भर्खरै :

मुस्ताङसँग सम्पर्क टुट्यो

बलेवा, १५ साउन । बाढीले जमिनको बाटोे बगाएको २६ औँ दिन भयो । आकाशको मार्गसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ, अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धता सामान्य समयमा जस्तो छैन हिमालपारिको जिल्ला मुस्ताङमा ।
 ।सबै विकल्प बन्द भएपछि जिल्लावासीलाई जिल्लामा उपचार हुन नसक्ने गरी बिरामी पर्दा के गर्ने भन्ने चिन्ताले नराम्ररी पिरोल्न थालेको छ । यहाँका सर्वसाधारणलाई यस वर्षको वर्षाले निकै दुःख दियो । हिउँदमा भारी हिमपातका कारण खेतीपाती र पशुचौपायाको क्षति व्यहोर्दै आएका यहाँका किसानले वर्षामा बाढी पहिरोका कारण सडकमा क्षति हुँदा कृषिजन्य उत्पादनको बिक्री वितरणमा समस्या भोग्नुपरेको छ
गत असार १९ गते भीषण वर्षा हुँदा छिमेकी जिल्ला म्याग्दीसँग सडक सञ्जाल जोडिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डअन्तर्गत घोप्टेभिरमा सडक बगायो । सडक बगाएको झन्डै एक महिना बित्न लाग्दा मर्मत गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत असारको २६ गतेको बाढीले म्याग्दीको गलेश्वरमा बेलिबृज बगाएपछि जिल्ला पुग्ने सडकमा अर्को ठुलो बज्र प¥यो ।
प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भन्नुभयोे, “घोप्टेभिरमा बनाए सडक चल्ला भन्ने थियो, पानी थपियो, ठाउँ ठाउँमा फेरि पहिरो खस्यो ।” जिल्ला प्रवेश गर्ने एकमात्रै नाका घाँसादेखि माथि जोमसोमसम्म कैयौँ ठाउँमा सडक बगाएको छ । बेनीबजारदेखि मुस्ताङ जाने सडकमा समेत कतै बेलिबृज कालीगण्डकीले बगाएको छ भने कतै सडकका कल्भर्ट नै छैनन् । “एकदुई ठाउँ बनाएरमात्रै सडक चल्ने अवस्थामा छैनन्”, उहाँले भन्नुभयो, “वर्षा रोकिँदा साथ काम त थालेका छौँ, बनाएको केहीबेरमै बगाएको छ ।”
सडक सम्पर्क टुटेको जिल्लामा हवाई सेवा समेत प्रभावित भएको छ । लकडाउनका कारण बन्द रहेको डोमेस्टिक हवाईसेवा सञ्चालनमा ल्याउने सरकारी निर्णयसँगै मुस्ताङमा चार्टर जहाज चल्दै आएका थिए । पछिल्लो केही दिनयता मौसममा खराबी आएको भन्दै चार्टर जहाजसमेत नचलेकोले जिल्ला पूर्णरूपमा बाहिरी जिल्लासँग सम्पर्कविच्छेद भएको छ ।
सडक र हवाईमार्ग बन्द हुँदा जोमसोम बजारमा पेट्रोलियम पदार्थको अभाव भएको छ । “खाद्यान्नको अभाव अझलाई टारिएको छ तर अझै लामो समय बन्द रहे भन्न सकिन्न”, मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्रप्रसाद तुलाचनले भन्नुभयो, “तेल, ग्यास छैन ल्याउने बाटो छैन ।”
मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव हुँदा बिग्रिएका सडक मर्मतको कामसमेत प्रभावित भएको छ । “बजारमा अनुगमन गरेर तेल खोज्दा छ ब्यारेलमात्रै पाइयो”, प्रजिअ अर्यालले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *