के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेका पछिल्ला तथ्याङ्कले काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने मानिसको सङ्ख्या बढेसँगै सङ्क्रमण दर बढेको देखाएको छ । काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने नाकामा स्वाब सङ्कलन गरिएकाहरूमध्ये नै उल्लेख्य सङ्ख्यामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । लकडाउन समाप्त भएसँगै उपत्यका प्रवेश गर्ने नाका खुकुलो गरिदिँदा केही दिनभित्रै खतराको सङ्केत देखिएको छ । काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा सुरक्षाकर्मीहरूले सवारी साधनलाई पास भएमात्र प्रवेश गर्न दिइरहेका छन् । पैदल हिँड्नेलाई यस्तो बन्देज लगाइएको छैन ।
प्रहरीको यस्तो नीतिको फाइदा उठाउँदै सर्वसाधारण प्रहरीको आँखा छलेर सहजै उपत्यका प्रवेश गरिरहेका छन् । नाकाको प्रहरी चेक बिन्दुभन्दा अलि वरैसम्म गाडीमा जाने र प्रहरीसामू भने हिँडेर जाने अनि पछि फेरि तल्तिर गाडी वा ट्याक्सीबाट उपत्यकाभित्र प्रवेश गर्ने क्रम चालू छ । यस्तो अवस्थाले उपत्यका प्रवेशमा प्रहरीको कडाइ निस्तेज बनेको छ । पैदल हिँड्ने यात्रुलाई रोक्दा पनि विभिन्न अन्य बाटोबाट उपत्यका प्रवेश गर्ने क्रम चालू छ । काठमाडौँ उपत्यका प्रवेश गर्ने पूर्वी नाका साङ्गाबाट यसरी नै ठुलो सङ्ख्यामा सर्वसाधारण उपत्यका भित्रिरहेका छन् । साङ्गा नाकामा तैनाथ प्रहरीसामु हिँडेर आएजस्तो गर्ने सर्वसाधारण केही मिटर तल पुगेर यात्रुको प्रतिरक्षामा रहेका साझा यातायात र ट्याक्सीबाट काठमाडौँ पस्ने गरेका छन् ।
यसरी आउने सर्वसाधारणलाई सेवा गर्न अहिले भक्तपुुरको जगातीमा ट्याक्सीको लाम देख्न सकिन्छ । कतिपय सवारी साधन र व्यक्तिहरू बनेपा–नाला–भक्तपुरको बाटो हुँदै उपत्यका प्रवेश गरिरहेका छन् । सरकारले लकडाउन हुनु र नहुनुको भेद जनतालाई प्रस्ट नगर्दा अहिले यस्तो समस्या देखिएको हो । धेरै सर्वसाधारणले लकडाउन समाप्त हुनु नै महामारी सकिनुको अर्थमा लिए, त्यो सही बुझाइ होइन । संसारका धेरै देशको उदाहरण हेर्दा नेपालमा पनि सामान्य लयमा जीवन फर्किन अझै समय लाग्ने देखिन्छ ।
सरकारले काठमाडौँ उपत्यका बाहिर रहेका सर्वसाधारणलाई तत्काल उपत्यका नफर्किन प्रस्ट गर्न जरुरी छ । अवस्था हिजोभन्दा अझ भयावह बन्दै गएको बेला सर्वसाधारणलाई सुसूचित गर्नु सरकारको दायित्व हो । विडम्बना ¤ यतिबेला सरकार स्वयम् अस्पष्ट हुँदा प्रहरी प्रशासन पनि अलमलमा परेको देखिन्छ । सरकारी अधिकारीहरू नै अबको रणनीतिबारे प्रस्ट देखिएन । चरणबद्धरूपमा सरकारले रोकथाम र नियन्त्रणको निम्ति काम गर्नुपर्नेमा सरकारको कुनै ठोस योजना नै नभएको देखिन्छ । स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित पत्रकार भेटघाटमा स्वास्थ्यमन्त्री स्वयम्ले नेपालको रणनीति मूलतः भारतको घटनाक्रममा निर्भर रहने आशय बोले । सीमामा कडाइ गर्दा नेपाललाई भारतको अवस्थाप्रति निर्भर हुनुपर्ने थिएन ।
मानिसको आवतजावतमा कमी ल्याउन सरकारले लागू गर्नसक्ने विभिन्न उपायसमेत कार्यान्वयनमा लान सकेको छैन । जोरबिजोर सवारीसाधन सञ्चालनको पूववर्ती निर्णय कार्यान्वयन आउँदा अहिले तत्काल जनजीवनमा धेरै असर पार्ने देखिँदैन । काठमाडौँ उपत्यकामा जनघनत्वको आधारमा सामुदायिक स्तरमा भाइरस सङ्क्रमण फैलिए नियन्त्रण सहज नहुने भएकोले स्थिति नियन्त्रण बाहिर जानुअघि नै सरकारले सावधानी अपनाउनुपर्छ । उपत्यकावासी जनता स्वयम् पनि यसप्रति सावधान हुन जरुरी छ ।
Leave a Reply