पञ्चायती राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ को भत्र्सना
- भाद्र ९, २०८३
भक्तपुर, १० भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा मङ्गलबार २०४५ साल भदौ ९ गतेको ‘भक्तपुर काण्ड’ को विरोध तथा भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘भक्तपुर काण्ड : संस्मरण भाग ३’ विमोचन गर्दै राज्यस्तरबाटै पार्टीलाई समूल नष्ट गर्ने षड्यन्त्र रचिएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले पञ्चायती व्यवस्थाले पक्राउ परेका नेताहरूलाई यातना दिएर अमानवीय व्यवहार गरेको उल्लेख गर्दै पार्टीका ६७ जना कार्यकर्तालाई ज्यान मुद्दा लगाएर दुःख दिएको बताउनुभयो ।
उहाँले पञ्चायती सरकारले पार्टीका कार्यकर्ताहरूलाई निर्घात कुटपिट गरेको र झूटा मुद्दा लगाएको स्मरण गर्दै पार्टीले इमानदारीपूर्वक जनताको लागि गरेको सेवा पञ्चहरूलाई असह्य भएकोले यो षड्यन्त्र रचिएको हो भन्नुभयो ।
यस घटनाको विरोधमा पत्रकार, मानव अधिकारकर्मी र विज्ञहरू पनि लागिपरेको स्मरण गर्दै उहाँले यसले नेपालको वामपन्थी आन्दोलनलाई थप मजबुत बनाउन ठुलो मद्दत पुगेको बताउनुभयो ।
वाग्मती प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईले भदौ ९ पछिको सो घटनामा भक्तपुरका जनतामाथि गरिएको दमनले भक्तपुरवासीले अमानवीय पीडा सहनुपरे तापनि यसले नेपालको राजनीतिमा एक ऐक्यबद्धताको आन्दोलनको पनि बिजारोपण गरेको बताउनुभयो ।
नेमकिपामाथिको यो झूटा मुद्दा र दमनलाई लिएर न्यायप्रेमी मानव अधिकारवादी, पत्रकार तथा विभिन्न पेसागत सङ्घ सङ्गठन र वकिलहरूको सङ्गठन बार एसोसिएसन एक ढिक्का भई तत्कालीन पञ्चायती सरकारको विरुद्धमा भक्तपुरका जनताको पक्षमा ऐक्यबद्धता जनाएपछि ०४६ सालको जनआन्दोलनको लागि पृष्ठभूमि तयार भएको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष एवम् वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले विशेष गरी महिलाहरू सचेत हुनुपर्नेमा जोड दिँदै सो घटनाले भक्तपुरका महिलाहरूमा चेतनाको बीज रोपेको र सडक आन्दोलनमा उत्रेको बताउनुभयो ।
विद्यालय तहदेखि नै विद्यार्थी र नयाँ पुस्तालाई यस्ता ऐतिहासिक घटनाहरूको जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पञ्चायती राज्यस्तरबाट पार्टीलाई समूल नष्ट गर्ने षड्यन्त्र रचिएको र कार्यकर्तालाई कठोर यातना दिएको बताउनुभयो ।
भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले निर्दाेष प्यालेस्टिनी जनतामाथि इजरायलले गरेको अमानवीय युद्धसँग भक्तपुर काण्डको तुलना गर्नुभयो । उहाँले दुवै घटनामा निर्दोष जनता र राजनीतिक कार्यकर्तामाथि
अमानवीय व्यवहार र गम्भीर मानव अधिकार उल्लङ्घन भएको बताउनुभयो ।
इजरायलले सिङ्गो प्यालेस्टिन र प्यालेस्टिनी जनताको अस्तित्व मेटाउन युद्ध थोपरिरहेजस्तै नेमकिपालाई समूल नष्ट गर्न पञ्चायती सरकारबाट दमन भएको उल्लेख गर्दै उहाँले थुनामा रहेका कार्यकर्ताहरूलाई अमानवीय यातना दिएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिका रोशनमैयाँ सुवालले नेमकिपाविरुद्धको त्यस षड्यन्त्रको पीडा भुक्तभोगीहरूमा अझै रहेको छ भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिका गंगा वैद्य र देविका दनेखुले पनि बोल्नुभएको थियो ।
Leave a Reply