भक्तपुर, १७ साउन । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगरपालिका वडा नं. ४ एकाइ समितिको आयोजनामा शनिबार युवा, विद्यार्थीं तथा खेलाडीहरूको भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले प्रदेश सभाका गतिविधिहरूबारे जानकारी गराउँदै नेमकिपाका जनप्रतिनिधिहरूले प्रदेशसभामा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरी सरकारलाई सचेत गराउने कार्य गरिरहेको बताउनुभयो ।
दुईतिहाइको सरकार भ्रष्टाचार, अनियमितता र व्यथितिको पर्यायजस्तै भइरहेको चर्चा गर्दै उहाँले कोभिड– १९ को कारण आर्थिक सङ्कट रहेको बेला सरकारले आर्थिक मितव्ययिता अपनाउन नसकेको उल्लेख गर्नुभयो ।
“कोभिड–१९ को समस्या व्याप्त रहे पनि उद्योगपति र व्यापारीहरूको दबाबमा सरकारले लकडाउन खुकुलो बनाउँदा भयावहको स्थिति निम्तिने खतरा छ । यस्तो परिस्थितिलाई ध्यानमा राखी सांस्कृतिक कार्यक्रमहरू सामान्यरूपमा मनाउँदा उपयुक्त हुनेछ”, उहाँले भन्नुभयो ।
प्रदेश सांसद गोसाईले नेमकिपाका प्रकाशनहरू अध्ययन गरी युवा, विद्यार्थीं तथा खेलाडीहरूले सांस्कृतिक स्तर बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले युवाहरू सचेत र सङ्गठित भई समाज परिवर्तनका वाहक हुनुपर्छ भन्नुभयो ।
भनपाका गतिविधिहरूबारे जानकारी गराउँदै उहाँले समय परिस्थितिलाई ध्यान दिई गाईजात्रा पर्व औपचारिकता सीमित गर्न आग्रह गर्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् भनसका अध्यक्ष नारायणबहादुर दुवालले नेमकिपाको विधान र पार्टी कार्यकर्ताको भूमिकाबारे चर्चा गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष तुल्सीराम सुवालको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्ष कुमार चवाल र रविन सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *