भर्खरै :

भक्तपुर क्याम्पसमा आंशिक प्राध्यापकको तालाबन्दी

भक्तपुर, १५ साउन । भक्तपुर बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरू फेरि आन्दोलित भएका छन् । करारमा नियुक्त गर्नुपर्ने माग गर्दै उनीहरूले साउन १३ गते क्याम्पस प्रमुखको कार्यकक्षमा पुनः तालाबन्दी गरेका छन् ।
आफूहरूमाथि चरम विभेद र शोषण भएको भन्दै प्राध्यापकहरूले तालाबन्दी गरेको आंशिक प्राध्यापक सङ्घ, भक्तपुर बहुमुखी क्याम्पस एकाइ समितिका अध्यक्ष नवीन मुनंकर्मीले बताउनुभयो । उहाँले आफ्नो पेशागत हक हितका मागहरू राखेर दशकौँदेखि आन्दोलनरत आंशिक प्राध्यापक र क्याम्पस प्रशासनसँग बेला – बेलामा वार्ता र सहमतिहरू भए तापनि उक्त सहमतिहरू कार्यान्वयन गर्न क्याम्पस प्रशासनले आलटाल गर्दै आएकोले आन्दोलनमा उत्रिन परेको बताउनुभयो ।
क्याम्पस प्रशासनले आन्दोलनरत आंशिक प्राध्यापकहरूको माग सम्बोधन गर्न २०७१ माघ १९ गते र २०७३ फागुन १ गते आन्तरिक करारको प्रक्रिया सुरुवात गरेको थियो । तर त्यो प्रक्रिया आफ्ना मान्छेहरूलाई करार गर्नमात्र सुरुवात गरेको सावित भएको मुनंकमीले बताउनुभयो । दश–बा¥ह वर्षदेखि कक्षा लिंँदै आइरहेका आंशिक प्राध्यापकहरूलाई नियमितरूपमा आन्तरिक करार गर्दै आंशिक प्राध्यापकहरूको व्यवस्थापन गर्दै जाने सहमतिहरू भए तापनि सो सहमति कागजमै सीमित भएको उहाँको भनाइ छ ।
२०७१ सालमा पहिलो पटक १५ जनाको दरबन्दी सृजना गरी आन्तरिक करार गरिएको थियो । त्यतिबेला २ वर्ष नियमित प्राध्यापन गरेकालाई पनि आन्तरिक करारमा घुसाइएको थियो । उतिबेला करारमा रहेकामध्ये कोही विदेश पलायन भए भने ९ जनामात्र आन्तरिक करारमा रहन पुगे । करारका ६ वटा पद परिपूर्तिको लागि पुनः आन्दोलन सुरुवात भयो । त्यति आवश्यक परेको भन्दै २०७३ फागुन १ गते २ जनालाई मात्र आन्तरिक करारमा लगियो । ३०–३५ जना आंशिक प्राध्यापक नै रहे ।
‘‘लामो समयदेखि निःस्वार्थ सेवा गर्दै आएका अन्य धेरै आंशिक प्राध्यापकहरू हुँदाहुँदै भर्खरै २ वर्ष काम गर्नेलाई किन आन्तरिक करारमा लगियो ?’’ अध्यक्ष मुनंकर्मीले तर्क गर्नुभयो ।
आन्तरिक करारका प्राध्यापकलाई नेपाल सरकारले निर्धारण गरेभन्दा बढी तलब अर्थात् १३ महिनाको तलब दिइयो । आफ्नो जिम्मेवारीपूर्ण पालना गर्ने आंशिक प्राध्यापकहरूलाई वर्षको ८–९ महिनाको मात्र पारिश्रमिक दिइएको छ ।
यसअगाडि २०७५ पुस १३ गते आंशिक प्राध्यापक सङ्घ, भक्तपुर बहुमुखी क्याम्पस एकाइ समितिले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दा प्रहरी आमन्त्रण गरी ताला फुटाउन लगाइएको थियो । उक्त प्रहरीे ज्यादती एवम् दमनविरुद्ध तत्कालै नेपाल प्राध्यापक समाज, प्रगतिशील प्राध्यापक सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, स्वत्रन्त्र विद्यार्थी युनियन, नेक्राविसङ्घ, नेविसङ्घ, अखिललगायत त्रि. वि. प्राध्यापक सङ्घ र अन्य वैचारिक सङ्घ सङ्गठनबाट विज्ञप्ति जारी भएको थियो ।
२०७५ कार्तिक १६ गते क्याम्पस कार्य समितिमा आन्तरिक करारको प्रक्रियामा पुनः जान, विगतमा स्वीकृत भएका दरबन्दीमध्ये रिक्त दरबन्दी पूर्ति गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने र आवश्यकताअनुसार दरबन्दी सृजना गर्ने गरी प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । तर, सहमतिविपरीत २०७५ मंसिर १ गते आंशिक प्राध्यापकहरूले खाइपाइ आएकै पारिश्रमिकलाई १२ महिनामा बाँडेर मासिक पारिश्रमिक दिने निर्णय गरियो । मासिक पारिश्रमिक प्रणाली लागू गरे तापनि क्याम्पस प्रशासनले दुईतीन महिनाको एकचोटि मात्र पारिश्रमिक दिँदै आएको छ ।
कोभिड–१९ महामारीको कारण बन्दाबन्दी अवस्थामा रहेकोले चैत महिनादेखिको पारिश्रमिक दिन नसक्ने निर्णय गरी आंशिक प्राध्यापकहरूको थप शोषण गरेको आन्दोलनकारीको भनाइ छ । आन्तरिक करारका प्राध्यापकहरूलाई भने नेपाल सरकारले निर्धारण गरेभन्दा बढी पारिश्रमिक दिइएको छ ।
देशभरका क्याम्पसहरूमा लामो समयदेखि कार्यरत आंशिक प्राध्यापकहरूको माग सम्बोधन गरी यथाशीघ्र कार्यविधि कार्यान्वयन गर्न आन्दोलनरत आंशिक प्राध्यापकहरूले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *