भर्खरै :

सिमानाबाट भित्रिने क्रम रोकिएन

धनगढी, १७ साउन । कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धार गर्ने काम अहिले पनि जारी छ । कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न सहरबाट हिजोआज नेपाली नागरिक स्वदेश भित्रिने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
उहाँले भन्सार नाकाबाट हालसम्म जम्मा एक लाख बढी नेपाली स्वदेश भित्रिएको बताउनुभयो । “बन्दाबन्दीको सुरुका समयमा सीमानाका हुँदै भित्रिने नेपालीको सङ्ख्या धेरै हुने गरेको भए पनि अहिले भने भित्रिनेको सङ्ख्या घट्दो क्रममा छ”, उहाँले भन्नुभयो । सुरुका दिनमा सोही नाकाबाट एकै दिनमा छ हजारसम्म नेपाली भित्रिएको तथ्याङ्क छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालयले बाहिरका जिल्लामा आवतजावत गर्न आकस्मिक अवस्थाबाहेकका अन्य सवारी पास उपलब्ध नगराउने भएको छ । आफैँ काजकिरिया बस्न जाने वा किरिया सकेर घर फर्कने, सरकारी अस्पतालबाट सिफारिस गरिएका सिकिस्त बिरामी, सरुवा भई रमाना लिई हाजिर हुन जाने कर्मचारी, निजका परिवार र हवाई टिकट सुरक्षित भई टिकट सूचीमा नाम भएका विदेश जानुपर्नेबाहेकका अन्य सवारी पास स्थगन गरिएको कार्यालयका सूचना अधिकारी जोशीले बताउनुभयो ।
अन्तर जिल्ला आवागमनका लागि जारी गरिँदै आएका सवारी पास हाल लकडाउन खुलिसकेको र सार्वजनिक यातायातको सन्दर्भमा जारी नगर्न गृह मन्त्रालयबाट निर्देशन भएबमोजिम अन्य सवारी पास उपलब्ध नगराइने सूचना अधिकारीले जानकारी दिनुभयो । त्यस्तै यस कार्यालयले नियमितरूपमा सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बेला सवारी पासका कारण कार्यालयको सेवा प्रवाहमा असर परेकाले शुक्रबारबाट अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट अन्य कामका लागि सवारी पास जारी नगरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *