भर्खरै :

देशभर २४६, उपत्यकामा ३१ जनामा कोरोना

काठमाडौँ, १८ साउन । देशभरमा आइतबार थप २४६ जनामा कोभिड–१९ सङ्क्रमित पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा आठ हजार ८६१ जनाको पीसीआर नमुना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित पुष्टि भएको जानकारी दिनुभयो ।
प्रवक्ता डा. गौतमका अनुसार कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १११ रहेको छ । योसँगै १४ हजार ६०३ सङ्क्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । हाल क्वारेन्टिनमा १० हजार ९३४ जना रहेका छन् । सङ्क्रमितमध्ये ७२ प्रतिशत निको भएको र मृत्यु हुनेमा ०.२८ प्रतिशत रहेको छ ।
काठमाडौँ उपत्यकामा आइतबार थप ३१ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा २२, ललितपुरमा आठ र भक्तपुरमा एक जनामा कोरोना सङ्क्रमित भएको पुष्टि भएको हो । पर्सामा शनिबार साँझ ६८ वर्षकी एक महिलाको निधन भएको छ । मधुमेहको बिरामी उक्त महिलामा साउन १६ गते कोरोना पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमितबाट मृत्यु हुनेको सङ्ख्या ५७ जना पुगेको छ ।
मन्त्रालयका अनुसार रौतहट र कैलाली जिल्लामा पाँच हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमित देखिएको छ भने भोजपुर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँच वटा जिल्ला कोरोना सङ्क्रमित शून्य रहेको छ । प्रवक्ता डा. गौतमले ६० वर्षमाथिका र १२ वर्षमुनिका बालबालिकालाई घरबाट ननिस्कन आग्रह गर्नुभएको छ ।
उहाँले सरकारले साउन १४ गते कोभिड–१९ को विषयमा गरेको निर्णयअनुसार आरडीटी परीक्षण नगर्ने निर्णय भएको हँुदा केन्द्र तथा प्रदेश सरकार सबैले उक्त निर्णयको पालना गर्न आग्रह गर्नुभयो । मन्त्रालयका अनुसार उपत्यका छिर्ने नाकाहरू नागढुङगा, फर्पिङ र साँगाबाट साउन १० गतेदेखि १३ गतेसम्म सङ्कलन भएको १० हजार ८२७ नमुना परीक्षण भइरहेको छ । मास्क, स्यानिटाइजर प्रयोग गरी सुरक्षित रहन प्रवक्ता डा. गौतमको आग्रह छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *