भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
अहिले देशका विभिन्न जिल्ला अदालतहरूको लगत हेर्दा विगतको तुलनामा सम्बन्ध विच्छेदको मुद्दा उलेख्य वृद्धि भएको पाइन्छ । श्रीमान्–श्रीमतीबीच हुने स–साना मनमुटावका कारण पनि सम्बन्ध विच्छेदसम्मको मुद्दा अदालत पुगेको पाइन्छ ।
समाजमा मागीविवाह वा सामाजिक परम्पराअनुसारको विवाहभन्दा प्रेम विवाह बढेको छ । सँगै बस्ने प्रचलन (लिभिङ टुगेदर) बढ्नु, विज्ञान र प्रविधिको विकास, इन्टरनेट तथा सञ्चारका माध्यमहरू, विभिन्न किसिमका सामाजिक सञ्जालहरूको बढ्दो प्रयोग पनि सम्बन्ध विच्छेद मुद्दा बढ्नुको कारण हुनसक्छ ।
विवाह एक सम्झौता
विवाहलाई पुरुष र महिलाबीच हुने एउटा सामाजिक सम्झौता पनि मानिन्छ । मुलुकी देवानी संहिता २०७४ मा “कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति – पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिन्छ । विवाह पुरुष र महिलाबीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानुनी बन्धन हुनेछ ।” भनिएको छ ।
पहिला जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएको ‘दर्ता विवाह’ अहिले जिल्ला अदालतबाट हुन्छ ।
वैवाहिक सम्बन्ध कायम रहेसम्म पति र पत्नी मानिने, पति –पत्नीबीच आपसी प्रेम र सद्भाव हुनुपर्ने, आपसी समझदारीबाट अन्यथा व्यवस्था भएकोमा बाहेक पति र पत्नी सँगै बसी पारिवारिक जीवनयापन गर्नुपर्ने, पति र पत्नीले एक अर्कोलाई सहयोग, संरक्षण र सम्मान गर्नुपर्ने, पति वा पत्नीले एक अर्कालाई आफ्नो इज्जत र क्षमताअनुसार खान, लगाउन तथा स्वास्थ्योपचार गर्नु वा गराउनुपर्ने, पेशा, व्यवसाय वा काम गर्न रोक्न नहुने कानुनी व्यवस्था रहेको पाइन्छ ।
वैवाहिक सम्बन्धको अन्त्य
देवानी संहिताको दफा ८२ ले सामान्यतयाः ३ वटा कारणले पति –पत्नीबीचको वैवाहिक सम्बन्ध अन्त्य भएको मानिन्छ ।
क) विवाह बदर भएमा,
पुरुष वा महिलाको मन्जुरीविना विवाह भएको वा हाडनातामा सजाय हुने नाताका व्यक्तिहरूबीच विवाह भएकोमा विवाह बदर हुने कानुनी व्यवस्था छ भने उमेर नपुगी विवाह गरेको वा झुक्याई विवाह गरे गराएकोमा विवाह बदर गर्न चाहेमा बदर गराउन सक्ने कानुनी व्यवस्था छ ।
ख) कानुनबमोजिम पति – पत्नीको सम्बन्ध विच्छेद भएमा,
ग) पत्नीले कानुनबमोजिम सम्बन्ध विच्छेद नहुँदै अर्को विवाह गरेमा ।
सम्बन्ध विच्छेद
पति – पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति – पत्नीको सम्बन्ध विच्छेद गर्नसक्ने व्यवस्था देवानी संहिताको दफा ९३ ले गरेको छ । पति –पत्नी दुवैको स्वइच्छाले सम्बन्ध विच्छेद गर्न कुनै कारण आवश्यक पर्ने देखिन्न ।
पतिले देहायका ४ वटामध्ये कुनै एउटा अवस्था वा कारण रहेमा पत्नीको मन्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्नसक्ने देखिन्छ –
क) कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पति – पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मन्जुरी नलिई लगातार ३ वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
पति वा पत्नीले कानुनबमोजिम अंशबन्डा गरी भिन्न बसेको अवस्थामा भने पुनःविवाह गर्न सक्ने कानुनी व्यवस्था छ । यस्तो अवस्थामा सम्बन्ध विच्छेद गरिरहनुपर्ने देखिन्न ।
यद्यपि, सम्बन्ध विच्छेद या पति – पत्नीको सम्बन्ध अन्त्य नभई अर्को विवाह गरेमा बहुविवाहको कसुर ठहरिने हो कि ? भन्ने भ्रम रहन्छ । किनकी, मुलुकी अपराध संहिता २०७४ को दफा १७५ (१) र (४) मा क्रमशः विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन । गरे गराए १ वर्षदेखि ५ वर्षसम्म कैद र १० हजार देखि पच्चास हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
तर, सोही ऐनको दफा १७५ (३) मा पति – पत्नीले कानुनबमोजिम अंशबन्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ भनी सुविधा या उन्मुक्ति हुने व्यवस्था गरेकोले बहुविवाहको कसुर नहुने प्रस्ट छ ।
यहाँनेर एउटा रोचक प्रश्न उठ्ने गर्दछ कि “विवाहित पुरुषले अर्को विवाह गरेमा बहुविवाहको कसुर हुने र सजायको भागिदार हुनुपर्ने कानुनी व्यवस्था छ भने विवाहित महिलाले अर्को विवाह गरेमा किन बहुविवाह नहुने ?” पत्नीले सम्बन्ध विच्छेद नहुँदै अर्को विवाह गरे वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने कानुनी व्यवस्था छ ।
यसरी पत्नीले पतिको मन्जुरी नलिई लगातार ३ वर्षभन्दा बढी समयदेखि अलग बसेमा पतिले सम्बन्ध विच्छेद त गर्न पाउँछ तर पत्नीले माग गरेको खण्डमा अदालतले सम्बन्ध विच्छेद गर्नुअघि अंशबन्डा गरी अंश दिनुपर्ने व्यवस्था छ ।
अंश दिन बाध्य नहुने अवस्था
यसबाहेक पतिले पत्नीसँग सम्बन्ध विच्छेद गराइमाग्न पाउने निम्नबमोजिमका ३ वटामध्ये कुनै कारणले सम्बन्ध विच्छेदको निवेदन गरेमा भने पत्नीलाई अंश दिन वा कुनै किसिमको खर्च भराउन बाध्य हुनेछैन –
क) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरेमा,
घरको मुख्य भई काम गर्ने पत्नीले पतिलाई खान लाउन नदिई, घरबाट निकालेमा यो व्यवस्था लागु हुने देखिन्छ । तर, पति घरको मुख्य भई काम गर्ने अवस्थामा यो व्यवस्था लागु नहुन सक्छ ।
ख) पत्नीले पतिको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा र
ग) पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा ।
यस सम्बन्धमा धेरै मानिस पत्नीले सम्बन्ध विच्छेदको मुद्दा गरेमा पनि पत्नीको कारणले सम्बन्ध विच्छेद हुने भएकोले अंश दिन नपर्ने हो कि ? भन्ने भ्रम छ ।
तसर्थ, पत्नीले सम्बन्ध विच्छेद गर्नसक्ने अवस्थाहरू पनि हेरौँ ¤ पत्नीले देहायका कुनै अवस्थामा पतिको मन्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछिन् ः
क) कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पति – पत्नी भिन्न बसेकोमा बाहेक पतिले पत्नीको मन्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
ख) पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
ग) पतिले पत्नीको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
घ) पतिले अर्को विवाह गरेमा,
ङ) पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा,
च) पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा ।
मुलुकी देवानी संहिताको दफा ९९ (२) ले प्रस्टसँग माथि उल्लेखित (ख), (ग), (घ), (ङ) र (च) बमोजिमको आधारमा पत्नीले सम्बन्ध विच्छेदको लागि निवेदन गरेमा दफा ९९ (१) बमोजिम अंशबण्डा गर्ने प्रयोजनको लागि पतिको कारणबाट सम्बन्ध विच्छेद हुने अवस्था भएको मानिने व्यवस्था गरेको पाइन्छ । अर्थात्, पतिले पत्नीलाई अंश दिनुपर्ने हुन्छ ।
सम्बन्ध विच्छेदका विकृत पक्ष
दफा ९९ बमोजिम सम्बन्ध विच्छेद गर्नुअघि अंशबन्डा गर्नुपर्ने कानुनी व्यवस्थाका कारण केही महिला पटक – पटक विवाह गर्ने, पटक – पटक सम्बन्ध विच्छेद मुद्दा लिई अदालत पुग्ने गरेको तथ्याङ्क पनि पाइन्छ । त्यसैले त्यस्ता महिलाहरूलाई निरुत्साहित गर्न विवाह भएको निश्चित अवधि ननाघेसम्म महिलाले सम्बन्ध विच्छेदको मुद्दा गरे तापनि अंश दिन बाध्य नहुने व्यवस्था गर्नुपर्नेबारे चर्चा हुने गर्छ ।
कागजी विवाह र समस्या
सम्बन्ध विच्छेद हुने विभिन्न आधार, कारण, अवस्थाबाहेक विदेशमा उच्च शिक्षा या उच्च शिक्षाको लागि विदेश जाने केटा या केटीसँग कागजी विवाह (पेपर म्यारिज) गरी डिपेन्डेन्ट भिसामा विदेश जाने रहर युवा पुस्तामा बढ्नु र तिनीहरूबीच कायम भएको कागजी विवाहलाई पछि कानुनीरूपमै अन्त्य गर्न सम्बन्ध विच्छेद मुद्दा गर्नुपर्ने हुन्छ ।
यसरी विदेश जाने रहरका कारण कागजी विवाह गर्ने केटा र केटीले एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार नगरेको अवस्थामा विवाह हुने कि नहुने ? भन्ने प्रश्न आउँछ । तर, दर्ता विवाह गरेपछि ऐनबमोजिम वैवाहिक सम्बन्ध अन्त्य नभएसम्म कानुनको दृष्टिमा पति पत्नी हुने नै देखिन्छ ।
यस्तो अवस्थामा यदि केटा वा केटीको कारणले सहजरूपमा ऐनको दफा ९३ बमोजिम दुवैको मन्जुरीमा सम्बन्ध विच्छेद गर्न नसके केटा पक्षलाई अर्को विवाह गर्न अप्ठेरो पर्ने अवस्था सृजना हुने देखिन्छ । किनभने, केटालाई अर्को विवाह गरे बहुविवाह हुने, सम्बन्ध विच्छेदको मुद्दा गरे सम्बन्ध विच्छेद गर्नुअघि अंशबन्डा गर्नुपर्ने कानुनी झमेला उत्पन्न हुने गरेको छ ।
अंश दिन वा खर्च भराउन पति बाध्य नहुने भनी मुद्दा गर्न विवाह दर्ता गरेकी केटी विदेशमा हुने या सम्पर्कमै नआउने, कानुनी आधार खोज्दै जाँदा घरबाट निकाला गरेको शारीरिक वा मानसिक कष्ट दिने काम गरेको वा अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेको पुष्टि गर्न पनि नसकिने अवस्था आउने गर्दछ ।
तसर्थ, कानुन र व्यवहारमा देखिएका यस्ता जटिलता हटाउन सम्मानित सर्वोच्च अदालतबाट कागजी विवाहलाई पति – पत्नीको रूपमा स्वीकार गरेको मान्ने कि नमान्ने, अंश दिनुपर्ने कि नपर्ने भन्ने विषयमा उपयुक्त व्याख्या हुनु जरुरी छ ।
Leave a Reply