भर्खरै :

वन्ती पाटी शिलान्यास

भक्तपुर, १५ साउन । भक्तपुर नगरपालिका वडा नं. ५ वन्तीस्थित वन्ती पाटी–२ को पुनःनिर्माणको लागि बिहीबार शिलान्यास गरियो । शिलान्यास सोही वडाका वडाध्यक्ष डा. हरिराम सुवालले गर्नुभएको थियो ।
सो अवसरमा वडाध्यक्ष डा. सुवालले भक्तपुर कला र संस्कृतिको नगर भएको चर्चा गर्दै नगरभित्रका कला र संस्कृतिको जगेर्नामा भक्तपुर नगरपालिका कटिबद्धताकासाथ लागिरहेको प्रस्ट पार्नुभयो ।
उहाँले भक्तपुरको कला–संस्कृति र सम्पदाको पुनःनिर्माण र जीर्णोद्धारका लागि विदेशीहरूका अनुचित शर्तसहितको सहयोग भनपाले स्वीकार नगरेको बताउँदै ती कार्यका लागि भनपा र भक्तपुरका जनता नै सक्षम रहेको बताउनुभयो ।
भनपाले एकपछि अर्को मठमन्दिर पुनःनिर्माण गरेर भूकम्पपछिको पुनःनिर्माणमा उल्लेख्य सफलता मिलेको र ती कार्यमा भक्तपुरका सम्पदाप्रेमी जनताको पूर्ण साथ र सहयोग पाएको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले देशमा पुँजीवादी व्यवस्थासँगसँगै समाजमा सामुदायिक हितको स्थान व्यक्तिगत र पारिवारिक स्वार्थले लिँदै गरेको चर्चा गर्दै कतिपय स्वार्थी मानिसहरूले सार्वजनिक पाटी–पौवा, मठ मन्दिर र ढुङ्गेधारा म्हासेर घर उठाउने गरेको स्मरण गराउनुभयो ।
उहाँले सार्वजनिक पाटी–पौवा मासिएमा हाम्रो समाजको मौलिकता र मानवीयताको भावना पनि हराउने बताउनुभयो ।
कतिपयले नयाँ घर बनाउँदा पहिलेदखि निरन्तर बगिरहेको ढल वा पानीको निकास बन्द गर्दा पानी जमेर नजिकका खेतमा लगाइएको धान बाली बिग्रेको र वर्षात्को बेलामा सडक नै खोलाजस्तै हुने गरेको उहाँले औँल्याउनुभयो ।
कार्यक्रममा नेमकिपा भनपा वडा नं. ६ वडा समन्वय समितिका संयोजक जीआर थुसाले भक्तपुर नगरपालिकाले नेमकिपाको नीति निर्देशनबमोजिम जनताको सेवा गरिरहेको र जनताको आवश्यकता र मागबमोजिम विकास निर्माण कार्य गर्दैआएको स्पष्ट पार्नुभयो ।
उहाँले जनताको साथ र सहयोगले नै मात्र कुनै पनि विकास निर्माण सफल हुने र उद्देश्य पूरा हुने बताउँदै त्यसका निम्ति हिसाब–किताब पारदर्शी र काममा इमानदारीता जरुरी छ भन्नुभयो ।
वन्ती पाटी–२ पुनःनिर्माण कार्य उपभोक्ता समितिका सल्लाहकार तुल्सीप्रसाद खाताखोको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका अध्यक्ष प्रकाश थुसालगायतले पाटी पुनः निर्माण कार्य सम्पन्न गर्न सबैसित आर्थिक, जिन्सी तथा जनश्रमदान सहयोगका निम्ति अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *