन्न स्थानीय तहका निर्वाचित पदाधिकारीहरूले जनताको निम्ति एउटा सिन्को भाँच्न सकेका छैनन् । कतिपय स्थानीय तहका निर्वाचितहरू जनतालाई नै प्राथमिकता क्रममा राखेर योजनाबद्ध ढङ्गले विकास निर्माणका कामहरू अगाडि बढेका छन् ।
असारे विकासको नाममा तराईका अधिकांश स्थानीय तहहरूले विकास निर्माणको रकममा भागबन्डा गरी आफूखुसी योजनाहरू अगाडि बढाउने गरेका छन् । स्थानीय जनतासँग छलफल नै नगरिकन आवश्यकभन्दा अनावश्यक कामहरू गरेर जनतालाई पीडित बनाएका छन् । ठाउँ–ठाउँमा बाटो मर्मतको नाममा र नयाँ बाटो बनाएको नाममा लाखौँ रूपैयाँ हिनामिना गरेका छन् । अहिले यी बाटाहरू हिलाम्मे अवस्थामा छन् । सवारी साधन गुड्ने त परै जाओस् मान्छेलाई खाली खुट्टा हिँड्न पनि हम्मेहम्मे पर्छ । विकास निर्माणको योजनाको विषयमा सम्बन्धित टोल छिमेकका मान्छेहरूसँग केही परामर्श नै नगरी आफूखुसी उपभोक्ता समिति गठन गरेर निर्वाचितहरू आफ्नो भागमा परेका योजनाहरू रातारात सिध्याइसकेका हुन्छन् । यिनीहरूले पूर्वाधार विकास नगरी सडक र नालीमामात्र अधिकांश योजनाहरू पारेका छन् । ठाउँ–ठाउँमा अनावश्यक सडक बनाएर मान्छेको उब्जाउयुक्त खेतलाई तहसनहस बनाएका छन् भने उचित पानीको निकास नहुँदा अधिकांश खेतमा लगाएको धानबाली अत्याधिक पानीले गर्दा गल्न थालेका छन् । यिनीहरू यस्ता खालको विकासमा बढी केन्द्रित हुनुको मुख्य कारण मर्मतको नाममा वर्षेपिच्छे दुहुनो गाईको जस्तै बजेट पारिराख्नु हो ।
पूर्वाधार विकासमा लाग्दा मोटो रकम या कमिसन पाउँदैन । निर्वाचन भएको तीन वर्ष भयो । तर, तराईका अधिकांश नगरपालिका र गाउँपालिकाका वडा कार्यालयदेखि कार्यपालिकाका कार्यालयहरू भाडाको घरमा सञ्चालित छन् । कतिपय निर्वाचित पदाधिकारीहरू दैनिक महँगो भाडा तिर्ने गरी भारतीय नम्बर प्लेटका गाडीहरू चढिरहेका छन् । कार्यालय परिसरका भारतीय नम्बर प्लेटका गाडीहरू पार्किङ्ग भएको देख्दा भारतको कुनै सरकारी कार्यालयमा प्रवेश गरिरहेको सेवाग्राहीलाई भान हुन्छ ।
असारे विकासको नाममा भइरहेको त्यत्रो भ्रष्टाचार र अनियमिततालाई रोकेर एक दुई वर्षको बजेट पूर्वाधार विकासमा गरे हुँदैन ? भारतीय नम्बर प्लेटको गाडी चढ्ने निर्वाचितहरू लाजशरमभन्दा पनि शान र गौरव महसुस गर्छन् । भारतीय नम्बर प्लेट गाडी प्रयोग गर्ने निर्वाचितहरूलाई किन कारबाही हुँदैन ? यस विषयमा सम्बन्धित निकाय गम्भीर हुुनु आवश्यक छ ।
कतिपय निर्वाचितहरू अहिलेदेखि अधिकार दुरूपयोग गरी आगामी निर्वाचनको तयारीमा जुटिरहेका छन्, जनताबाट सङ्कलित करलाई दुरूपयोग गरिरहेका छन् । धारा जडानको नाममा आफ्ना कार्यकर्ता र भोलिका लागि आफ्नो भोट सुरक्षित गरिरहेका छन् । प्रभावितलाई भन्दा पनि भोलिको दिनमा फाइदा हुनसक्ने व्यक्तिहरूलाई छानी–छानी धारा (कल) वितरण गरिरहेका छन् भने कतिपय स्थानीय तहहरू र रौतहटमा नाम चलेका निर्वाचित सांसदहरू आफ्ना हजारौँ कार्यकर्ता र नजिककालाई छानेर ग्यास, सिलिन्डर र चुलो वितरण गरिरहेका छन् । बल्छीमा चारो हालेर माछा मार्ने पल्केकाहरू पुनः त्यहीँ बाटो रोजिरहेका छन् । हिजोभन्दा आज जनता सचेत हुँदै छन् र भोलिको दिनमा झन् सचेत हुनेछन् । जनताको नाममा लुटिएको पैसा पुनः जनतामा फर्किदै छ । जनताले हिसाब, किताब गरेर एक दिन अवश्य नै पाखा लगाएर देखाइदिन्छ । तपार्इँ निर्वाचितहरू समय छँदै सचेत र जिम्मेवार हुनुस् । नत्रभने तपाईँहरूको पाखण्डी चरित्रको भविष्य छैन ।
Leave a Reply