भर्खरै :

प्लास्टिक प्रदूषणमुक्त समाज

विश्वमा प्लास्टिकको प्रयोग सन् १९५० पछि भएको पाइन्छ । हाल प्रयोगमा ल्याउने प्लास्टिक झोलाको आविष्कार भने स्विडिस इन्जिनियरले १९६० को दशकमा गरेका हुन् भन्ने मान्यता छ ।
प्लास्टिक झोला सामान जम्मा गर्न, ओसारपसार गर्न र प्याकिङ्ग गर्नको लागि पातलो लचिलो प्लास्टिक पत्रद्वारा तयार पारिन्छ । जुन पोलिइथाइल लिनियर लो डेन्सिटी पोलिइथाइल र लो डेन्सिटी पोलिइथाइलबाट तयार पारिन्छ । यसको कच्चा पदार्थ भनेको अप्रशोधित तेल र प्राकृतिक ग्यासको सम्मिश्रण हो ।
आजको विश्वलाई प्लास्टिकबाट प्रभावित विश्व भन्न सकिन्छ । प्लास्टिक प्रदूषणले विश्वलाई चिन्तित बनाएको छ । अनुसन्धानकर्ताहरूले अनुमान गरेअनुसार प्लास्टिक सड्न पाँच सयदेखि एक हजार वर्षसम्म लाग्न सक्छ । विश्वव्यापीरूपमा समस्या उत्पन्न गराएको प्लास्टिकको समस्या सर्वत्रै देखिन थालेको छ । हाम्रो वरिपरि, सडक, सडक पेटी, गल्ली, मठ–मन्दिरको वरिपरि, विद्यालयको वरिपति, वनभोज खाने ठाउँ वरपर र खोलानालादेखि सगरमाथाको चुचुरोसम्म प्लास्टिक प्रदूषण बढिरहेको छ । यसले मानव–वस्तीलाई चुनौती दिइरहेको छ भने प्राकृतिक सौन्दर्यतालाई कुरूप बनाउनुको साथै जलथल, पर्यावरण, बोटबिरुवा र मानव स्वास्थ्यमा समेत गम्भीर असर पु¥याउन थालेको छ । यसको यही गाम्भीर्यतालाई मनन गर्दै नेपाल सरकारले प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । तर, ती घोषणाहरू घोषणामै सीमित रहेको अवस्था छ ।
सरकारले प्लास्टिक झोलालाई प्रतिबन्ध लगाउन प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका – २०६८ जारी ग¥यो । आर्थिक वर्ष २०७३÷०७४ को बजेटमा पनि प्लास्टिक झोला प्रतिबन्ध गर्ने घोषणा गरियो । यसअघि २०७२ वैशाखदेखि लागू हुनेगरी मन्त्रिपरिषद्ले काठमाडौँ उपत्यका र वरपरको क्षेत्रमा ३० माइक्रोनभन्दा कम मोटाइका झोला प्रतिबन्ध लगाउने निर्णय गरी राजपत्रमा सूचना जारी गरिसकेको थियो । सरकारको उक्त निर्णयविरुद्ध उद्योगीहरू सर्वोच्च अदालत पुगेका थिए । यद्यपि सर्वोच्चले सरकारकै पक्षमा फैसला सुनाएको थियो ।
यसरी प्लास्टिक उत्पादन गर्ने उद्योगी व्यवसायीले सरकारले विकल्प नदिएर प्लास्टिक झोलामा प्रतिबन्ध लगाउँदा व्यवसाय धराशायी भएको र आम उपभोक्तालाई समेत कठिनाइ भएको भन्दै विरोध जनाउँदै आएका छन् । नेपालमा करिब दुईसय उद्योगले प्लास्टिक झोला उत्पादन र बिक्री वितरण गरेको बताइएको छ । यद्यपि अल्लो र लोक्टाजन्य उद्योगी व्यवसायीले भने यी कदमको स्वागत गरेका छन् । यस कदमले रोजगारीका अवसरहरू सिर्जना हुने बताउँदै आएका छन् ।
विश्वभरि नै सस्तो र सजिलो साधनका रूपमा प्लास्टिक जन्य सामग्रीहरू प्रयोग हुँदै आएको पाइन्छ । तर, यसको अत्यधिक प्रयोगको परिणामस्वरूप वातावरण संरक्षणको क्षेत्रमा चुनौतीहरू देखिएका छन् ।
नेपालमा पहिलो पटक २०५२ सालमा वातावरणसम्बन्धी मुद्दाहरू हेर्नका लागि जनसङ्ख्या तथा वातावरण मन्त्रालयको स्थापना भयो । विक्रम संवत् २०५३ सालबाट वातावरण संरक्षणको हेतुले वातावरण संरक्षण ऐन लागू गरियो । अनि मात्र विकास निर्माणका काममा प्रारम्भिक वातावरण अध्ययन तथा वातावरण प्रभाव मूल्याङ्कन गर्ने परिपाटी बस्यो । त्यसरी नै वि.सं. २०६९ मा वातावरण विभागको स्थापना भयो । यसरी प्लास्टिक प्रदूषणलाई न्यूनीकरणका लागि ऐन कानुनका माध्यमबाट विविधखाले उपायहरूको अवलम्बन गरेको पाइन्छ । यद्यपि अपेक्षाकृत उपलब्धिहरू, हासिल भएको पाइँदैन ।
अब, हामी प्लास्टिकबाट पर्ने असरहरूका सम्बन्धमा चर्चा गरौँ । प्लास्टिक पानीमा फाल्ने, जमिनमा यत्रतत्र फैलिने भएकोले जीवजन्तु ह्वेल, कछुवा, गोही आदिदेखि पृथ्वीमा घरपालुवा एवं जङ्गली जनावर पशुपंक्षीले प्लास्टिकका टुक्रा खाएर गम्भीर समस्या उत्पन्न हुने वा मृत्यु हुने गरेकाले जीवनहरूको खाद्यचक्रमा समस्या देखिन थालेको छ । कति जनावर त लोप हुने अवस्थामा पुगेको पाइन्छ ।
जमिनमा रहेको प्लास्टिक सयौँ वर्षसम्म नकुहिने हुँदा जमिनको उर्वराशक्ति घट्ने, बोट–बिरुवाका जरामा माटोमा हुने पौष्टिक तत्व जान नसक्नेजस्ता कारणले उत्पादनमा कमी आउने हुन्छ । बोटबिरुवा फस्टाउँदैनन् । परिणामस्वरूप आशातित उपलब्धिहरू हासिल गर्न सकिन्न ।
पानीमा प्लास्टिक बग्दै जाँदा पानी दूषित हुने, पानीमा रहेको प्लास्टिक जनावरले खाने, हावामा रहेका मसिना टुक्रा उड्ने र एक ठाउँबाट अर्को ठाउँमा पुग्नाले गाउँ बस्ती वा सहरी सौन्दर्यतामा प्रतिकूल प्रभाव पर्ने, यसको असरले श्वास–प्रश्वासमा समस्या उत्पन्न हुने र बालबालिका तथा वृद्धावृद्धहरू निस्सासिने वा पूरा अक्सिजन लिन नसक्ने अवस्था पैदा हुन्छ । यसबाहेक हावा दूषित हुने अर्को कारण हो – प्लास्टिक बाल्नु ।
सहर, बजार, गाउँघर वा कतिपय डम्पिङ साइटमा पनि फोहरमैलासँग मिसाएर प्लास्टिक बालेको देखिन्छ । प्लास्टिक बाल्दा डाइअक्सिजन नामक विषालु रासायनिक ग्यास निस्किन्छ । यसले हाम्रो शरीरमा रहेको प्रणालीमा असर गरी हार्मोन उत्पादनमा असर गर्छ । साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्ने, प्रजनन प्रणालीमा नकारात्मक असर पर्ने र शरीरको विभिन्न भागमा क्यान्सर हुनसक्ने यी यावत् समस्या र सम्भावनालाई इन्कार गर्न सकिन्न । जे होस्, बलेको प्लास्टिकले भन्दा धुँवा आइरहेको प्लास्टिकबाट स्वास्थ्यमा बढी नकारात्मक असर पर्छ । प्लास्टिक प्रदूषणकै कारण जनावर, चराचुरुङ्गी र बोटबिरुवामा असर पर्ने भएकोले पर्यावरणीय प्रणालीमा समस्या उत्पन्न हुँदै गएको पर्यावरणविद्हरूको आकलन छ । समग्रमा प्लास्टिक प्रदूषणले पृथ्वी, वायु, आकाश, पानी, बोटविरुवा सबैमा नकारात्मक असर पु¥याएको पाइन्छ ।
अब, के हामी ‘प्लास्टिक प्रदूषणमुक्त समाज’ निर्माण गर्नसक्छाँै ? यदि सक्दैनौँ भने विकल्प के छ त ? त्यस विषयमा चर्चा गरौँ ।
एउटा सभ्य, सुसंस्कृत एवम् स्वस्थ समाज निर्माण गर्नको लागि थुप्रै चुनौतीहरूको सामना गर्नुपर्दछ । त्यस्तै मानव जीवनपर्यन्त सङ्घर्ष एक अनिवार्य सर्त हो । अतः प्लास्टिक प्रदूषण कम गर्ने मुख्य तीन उपाय छन्, जसलाई ‘थ्री आर’ पनि भनिन्छ । जस्तैः रिडक्सन, रियुज र रिसाइकल ।
पहिलो कुरा, सम्भव भएसम्म प्लाष्टिकजन्य सामग्रीहरूको प्रयोग कम गर्ने, दोस्रो कुरा, प्लास्टिक सामग्रीहरूको प्रयोग गर्नैपर्ने भएमा पानीको बोतल प्लास्टिक बट्टा र झोलाहरू पटक–पटक प्रयोग गर्न मिल्ने गरी बनाइनुपर्दछ । जसले गर्दा मानव शक्ति, श्रम र पैसा बचाउनुका साथै प्लास्टिकजन्य फोहरको मात्रा घटाउन सकिन्छ । तेस्रो कुरा, हामीले एकपटक मात्र प्रयोग गरेर त्यसलाई फ्याक्नुपर्ने अवस्थामा त्यसको सङ्कलनलाई व्यवस्थित बनाउनु आवश्यक छ, ता कि रिसाइकल गर्नको लागि सहज होस् ।
अन्तमा, आजको समाजलाई प्लास्टिक प्रदूषणबाट जतिसक्यो जोगाउन र आगामी दिनमा उक्त समस्यालाई विकराल बन्न नदिन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार एकसाथ ‘प्लास्टिक प्रदूषण’ विरुद्धको अभियानमा ऐक्यबद्धतापूर्वक लाग्नुपर्ने आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *