भर्खरै :

स्वास्थ्य चौकी सार्ने निर्णयविरुद्ध छालिङ्गवासीको विरोधपत्र

भक्तपुर १८ साउन । चाँगुनारायण नपा वडा नं. ५, छालिङ्ग वडा कार्यालयले सँगै रहेको स्वास्थ्य चौकी अन्यत्र सार्ने निर्णय गरेपछि स्थानीयवासी आन्दोलित भएका छन् ।
हाल स्वास्थ्य चौकी रहेको स्थानमा पर्याप्त जमिन रहे पनि वडा कार्यालयले केही व्यक्तिको दबाबमा जमिन अपुग भएको भन्दै स्वास्थ्य चौकी सार्ने निर्णय गरेको हो ।
हाल भइरहेको छालिङ्ग वडा कार्यालय र स्वास्थ्य चौकी समग्र छालिङ्गको मध्य भागमा पर्दछ । स्थापनाकालदेखि नै उक्त ठाउँबाट छालिङ्गका जनताले सेवा सुविधा प्राप्त गर्दै आएका छन् । वर्षांैदेखि उपभोग गर्दै आएको सेवा सुविधाबाट बञ्चित हुने अवस्था आएपछि स्थानीय जनता आक्रोशित छन् । वडा कार्यालयले सरोकारवाला स्थानीय जनतासँग सरसल्लाह नगरी स्थानीय जनताको भवनाविपरीत सार्ने निर्णय गर्दा वडावासी जनता अचम्मित भएका छन् ।
उक्त ठाउँमा केही वर्षअगाडि वडा कार्यालय र स्वास्थ्य चौकीको नयाँ भवन बनेका थिए । फेरि नयाँ भवन बनाउने भनी बजेट विनियोजन हुनुमा सीमित व्यक्तिहरूले सरकारी बजेट दुरुपयोग गर्ने मनसाय राखेको आशङ्का स्थानीय जनता गर्दै छन् ।
स्वास्थ्य चौकी सार्ने निर्णयविरुद्ध आइतबार स्थानीय मिनबहादुर बाटा, कृष्णभक्त फोजू, बुद्धिबहादुर दथेपुथे, भाइराजा बाटा, प्रभुराम थापा, रामहरि थापा, शान्तिराम थापा लगायतको टोलीले हजारौँ व्यक्तिको हस्ताक्षरसहित चानपा–५, छालिङ्गका वडा अध्यक्ष जयन्द्र खङका र चानपाका मेयर सोमप्रसाद मिश्रलाई विरोधपत्र बुझायो । टोलीले जनभावनाविपरीतको निर्णय नसच्याए आन्दोलनको कार्यक्रम अगाडि सार्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *