भर्खरै :

सहकारीमा सबै सदस्यको अपनत्व जरुरी

भक्तपुर, २५ साउन । ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा शनिबार अभिमुखीकरण तथा वार्षिक कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले सहकारी संस्थामा सबै सदस्यलाई अपनत्व अनुभूति गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“बैङ्कमा केही निश्चित मानिस मालिक हुन्छन्, सहकारीमा सबै सदस्यले अपनत्व अनुभव गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
सहकारी संस्थाले सुपथ मूल्य पसल खोल्न सके सदस्यहरूले सस्तोमा उपभोग्य सामान किन्न पाउने विचार व्यक्त गर्दै उहाँले समुदायमा आधारित सहकारीले मात्र तल्लो वर्गका जनताको उत्थान गर्ने चर्चा गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “सहकारीको नेतृत्वमा बस्नेले जाँड–रक्सी, धूमपान र मद्यपानको कुलत त्यागेर सदस्यलाई पनि अभिप्रेरित गर्नु आवश्यक छ ।”
भनपा वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले वडाको विकास निर्माणबारे जानकारी गराउँदै भनपाले शिक्षा–स्वास्थ्य, कला–संस्कृति संरक्षण एवं व्यवस्थित आवास योजनामा जोड दिइरहेको छ भन्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारी ऐन २०७४ बारे चर्चा गर्दै लेखा समितिमा बस्नेहरूले लेखा तालिम अनिवार्य लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सङ्घ–संस्थाले सामुदायिक विकास कोषमार्फत सामाजिक क्रियाकलापमा जोड दिई सामाजिक सेवा गर्नुपर्ने र विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवं ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले संस्थाको वार्षिक प्रगति विवरणबारे जानकारी दिनुभएको कार्यक्रममा संस्थाका सल्लाहकार कुमार लघु, कृष्णभक्त लघु, गणेशप्रसाद सुवाल, उपाध्यक्ष राजेश ब्याञ्जु, कोषाध्यक्ष अमर बासुकला र सदस्यहरू राजु लासिवा, रीतामैँया सुवाल, विकास ब्याञ्जु, मञ्जु ब्याञ्जु, गङ्गाराम सुवाल, विक्रम सुलु, कृष्णराम सुलुलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *