भर्खरै :

पत्रकारिता होइन, प्रोपोगन्डा हो

 
भारतीय सञ्चारमाध्यम ‘पत्रकारिता बाहेक सबै काम गर्छन्’ यो पुरानो र उत्तिकै चर्चित उक्ति हो । संसारभरी लागू हुने पत्रकार आचारसंहिता भारतीय पत्रकारहरूलाई लागू हुँदैन । उनीहरू सूचना र समाचार प्रवाह नै गर्दैनन् क्यामराका अघि उभिएर खुला धम्की दिन्छन् । अनर्गलरूपमा विषवमन गर्छन् । गाली, बेइज्जती गर्न हुने–नहुने सबै गर्छन् । संसारभरी कसैले मानोस् नमानोस् उनीहरू आफूलाई चलायमान पत्रकार मान्दछन् । उनीहरू केबल पत्रकार बिल्लाका भारतीय सरकारका गुण्डाहरू हुन् अर्थात् अपवादबाहेक भारतीय पत्रकारहरू पत्रकारिताको आडमा गुण्डागर्दी वा गुण्डागर्दीको आडमा पत्रकारिता गर्छन् जुन पत्रकारिताको धर्मविपरित अलपत्रकारिता, चाकरी, चाप्लुसी र सत्ताको दलालीबाहेक केही होइन ।
भारतकै चर्चित पत्रकार रविशकुमार त्यहाँको पत्रकारिताप्रति दिक्दार हुँदै ‘नागरिकहरूलाई टेलिभिजन नहेर्न’ सार्वजनिक अपिल गर्ने गर्छन् । सत्ताको सङ्गलो दलाली गर्ने भएकाले भारतीय कथित मूलधारका पत्रकारितालाई ‘गोदी मिडिया’ भन्ने पनि गरिन्छ । गोदी भन्नाले गोद अर्थात काखै (एकदम नजिककै) वा गोजीर पाकेटको भन्ने बुझिने हुनाले सरकारी मलजलवाला भनिएको हो । उक्त सञ्चार माध्यमको भूमिकामाथि भने अनुरूपको भएकाले त्यहाँका केही बुद्धिजीवी, लेखक, विश्लेषकहरू समेत त्यहाँको पत्रकारिता देखेर अनुत्तरित भएका र हुने गरेका छन् ।
तिनै तथाकथित नाम चलेका भनिएका सञ्चारमाध्यम र पत्रकारहरूले नेपालले भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेख, लिम्पियाधुरा क्षेत्रको भूभाग समेटिएको नक्सा जारी गरी संवैधानिक अङ्गको रूपमा संविधानमा समावेश गरेदेखि नेपाल र नेपालीहरूको विषयमा तथानाम एवं एकदमै तल्लोस्तरको गाली गलौज गरे । पत्रकारिताको धर्म नै बिर्सेर प्रधानमन्त्री केपी ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीका सम्बन्धमा समाजमा अपाच्य विषय प्रसारण गरे । नेपाल र चीनबीचको सदियौँदेखि रहिआएको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक सम्बन्धको उपहास गर्दै एकदमै घटिया र निम्नकोटीको श्रब्यदृश्य सामग्री प्रसारण गरे जसको जति नै निन्दा गरे पनि पुग्दैन । जसको परिणाम नेपालले ती समाचार प्रसारण संस्थालाई नै प्रतिबन्ध लगाउनुपर्ने परिस्थिति सृजना भयो । नेपालीहरूले पैसा तिरेर आफ्नै बेइज्जत सुन्नु र हेर्नुपर्ने अवस्थाको अन्त्य गर्ने जुन काम गर्यो त्यो एकदमै सराहनीय छ ।
तर, भारतीय पत्रकार र सञ्चार माध्यमको नेपालप्रतिको अफवाहको यो पहिलो शृङ्खला होइन । चरणबद्वरूपमा एकपछि अर्को असत्य, भ्रामक र अर्थहीन सामग्रीहरू प्रसारण गरेर नेपालीहरूलाई उद्देलिय गरेका प्रसङ्गहरूको लामो फेहरिस्त छ नेपालीहरूसँग । १९९१ मा राजीव गान्धी हत्याको छानबिन समितिको सार्वजनिक रिपोर्टपछि नेपाली तत्कालीन रानी ऐश्वर्या शाह र उनको अङ्गरक्षकलाई हत्या आरोप लगाइएको थियो । नेपालको विरोधपछि माफी मागेको थियो भारतले । जहाज अपहरण प्रकरणमा नेपालका ललितपुर निवासी सुनल ताम्राकार (सायद उहाँको मृत्यु भइसकेको छ) को फोटोसहित प्रसारण गरेको थियो । सिन्धुपाल्चोक का दमाई थरका एक नेपालीको विषयमा प्रसारित सामग्री सबैलाई ताजै छ उनले लामो समय भारतमा जेलजीवन बिताएका थिए । राई थरका एकजनालाई आतङ्कवादी सङ्गठन सदस्यको रूपमा प्रचार गरेको थियो । सगरमाथा आरोही प्रथम नेपाली तेन्जिङ नोर्गे शेर्पालाई भारतीय नागरिक भनेर प्रचार गर्यो । अमेरिकी आइडलमा उपविजेता नेपाली दिवेश पोखरेललाई भारतीय नागरिक भनेर खुब प्रचार गर्यो । कोभिड–१९ महामारीमा आफ्नो स्वास्थ्य अव्यवस्थालाई दिग्भ्रमित गर्न नेपालको तराईका एक जनप्रतिनिधिलाई भारतमा कोरोना फैलाउन नेपालबाट सङ्क्रमितहरू भारत पठाउँदै वा कोरोना निर्यातकर्ताको रूपमा देखाएर ठुलै बबण्डर मच्चाउने कोसिस गर्यो । यतिमात्र होइन नेपालको खुला सिमानाबाट आतङ्ककारी र आक्रमणकारीहरू भारत प्रवेश गर्छन् भनिरहन्छन् तर, दक्षिणी खुला सिमाना ब्यवस्थित र नियमित गराउन कहिल्यै सोच्दैनन् वा यस्तो विषयमा छलफल गर्न उपयुक्त ठान्दैनन् ।

भारतकै चर्चित पत्रकार रविशकुमार त्यहाँको पत्रकारिताप्रति दिक्दार हुँदै ‘नागरिकहरूलाई टेलिभिजन नहेर्न’ सार्वजनिक अपिल गर्ने गर्छन् । सत्ताको सङ्गलो दलाली गर्ने भएकाले भारतीय कथित मूलधारका पत्रकारितालाई ‘गोदी मिडिया’ भन्ने पनि गरिन्छ । गोदी भन्नाले गोद अर्थात काखै (एकदम नजिककै) वा गोजीर पाकेटको भन्ने बुझिने हुनाले सरकारी मलजलवाला भनिएको हो । उक्त सञ्चार माध्यमको भूमिकामाथि भने अनुरूपको भएकाले त्यहाँका केही बुद्धिजीवी, लेखक, विश्लेषकहरू समेत त्यहाँको पत्रकारिता देखेर अनुत्तरित भएका र हुने गरेका छन् ।

चीन भारत विवादित क्षेत्रमा गएर सिमा जोडिएका देशहरूसँग स्वाभाविक र सौहार्दपूर्ण वातावरणमा द्विपक्षीय सीमा समस्या समाधान गरेको चीनलाई विस्तारवादी भन्ने मोदी र उनका गोजीका समाचार संस्था र पत्रकारहरू दक्षिण एसियाका प्रायः सबै देशमाथि अन्याय, अत्याचार, ब्यभिचार र सामाजिक, आर्थिक, धार्मिक, साँस्कृतिक अतिक्रमण गर्दै आफ्नै देशको भूमिमा हिँडडुल गर्न सम्बन्धित देशका नागरिकहरूलाई डर–त्रास देखाई रोक्ने भारतलाई संसारकै ठुलो प्रजातान्त्रिक देश भनेर घोक्रो फुट्ने गरी चिच्याउन लाज मान्दैनन् । चीनले आफ्नो भूमिमा उपस्थिति देखाउँदा विस्तारवादी भन्ने र देख्ने भारतीयहरू नेपालको ७१ भन्दा बढी ठाउँमा ६४ हजार हेक्टर बढी भूभाग अतिक्रमण गर्दा र कालापानी, लिपुलेख, लिम्पियाधुराको सिङ्गो ब्यास क्षेत्रमा भारतीय सैनिक राखिनुलाई विस्तारवादी नीति नमानी आफूलाई गौरवान्वित महसुस गर्ने गर्छन् । भारतीयहरूको यो ‘गौरवान्वित’मा कति घृणा, अपमान र अराजनीतिक व्यवहार छ भन्ने कुरा राष्ट्रप्रेमी नेपालीहरूलाई मात्र थाहा छ ।
भारतीय समाचार प्रसारणको लागि न त प्रमाणको आवश्यकता पर्छ न त तथ्य र वास्तविकताको खाली प्रोपोगन्डा अस्थिरता उत्पन्न गराई दिग्भ्रमित गराउनुबाहेक केही हुँदैन । नेपाल–भारत सीमा विवादमा ती समाचारहरूले कहिल्यै विगतका प्रमाण र वर्तमान अवस्थाको चित्रण गरी सो विषयमा बहस गर्न गराउन चाहेनन् । खाली रोटीबेटी, छोटेभाइ, बडेभाइ, सैनिक शक्तिको तुलना । तर, एक लाख चालीस हजारभन्दा बढी नेपालीहरू भारतीय सेनामा कार्यरत रहेको कुरा उनीहरू कहिल्यै भन्न चाहँदैनन् । १९४७ मा सँगसँगै स्वतन्त्र भएको पाकिस्तान र भारत वास्तविक दाजु–भाइ हुन् जुन जन्मजात शत्रु नै हुन् । तर, कहिल्यै कसैको अधिनमा नरहेको नेपाल अङ्ग्रेजका गुलामहरूको कसरी छोटे भाइ ? संसारका हरेक देशहरूको सार्वभौमिकता उत्तिकै बराबर छ चाहे सबैभन्दा सानो देश भ्याटिकन सिटी किन नहोस् ?
नेपालका लागि चिनियाँ राजदूतको काम गर्ने तरिकालाई भारतीय सञ्चार माध्यमले ठुलै हलचलको रूपमा व्याख्या गरे । तर, भारतीय दूतावास र राजदूतको विगतको भूमिका र व्यवहारलाई न्यूनाङ्कन गरिरहे अर्थात त्यो व्यवहारको विषय उठाउनै चाहँदैनन् । भारतीय विदेश मन्त्रालयका तल्लो तहका कर्मचारी, तथाकथित विश्लेषकहरूको धम्कीयुक्त भाषा कहिल्यै देख्दैनन् र सुन्दैनन् पनि । चिनियाँ राजदूतको भूमिकालाई नेपालका केही व्यक्ति र सञ्चारमाध्यमले पनि आकाशै खस्लाझैँ गरी कोकोहोलो मच्चाए । खाडी मुलुकमा म्यानपावर कम्पनी र मालिकको सेवा, युरोपियन देशहरूमा ग्रीनकार्ड र पीआरको लागि मरिहत्ते, भारतमा आफ्ना छोराछोरी र नातागोतालाई छात्रवृत्तिमा पढाउन चाकरी गर्नेजस्तो निम्छरो काम राजदूतहरूले गर्ने गर्दैनन् । आफू कार्यरत देशको विद्यमान राजनीतिक अवस्थाको जानकारी, द्विपक्षीय सहयोग र सम्बन्ध कायम गर्न कूटनीतिक मर्मअनुसार चिनियाँ राजदूतको भूमिकालाई हस्तक्षेप मान्नेहरूले भारतीय दूतावासको नाङ्गो नाचलाई किन देख्दैनन ? जनस्तरमा अहिले व्यापक चर्चा सुनिन्छ ।
झण्डै झण्डै भिरमा झुन्डिएको ओली नेतृत्वको दुईतिहाइ सरकारले ब्यास क्षेत्र समेटिएको चुच्चे नक्सा प्रकाशित गरेपछि उग्र देखिएको तथाकथित भारतीय राष्ट्रवाद भित्रको नेपाली अपमानलाई सम्पूर्ण तह र तप्काले एकजुट भई सामना गर्नुपर्ने बेला केही ब्यक्ति र समूह भारतीय जासुसको प्रवक्ता जसरी दिनदहाडै चुनौती दिइरहेका छन् भने अर्कोथरी आत्मरमिता रमाएर ब्याप्त राष्ट्रिय समस्याहरूको समाधानमा ध्यान केन्द्रित गर्नेभन्दा अनेक बहानामा विषयान्तर गर्ने जाल फ्याकिरहेका छन् । दुवैथरी देश र जनताका लागि हरियो घाँसभित्र लुकेको सर्पजत्तिकै खतरनाक छन् । उनीहरूको व्यवहार समयमै पर्दाफास हुनु आवश्यक छ । अतः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विस्तारवादीहरूविरूद्ध सामूहिक एवं सुजबुझपूर्ण लडाइँ आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *