भर्खरै :

सीमा क्षेत्रका जनतालाई सही सूचना र सुरक्षा दिनुपर्छ

शुक्रबार भारतको वनारसमा एक नेपालीलाई जबरजस्ती कपाल मुन्डन गराइएको र नेपालविरुद्ध नारा लाउन लगाइएको भिडियो ‘भाइरल’ भयो । भिडियो खिच्ने र ‘भाइरल’ गराउने सन्तोष पाण्डेलाई भारतीय प्रहरीले पक्राउ ग¥यो । उता विश्व हिन्दु सेनाका अध्यक्ष अरुण पाठकविरुद्ध जाहेरी दर्ता भयो । नेपालका प्रधानमन्त्री केपी ओलीले रामको जन्म भारतको अयोध्यामा नभई पर्सा पश्चिम ठोरी नेपालमा भएको भनी रामको अपमान गरेको भन्दै भारतीय विश्व हिन्दु सेनाका कार्यकर्ताले एक नेपालीको जबरजस्ती कपाल मुन्डन गरेको समाचार थियो । नेपालको सार्वभौमसत्तामा आँच पुग्ने गरी भारतीय ‘विद्वान’ र वरिष्ठ अधिकारीहरूले नेपालविरुद्ध अनेक लान्छना लाउँदा पनि मौन बसिरहेका भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई फोन गरे । तर, घटनाबारे शनिबार अर्को समाचार आयो । कपाल मुन्डन गरिएका ‘पीडित’ नेपाली होइन, भारतीय नागरिक हुन् । वनारसमा जन्मिएका ‘पीडित’को परिवारका अरू सदस्य भारतको सरकारी जागिरे हुन् । जम्मा एक हजार रूपैयाँ पाउने लोभमा उनले सो घटनाको लागि अभिनय गरेका हुन् ।
शुक्रबारको नाटकीय घटनाभन्दा पनि शनिबारको नाटकीय खुलासाले झन् गम्भीर प्रश्न तेर्साएको छ । नेपाली र भारतीय जनताबीच रहेको घनिष्ठ सम्बन्ध र आपसी विश्वास तोड्न उक्त घटना ‘भाइरल’ बनाइएको देखियो । अझै भारतमा निर्दोष नेपालीलाई बलजफ्ती कपाल मुण्डन गरेको र नेपालविरुद्ध नारा लाउन लगाइएको खबरबाट आक्रोशित भई नेपालमा भारतविरुद्ध अराजकता मच्चियोस् भन्ने दुरासयले सो घटना गराएको देखिन्छ । धन्न २०५७ सालको पुसको जस्तै ‘रितिक रोशन काण्ड’ भएन । भारतीय शासकहरूको अहङ्कारको कारण नेपाल भारतबीचको सम्बन्धमा अनेक प्रश्न उठिरहेको बेला शुक्रबारको सो घटना आगोमा घिउ थप्ने निहित उद्देश्यले प्रायोजन भएको प्रस्ट छ । यद्यपि, भारतीय उछृृङ्खल तत्वहरूको षड्यन्त्रको खुलासा भारतीयहरूबाटै भयो । सजिलो भयो, राम्रै भयो । नेपाल र भारतबीच सम्बन्धमा दख्खल पु¥याउन अनेक षड्यन्त्र भइरहेका छन् । नेपाली र भारतीय जनतालाई दिग्भ्रमित पार्न अनेक अफवाह फैलाइएका छन् । नेपाल र नेपाली जनताप्रति द्वेष र घृणा उत्पन्न गराउन भारतीय विस्तारवादी शासकहरूले अनेक हल्ला मच्चाइरहेका छन् ।
नेपाल र भारतबीच खुला सीमा छ । नेपाल र भारतलाई छुट्याउने दशगजा छ । दशगजाको वारिपारि समान भूगोल छ । दशगजाको वारिपारि बस्ने कतिपय जनताको संस्कृति समान छ । साना ठूला नाकाहरूमा दशगजाकै डिलबाट दुवैतर्फ घरहरू बनेका छन् । दशगजा वारपार गर्न दुवै देशका जनतालाई सहज छ । सहज आवतजावतकै कारण दुई देशका जनताबीच आपसी पारिवारिक सम्बन्ध छ । तर, कोरोना विपत्तिले नेपाल – भारत खुला सीमालाई बन्द गरिदिएको छ । कोरोना सङ्क्रमण रोकथामको लागि नेपाल र भारतका दुवै सरकारले छुट्टाछुट्टै सीमा नाका बन्द घोषणा गरेका छन् । अनावश्यक आउजाउले आफैलाई कोरोना सङ्क्रमण हुन सक्छ । आफ्नै परिवारका सदस्यलाई कोरोना सङ्क्रमण हुन सक्छ । स्वास्थ्य चेतनाका कारण दुवै देशका नागरिकहरू बाध्यात्मक अवस्थामा बाहेक सीमा वारपार गरिरहेका छैनन् । दुईतर्फ नै पारिवारिक सम्बन्ध जोडिएका नागरिकहरू पनि सीमा वारपार गरिरहेका छैनन् । नुनतेल किन्न दिनदिनै भारततर्फ जाने वा रोजीरोटी गर्न दैनिक नेपालतर्फ आउने नागरिकहरू दशगजा त साँच्चिकै दुई देश छुट्याउने सीमा रेखा रहेछ भनी रोकिएका छन् । रोगको डर र सीमा बन्द गर्ने सरकारी आदेशलाई मानेरै सर्वसाधारण जनताले दैनिक जीवन चलाइरहेकै छन् । सीमा वारिपारिका जनता आफन्तसँगको भेटघाट बन्द गरेर बसेका छन् । यो असामान्य परिस्थितिमा सीमा नाका बन्द हुँदा खुल्ला सीमाको फाइदा उठाउने तस्करहरू भने छटपटिएका छन् । उनीहरू अनेक बहाना निकाली सीमा क्षेत्रका जनतालाई भड्काउन अनेकन हल्ला गरिरहेका छन् । तस्करको हल्लालाई टेवा पु¥याउन भारतीय सञ्चारमाध्यमहरू पूरै लागेका छन् । ती तस्करहरूलाई हौसला दिन भारतीय सीमा सुरक्षा बल (एसएसबी) सहयोगी देखिन्छन् ।
लकडाउनमा नेपाल भारत सीमा बन्द छ । बन्द सीमा नाकाबाट भारतीयहरू जबरजस्ती नेपाल प्रवेश गर्न खोज्दा पटक – पटक झडप भएका समाचारहरू आइरहेका छन् । सर्लाहीमा सशस्त्र सीमा सुरक्षा बलका जवानहरूको हतियार खोस्न आउने एक भारतीयको गोली लागी जेठ ३१ गते मृत्यु भयो । बिहीबार राती पनि सुनसरीको सीमावर्ती गाउँ देवानगञ्जस्थित पानीट्याङ्की नजिक नेपाल प्रहरी र भारतीय सशस्त्र तस्कर समूहबीच गोली हानाहान भयो । हतियार लिई आएका तस्करको हतियार खोस्न खोज्दा प्रहरीमाथि उल्टै गोली चलाइएपछि जवाफी कारबाहीमा दुई तस्करहरू घाइते भएका र तीन तस्कर भारततर्फ नै फरार भएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताएको समाचारमा उल्लेख छ । आइतबारको ‘रातोपाती’मा दुई वटा भारतीय नम्बर प्लेटका मोटर साइकलसहित एक लाख १९ हजार रकम बराबरको मदिरा र कपडा बरामद गरेको समाचार छ । भारतीय बजार कुण्डवा चैनपुरबाट भन्सार छली ल्याइएका सामान र नेपालको ईशनाथबाट भारततर्फ लगिएको मदिरा बरामद भएको रौतहट जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएको समाचारमा छ । यी लगातार आइरहेका समाचारबाट तस्करले खुल्ला सीमाको दुरूपयोग गरिरहेको पुष्टि हुन्छ । यी तस्करीहरू हिजो लकडाउन अगाडि पनि थिए । तर, लकडाउनको क्रममा तस्करसँग झडप भएका समाचार बढी आएका छन् । सीमामा नेपाली सशस्त्र प्रहरीको उपस्थिति देखिन थालेको छ । लकडाउन अगाडि सशस्त्र सीमा सुरक्षा बल भनेपनि दशगजाबाट पाँच सात किलोमिटरभित्र विओपी पोस्ट राखिएका थिए र छन् । लकडाउनमा सीमा बन्द घोषणा भएपछि कोरोना सङ्क्रमित बिरामी लुकीछिपी आउन नदिन प्रत्येक सय सय मिटरको दुरीमा दशगजाकै छेऊमा सशस्त्र प्रहरी जवान खटाइए । सशस्त्र प्रहरी जवानलाई घामपानीमा ओत लाग्न भूकम्पमा चीनबाट सहयोग प्राप्त टेन्ट दिइएको थियो । तस्करहरूले सशस्त्र प्रहरी हटाउन चिनियाँ टेन्टको बहाना बनाए । भारतीय सञ्चारमाध्यममार्फत भारतको विरोधपछि सशस्त्र प्रहरी केन्द्रकै आदेशमा सुविधा सम्पन्न चिनियाँ टेन्ट हटाइएको छ । अहिले सशस्त्र प्रहरी जवानहरू रुख छहारी र प्लास्टिक टाँगेर ड्युटीमा बस्नुपरेको छ । वर्षाको पानीले गाह्रो होला भन्दै अहिले प्रत्येक एक किलोमिटर दूरीमा प्रहरी खटाइएको अवस्था छ । नेपाली सशस्त्र सीमा प्रहरीलाई सीमाबाट टाढा सार्दा तस्करहरूलाई नै फाइदा हुने हो । नेपाली नागरिकको सुरक्षा चुनौती बढ्ने हो । भारतीय पक्षको विरोध हुँदैमा नेपाली सशस्त्र प्रहरीलाई सीमाबाट टाढा सार्ने सरकारको कदम उचित होइन । जबकि प्रत्येक तीन – तीन किलोमिटरको दूरीमा तीन तले पक्की भवनसहितको भारतीय एसएसबीको ब्यारेक छ । प्रत्येक सय – दुई सय मिटरमा एसएसबी ड्युटीमा खटिएका छन् । भारतीय एसएसबीको आँखा छलेर कोही पनि व्यक्ति दशगजा वारपार गर्न सक्दैन । सीमामा एसएसबीको उपस्थिति स्थायीरूपमै छ – लकडाउन अघिदेखि नै ।
सीमाको यही स्थितिमा पनि सीमा क्षेत्रमा उत्तेजना फैलाउन भारतीय सञ्चारमाध्यमले भारतीय नागरिकलाई उक्साउन प्रचारबाजी गरिरहेकै छन् । सात दिनअघि भारतीय अनलाइन ‘भास्कर’ले सीमा बन्द गरेकै कारण भारतीयहरूले रोजगारी गुमाउनुपरेको समाचार दियो । रक्सौलको पन्टोका गाउँका ९० प्रतिशत गाउँलेहरू वीरगञ्जमा काम गर्ने रहेछन् । नेपालीलाई भारतमा जान दिएपनि वीरगन्जमा काम गर्न आउन खोज्दा भारतीयलाई नेपाली प्रहरीले रोकेको सो अनलाइनको दाबी छ । ‘भास्कर’ले अर्को समाचार दियो, नेपालले नेपालीहरूलाई भारतको रक्सौल बजारमा जान नदिँदा रक्सौल बजार नै सङ्कटमा । रक्सौल बजारको असी नब्बे प्रतिशत ग्राहक नेपाली रहेको जनाउँदै नेपालमा भन्दा भारतमा आधा सस्तोमा सामान पाइने बताएको छ । यी दुइटा समाचार आफैमा अन्तरविरोधी छन् । यद्यपि, नेपालकै कारण सीमा नाका बन्द भएको र वर्षौँदेखिको रोटीबेटीको सम्बन्धमा नेपालले असर पार्न लागेको भ्रम सिर्जना गर्नु नै दुइटै समाचारको मूल उद्देश्य देखिन्छ । कोरोना विपत्तिमा भारतीय जनताको राहत र सुविधाको लागि भारतीय सरकारलाई जिम्मेवार बनाउनुभन्दा नेपालको कारण सीमा क्षेत्रका जनताले दुख पाएको भनी भड्काउन खोज्नु गलत छ । त्यसैले नेपाल – भारतबीचको जनसम्बन्धलाई अझ प्रगाढ बनाउन र सीमा क्षेत्रका जनताको सुरक्षा सुनिश्चित गर्न नेपाली सीमा क्षेत्रमा सही सूचना प्रवाह गरी सुदृढ सुरक्षा स्थिति अपनाउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *