भर्खरै :

थप ३८१ जनामा सङ्क्रमण

काठमाडौँ, २१ साउन । देशभरमा बुधबार ३८१ जनालाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशरभरका ६ हजार ३५९ जनाको पीसीआर परीक्षण गर्दा यी सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल सक्रिय सङ्क्रमित छ हजार १७४ रहेको बताउनुभयो ।
देशरभमा क्वारेन्टिनमा रहेकाको सङ्ख्या नौ हजार ९२५ रहेको छ । त्यस्तै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पछिल्लो २४ घण्टामा १३० जना रहेको छ । आजसम्म १५ हजार १५६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । जम्मा सङ्क्रमितमा ७० दशमललव ८ प्रतिशत निको भएका छन् । देशको कुल जनसङ्ख्यामा १ दशमलव ४ प्रतिशतको पिसिआर परीक्षण भएको छ भने परीक्षण भएकामा ५ दशमलव १ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा पर्सा, रौतहट, महोत्तरी र कैलाली रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा ५७ जना र ललितपुर जिल्लामा पाँच जना सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो । नयाँ सङ्क्रमित देखिएका जिल्लामा सुनसरी, इलाम, सप्तरी, उदयपुर,मोरङ, सर्लाही, धनुषा, महोतरी, रौतहट र सिराहा रहेका छन् । त्यस्तै, बारा, पर्सा, गोरखा, कपिलवस्तु, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, बाग्लुङ, कास्की, स्याङ्जा, बाँके, दाङ, सुर्खेत, कालिकोट र बझाङमा पनि पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित फेला परेका छन् ।
हाल सक्रिय सङ्क्रमित नभएका जिल्लामा खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ र रुकुमपश्चिम गरी सात जिल्ला छन् । मन्त्रालयले दिएको जानकारीअनुसार कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ । पर्साका १९ वर्षीय युवती र पर्साकै ४६ वर्षीय पुरुषको मृत्यु भएसँगै यो सङ्ख्या ६० पुगेको हो ।
प्रवक्ता गौतमले सङ्क्रमणको जोखिम अझै रहेकोले स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गर्नुभयो । उहाँले सकेसम्म भीडमा नजान र जानैपर्दा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्नुभएको छ । यो समयमा कोही पनि व्यक्तिको घरमा पाहुना भएर नजान र अरुलाई घरमा नबोलाउन उहाँले अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो आफन्त वा साथीभाइ हो भन्नेभन्दा पनि सबैसँग दुरी कायम गर्नुपर्छ ।”
सर्वोच्च अदालतका सवारी चालकमा कोरोना पुष्टि
सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीका अनुसार आइतबार १८१ जना कर्मचारीमा पीसीआर परीक्षण गर्न लगिएको थियो । त्यसमध्ये १८० जनामा कोभिड–१९ नेगेटिभ देखिएको र एक जना सवारी चालकमा कोरोना पुष्टि भएको हो ।
सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि नभएको र एक जनामा मात्र कोरोना पुष्टि भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *