समाचार थरीथरी
अक्टोबर १८ को रात सीमामा चिनियाँहरूले भिडन्तको अन्तिम तयारी गरिरहेका थिए । यता नयाँ दिल्लीमा प्रधानमन्त्री निवाससामु प्रहरी र जनताबीच मुठभेड भयो । आन्दोलनकारीहरू प्रहरीको घेरा तोडेर आफ्ना गुनासाहरू नेहरूसम्म पु¥याउन चाहन्थे । सरकारले गरिब दुःखीहरूको पीडा र मागहरू नसुनी कानमा तेल हालेर बसेको आन्दोलनकारीहरूको गुनासो थियो । प्रहरीसँगको घम्साघम्सीमा आइमाई र प्रहरीसहित २० जना घाइते भए । सीमासँग जोडिएको भए यस घटनामा भारत सरकारको ध्यान जाने थियो । सञ्चारमा सीमाको विषय कहिलेकाहीँमात्र समाचार बन्थ्यो । कहिले त जानाजान छापिन्नथ्यो । मध्य अक्टोबरमा हिन्दू दैनिकले समाचार छाप्यो – भारतमाथि अचानक आक्रमण । यो समाचार नेपालसँग सम्बन्धित थियो । नेपालमा नेहरूको पुत्ला जलाइएको थियो । भाषा आन्दोलन, केरलाको सत्ता, पाकिस्तानी सीमामा तनाव, पञ्जाबको सिख राजनीतिमा मोड – समाचारका लागि धेरै विषय थिए ।
अन्तिमसम्म पनि भारतीय जनतालाई थागलाको लडाइँमा भारतले जित्नेमा विश्वस्त तुल्याइएको थियो । अक्टोबर १९ को एक अन्तर्वार्तामा कृष्ण मेननले ‘भारतीय भूभागबाट चिनियाँहरूलाई पूर्णरूपमा खेद्ने’ सरकारको प्रतिबद्धता दोहो¥याए । नाम्का चूमा भइरहेका गतिविधिबारे बताउँदै उनले चिनियाँहरूको सङ्ख्या ठुलो र आपूर्ति राम्रो भए पनि खोलावारि उपस्थिति जनाउने उनीहरूको प्रयासलाई सेनाले विफल तुल्याएको बताए । त्यही दिन स्टेट्सम्यान दैनिकले रक्षा मन्त्रालयको हवाला दिँदै थागलामा सेना १५ माइल सीमारेखामा २ माइल अगाडि बढेको समाचार छाप्यो । त्यसको शीर्षक थियो – भारतले ह्वात्तै धकेलेको अपुष्ट रिपोर्ट । भोलिपल्ट त्यस समाचारको आधिकारिक खण्डन आयो ।
नेहरू र मेनन
अक्टोबर २० मा सीमाको लडाइँबारे सूचनाहरू दिल्ली आउन थाले । चिनियाँहरूलाई कहाँसम्म रोक्न सकिन्छ भन्ने पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै मेननले भने, “उनीहरू जसरी आइरहेका छन् त्यसबाट उनीहरू कहाँसम्म आउने हुन् भन्न सकिन्न ।” जटिल भू–बनोटले गर्दा नेफामा भारत बलियो रहेको पहिले बताइन्थ्यो । अब भने त्यहीँ भूबनोट भारतको कमजोरी छोप्ने बहाना बन्न पुग्यो । मेननले भारत युद्धको हिसाबले सामग्रीको जोरजाम नगरेको र भारतीय सेनालाई जहाजबाट युद्ध सामग्री पठाउनुपर्ने समस्या रहेको बताए । उनले यस मानेमा चीनलाई सजिलो भएको बताए । नेफामा भारत बलियो भएको सरकारी झूट छताछुल्ल भएको थियो । प्रधानमन्त्री नेहरूले पत्रकारहरूसँग भेट्न मानेनन् । संसद् चलेको थिएन । अर्को दिन एक अखबारको शीर्ष खबर थियो – युद्धमा भारत । दुई विपक्षी सांसदले नेहरूसँग भेटे र उनलाई चिनियाँ आक्रमणबारे शान्त रहन भने । नेहरूले उनीहरूलाई पेचिङसँग कूटनीतिक सम्बन्ध नतोड्ने र विदेशी सैन्य सहयोग नलिने स्पष्ट बताए । उनी घाइते भारतका मूर्तिजस्ता देखिएका थिए र उनीप्रति सहानुभूतिको लहर फैलेको थियो । तर सबैको तारो बनेका थिए रक्षामन्त्री मेनन ।
अक्टोबर २३ मा दिल्लीमा भेला भएर काङ्ग्रेसका ३० जना सांसदले देशलाई सरकारले भ्रममा राखेको आरोप लगाए । साथै नेहरू, सरकार र देशलाई लद्दाख र नेफामा स्थिति भारतको पक्षमा छ भनेर कृष्ण मेननले भ्रममा राखेकोमा विरोध जनाए । प्रधानमन्त्रीमाथि आरोप लगाइँदा विश्लेषणको समय भइनसकेको भनेर नेहरू पन्छिए । क्रिपालानी र अन्य विपक्षी सांसदहरूले नेहरूलाई रक्षा मन्त्रालयको जिम्मा लिन अनुरोध गरे । दिल्लीमा काङ्ग्रेसका सांसद थपिँदै गए । मेननलाई बर्खास्त गर्नुपर्ने माग चर्किँदै गयो । त्यसमाथि राष्ट्रपति डा. राधाकृष्णन पनि देशभरका काङ्ग्रेस मुख्यमन्त्रीहरूसहित त्यस मागमा थपिए ।
अक्टोबर ३१ मा नेहरूले रक्षा मन्त्रालयको जिम्मा लिने घोषणा भयो तर मेननलाई रक्षा उत्पादन मन्त्रीको रूपमा मन्त्रिमण्डलमै राखियो । पहिले मेननले यो पद अस्वीकार गरेका थिए । अहिले भने नेहरूले आफ्नै शैलीमा यसो गरेका थिए । वास्तवमा भन्ने हो भने मेननका आलोचकहरू परोक्षरूपमा नेहरूका आलोचक नै थिए । त्यसैले मेननलाई हटाउने माग चर्किरहेको बेला मेननलाई मन्त्रिमण्डलमै राखेर नेहरूले आफ्ना आलोचकहरूलाई जवाफ दिएका थिए । मेननको मन्त्रालय फेरिए पनि उनको जिम्मा नफेरिएको शङ्कालाई मेननले नै पुष्टि गरे । उनले भने, “केही फेरिएको छैन ।” नोभेम्बर ७ मा नेहरूले काङ्ग्रेसको संसदीय समितिअगाडि मेननको बचाउ गरे । उनले मेननमाथि आरोप लगाउने भए सरकारमाथि पनि लगाउनुपर्ने बताए । साथै मेननको राजीनामा माग्ने भए आफूले पनि राजीनामा दिनुपर्ने नेहरूको तर्क थियो । अनेक नेताका अनेक कुरा थिए । तर सार थियो – “ल, तपाईँले मेननकै नीति मान्नुहुन्छ भने हामीले तपाईँलाई पनि त्याग्नुपर्ने हुन्छ ।” भोलिपल्ट मन्त्रालयबाट मेननले राजीनामा दिए । नेहरूको आसन जोगाउन मेननले बलि चढे ।
रक्षामन्त्रीका दाबेदार ओडिसाका मुख्यमन्त्री थिए बीजे पटनायक । पटनायकलाई नेहरूले एउटा गोप्य मिसनको जिम्मा दिए । उनी तिब्बतीहरू, त्यसमा पनि खम्पाहरूबीचबाट गुरिल्लाहरू तयार गरेर सीमा क्षेत्रमा उत्पात मच्चाउने काममा खटिए । देहरादूननिर गुरिल्ला तालिम केन्द्र खोलिएको थियो । १९६२ पछि तिब्बतको सीमामा भएका उपद्रोहरूमा त्यहीँका विद्यार्थीहरूको संलग्नता रहेको तिब्बतसम्बन्धी जानकार एक लेखकको दाबी छ । मेननको ठाउँमा महाराष्ट्रका मुख्यमन्त्री वाइबी चाभन आए । उनी आउने दिन सीमा युद्ध सकिएको थियो । सीमा युद्धले मेननमात्र गएका थिएनन् । भारतको राजनीति पनि फेरियो । नेहरूको नैतिक उचाइ एकाएक खस्किँदै गयो । उनको ठाउँमा काङ्ग्रेसको संसदीय समिति बलशाली हुँदै गयो ।
‘कथित असंलग्न’
भारतको बुझाइमा विदेशी चासो फेरिएको थियो । पश्चिमी देशहरूले सीमा युद्धलाई एसियाका कम्युनिस्ट र गैरकम्युनिस्ट शक्तिबीचको सङ्घर्ष भने । कोरिया युद्धमा जस्तै राष्ट्रसङ्घले भारतलाई सघाउनुपर्ने विचार पनि आयो । द इकोनोमिस्टले घुमाउरो भाषामा चीनको प्रतिकार गर्नुपर्ने लेख्यो । टाइम्स पत्रिकाले नेहरूको भनाइ छाप्यो, “हामी आधुनिक विश्वमा सत्यबाट टाढिँदै छौँ र आफैले सिर्जना गरेको कृत्रिम वातावरणमा बाँचिरहेका छौँ ।” सारमा पश्चिममा भारतप्रतिको सहानुभूतिमा कमी आएन । राष्ट्रपति केनेडीले सहानुभूति दिँदै नेहरूलाई लेखे, “तपाईँले सबै महान धर्मगुरुहरूको शिक्षालाई व्यवहारमा ल्याउनुभएको छ ।” भारतीय नीतिको आध्यात्मिक भावनामा केनेडीले भौतिक सहयोग थप्ने प्रस्ताव राखे । अमेरिकाप्रति बढ्दै गइरहेको भारतको लगावलाई मलजल गर्न भारतस्थित अमेरिकी राजदूत गालब्रीथले सकेको जोड लगाए । उनले अमेरिकी सरकारलाई आधुनिक भोगचलनका आधारमा म्याकमाहोन रेखालाई मान्यता दिन कर गरे । सुरुमा अनकनाएको अमेरिकाले पछि म्याकमाहोन रेखालाई मान्यता दियो । उता फार्मोसा वा ताइवान सरकारले अमेरिकी कदमको तत्काल विरोध ग¥यो । सहयोगको लाममा बेलायत पनि भारतकै पक्षमा गयो र चीनको निन्दा ग¥यो ।
असंलग्न राष्ट्रहरू भने ‘असंलग्न’ नै रहे । आक्रमणको एक हप्तापछि पनि अरब देशका सरकार, राजनीतिक दल वा पत्रपत्रिकाबाट भारतलाई एउटा पनि सहानुभूति प्राप्त नभएको एक भारतीय संवाददाताले लेखे । लन्डनको सम्मेलनबाट फर्किँदा नेहरू घाना पसेका थिए । यसै भ्रमणमा घानाका एनक्रुमाले नेहरूलाई नजिकबाट चिनेको हुनुपर्छ । त्यसैले भारतलाई सैन्य सहयोग गर्न हतारिएकोमा एनक्रुमा बेलायतप्रति रुष्ट भए । उनले बेलायती प्रधानमन्त्री म्याकमिलनलाई स्थिति नचर्काउने सुझावसहित पत्र पठाए । एफ्रो एसियाली देशमध्ये साइप्रस र इथियोपिया मात्र भारतको पक्षमा उभिए । अरू देशले दुई देशबीच तनाव कम गर्न मध्यस्थता गर्न खोजे । संसद् खुलेपछि नेहरूले ती देशप्रतिको आफ्नो असन्तुष्टि व्यक्त गरे । उनले आफूहरू युद्धको मानसिकतामा नरहेकोले युद्धमा कमजोरीहरू देखिएको जिकिर गरे । साथै भारतलाई राम्ररी प्रस्तुत हुन सल्लाह दिनेहरूलाई विषयवस्तु बुझ्न भने । अझै अघि बढेर उनले असंलग्न देशहरूलाई ‘कथित असंलग्न’ भनी तीतो पोखे र उनीहरू चीनसँग डराएकोले भारतको पक्ष नलिएको बताए ।
रुसी रवैया
रुसको रवैया भारतको लागि घातक भयो । चिनियाँ आक्रमणको केही घण्टामै दिल्लीले फेरिएको रुसी अडान थाहा पायो । नेहरूलाई पठाएको पत्रमा ख्रुश्चेभले युद्ध ‘असाध्यै भयानक बाटो’ भएको बताउँदै छलफलमा जानुपर्ने चिनियाँ प्रस्ताव स्वीकार्न सल्लाह दिए । (भारत थागलामा चीनविरुद्ध बल प्रयोग गर्न चाहन्छ भन्ने रुसबाट लुकेको थिएन । अपरेसन लेगहर्न बनिरहेको बेला मेननले रुसी राजदूतलाई भेटेर यसको विषयमा बताएकोमा शङ्का छैन । साथै चीनलाई रुसले त्यो सूचना दियो भने चीन पछि हट्न राजी हुनेछ भन्ने मेननको आशा थियो ।)
अक्टोबर २४ मा पेचिङले युद्धविराम र छलफलको प्रस्तावसहित पत्र पठायो । यसको स्वागत गर्दै प्राभ्दाले सारमा यस्तो सम्पादकीय लेख्यो – “बेलायती उपनिवेशवादीहरूले लेख्दै, मेट्दै र लेख्दै छोडेको नक्साका कारण चीन र भारतबीच कुख्यात म्याकमाहोन रेखाबारे विवाद आएको हो । चीनले कहिल्यै त्यस रेखालाई मान्यता दिएको थिएन । साम्राज्यवादीहरू रातदिन सीमा विवादलाई सैनिक युद्धसम्म तान्ने कोसिसमा छन् । भारतभित्रका प्रतिक्रियावादीहरू द्वन्द्वलाई चर्काइरहेका छन् र केही प्रगतिशील भारतीयहरू समेत ठुलो राष्ट्र अहङ्कारवादको जालमा परेका छन् ।” रुसको आलोचनाले भारतलाई झट्का लाग्यो । हिन्दू पत्रिकाले रुस मनैदेखि चीनको पक्षमा लागेको र आफ्नो तटस्थता तोडेको लेख्यो । भारतीय कम्युनिस्टहरूको एउटा खेमा पनि रुसी रवैयाबाट रुष्ट भयो । रुसले भारतलाई दिँदै आएका लडाकु विमानहरूमा रोक लगाउने अनुमान मस्कोस्थित भारतीय दूतावासले गरेको थियो । केही हप्तासम्म रुसले यस विषयमा अलमल गरिरह्यो ।
खासमा हिमालयमा सङ्कट परेको बेला टाढा क्यारिबियामा पनि एउटा खेल चल्दै थियो । क्युवा पुगेका रुसी मिसाइलहरूबारे अमेरिकाले अक्टोबर १४ मा थाहा पाएको थियो । अक्टोबर २२ मा आएरमात्र अमेरिकाले सो रहस्य खोल्यो । त्यसपछि केनेडी सरकारले क्युवामाथि नाकाबन्दी चर्काउने घोषणा ग¥यो । अमेरिकासँग सम्बन्ध बिग्रिएको बेला चीनको साथ आवश्यक हुन गयो । त्यसैले सीमा विवादमा ख्रुश्चेभ चीनको पक्षमा आएका थिए । पछि चीनले रुसी रवैयालाई चलाख लोलोपोतो भनी खण्डन ग¥यो । त्यसो त चीनले क्युवाली अधिकारीहरूसँग साठगाँठ गरेर मिसाइल सङ्कटको मितिसँग आक्रमणको मिति जुधाएको केही विश्लेषकको बुझाइ छ । तर, अक्टोबर २० को आक्रमण चीन–भारत विवादकै क्रमिक विकासको उपज थियो र नाम्का चूको पानीको तहजस्ता स्थानीय परिस्थितिले त्यो मिति तय गरेको थियो ।
रुसी रवैयाबाट सुरुमा निराश भए पनि नेहरूले कुरा ठम्याइहाले । त्यसैले अक्टोबरको अन्त्यतिर अमेरिकी टीभीलाई दिएको अन्तर्वार्तामा उनले भने, “क्युवाको घटनाक्रम आदिले गर्दा उहाँहरूलाई चीनतिर ढल्किनुपर्ने बनाएको हुनुपर्छ ।” अक्टोबर २८ मा ख्रुश्चेभ क्युवाबाट मिसाइल फर्काउन सहमत भएका थिए । त्यसैले नेहरूले सोभियत सङ्घ फेरि आफ्नो पुरानो अडानमा फर्किने बताए । भयो पनि त्यस्तै ।
तीनमुखे आक्रमण
जनरल थापर र जनरल सेनले तवाङमै चीनलाई रोक्न चाहेका थिए । अक्टोबर २२ मा सेन हेलिकप्टरबाट तवाङ पुगे र तवाङलाई जुनसुकै हालतमा बचाउनुपर्ने आदेश दिए । त्यसबेला त्यहाँ सिख १ र गढवाल राइफल्स गरी २ बटालियन सेना थिए । जनरल सेनले चाँडै नै तवाङमा २ ब्रिगेड सेना थपिने बताएका थिए । भोलिपल्ट उनले जिमिथाङबाट फर्किरहेका जनरल प्रसादलाई भेटे । दुवैजना आत्तिएका थिए । सेनले के आदेश दिए भन्ने विषयमा विवाद छ । तर तेजपुरस्थित हेडक्वाटर र कोर ४ का अफिसरहरूले तवाङमा अडिने प्रयास घातक हुने देखेका थिए ।
चिनियाँहरूले तिनतिरबाट आक्रमण गरेका थिए । ब्रिगेड ७ लाई ध्वस्त पारेको चिनियाँ टोलीमा ३ रेजिमेन्ट सैनिक भएको अनुमान थियो । त्यो टोली थागलाबाट दक्षिण पूर्व मोडियो र अक्टोबर २३ सम्ममा शक्ति नामक स्थान हुँदै तवाङनजिक पुग्यो । दोस्रो चिनियाँ टोली खिनजेमानेबाट न्यामजाङ चू नदीको तीरैतीर पहिलो टोलीसँग मिसिन पुगेको थियो । तेस्रो चिनियाँ टोली बुमलाबाट आएको थियो । यो टोली पुरानो व्यापारिक मार्ग हुँदै सीधै तवाङ पुग्दै थियो । तवाङ भौगोलिक हिसाबले असुरक्षित थियो । चिनियाँ फौजले यसलाई सजिलै कब्जा गर्नसक्थ्यो । दिल्लीस्थित सैन्य हेडक्वाटरका ब्रिगेडियर पाटिलले तवाङ खाली गर्नुपर्नेमा जोड दिए । जनरल थापरले यसको लागि नेहरूको सल्लाह मागे । नेहरूले कहाँ र कसरी लड्ने भन्ने विषयमा सबैकुरा सेना आफैँले तय गर्नुपर्ने बताए । तेजपुरमा कोर ४ का ब्रिगेडियर केके सिंहले पनि जनरल सेनसँग तवाङ खाली गर्नमा जोड दिइरहेका थिए । थागलामा चिनियाँ हमला भएको बिहानपछि कौल दृश्यबाट अलप भएका थिए ।
अक्टोबर २३ मा कोर ४ ले तवाङको सम्पूर्ण सेनालाई बोम्दीला पुग्न भन्यो । बोम्दीला तवाङबाट ६० माइल टाढा थियो । कोर ४ को हिसाबअनुसार बोम्दीला सेनालाई पायक पर्ने सबैभन्दा उत्तरको बिन्दु थियो । सबैतिर बोम्दीलामा जम्मा हुने खबर गयो । तर सैन्य हेडक्वाटरमा ब्रिगेडियर पाटिल सेला भञ्ज्याङमा अडिनुपर्नेमा जोड दिए । सेला तवाङबाट १५ माइलको दुरीमा थियो । जनरल कौलले मिलिट्री अपरेसनको निर्देशकमा तान्नुभन्दा अगाडि ब्रिगेडियर पाटिलले ब्रिगेड ७ को कमान्ड सम्हालेका थिए । शत्रुलाई तल समथर भूभागमा पस्नबाट रोक्नु छ भने सेला भञ्ज्याङजस्तो प्राकृतिक पर्खालमै उसलाई छेक्नुपर्ने उनको विचार थियो । कडा मिजासका पाटिलको कुरा मेनन र थापरलाई चित्त बुझेको हुनुपर्छ । चीनलाई जति भित्र पस्न दियो उसलाई फर्काउन उति नै गाह्रो हुने उनीहरूको ठहर थियो । जनरल सेनले पुरानो आदेश खारेज गरेर सेनालाई सेला भञ्ज्याङमा जम्मा हुन भने । केके सिंह भने सेलामा पर्याप्त मात्रामा सैन्य सामग्री पु¥याउन असम्भव भएको बताइरहेका थिए । सेनले मन्त्रिमण्डलले नै सेला भञ्ज्याङलाई छनोट गरेकोले सरकारको आदेश मान्नुपर्ने जवाफ दिए ।
नेफामा शान्ति
सेला विपत्तिको अर्को कारण बन्न पुग्यो । यो भञ्ज्याङ १४,६०० फिट उचाइमा थियो । त्यहाँ पुग्न तवाङबाट ५००० फिट ठाडै उकालो चढ्नुपथ्र्यो । बाटोमा धेरै उकाली ओरालीहरू थिए । यो बलियो किल्ला थियो । तर, भारतीय सेनाका लागि यो पासो बन्न पुग्यो । त्यहाँ रक्षात्मक किल्ला बनाउन धेरै मिहिनेत र समय लाग्थ्यो । तल समथरबाट सेलामा गाडी त जान्थ्यो तर सडक निकै लामो थियो । पहाडी फेँदबाट सेला पुग्न धेरै दिनको कष्टदायी यात्रा गर्नुपथ्र्यो । १४००० फिटदेखि १६००० फिटसम्मको उचाइमा काम गर्नुपथ्र्यो । समथरबाट आएका सिपाहीहरू यस उचाइमा काम गर्न अभ्यस्त थिएनन् । साथै तवाङबाट नजिक भएको हुनाले चिनियाँहरू त्यहाँ सजिलै पुग्नसक्थे । सेला जोगाउनका लागि त्यहाँ पुग्ने सडकहरूमा पनि नियन्त्रण गर्नुपथ्र्यो । अर्कोतिर सेला र बोम्दीलाको बीचको खोँच पनि नियन्त्रणमा लिनुपथ्र्यो । बीचको सडक भरपर्दो थिएन । भारतको धेरै सेना यिनै काममा खर्च हुन्थ्यो । दोस्रो विश्वयुद्धमा जापानी बमहरू खसेकोले कलकत्ताजस्ता सहरको सुरक्षाका लागि सरकारले हवाई सेना परिचालन गर्ने निर्णय गरेको थियो । यसकारण, सेलामा आपूर्तिको काममा हवाई सेना अपुग हुने निश्चित थियो ।
अक्टोबर २३ मा तवाङ खाली गरियो । केही सय जनसाधारण र गुम्बाका लामाहरू पनि सैनिक टुकडीसँगै हिँडिरहेका थिए । चिनियाँहरूले कुनै अवरोधबिना २५ अक्टोबरमा तवाङ कब्जा गरे । भारतीयहरू जाङ खोलापारि तैनाथ भए । त्यसमा तवाङका बटालियनमा यताउतिबाट बच्दै आएका सिपाहीहरू थपिएका थिए । तवाङ पुगेपछि चिनियाँहरू रोकिए । म्याकमाहोन रेखाका अन्य ठाउँबाट पनि चिनियाँहरूले आक्रमण गरेका थिए । अक्टोबर २४ र २५ मा नेफाको वालोङमा आएर चिनियाँहरूले एकाध ठाउँमा आक्रमण गरेपछि केही समयलाई नेफा सामसुम भयो ।

 शमशेर image
शमशेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *