सन् १९४६ अगस्ट १९ मा जन्मिएका विलियम जेफर्सन क्लिन्टन अर्थात् विल क्लिन्टन कानुन व्यवसायीबाट संरा अमेरिकाको आर्कानसस् राज्यको गभर्नर तथा महान्यायाधिवक्ता भई डेमोक्रेटिक पार्टीको राजनीतिमा प्रवेश गरेका थिए । सङ्गीतमा गहिरो दिलचस्पी भएका क्लिन्टन शेक्सोफोन बजाउनमा अब्बल थिए । सन् १९९२ को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनतर्फबाट राष्ट्रपतिको उम्मेदवार भई प्रतिस्पर्धामा उत्रिएका जर्ज एच.डब्लु. बुशलाई पाखा लगाउँदै संरा अमेरिकाको ४२ औँ राष्ट्रपति बन्न सफल भए ।

वार्तापछि क्लिन्टन तथा भ्रमणमा आएका प्रतिनिधिहरू प्रजग कोरियाली नेता किम जङ इलसँग सामूहिक तस्वीरमा)
संसारका कुनै पनि गरिब देशहरूमा आफूले चाहेको जस्तो कठपुतली सरकार स्थापनाका लागि नाङ्गो हस्तक्षेप गर्ने र अन्त्यमा सैनिक कारबाही गर्नसमेत पछि नहट्ने नीति संरा अमेरिकी साम्राज्यवादको मानवताविरोधी घृणित कार्यबारे जगजाहेर छ । सन् १९९३ मा अफ्रिकी मुलुक सोमालियामा संरा अमेरिकी सैनिकहरूबाट गरिएका क्रूर कारबाहीको विरोधमा राजधानी मोगादिशुमा साम्राज्यवादविरुद्ध भएका सङ्घर्षमा मारिएका संरा अमेरिकी सैनिकहरूलाई मरेको कुकुरलाई जस्तै सहरभरि निर्वस्त्र घिसार्दै गरेको घटनाले अन्तर्राष्ट्रिय समाचारको स्थान पाएपछि ‘मै हुँ’ भन्ने अमेरिकी सरकार संसारसामु लाजले नाक खुम्च्याउन बाध्य भयो । यो लाजमर्दाे घटनाले संरा अमेरिकी सैन्य शक्तिको विश्वसानीयताउपर ठुलो आघात भएको भनी राष्ट्रपति बिल क्लिन्टनको गम्भीर आलोचना भएको थियो । उनकै कार्यकालमा भएको यस तीतो वास्तविकतालाई क्लिन्टन सरकारको अपरिपक्व र उत्ताउलो राजनीतिक कदमको कारण संरा अमेरिकाको लागि बिर्सनै नसक्ने घातक परिणाम भएको ठानिन्छ । सोमालिया त्यतिबेला संसारको सबभन्दा गरिब र पिछडिएको देश भनेर चिनिए तापनि संरा अमेरिकी साम्राज्यवादविरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्ने जुझारु सोमालियाली जनताको सशक्त विद्रोहका कारण उक्त मुलुकबाट आफ्नो सैनिक फिर्ता लान संरा अमेरिकी सरकारलाई करै लाग्यो । साम्राज्यवादले थोपरेको असह्य अत्याचार र दमनका विरुद्ध आफ्नो व्यथालाई नयाँ तरिकाले पोख्ने निर्भिक सोमालियाली जनताको विद्रोहको यो नयाँ शैलीले साम्राज्यवादी दुनियाँलाई अचम्मित पारे ।
निर्वस्त्र पारिएको संरा अमेरिकी सैनिकलाई मोगादिसुको सडकमा घिसार्र्दैै सोमालियाली जनता
सन् २००९ अगस्ट ४ का दिन संरा अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिटनले आफ्ना निजी चिकित्सक तथा अन्य राजनीतिक व्यक्तिहरूका साथ प्रजग कोरियाको राजधानी प्योङयाङको आकस्मिक अघोषित भ्रमण गरे । अमेरिकी सञ्चारमाध्यमहरूले यसलाई क्लिटनको नितान्त निजी भ्रमण भनी उल्लेख गरे भने पश्चिमी र दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले प्रजग कोरियामा कैदी जीवन बिताइरहेका कोरियाली तथा चिनियाँ अमेरिकी महिला पत्रकारद्वय युना ली÷लौरा लिङको सकुशल उद्धार र रिहाइका लागि मध्यस्थकर्ताको हैसियतले प्योङयाङ पुगेको वास्तविकता सार्वजनिक गरे । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम ‘कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले भने उत्तर कोरियामा क्लिटनको आगमनको उद्देश्यबारे केही उल्लेख गरेन । गैरकानुनी तरिकाले बुझ पचाएरै चीनको सिमाना भएर उत्तर कोरिया छिरेका ती महिला पत्रकारद्वय शङ्कास्पद क्रियाकलापका कारण पक्राउमा परेका थिए । तिनीहरूकै रिहाइको निम्ति क्लिटनको प्योङयाङ भ्रमणभएको पश्चिमी र दक्षिण कारियाली सञ्चारमाध्यमको अड्कलबाजी सही सावित भयो ।
अन्य कमजोर र साना मुलुकहरूको हकमा यो घटना भएको भए संरा अमेरिकी सरकारले धम्कीपूर्ण एउटा नाथे कूटनीतिक पत्रको माध्यमबाटै समस्या सुल्झाउँथ्यो । तर, आकारमा संरा अमेरिकाभन्दा प्रजग कोरिया ८२ गुणा सानो भए तापनि उक्त समाजवादी मुलुकको सरकारको सैनिक शक्ति र त्यहाँको जनताको एकमनको वास्तविकताबारे संरा अमेरिकी साम्राज्यवाद परिचित छ । त्यसैले यस घटनाउपर समस्या समाधानार्थ कुनै प्रकारको बलजफ्ती र जोरजुलमले सकारात्मक र फलदायी परिणामको अपेक्षा गर्न नसकिने कुरा संरा अमेरिकी कूटनीतिज्ञहरूलाई राम्ररी थाहा थियो ।
भ्रमणको सिलसिलामा पूर्वअमेरिकी राष्ट्रपति क्लिन्टले उत्तर कोरियाली नेता किम जोङ इलसँगको शिष्टाचार भेटमा पारस्परिक चासोको विषयमा नेताद्वयबिच गम्भीर छलफल भएको कुरा केसीएनएले जनायो । संरा अमेरिकी महिला पत्रकारद्वयले गैरकानुनी तरिकाले प्रजग कोरिया प्रवेश गरेर त्यस सार्वभौम मुलुकको विद्यमान कानुनको उल्लङ्घन गरेकोमा आफूले क्षमा प्रकट गरेको उल्लेख गर्नुका साथै संरा अमेरिकी पूर्वराष्ट्रपति क्लिन्टनले मानवताको दृष्टिकोणले तिनीहरूको सकुशल रिहाइसँगै स्वदेश फर्काई दिन अमेरिकी सरकारको हार्दिक आग्रह नेता किम जोङ इलसमक्ष विनम्रतापूर्वक प्रस्तुत गरे । उत्तर कोरियाली राष्ट्रिय सुरक्षा परिषद्द्वारा संरा अमेरिकी पूर्वराष्ट्रपतिकोे सन्मानमा आयोजित रात्रीभोजमा क्लिटनले उत्तर कोरियाली नेता किम जोङ इललाई संरा अमेरिकाको भ्रमणको लागि तत्कालीन राष्ट्रपति बाराक ओवामाले उनीमार्फत पठाएको मौखिक निमन्त्रणालाई स्वीकार्न आग्रह गरे । दुईदिने भ्रमणको दौरानमा उत्तर कोरियाको राष्ट्रिय समाचार समितिले नेता किमले अमेरिकी महिला पत्रकारद्वय ली र लिङले गरेका अपराधलाई क्षमा गर्दै मानवीय आधारमा उनीहरूको रिहाइकोे समाचार प्रसारण ग¥यो ।
नेपालभाषाको एउटा कहावत छ जुन महाशक्ति भनिने संरा अमेरिकाको यो नीतिसँग मेल खान्छ, ‘ज्यूःसा ख्याय्, मज्यूसा ग्याय्ः’ अर्थात् ‘सके तर्साउने हो, नसके तर्सिने’ हो ।
सेप्टेम्बर १२, १९९४ मा फ्रान्क युजेन कोर्डर नामको एक अमेरिकी नागरिकले चोरी ल्याएको एक इन्जिने सानो हवाईजहाज आफैँले उडान भरी ह्वाइटहाउसमा ठोकाइ राष्ट्रपति क्लिटनको हत्या गर्ने उनको योजना जहाज राष्ट्रपति भवनको चउरको रुखमा ठोकिएर दुर्घटना ग्रस्त हुँदा चकनाचुर भयो र पड्केको जहाजको आगोको ज्वालामा जलेर उनको ज्यान गयो । संयोगले पनि राष्ट्रपति क्लिटन ह्वाइटहाउसमा थिएन ।
त्यस्तै सन् १९९४, अक्टोबर २९ का दिन ह्वाइटहाउसको खुला चउरको सुन्दर वातावरणमा कालो शूटमा ठाँटिएर जमघटमा व्यस्त गन्यमान्य व्यक्तिहरूको समूहमा राष्ट्रपति क्लिटनको उपस्थित हुनै पर्ने दृढ विश्वाससँगै फ्रान्सिस्को मार्टिन डुरान नामको व्यक्तिले पर्खालको बाहिरैबाट अर्ध– स्वचालित राइफलले लगभग २८ चोटि प्रहार गरी क्लिटनको असफल हत्या प्रयास गरे । बाहिरैबाट पक्रिएका डुरानलाई ४० वर्षको जेल सजाय सुनाइयो ।

राष्ट्रपति कक्षमा क्लिन्टन र उनको निजी कार्यालय सहायक मोनिका लेविन्स्की
सुरक्षाको दृष्टिकोणले केही समयको लागि बिहान गरिने क्लिन्टनको नित्य मर्निङ जगिंङलाई थाती राख्न सुरक्षा क्षेत्रमा खटिएका अधिकारीहरूको गम्भीर सुझाउलाई मान्न उनी तयार थिएनन् । उनकै जोरजुलुमका कारण उक्त नित्य प्रभातकालिन व्यायाम जारी गरी नै रहे । सोही मोका पर्खेर बसेका ४५ वर्षीय रोनाल्ड जेन बार्वर नामका एक बेराजगार अमेरिकी नागरिकले उनको हत्या गर्ने प्रयासमा लागिपरेका प्रमाण फ्लोरिडा प्रहरीले फेला पारिसकेपछि उनलाई गिरफ्तार गरियो । प्रहरीले सार्वजनिक गरेको सूचनाअनुसार राष्ट्रपतिको प्रभातकालिन व्यायामको समयमा मौका छोपी उनलाई गोली प्रहार गरी हत्या गर्ने निकृष्ट अभिप्रायले जनवरी ११ देखि १७ सम्म वासिङटन डी.सी. मा रोनाल्ड जेन बार्वर भौतारिरहेका थिए । सुराकीको आधारमा पक्राउपछि उनीबाट एउटा पिस्तोल बरामद गरियो । अदालतमा उनले कबुल गरेको साविति बयानको आधारमा पाँच वर्ष कारावासको सजाय सुनाइयो । राष्ट्रपति क्लिन्टन त्यतिबेला विदेश भ्रमणमा रहेको सूचनाको जानकारी षड्यन्त्रकारीसम्म नपुगेका कारण अप्रिय घटना नभएको बताइन्छ ।
सन् १९९६ तिर मनिलामा आयोजना हुन गाइरहेको एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) फोरममा सहभागिताको लागि त्यसतिर प्रस्थान गर्ने क्रममा क्लिन्टन सवार गाडीलाई सुरक्षाका कारण एउटा पुल पार नगर्न शीघ्र रोक्न लगाई अन्य बैकल्पिक मार्ग तय गरियो । लगत्तै उक्त पलमा विस्फोटन हुनै लागेको एउटा शक्तिशाली बम सुरक्षामा संलग्न प्रहरी बलले निस्क्रिय बनायो । संरा अमेरिकी साम्रान्यवादको घोरविरोधी ओसामा बिन लाडेनलाई यस षड्यन्त्रको नाइके भएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरे ।
सन् २०१८, अक्टोबरतिर अमेरिकामा यस्तै एउटा सनसनिपूर्ण घटनाले अखबारका छापाहरूमा महत्वपूर्ण स्थान ओगट्न सफल भयो । संरा अमेरिकी पूर्वराष्ट्रपति क्लिन्टनको धर्मपत्नी हिलारी क्लिन्टनको नाममा हुलाकमार्फत घर पठाइएको एउटा पोको पन्तरोमा पाइप बम फेला पारियो । विस्फोट हुनु अघि निस्क्रिए पारियो । उक्त पोकोमा पाइएको औँठा छाप डी.एन.ए परीक्षणको परिणामको बलियो आधारमा पक्रिएका व्यक्तिलाई २० वर्ष जेल सजाय सुनाइयो । यसरी संरा अमेरिकामा बम र खतरनाक आधुनिक हतियार प्रयोग गरी हत्यासम्म गर्न खोज्ने राजनीतिक रिसइवीको डरलाग्दो सिलसिला कति धेरै लामो हुन्छ भन्ने कुराको अनुमान लगाउन सकिन्छ ।
राष्ट्रपति छँदै आफूभन्दा लगभग ३० वर्ष कान्छी मोनिका लेविन्स्किी नाम गरेकी एउटी २२ वर्षीय आफ्नो कार्यालय सहायक युवतीसँगको नाजायज यौन सम्बन्धसम्म पुगेको निन्दनीय घटनालाई संरा अमेरिकाको राजनीतिक इतिहासमा ‘क्लिन्टन–लेविन्स्किी यौन काण्ड’ नामको घटनाको रूपमा चिनिन्छ । सन् १९९५ देखि ह्वाइटहाउसमा सुरुवाट भएको यो प्रेम कहानी १९९७ सम्म गर्व भित्रै रह्यो । यो घृणित सम्बन्ध सन् १९९८ मा आएर सार्वजनिक गरियो । त्यो बेला मोनिका ह्वाइटहाउसमा इन्टर्नको रूपमा कार्यरत थिई । यस यौन काण्डले राष्ट्रपति क्लिन्टनविरुद्ध महाअभियोगको मुद्दा दायर भए पनि धेरै पछि उनकै पक्षमा फैसला गरियो । प्रजातान्त्रिक मूल्य र मान्यता र मानव अधिकारको बेजोड हिफाजत भएको भनिने संरा अमरिकाको यस कानुनी उपहासलाई उर्दुमा अफलातुन भनेर चिनिने महान ग्रीक दार्शनिक प्लेटोको हिन्दीमा सम्प्रेषित एउटा सत्य भनाइ जुन अहिले फेसबुकमा धेरैले मन पराएका छन्, मलाई यहाँनेर उल्लेख गर्न मनलाग्यो ।
कानुन सव के लिए बराबर है
यह दुनियाँका सबसे वडा झूठ है
कानुन मकडीका वह जाला है
जिसमें किडें मकौडें तो फंसते है
मगर,
वडे जानवर इसे फाड्कर निकल जाते है
धेरै वर्षपहिले व्यक्त गरिएको यो वाणीले अहिले पनि पुँजीवादी मुलुकहरूमा भइरहेको नाममात्रको कानुनी राज्यलाई व्यङ्ग्य गर्छ ।
Leave a Reply