भर्खरै :

‘कर उठाउन पो महानगर बनाइएको रहेछ’

  • श्रावण १६, २०७७
  • – आरके श्रेष्ठ
  • समाचार

 चितवनको भरतपुर महानगरपालिका वडा न.२८ स्थित पश्चिम भेगमा एउटा सानो कुमाल बस्ती छ । सो गाउँ साविक मेघौली गाविसको जीतपुर बजार नजिकै पर्छ पर्साबजार, सालबास, सिसाबास । जहाँ बर्सेनि भेल, बाढी र जङ्गली जनावरबाट त्रसित र दुःखी हुनुपर्दछ । बस्तीको पुर्वबाट चितवन राष्ट्रिय निकुञ्ज भएर राप्ती नदी बगेको छ भने उत्तरबाट नारायणी नदी बगेको छ । हिउँदमा जङ्गली जनावर हात्ती, गैँडा, बँदेललगायत निकुञ्जबाट निस्केर बारीमा लगाएको अन्नबाली भसक्कै खाइदिन्छ । उस्तै परे जनावरले मान्छेको ज्यानै लिन्छ । वर्षात्मा रातभरि मान्छे निदाउन पाउँदैन । कतिबेला बाढी आउँछ र डुबानमा पर्ने हो भनी डरमा बस्नु पर्दछ ।
नारायणी र राप्ती नदीको सङ्गमस्थल गोलाघाटमा प्राकृतिक दृश्य अवलोकन, जङ्गल सफारी गरेर आनन्द लिन सकिन्छ । पर्यटकीय हिसाबले निकै आकर्षक क्षेत्र भएकोले सो ठाउँमा पर्यटन विकासको सम्भावना देखिन्छ । केही होटल तथा लजको व्यवस्थाले पनि सो क्षेत्रमा पर्यटकीय आकर्षण बढ्दै गएको छ । तर, पनि पन्ध्र सो¥ह सालदेखि स्थायीरूपमा बसोबास गर्दै आएको कुमाल समुदायमा भने खासै परिवर्तन आउन सकेको छैन । हाल सो क्षेत्रमा झन्डै चार सय पच्चीस घरधुरी कुमाल समुदाय रहेका छन् ।
त्यसै गाउँका एक जना बासिन्दा हुन् जानकी कुमाल । उनी पर्सा बजारमा आफ्नो बिहेपछि बस्दै आएको पनि उन्नाइस वर्ष पुग्यो । आजसम्म पनि आफ्नो गाउँ र समुदायमा परिवर्तन र विकास भएको उनले देखिनन् । भएको जग्गा जमिन पनि केहीले अरूलाई बेच्दै गएका छन् भने कति त छोरा नातीमा आइपुग्दा घर बनाउने जग्गासम्म नभएको जानकी भन्छिन् । गाउँमा शुद्ध खानेपानीको समस्या छ । घर – घरमा चर्पी बन्न अझै सकेको छैन । स्वास्थ्य र सरसफाइसम्बन्धी चेतनाको अभाव रहेको उनको गुनासो छ ।
“बेलाबखत नेताहरू आएर हाम्रो गाउँ पनि महानगर बन्ने भयो भनी बोल्थो । के–के नै हुनेहोला भनी यहाँको जनतालाई लागेथ्यो । एउटा साँघुरो सडकलाई पिच बनाइदिएको छ । जेमा पनि कर उठाउन पो महानगर बनाएको रहेछ भनी अहिले आएर जनता बुझ्दै छन्”, उनले सुनाइन् । परार साल राप्ती नदी बढेर गाउँमा पस्यो । यो साल नारायणी नदी पसेर गाउँ डुबायो । यो वर्ष नारायणी नदीले पुरानो भएको तटबन्ध भत्काएरै बाढी बस्तिमा छिरेको हो । वर्षात् महिना नसकेसम्म राप्ती र नारायणी नदी किनारका कुमालहरूलाई बाढीको डर भइरहन्छन् । यो साल सो क्षेत्रको गोलाघाट, लौखरी, अन्द्रौली, सिसाबास, सालबास, जितपुर, निउरे चोक, पाँडेजितपुरलगायत ठाउँमा बाढी पसेको हो । बाढीले खेतबारी र घरहरूमा क्षति पु¥याएको छ ।
जानकी कुमाल हाँस, कुखुरा, बाख्रा व्यवसायिकरूपमा पाल्छिन् भने उनका श्रीमान् माछा, हास, कुखुराको व्यापार गर्छन् । त्यसैबाट नै घर व्यवहार चल्नुको साथै एक छोरी र एक छोराको पढाइ खर्च पनि पुगिरहेको थियो । कोरोनाको बन्दाबन्दीको कारण घर व्यवहारमा पनि प्रभाव पर्नु स्वाभाविक नै भयो ।
कुमाल गाउँ नारायणगढ बजारबाट ३३ र ३४ किलोमिटर पश्चिम पर्दछ । महानगर घोषणा भएको तीन वर्ष पुग्दासम्म यस ठाउँमा तात्विक फरक आउन सकेको छैन । मानिसहरू परम्परागत कृषि प्रणालीमा नै सीमित छ । वर्षात्को बाढी र हिउँदमा जङ्गली जनावरले खाएर बाँकी भित्रिने अन्नले गरिब कुमाल परिवारहरूलाई वर्षभरि खान अपुग हुन्छ । गाउँका युवाहरू बाध्य भएर कमाउनको लागि सहर बजार र भारत जाने गर्दछन् । केही मानिसहरूले भने होटल लजहरूमा पनि काम गर्ने गर्छन् । महानगर भए नभएको कुनै फरक अनुभूति नभएको जानकीको मत छ । सेवा सुविधा केही छैन । गाउँका कुमाल समुदायको आर्थिक, सामाजिक सुधार र विकास हुनसक्ने कार्यक्रमहरू सरकारले ल्याउन नसकेको उनको गुनासो रहेको छ । वडा अध्यक्षमा एमालेका कुमाल जातिलाई नै जिताएको हो । हुनेखाने कुमालले गरिब कुमालको दुःख पीडा बुझ्न नसकेको जानकीको बुझाइ छ । गाउँको समस्या वडा कार्यालयमा जति राखे पनि सुन्दैन । त्यहाँभन्दा अन्त जाने ठाउँ थाहा नभएको उनको भनाइ छ । नदीका किनारमा तटबन्धहरू बनाए तापनि बेला – बेलामा मर्मत सम्भार नभएकोले गाउँ, बस्तीमा बर्सेनि बाढी छिरिरहन्छ । जङगली जनावरबाट सुरक्षाको लागि पनि निकुञ्जको वरिपरि बलियो तारबार लगाउनु आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *