भर्खरै :

जनैपूर्णिमा (क्वाटी पुन्ही) को महत्व

साउने हरियो संस्कृति र जनैपूर्णिमाजस्ता चाडपर्वका नाममा आयात हुने नारी श्रृङ्गार एवम् सौभाग्यका प्रतीकहरू हरियो चुरा, पोते, साडी, माला, मेहन्दी आदि तथा बाहुन–क्षेत्री जातले यो पर्वमा फेर्ने जनै र रक्षाबन्धनको धागो
(डोरी) बर्सेनि पारिबाट करोडौँ रुपियाँको आयात हुने गरेको छ । अझ, भारतीय सिकोको रूपमा तराई हुँदै फाट्टफुट्ट भित्रिएको ‘राखी’ ले देशलाई परनिर्भरतातिर धकेलिरहेको छ । वैदेशिक रोजगारीमा होम्मिने युवा–युवतीहरूलाई स्वदेशमै प्रशिक्षण प्रदान गर्न सकेमा, महिला सशक्तीकरणमा टेवा दिनको साथै वैदेशिक रोजगारीमा न्यूनीकरण हुने थियो ।
पृष्ठभूमि ः
प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाको दिन मनाइने जनैपूर्णिमा, ऋषितर्पणी एवम् जनैपूर्णिमा सोमबार मनाइँदै छ ।
दानवद्वारा सत्ययुगमा सताइएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेल्ने क्रममा, प्रभावशाली दानवराज बली बाँधिए, अतः म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ भनेर डोरी बाँधेर सुरक्षा प्रदान गरेका थिए भन्ने प्राचीन पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परागत मान्यता चलिआएको छ । वैदिक गुरुका मान्यतानुसार, आफ्नो जनै यज्ञोपवित (जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागोसमेत भनिन्छ) फेर्छन् । कपाल काटी एक छाक खाएर बसेका तागाधारीहरूले बिहान नदी, ताल–तलाउमा स्नान गरी तील, जौ कुशमार्फत ऋषिहरूलाई तर्पण गरी नयाँ जनै फेरिन्छ । त्यसैले पनि ऋषितर्पणी भन्ने गरिएको र जनै मन्त्रणा गरी जनै फेर्ने भएकोले यो दिनलाई जनैपूर्णिमा पनि भनिन्छ ।
यस पर्वमा मेला ः
यो पर्वको पावन अवसरमा, ललितपुरको कुम्भेश्वरमा, नवलपरासीको त्रिवेणीधाम, धनुषाको जनकपुरधाम, जुम्लाको दानसाँघु, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषसागर र गंगासागर, काठमाडौँको पशुपति र मणिचूड, रसुवाको गोसाईकुण्डलगायत ताल, पोखरी र कुण्डमा ठुलो जात्रा लाग्छ ।
तीर्थालुको झुन्ड गोसाईकुण्ड
पौराणिक कालमा भगवान शिवले, गाँजा, भाङ, धतुरो सेवन गरी पानीको प्यासमा पृथ्वीको यत्रतत्र तड्पिँदा गोसार्इँकुण्डमा रहेको पर्वतको काखमुनि त्रिशुलले खोपेर प्यास तृप्ति गरेको भन्ने किंवदन्ती छ । रसुवाको पर्वतबाट झरेको पवित्र जलले स्नान गरेर पवित्र र स्वस्थ बन्न सकिने आस्था र विश्वासका आधारमा देश–विदेशका हजारौँ तीर्थयात्रीहरूको भीड लाग्छ । रसुवा जिल्लाको स्याफ्रु गा.वि.स.– ६ मा पर्ने यो ‘कुण्ड’ समुद्र सतहबाट चार हजार तीन सय असी मिटरको उचाइमा अवस्थित छ । यो दिन, गोसार्इँकुण्डको पोखरीमा स्नान गर्नेहरूको लर्को लाग्छ ।
२०६३ सालमा, रामसार क्षेत्रमा सूचिकृत यस क्षेत्रको महिमा र गरिमा पृथक छ । यो क्षेत्र धार्मिकमात्र नभई पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ । प्राकृतिक सुन्दरतामा लठ्ठिने र धार्मिक आस्था राख्नेहरूलाई पनि यो क्षेत्र अनुपम र अलौकिक छ ।
साउने हरियो संस्कृति र जनैपूर्णिमाजस्ता चाडका नाममा आयात हुने नारी श्रृङ्गारका सामानहरु हरियो चुरा, पोते, साडी, माला, मेहन्दी तथा जनै र रक्षाबन्धनको धागो विदेशबाट करोडौँ रुपियाँको आयात हुने गरेको छ । अझ ‘राखी’ बाँध्ने पारिको सिकोले देशलाई परनिर्भरतातिर धकेलिरहेको छ । वैदेशिक रोजगारीमा होमिने युवा–युवतीहरूलाई स्वदेशमै प्रशिक्षण दिन सके महिला सशक्तीकरणका साथै वैदेशिक रोजगारीमा न्यूनीकरण हुने थियो ।
क्वाटी पूर्णिमा ः
नेवार समाजमा क्वाटी पूर्णिमा जनैपूर्णिमाकै दिनमा मनाइन्छ । यो पर्व नौ दिनसम्म मनाइने हुनाले गुन्हि पुन्हि भनिएको हो । नौ थरीका गेडागुडी उमारेर तातो सुप (रस) खाएमा वर्षात्मा खेतबारीमा काम गर्दाखेरिको चिसो फाल्छ भन्ने मान्यता छ । क्वाटी पौष्टिक तत्व भएको हुँदा अरूले पनि अवलम्बन गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *