भर्खरै :

भारतको चीन युद्ध, सीमा युद्ध (दुई भञ्ज्याङबीच)

चिनियाँ तयारी
नाम्का चूको हारसँगै “ठुलो समस्या ट¥यो र चिनियाँहरूले फेरि हमला गर्दैनन्” भन्ने विचार सैन्य हेडक्वाटरमा फैलिएको थियो । यही विचार तलतल पनि प्रसार भयो । कतिपय ठाउँमा “हिँड्न तम्तयार हुनू” भनी दिएको आदेश पनि तवाङमा चिनियाँहरू बसेपछि फिर्ता लिइयो । त्यसको ३ हप्तापछि बल्ल सेला भञ्ज्याङवरपर सैनिक तयारीको तातो लाग्न थाल्यो ।
नेफाको प्रतिरक्षाको तयारी गर्दा पाकिस्तानले चिनियाँ आक्रमणबाट फाइदा उठाउने छैन भन्ने मान्यताका आधारमा काम गरिन्थ्यो । तर, १९६२ को अक्टोबरमा गुप्तचरको रिपोर्टअनुसार पाकिस्तानको नियतमा शङ्का उठेकोले पञ्जाबका सिपाहीहरूलाई नेफा ल्याइएको थिएन । अमेरिकाको सहयोग स्वीकार गरेपछि उसैको आश्वासनका आधारमा भारतले पञ्जाबका ३ डिभिजन सेना नेफा पठायो । त्यसमध्ये एउटा ब्रिगेडले मात्र युद्ध भेट्यो । अरू पुग्दासम्म युद्धविराम भइसकेको थियो । नेफा सामसुम भएपछि त्यहाँ नागाल्यान्डबाट खटाउन भनिएको डिभिजनलार्ई पनि रोकिएको थियो । अन्तमा, बिना कुनै योजना नेफामा ब्रिगेड र टुकडीहरू छरिन थाले ।
चिनियाँहरू म्याकमाहोन रेखामा रहेको बुमलाबाट तल आउने पुरानो बाटोमा सडक विस्तार गर्दै थिए । त्यसका लागि उनीहरूले बम पड्काएको आवाज सेला डाँडाका भारतीय चौकीहरूबाट सुनिन्थ्यो । चिनियाँहरू चौबिसै घण्टा काम गरिरहेका थिए र झन्झन् नजिक आउँदै थिए । नोभेम्बरको सुरुमै तवाङमा चिनियाँ ट्रकहरू हिँड्न थालेको हवाई अवलोकनबाट भारतले थाहा पाएको थियो । त्यहाँ सडक बनिसकेको थियो र सेलातिर आउने सडकको मर्मत हुँदै थियो । भारतले चिनियाँहरू सक्रिय रहेको बुझिहाल्यो । यसबीच सेलाभन्दा उत्तर पूर्वबाट पसेर चिनियाँहरूले भारतीय सेना बसेका ठाउँहरूको गस्ती गरिरहेका थिए । यो कुरा भारतीयहरूलाई थाहा थिएन ।
हे प्रभु !
हरबक्श सिँह कोर ४ मा धेरै दिन टिकेनन् । आफ्नो कार्यक्षेत्रको ४ दिने जाँचबुझबाट फर्केर उनले देश, नेता र मातृभूमिको नाममा लडाइँको आह्वान गर्दै दिएको आदेशको खबर अल इन्डिया रेडियोमा बज्यो । त्यहीँ रात दिल्लीले जनरल कौललाई कोर ४ को जिम्मा सुम्पेको घोषणा ग¥यो । सीमामा लागेको ब्रोङकाइटिसबाट कौल तङ्ग्रिएका थिए । यता ४ दिनमै कमान्डर फेरेकोमा सेन रिसाएका थिए । तर, सरकारकै जोड भएकोमा यस निर्णयलाई मान्नुपर्ने भनी थापरले सेनलाई चुप लगाए । त्यसो त कौल राजधानी फर्केको, उनलाई थागला तहसनहस पारेकोले घरमै बन्दी बनाइएको हल्ला थियो । संसदमा कौलमाथि अन्याय भएको भन्दै नेहरूले उनको बचाउ गरे । सारमा उनले यसो भने – “आदेश पाएको २४ घण्टामै उनी नेफा पुगेका थिए । उनीसँग लडाइँको अनुभव नभएको कुरा गरिन्छ । यो सत्य होइन । उनले बर्मामा लडेका थिए । उनी वासिङटनमा हाम्रा सैन्य सहचरी थिए । काश्मीरमा तनाव हुँदा उनले हामीसँग आफूलाई त्यहाँ खटाउन बिन्ती बिसाएका थिए । हाम्रा अन्य अफिसरहरू योग्य छन् । तर, साहस, अगुवाइ र मिहिनेतमा उनलाई उछिन्ने अरू भेटिँदैनन् ।”
कौलको विषयमा नेहरूले जे सोचे पनि यथार्थ जनरल थिमैयाले बताइसकेका थिए । उनले भनेका थिए, “सेनाको हरेक सिपाहीलाई कौलले कहिल्यै लडाइँ नलडेको कुरा थाहा छ । यस्तो कुरा सेनामा लुकाएर लुक्दैन । अफिसरहरू कौललाई इज्जत गर्दैनन् ।” कौल नेफा फर्किने खबरबाट त्यहाँका अफिसरहरूले थिमैयाकै कुरा दोहो¥याए । रेडियोबाट कौल फर्किने खबर सुनेपछि डिभिजन ४ को हेडक्वाटरमा यसो भनिएको थियो – “उनी फर्के ? हे प्रभु, दया गर ¤” अक्टोबर २६ मा कौल तेजपुर जाँदै थिए । त्यस रात आफ्नो घरमै (म्याक्सवेलसँग) उनले नाम्का चूको कारबाही चीनको मनसाय थाहा पाउन जानाजान गरिएको बताए । सेलामा चीनलाई रोक्न सकिने र समय क्रममा उसलाई पछार्न सकिनेमा उनी ढुक्क थिए । वास्तवमा गुमेको साख उकास्न कौल कोर ४ मा फर्केका थिए । केही दिनको बिरामीपछि उनी जनरल स्टाफमा फर्केको भए जतिसुकै शक्तिशाली राजनीतिक आड भए पनि उनलाई अगाडि बढाउन सकिन्नथ्यो । सैनिक स्थिति पनि उनको विपक्षमा थियो । उनलाई थागलाको बारेमा मात्र थाहा थियो । पछि थपिएको क्षेत्रको बारेमा हरबक्श सिँहले केही दिनमै धेरै कुराको जाँचबुझ गरेका थिए । तर, कौलको नियुक्तिमा उनको मात्र नभई मेनन र नेहरूकै इज्जत जोडिएको थियो । यही पहुँचका कारण उनलाई दोस्रो मौका दिइयो । अक्टोबर २९ मा उनले कोर ४ को कमान्ड सम्हाले । हरबक्श सिँह उमराव सिँहको कोर ३३ सम्हाल्न गए । उमराव सिँहलाई दिल्ली हेडक्वाटरमा तानियो ।
प्रतिरक्षा प्रणाली
नेफामा सेनाको रणनीति फेरिएको थियो । यसअघि नेफाको प्रतिरक्षा प्रणाली तीन तहको थियो । अक्टोबर १९५९ मा पूर्वी कमान्डका प्रमुख जनरल थरुट थिए । उनले नै तीन तहको प्रतिरक्षा प्रणाली सिफारिस गरेका थिए । पहिलो तहमा म्याकमाहोन रेखा नजिकका ससाना चौकीहरू पर्थे । ती चौकीहरूको ठीक पछाडि आफूलाई सहज हुने ठाउँमा दोस्रो तह हुन्थ्यो । यो तह शत्रुलाई अलमल्याउने खालको हुन्थ्यो । तेस्रो तह तल पहाडी फेँदबाट सजिलै पुग्न सकिने र शत्रुलाई अन्तिम मात दिने ठाउँमा हुन्थ्यो । बोम्दीला यही तेस्रो पङ्क्तिको स्थान थियो । सीमाको रक्षामा फितलो राजनीतिक चासोका आधारमा यो तीन तहको प्रतिरक्षा लागू भएको थियो । यसको बारेमा त्यसै बेला एसोसियट प्रेसले यसो लेखेको थियो – “भारतको सैन्य रणनीतिले झट्ट हेर्दा ठुलो भू–भाग नलडिकन छोड्ने देखिन्छ । भारतीहरूले आफ्नो भित्री भूभागमा मात्र प्रतिकार गर्नेछन् ।”
तीन तहको प्रतिरक्षामा सुरुमा ४ वटा ब्रिगेडसहितको डिभिजनको आवश्यकता देखिएको थियो । १९६१ मा जनरल सेनले कम्तीमा २ डिभिजन (६ ब्रिगेड) चाहिने देखेका थिए । तर, चिनियाँहरूले म्याकमाहोन रेखा नाघ्दा नेफामा खालि २ ब्रिगेड सेनामात्र थिए । तीन तहको प्रतिरक्षा हटिसकेको थियो । त्यसपछि समग्र नेफाको सुरक्षा योजनाभन्दा पनि चिनियाँहरूले कारबाही गर्नसक्ने स्थानको अनुमानका आधारमा टुकडीहरू परिचालन गरिएको थियो । हात परेको हतियार लिएर बटालियन, कम्पनी र टुकडीहरू भित्री पहाडमा जान्थे र हवाई माध्यमबाट तिनलाई रासन र अन्य सामग्री पु¥याइन्थ्यो । यसका पछाडि कुनै सैनिक तयारी हुँदैनथ्यो । बरु राजनीतिकरूपमा चीनलाई म्याकमाहोन रेखामै अलमल्याउनमात्र यसो गरिन्थ्यो । साथै चीनले हमला गर्नेछैन भन्ने विचार नै यी गतिविधिको जग हुन्थ्यो । १९६२ को नोभेम्बरमा नेहरूले सारमा यसो भने – “हामीलाई भित्री भूभागमा लड्ने विचार मन परेन । अर्को चीनले यस्तो आक्रमण गर्ला भन्ने पनि लागेन । त्यसैले सैनिक हिसाबले गा¥हो भए पनि थागलामा लड्ने कोसिस ग¥यौँ ।” सीमा युद्धको ५ वर्षपछि मेननले “रणनीतिक हिसाबले चिनियाँहरूलाई भित्र ल्याएर लड्दा राम्रो हुन्थ्यो” भने । उनले भनेका थिए, “यस्तो कुरामा त्यसबेला हामी जनतालाई मनाउन सक्दैनथ्यौँ ।” नहिचकिचाइकन उनले आफू र नेहरूले अचेत र सतही ‘जनमत’ लाई धक्का नलाग्ने मनसायले जानाजान रणनीतिक तथ्यमा आँखा चिम्लेको स्वीकारे ।
वालोङ
तीन तहको प्रतिरक्षाअनुसार नेफाको पूर्वी भेगमा सेना पहाडमा जानुपर्दैनथ्यो । बरु ब्रह्मपुत्र उपत्यकाको तिजु र पहाडी फेँदको हायुलियाङमा बस्नुपथ्र्यो । १९५० को भूकम्पले पुरानो व्यापारिक मार्ग भत्काइदिएको थियो । तर, १९६२ को गुप्तचरी प्रतिवेदनले चिनियाँहरू लोहित दुन हुँदै पस्ने देखायो । त्यसैले वालोङमा बलियो आधार बनाउनुपर्ने देखियो । वालोङ तिजुबाट १ सय माइल टाढा थियो र जटिल भूगोल हुनाले हिँडेर त्यहाँ पुग्न २ हप्ता लाग्थ्यो । त्यहाँ सानो जहाज उतार्न मिल्ने ठाउँ त थियो । तर, त्यसखाले जहाजमा खालि ६ जना सैनिक अटाउँथे । वालोङ र त्यहाँभन्दा अर्को २ दिनको बाटोमा पर्ने किबिथुमा २ पैदल बटालियन र केही आसाम राइफल्सका सिपाही तैनाथ गरियो । अक्टोबर २१ मा किबिथुमा आक्रमण हुँदा यति नै सेना थिए । रासन आपूर्ति गर्न नसकेकोले ३ दिनपछि त्यहाँका सिपाहीलाई वालोङ बोलाइएको थियो । चिनियाँहरू तिनलाई पछ्याउँदै आएका थिए । तर, वालोङमा ठुलो क्षति बेहोरे र मात खाए । अन्तमा स्थिति सामसुम भयो र दुवैतिर तयारीको काम चल्यो ।
भारतको तयारी कार्य चलिरहेको बेला साङ्गठनिक फेरबदल पनि चलिरहेको थियो । पहिले वालोङ डिभिजन ४ को ब्रिगेड ५ को जिम्मामा थियो । तर, तवाङ चीनको हातमा गएपछि डिभिजनको नयाँ हेडक्वाटर बनाउनुपर्ने सोचियो । यसले सेला–बोम्दीलामात्र नहेरेर पूरै नेफाको कमान्ड सम्हाल्नुपथ्र्यो । पहिले सेला–बोम्दीला डिभिजन ४ ले हेथ्र्यो । नयाँ संरचनामा डिभिजन २ थियो । यसका कमान्डर मेजर जनरल एमएस पठानिया
(एएस पठानियाका भतिजा) थिए । यसैअनुसार वालोङमा नयाँ ब्रिगेड जाने भयो । पठानियालाई चित्त बुझेन । उनले वालोङ भेगमा अलग्गै ब्रिगेड पठाइनुपर्ने विचार राखे । त्यसैले त्यहाँ अक्टोबर ३१ मा बिग्रेड ११ पुग्यो । यसरी १० दिनमा त्यहाँ तीनवटा ब्रिगेडियर र स्टाफ आए । त्यसैगरी डिभिजन ४ मा पनि उस्तै फेरबदल भइरहेका थिए । यी हेरफेरमा अफिसरहरूका निजी सम्बन्धले भूमिका खेलेका थिए । यी सबै हेरफेरले तयारी कार्यमा भाँजो हालिरहेका थिए । बोम्दीलामा एक ब्रिगेड सेना तयारी अवस्थामा बसेको थियो । तर, एएस पठानियाले आफूले चाहेको ब्रिगेडियर नराखेसम्म त्यसलाई अघि बढ्ने अनुमति दिएनन् । त्यस्तै गोर्खा बटालियनलाई वालोङ पठाइयो, फिर्ता बोलाइयो र फेरि वालोङ नै पठाइयो ।
जन्मदिनको उपहार
नोभेम्बरको सुरुसम्म डिभिजन २ तयार थियो । भतिज पठानियाले आफूले चुनेका बिग्रेडियरहरू राखे । वालोङमा ३ वटा पैदल बटालियन र केही आसाम राइफल्स खटाइयो । उनले जनरल कौललाई अझै एउटा बटालियन थपेको खण्डमा वालोङबाट चिनियाँहरूलाई खेद्न सकिने विश्वास दिलाए । कोर ४ को राय बेग्लै थियो । चीनको खास शक्ति म्याकमाहोन रेखाभन्दा ठीकमाथि रिमामा थियो । त्यहाँ उसको १ डिभिजन सीमाबल थियो । यो सूचना नोभेम्बर ११ मा भतिज पठानियासम्म पुग्यो तर वालोङ भने पुगेन । त्यहाँ आक्रमणको तयारी चलिरहेको थियो । नोभेम्बर १३ मा आक्रमण सुरु गर्नुपर्ने थियो र १४ तारिखमा सक्नुपर्ने थियो ।
नोभेम्बर १३ मा वालोङमा थप एक बटालियन सेना थपिँदै थियो । तर, यसलाई हेरेर ब्रिगेडियर ११ ले आक्रमणको मिति सारेन । कौल र भतिज पठानिया दुवै वालोङ आएका थिए । नोभेम्बर १४ को कुनै सैन्य तर्क थिएन । यो त नेहरूको जन्मदिन थियो । ७३ वर्ष लाग्दै गरेका नेहरूलाई जन्मदिनको उपहारको रूपमा ‘शत्रुविरुद्ध हाम्रो पहिलो ठुलो विजय’ भन्ने आशाले नै यो मिति तय गरिएको थियो ।
नोभेम्बर १४ को दिन छैटौँ कुमाउ बटालियनका दुई कम्पनीहरू चिनियाँहरू रहेको डाँडातिर लागे । उनीहरू एक कम्पनीको सङ्ख्यामा रहेको अनुमान थियो । पहाडी कुमाउ जातिका सिपाहीहरू अघिल्लो लडाइँमा किबिथुबाट २ दिन हिँडेर वालोङ फर्किनु परेको थियो । उनीहरूलाई १० दिन अगाडि मात्र स्थानीय लडाइँमा खटाइएको थियो । साथै उनीहरू निरन्तर गस्तीमा गइरहन्थे । जन्मदिनको आक्रमणमा पनि उनीहरूलाई नै अघि सारियो । उनीहरू चिनियाँ बङ्करहरूबाट भइरहेको भारी गोलाबारीबीच लगातार ६ घण्टासम्म लडे । अन्तमा टाकुराबाट करिब ५० मिटर जति तल उनीहरू रोकिए । त्यस रात चीनको प्रत्याक्रमणमा परेर कुमाउका सिपाहीहरू तल ओर्ले । उनीहरूमध्ये आधा सिपाही मरिसकेका थिए । यसै घटनालाई नोभेम्बर १६ मा ‘जवानहरू आक्रमणमा हेलिए’ भनिएको थियो ।
चिनियाँहरू डाँडाबाट ओर्लिरहेका सिपाहीलाई पछ्याउँदै आए र भारतको मुख्य प्रतिरक्षा क्षेत्रमा धावा बोले । कुमाउका सिपाहीलाई सुरक्षा दिने क्रममा सबै गोलाबारुद खर्च गर्दा पनि चिनियाँहरूलाई रोक्न सकिएन । भारतीयहरू पिल्सिँदै लडिरहेका थिए । नोभेम्बर १६ को मिर्मिरेमा लडाइँ रोकियो । लडाइँबाट चौकीमा फर्किरहेका सिपाहीहरूले सबैको लासमात्र भेटे । ब्रिगेडलाई त्यहाँ राख्न सकिने अवस्था थिएन । बिहान १० बजेतिर कौलले ब्रिगेडियरलाई पछि फर्किन आदेश दिए । केही टुकडीहरूले आदेश पाएनन् र उनीहरू आफ्ना गोलाबारुद नरित्तिएसम्म वा नमरेसम्म लडे । कौल र भतिज पठानिया अन्तिम जहाज चढेर फर्के ।
वालोङ ब्रिगेडका आफ्ना युनिटबाट बचेखुचेका ससाना सैनिक समूहहरू लोहित दुन हुँदै फर्किरहेका थिए । वालोङमा उनीहरू नदीको दुवैतिर फैलिएका थिए र नदी तर्न तुइनमात्र थियो । चिनियाँहरूले यसको लागि ससाना डुङ्गाहरू ल्याएका थिए । नदीको पूर्वमा बाँचेका टुकडीहरूले धेरै क्षति बेहोरे । उनीहरू एक्लिएका थिए । कतिजना चिनियाँ एम्बुसमा परे । ब्रिगेड ११ ले ब्रिगेड ७ कै नियति भोग्यो । व्यर्थको असन्तुलित आक्रमण र लगत्तैको प्रत्याक्रमणमा परेर ब्रिगेड ११ तितरबितर भयो । चिनियाँहरूले फर्किरहेका सिपाहीहरूलाई खेदेनन् ।
विदेशी सेना
तिजुबाट पठाएको लामो र हडबडाएको सन्देशमा कौलले वालोङको हारबारे खबर गरे । उनको निष्कर्ष यस्तो थियो – ‘यति कुरा भन्नु मेरो कर्तव्य हो, शत्रुको घुसपैठ कति ठुलो र कति शक्तिशाली छ भने तपाईँले उच्च अधिकारीहरूलाई हाम्रो सहायतामा आउन चाहेका विदेशी सेनालाई झिकाउन भन्नुपर्छ । यसो नगरेमा मैले पहिले पनि भनेको थिएँ र अहिले पनि दोहो¥याउँछु, हाम्रा कमीहरूको फाइदा उठाउँदै जम्मा भइरहेको शक्तिशाली चिनियाँ सेनाको छाललाई रोक्नु हाम्रो सैन्य क्षमताभन्दा बाहिरको कुरा हो । यो हडबडीको नभई कठोर यथार्थ भोगेपछिको सुझाव हो ।’ केही समयदेखि नै कौलको दिमागमा विदेशी सेना झिकाउने विचार खेलिरहेको देखिन्छ । एक सचिवका अनुसार उनले दिल्लीमा छँदा नै कुनै विदेशी शक्तिको सहयोग लिनुपर्ने लिखित सुझाव राखेका थिए । अमेरिकाको सहयोगमा च्याङ काइसेक वा दक्षिण कोरियालाई बोलाउनुपर्ने उनको विचार थियो । नयाँ कमान्डमा १० वटा नयाँ डिभिजन खडा गरेर अर्को १२ महिनामा काममा लगाउनुपर्ने र त्यसको आर्थिक र सैनिक जिम्मेवारीसहितको कमान्डरलाई दिल्ली हेडक्वाटर वा अगरामा राख्नुपर्ने उनको सुझाव थियो । कमान्डर चाहिँ कसलाई राख्ने, उनले बताएनन् ।
तिजुबाट कौल कोर हेडक्वाटर तेजपुर गएनन् । उनका मुख्य स्टाफ अफिसरले उनलाई तत्काल फर्किन अनुरोध गरिरहेका थिए । तर, नोभेम्बर १७ मा उनी ब्रिगेड ११ का फर्किरहेका सिपाही हेर्न गए । ब्रिगेडियरलाई चिनेर उनी हेलिकप्टरबाट तल ओर्ले । उनले ब्रिगेडियर र उनले चाहेका केही अफिसरलाई हायुलियाङसम्म पु¥याइदिने प्रस्ताव राखे । तर ब्रिगेडियरले आफ्ना मान्छेहरूसँगै रहने बताएर प्रस्ताव अस्वीकार गरे । कौल हायुलियाङ गए । त्यहाँ उनले जनरल थापर र सेनलगायतका उच्च अफिसर तेजपुर आउँदै गरेको सूचना पाए । उनी फर्किँदासम्म उनीहरू तेजपुर पुगिसकेका थिए । सेला–बोम्दीला क्षेत्रको तनाव चरमचुलीमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *