भर्खरै :

धौलीगङ्गा बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा जोखिम

बैतडी, ८ साउन । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले दिएको जानकारीअनुसार परियोजनाको बाँध साउन १५ गते राति १२ बजेदेखि १६ गते बेलुकी ६ः४५ बजेसम्म खोलिने भएको हो ।
पावरस्टेसनको पत्रअनुसार शिल्ट फ्लसिङ र सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिनुभयो । बाँध खोलेपश्चात् महाकाली नदीमा पानीको सतह घटबढ भइराख्ने भएकोले सतर्क रहन आग्रह गरिएको छ । बाँध खोल्दा पानीको सतह बढ्ने भएकाले दार्चुलाको ब्यास गाउँपालिकाको ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
यस्तै बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको छ । दार्चुला र बैतडीसाथै डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउनाले नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।
उता, परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । वि.सं. २०७० मा धौलीगङ्गाकै बाँधका कारण दार्चुला सदरमुकाममा अर्बौँको क्षति भएको थियो ।
दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गाको परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । सोहीअनुसार नेपाली प्रशासनले नदी आसपासका बासिन्दालाई बाँध खोलिनेबारे जानकारी गर्दै आइरहेको छ । यसअघि गत असार १५ गते राति १२ बजेदेखि असार १६ गते बेलुका पौने ७ बजेसम्म खोलिएको थियो ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *