भर्खरै :

भारतको चीन युद्ध, सीमा युद्ध (डाँडाकाँडा र खोलानाला)

अलमल र डर
नेहरूको घरमा अक्टोबर ११ मा बसेको बैठकले ठोस निर्णय लिन सकेको थिएन । अब के गर्ने ? अपरेसन लेगहर्न चालू राख्ने वा सेनालाई सुरक्षित स्थानमा फर्काउने भन्नेबारे अन्योल थियो । जनरल कौल अक्टोबर १३ मा तेजपुर फर्के र आफ्ना अफिसरलाई सरकारलाई नाम्का चूको वास्तविकता बुझाउन नसकेको बताए । चिनियाँहरूलाई हटाउने आदेश लागू गर्नुपर्ने उनले जानकारी गराए । उता जनरल थापर लेगहर्नलाई केही समयलाई थाती राख्नुपर्ने पक्षमा थिए । किनभने केही दिनपछि उनले पूर्वी कमान्डलाई उक्त अपरेसन आउँदो वसन्तमा पूरा गर्नका लागि चाहिने टुकडी र मालतालको हिसाब गर्न भनेका थिए ।
बाँकी ९ दिनसम्म अन्योल जारी रह्यो । कुनै विपत्ति आइलागेमा कसैमाथि दोष नपरोस् भनेर दस्तावेजहरू छ्यासमिस पार्न थालिएको थियो । मेनन, कौल र सेन चिनियाँहरूलाई हटाउन सकिने विश्वासमा थिए । त्यसैले नाम्का चूबाट सेना नहटाउने पक्षमा तीनैजना दृढ थिए । ढोला चौकी बनेदेखि नै मेनन छिटोभन्दा छिटो चिनियाँहरूलाई धपाउने पक्षमा थिए । यस योजनाको मूल सूत्रधार उनी थिए र यसमा उनलाई सेन र कौलको बलियो साथ थियो । उनी नेहरूभन्दा पनि अघि बढिसकेका थिए । अक्टोबर १४ मा उनले घोषणा नै गरे, “भारत सरकारको नीति भनेको चिनियाँहरूलाई नेफाबाट बाहिर निकाल्नु हो । चाहे यसको लागि १ दिन लागोस्, १०० दिन लागोस् वा १००० दिन नै किन नलागोस् । अनि लद्दाखमा पनि अन्तिम मान्छे र अन्तिम बन्दुक रहेसम्म लड्ने नै
(भारत सरकारको नीति) हो ।” नाम्का चूबाट सेना हटाएको भए संसद् खुलेको दिन आक्रोशजति मेननमाथि पोखिने निश्चित थियो । यही कारणले गर्दा कौल पनि सेनालाई खोलाको किनारबाट नहटाउने पक्षमा थिए । बाजागाजासहित विजयको सपना देखेका कौल सेनालाई पछाडि हटाउने कुरामा ध्यान गएमा नेता, प्रेस र जनताको तारो बन्ने थिए । जनरल स्टाफ कौलको पक्षमा लाग्ने भइहाल्यो । सरोकार राख्ने सबैलाई नाम्का चूबाट हट्ने कुरा जनतामाझ जानेछ भन्ने थाहा थियो । पेइचिङले यो कुरा बाहिर नल्याए पनि दिल्लीबाटै यो विषय चुहिने थियो ।
राजनीतिक खेल
पछाडिकाहरूले “अघि बढ” भने पनि अगाडिकाहरूले “पछि हट” भनिरहेका थिए । जाडो बढ्दै जाँदा ब्रिगेड ७ लाई नाम्का चूमा राख्न सकिने छैन भन्ने ब्रिगेडियर डाल्भी र जनरल प्रसादलाई थाहा थियो । तर, अक्टोबर १२ र १४ मा दिल्लीबाट अर्को बटालियन ग्रेनाडियर्स ४ पुग्यो । उनीहरू थकित थिए र यो मौसममा अभ्यस्त थिएनन् । गतिला हातहतियार पनि थिएनन् । त्यसपछि ४÷५ सय भरियाहरू थपिए । खान र लाउन समस्या भयो । यसबेलासम्म भारततिर २५ हजार सैनिक र ५ सय सहायकहरू जम्मा भएका थिए । २÷३ सयजनालाई मात्र पुग्ने लुगा र टेन्टहरू थिए । बाँकी सबै गर्मीकै बर्दीमा खटिएका थिए । पहरो खोस्रिने औजार नभएर रुखका हाँगाबिँगा र प्यारासुटका लुगाले बास बस्ने ठाउँ बनाइएको थियो । अक्टोबर १७ बाट हिमपात सुरु भयो । प्यारासुटबाट खसालिएका सामग्रीमध्ये दुइटामात्र सग्लै हात परे । आगराबाट पठाइएका गोलाबारी गर्ने सिपाहीहरू कार्पोला १ को १६००० फिट उचाइ चढ्दा जाडो र थकानले मृत्युको आहार भए ।
अक्टोबर ९ देखि नै रासनको अभाव सुरु भएको थियो । २ दिनको जगेडा रासन बाँकी थियो । चिनी, नुन र सलाइ थिएन । धेरै विमानहरू सामान पु¥याउन प्रयोग गरिएको थियो । मौसमका कारण ती विमान मिर्मिरे बिहानदेखि साढे ९ बजेसम्म मात्र उड्थे । अजङ्गका विमानहरू तल र सुस्त उड्न सक्दैनथे । त्यसैले साङधरको सामान खसाल्ने ठाउँमा प्रायः सामान खस्दैनथे र हराउन पुग्थे । खसालेका सामानमध्ये ३० प्रतिशत सामानमात्र हात लाग्थे । त्यसपछि तिनलाई बोकेर ७ दिन हिँडेपछि मात्र नाम्का चू ल्याउन सकिन्थ्यो । जाडोले गर्दा भरियाहरू पातलिँदै थिए र सेनाका आफ्नै सहायकहरू खान र लाउन नदिएसम्म भारी बोक्न तयार थिएनन् । सैनिकहरूलाई बाक्लो हिमपात र ठिहि¥याउने जाडोमा बस्न लगाउनु व्यर्थ र अपराध थियो । त्यो स्थितिमा सिपाहीहरू बिरामी हुन र भोकै मर्नसक्थे । युद्धमा सिपाहीहरूले धेरै दुःख खेपेर लडेका थिए तर यो युद्ध थिएन । यो त राजनीतिक खेल थियो । अक्टोबर १२ मा उनीहरूले कौलको तर्फबाट जहाँको तहीँ रहने सन्देश पाएका थिए । र त्यही दिन रेडियोबाट नेहरूको कुरा थाहा पाएपछि चिनियाँहरूलाई खेद्ने योजना चालू छ भन्ने बुझे । अक्टोबर १६ मा डाल्भीलाई अर्को सन्देश आयो । मन्त्रिमण्डलको बैठकले नोभेम्बर १ लाई अपरेसनको म्याद तय गरेको थियो । (यस म्यादको बारेमा सेनाको रिपोर्टमा उल्लेख छैन । यो अस्वाभाविक थिएन । आदेश मौखिक थियो । पछि डाल्भीको कुरा सेनाले पनि सुन्न मानेन । तर, उनी तथ्यहरूबारे सचेत थिए भन्ने कुरा उनको पुस्तक हिमालयन ब्लन्डरबाट स्पष्ट हुन्छ ।)
साङले नछोड्नू
नाम्का चूका अफिसरहरूलाई कोर ४ का अफिसरहरूको साथ थियो । ब्रिगेडियर केके सिँहले कडा शब्दमा ब्रिगेडलाई त्यहाँ राख्न असम्भव भएको लेखेका थिए । बरु सेनाको सङ्ख्या घटाएर एक बटालियनमा झार्नुपर्ने र ढोला चौकीमा मात्र तैनाथ गर्नुपर्ने उनको तर्क थियो । बाँकी ३ बटालियन सेना लम्पुमा ल्याउनुपर्ने उनको सुझाव थियो । यही विचार ६ महिनाअघि जनरल उमराव सिँहले राखेका थिए । सेनालाई पछाडि सार्ने कुरा साङलेसँग जोडिएको थियो । साङले नाम्का चूको मुहानमा रहेको सानो ताल थियो । सेनाको नक्सामा यो ढोला चौकीबाट २÷३ माइलको बाटोमा थियो । यहाँ जान २ दिनभन्दा बढी लाग्थ्यो । वास्तवमा यो भुटानको सीमाभित्र पथ्र्यो । तर, भारतीय सेनालाई म्याकमाहोन रेखा बेवास्ता गर्न भनिएझैँ सो तथ्य बेवास्ता गर्न भनियो । एकजना भुटानी अधिकारीलाई कोर ४ को हेडक्वाटरमा बोलाएर यसको विषयमा जानकारी गराइयो । (भुटान एक सार्वभौम देश भएकोले त्यहाँका राजाले आफ्नो सीमाक्षेत्रलाई भारतको सुरक्षा मामिलामा प्रयोग गर्न बारम्बार मनाही गरिरहेका थिए । भुटान र भारतबीच परराष्ट्र मामिलासम्बन्धी सन्धि भए पनि रक्षा मामिलासम्बन्धी सन्धि भएको थिएन ।) साङलेबाट थागलापारिको चिनियाँ स्थिति थाहा पाउन सकिने भएकोले त्यो रणनीतिक महत्वको बिन्दु थियो । डाल्भीको सुरुको योजनामा पनि साङलेबाट सेङजोङसम्म अघि बढ्नुपर्ने उल्लेख थियो । त्यसमा उनलाई उमराव सिँहको साथ थियो । यसलाई कब्जा गर्न हतारो गरेमा चिनियाँहरू चनाखो हुनेछन् भन्ने उनीहरूको विचारलाई लत्याउँदै जनरल सेनले अक्टोबरको सुरुमै साङले कब्जा गर्न एउटा कम्पनी पठाएका थिए र चिनियाँहरू त्यहाँ सतर्क भइसकेका थिए ।
नाम्का चूबाट नेहरूको घर जानेबेला कौलले सेनालाई साङलेबाट पछि नहट्न भनेका थिए र चिनियाँ दबाब बढेमा आफ्नो विवेकअनुसार जनरल प्रसादलाई पछि हट्न भनेका थिए । केही दिनपछि कौलको विचार फेरियो । उनले कुनै पनि हालतमा सेनालाई साङलेबाट पछि नहट्न आदेश दिए । डाल्भी, केके सिँह र प्रसादले साङलेमा रासन पु¥याउन थप समस्या भएकोले खाली गर्नुपर्ने बताइरहे । डाल्भीले त्यहाँको विषयमा सारमा यसो लेखेका थिए, ‘पुल नम्बर ४ काम लाग्दैनथ्यो । साङधरबाट टेढोमेढो बाटो जानुपथ्र्यो । चिप्लो र हिउँको बाटो ५ दिन हिँडेपछि त्यहाँ पुगिन्थ्यो । ठुलो भारी बोक्न अप्ठ्यारो थियो । जाने मान्छे आफैँले आफ्नो लागि १० दिनको रासन लानुपथ्र्यो । धेरै भरिया बीचमै हार मान्थे । बलियाहरूले लगेको सामानले पुग्दैनथ्यो । भरिया र सेना दुवैलाई गतिलो लुगा नदिए मर्नसक्थे । नाम्का चूका सिपाहीहरूका लुगा खोल्न लगाएर साङले जानेहरूलाई दिनुपथ्र्यो । यो नमीठो समाधान थियो ।” अक्टोबर १७ मा तेजपुरको एक सम्मेलनबाट मेनन, सेन र कौलले साङले छोड्न नहुने विचारमा ठुलो जोड दिए । डाल्भीलाई अर्को एउटा कम्पनी त्यहाँ पठाउन भनियो । यसपछि साङलेमा दुई कम्पनी हुन्थे र समग्र ब्रिगेड ७ को दुःख चरम बन्थ्यो । पूरै नाम्का चूको स्थिति बिस्तारै कमजोर बन्दै गयो ।
बिरामी जनरल
नाम्का चूमा बस्दा कौलको छातीको समस्या सुरु भएको थियो । अक्टोबर १७ मा उनलाई ज्वरो आयो । उनको स्वास्थ्य बिग्रियो । शारीरिक र मानसिक थकान र श्वासप्रश्वासको सङ्क्रमणका कारण उनलाई फोक्सोको एलर्जी भएको देखियो । सरकारका प्रमुख स्वास्थ्य सल्लाहकारलाई दिल्लीबाट कोर ४ को हेडक्वाटर तेजपुर पठाइयो । १८ तारिख बिहान आएर यी अफिसरले कौलको स्थिति झन् जटिल हुने बताए । साथै तेजपुरमा सुविधासम्पन्न अस्पताल हुँदाहुँदै उनलाई उपचारका लागि दिल्ली लैजानुपर्ने बताए । कौल आफैँले जनरल थापरलाई सैनिक अपरेसनको मैदान छोडेर दिल्ली आउन अनुमति मागे । साथै उनले जनरल सेनको पनि अनुमति पाएको बताएका थिए । सेनले भने कौल दिल्ली पुगेपछि मात्र उनी बिरामी भएको र तेजपुर छोडिसकेको थाहा पाएको बताएका थिए । केवल यही एउटा कुरामा कौल र सेनबीच मतभेद देखियो ।
दिल्लीमा कौललाई अस्पतालमा राखिएन । बरु अक्टोबर १८ मा उनी आफ्नै घरमा थिए । कोर ४ को कमान्ड अरूलाई नसुम्पनुले उनको समस्या गम्भीर थिएन भन्ने पुष्टि हुन्छ । घरमा नक्सासामु उभिएर र हातमा टेलिफोन समातेर जनरल लगातार नाम्का चूका घटना सञ्चालन गरिरहेका थिए । १८ तारिखको रात उनले साङलेमा अरू २ कम्पनी थप्ने आदेश दिए । एउटालाई पुल नम्बर ५ मा र अर्कोलाई साङले र त्यस पुलको बीचमा तैनाथ गर्न भनिएको थियो । यो मौखिक आदेश जनरल प्रसाद हुँदै डाल्भीसम्म पुग्दा चिनियाँ आक्रमण आइलाग्ने देखिएको थियो । रिसले चुर हुँदै डाल्भीले विरोध जनाए । प्रसादले पनि सुरुमा यसै गरेका थिए । डाल्भीको विरोध कौलको दिल्लीस्थित बेडरुममा पुग्यो । कौलले साङलेको तयारी आवश्यक भएको बताए र आदेश पालन गर्न नमान्ने अफिसरलाई कोर्ट मार्शल गर्ने धम्की दिए । प्रसादले यो कुरा डाल्भीलाई बताए ।
अक्टोबर १८ मा थागला डाँडाको दक्षिण पाखामा चिनियाँ गतिविधि बढेको देखियो । सयौँ खच्चर र मजदुरहरू सक्रिय थिए । सामग्रीहरू जम्मा गरिँदै थियो । अर्को दिन (१९ तारिख) २ हजारको सङ्ख्यामा सेङजोङतिर टुकडीहरू हिँडिरहेको देखियो । रातमा हिँड्न चिनियाँहरूले चिह्नहरू लगाइरहेका थिए । उनीहरूले आफ्नो मनसाय लुकाएनन् । आक्रमणको यस तयारीबारे डाल्भीले प्रसादलाई खबर गरे । प्रसाद त्यसबेला डिभिजन ४ को रणनीतिक हेडक्वाटर जिमिथाङमा थिए । डाल्भीले आफ्नो ब्रिगेडले चिनियाँहरूको प्रतिकार गर्न नसक्ने हुनाले साङलेबाट सेना फिर्ता बोलाउन अनुमति मागे । यसले सेना एक ठाउँमा आउने थियो र सशक्त हुने थियो । तर, कौलको आदेश ईश्वरको बोलीजस्तै थियो । कुनै पनि मूल्यमा साङले नछोड्नू भन्ने उनको आदेश थियो । प्रसादले आदेश उल्लङ्घन गर्ने साहस गर्न सकेनन् र डाल्भीको आग्रह मान्न अस्वीकार गरे । ढोला चौकीनिरको आफ्नो हेडक्वाटरमा ब्रिगेड मेजर र केही अफिसरका अगाडि उभिएर डाल्भीले प्रसादलाई आफ्ना सिपाहीहरू भकाभक मारिएको हेर्नुभन्दा राजीनामा दिन्छु भने । डाल्भीका शब्द कोर ४ को हेडक्वार तेजपुर पठाइयो । तर, ब्रिगेडियर केके सिँहले कमान्डरको आदेश उल्लङ्घन हुने कुरा अगाडि बढाउन सकेनन् बरु कौलसँग कुरा गर्ने वचन दिए । यस विषयमा पछि कुनै चर्चा भएन । बरु अर्को बिहान (२० तारिख) गोर्खालीहरूको बाँकी कम्पनी साङले जान तयार थियो ।
चिनियाँ गोलाबारी
अक्टोबर १९ रात चिनियाँ टुकडीहरूले खुला ठाउँमा मजाले आगो तापे । यसबेलासम्म पानी घटेर नाम्का चू तर्न सकिने बनेको थियो । पुलहरूको निगरानी गर्ने माथिको आदेशको कुनै अर्थ थिएन । पुलका काठहरू काम नलाग्ने भएका थिए । भारतीयहरू निकै टाढाटाढा तैनाथ भएकोले बीचबाट सजिलै खोलावारि आउन सकिन्थ्यो । रातमा चिनियाँ टुकडीहरूले पुल नम्बर ४ को पश्चिमतिरबाट खोला तरे । केही टुकडी साङधर डाँडामुनि बसे । बाँकी टुकडी बाँयातिरबाट आक्रमणका लागि ढुकेर बसे ।
अक्टोबर २० को बिहान ५ बजे चिनियाँहरूले दुई गोली सङ्केत दिए । त्यसपछि थागलाको दक्षिण पाखोमा खुलारूपमा राखिएका मोर्टार र आर्टिलरीबाट भारतीयहरूको केन्द्र भागमै गोलाबारी सुरु भयो । पहिलो गोली चलेपछि झट्का लागेजस्तो भएको र त्यसबेलासम्मको मित्रता एकाएक विश्वासघातमा फेरिएजस्तो भान भएको डाल्भीले लेखेका छन् । भारतीय केन्द्र भागमा गोर्खाली र राजपुतहरू थिए । उनीहरूबीच नै चिनियाँहरू पसिसकेका थिए । साङलेतिर हिँड्दै गरेका गोर्खालीहरू चिनियाँ गोलाबारीमा परे । राजपुतहरूमाथि दुईतिरबाट प्रहार भयो । बिहान ९ बजेभित्र गोर्खाली र राजपुतहरू मारिएका थिए । यसबीच साङधरमा चिनियाँ हमला भइसकेको थियो । त्यसबेलासम्म गोर्खालीहरूको कमजोर कम्पनीले प्यारासुटबाट खसालिएका बन्दुकको भरमा त्यसको रक्षा गर्दै आएको थियो । गोर्खालीहरू साङलेतिर हिँड्न थालेका थिए । यत्तिकैमा गोली चल्यो र गोर्खालीहरू पूरै सखाप नहुँदासम्म लडे ।
ब्रिगेड छिट्टै तितरबितर भयो । हेडक्वाटरसम्म जोडिएका टेलिफोनका तारहरू गोलाबारीले चुँडेका थिए । गोर्खाली र राजपुतहरूका खबरीहरू रेडियो छोडेर राइफल समात्न पुगेका थिए । दुवैतिरबाट घोरिँदै गएपछि डाल्भीले प्रसादलाई आफ्नो हेडक्वाटरबाट टुकडीसहित पछि हट्न अनुमति मागे । उच्च तहबाट आएको आदेश भएकोले साङलेमा एउटा पल्टन भए पनि राख्न भन्दै प्रसादले पछि हट्ने अनुमति दिए । त्यसपछि ब्रिगेड हेडक्वाटर गोर्खालीहरूलाई भेट्ने आशले साङधरतिर लाग्यो ।
चीनको योजना बीचबाट पसेर साङधर र हाथुङला कब्जा गर्ने थियो । त्यसपछि बीचमा छोडिएका भारतीय टुकडीलाई पछि फुर्सदमा तह लगाउन सकिन्थ्यो । पर्याप्त गोलाबारुद र सिपाहीहरूका कारण चीनको योजना सफल भयो । पञ्जाबी र ग्रेनाडियरहरू खोलाको पूर्वी भागमा अर्थात् भारतीय पक्षको दायाँतिर थिए । उनीहरूमाथि आक्रमण गरिएन । तर, उनीहरूलाई खोलामै व्यस्त राखियो । प्रसादले उनीहरूलाई हाथुङलाबाट निस्कने आदेश दिए तर त्यहाँ चिनियाँहरू पहिले पुगे र पछि फर्किरहेका भारतीय टुकडीलाई त्यही बन्दी बनाए । ब्रिगेडका बाँकी सिपाहीहरू पश्चिमतिर गए र धेरै हन्डर खाएर भुटान हुँदै भारत फर्के । आफ्ना साथीहरूसँग भेट्ने प्रयास गरिरहेका ब्रिगेडियर डाल्भीलाई अक्टोबर २२ मा बन्दी बनाइयो । एउटा चिनियाँ टोलीले खिनजेमानेमाथि हमला गरेपछि डरले जनरल प्रसाद र उनको रणनीतिक हेडक्वाटर तवाङतिर हिँड्यो । २२ तारिखमा उनी तवाङ पुग्दासम्म ब्रिगेड ७ नष्ट भइसकेको थियो । ब्रिगेडको विनाशको कारक र भारतीय उच्च रणनीतिक बिन्दु साङलेलाई चिनियाँहरूले बेवास्ता गरे । अपरेसन लेगहर्नका लागि पनि साङले उच्च रणनीतिक बिन्दु थियो । तर, चिनियाँ नक्सामा त्यो भुटानको भूभाग थियो ।
पश्चिममा आक्रमण
चिनियाँहरूले एकैचोटि पश्चिमी सीमामा पनि हमला गरेका थिए । चिपचाप खोलाको दुनको भारतीय चौकी, गलबान र पाङगोङ तालमा प्रहार गरिएको थियो । अगष्टमा बनेको गलबानको मुख्य चौकी ध्वस्त भयो । सैनिकहरू केही मारिए, कोही समातिए । पहिलो दिनको आक्रमणमा नपरेका केही सानातिना चौकीलाई पश्चिम कमान्डले पछि हट्न आदेश दियो । अपरेसन लेगहर्नले जस्तै गरम नीतिले पनि त्यही अन्त्य भोग्यो जुन वास्तविक सैनिकहरूले पहिले नै देखेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *