न्यायिक क्षेत्रमा एउटा मान्यता छ – न्याय गुमराहमा पर्नसक्छ । तर, न्याय सदाका लागि लुप्त हुँदैन । नेपालको न्याय क्षेत्रमा पुनः एक पटक त्यो पुष्टि भएको छ । सर्वोच्च अदालतले श्रीमतीको हत्या गरेका नेपाल प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई ११ वर्ष ६ महिना कैद छुट दिने गरी भएको फैसला त्रुटीपूर्ण रहेको प्रारम्भिक ठहर गरेको छ । सर्वस्वसहित जन्मकैदको सजाय छुट दिनका लागि प्रयोग भएको साविक मुलुकी ऐनको अ.ब. १८८ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) को गलत प्रयोग भएको ठहर गरेको हो । कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकन हुने अनुमति तीन जना न्यायाधीश सम्मिलित पूर्ण इजलासले दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको इजलासले पुनरावलोकनका लागि अनुमति दिएको हो ।
आदेशमा ढकालको मृत्यु भवितव्यमा परेर नभई योजनाबद्धरूपमै भएको उल्लेख गरेको छ । भवितव्यमा परेको भन्दै भएको फैसलालाई पूर्ण इजलासले अस्वीकार गरेको छ । संलग्न प्रमाणले कोइरालाले नियोजितरूपमै गीता ढकालको हत्या गरेको पुनरावलोकनका लागि अनुमति दिएको आदेशमा उल्लेख छ ।
प्रस्तुत वारदात हेर्दा प्रतिवादी रञ्जन कोइरालाले घटना घटाउँदा र घटना घटेपछि मृतकको शव लुकाउन गरेको क्रियाकलापबाट घटित वारदातलाई सामान्य अवस्था वारदात भन्न मिल्ने वा भवितव्य हो कि भनी मान्न मिल्ने अवस्था देखिँदैन, आदेशमा उल्लेख छ । पुनरावलोकनका लागि अनुमति पाएसँगै रञ्जन कोइरालाविरूद्ध दायर भएको कर्तव्य ज्यान मुद्दा शून्यबाट फेरि सुनुवाइको बाटो खुला भएको छ ।
स्मरणहोस्, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले रञ्जन कोइरालाले पाएको सर्वस्वसहितको जन्मकैदको फैसलालाई घटाएर ८ वर्ष ६ महिना कैद सजाय कायम गरेको थियो । कोइराला रिहा भएसँगै चौतर्फी विरोध भएपछि सर्वोच्चको फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले गएको बिहीबार नै पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।
महान्यायाधिवक्ता कार्यालयले निवेदनमा खारेज भइसकेको अ.ब १८८ को प्रयोग त्रुटी भएको र सजाय घटाउने निर्णय सर्वोच्चले नै प्रतिपादन गरेका कैयौँ सिद्धान्तविपरीत रहेको उल्लेख गरेको छ । यसले प्रधानन्याधीश राणाको कानुनको बुझाइमा अक्षमता वा बद्नियत उदाङ्गो भएको छ । त्यस्ता अक्षम वा बद्नियत भएका व्यक्ति प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा रहनु नैतिकताले दिँदैन । के अब प्रधानन्यायाधीश राणाले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ ?

– आरोही श्रेष्ठ, काठमाडौँ image
– आरोही श्रेष्ठ, काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *