भर्खरै :

खोकनामा रचनात्मक सङ्घर्ष जारी

ललितपुर, २६ साउन । ‘ऐतिहासिक नगरी सम्पदा क्षेत्र खोकना–बुङ्गमती बचाऔँ ¤ फास्ट ट्रयाकलगायतका परियोजनाहरू खारेज गराऔँ ¤¤’ भन्ने नाराका साथ जनसरोकार समिति खोकनाको आयोजनामा आइतबार सांस्कृतिक प्रस्तुतिका साथ विरोध सभा भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले फास्ट ट्रयाकको विरोधमा खोकना–बुङ्गमतिका किसानहरूको आन्दोलन न्यायोचित भएको उल्लेख गर्दै भन्नुभयो, “खोकना–बुङ्गमतिका जनताको आन्दोलनलाई दमन गर्न खोजे त्यो आन्दोलन विस्फोटको रूपमा फैलिनेछ । पुस्तौँ–पुस्तादेखि जोतिआएको किसानको जग्गालाई जब्बरजस्त लुटेर लिने सरकारको पतन अवश्यम्भावी छ । यसको विरोधमा खोकना–बुङ्गमतिवासीले अन्तिम दमसम्म सङ्घर्ष गर्नेछन् ।”
हामीले शत्रु र मित्रको कित्ता छुट्याउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले स्पष्ट पार्नुभयो, “हाम्रा शत्रु भूमाफियाहरू हुन् । भूमाफियालाई संरक्षण गर्ने सरकार पनि हाम्रो शत्रु हो ।”
सांस्कृतिकरूपमा सम्पन्न उपत्यकावासीलाई विस्थापित गर्ने योजनासहित सरकारमा गएका पार्टीहरू लागिपरेको हुँदा राजनीतिकरूपमा सचेत हुनुपर्नेमा सांसद गोसाईले जोड दिनुभयो ।
खोकना–बुङ्गमतिका किसानहरूको आन्दोलनको पक्षमा नेमकिपा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
युनेस्कोका प्रतिनिधि क्रिश्चियन म्यानहर्टले खोकना–बुङ्गमतिको बस्ती र यहाँका उर्वर फाँटको संरक्षणमा सरकारले प्राथमिकता दिनुपर्ने चर्चा गर्दै युनेस्को सम्पदा र मौलिकता जोगाउन क्रियाशील छ भन्नुभयो ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका नेपाल प्रतिनिधि रिचार्ड हवार्डले विकास निर्माणको हरेक कार्यमा सरकारले आईएलओको धारा १६९ लाई पालना गर्नुपर्छ भन्नुभयो । विकास निर्माणको नाममा आदिवासी जनजाति दबाउन नहुनेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा लयर्स एसोसियसन अफ ह्युमन राइट्सका महासचिव शङ्कर लिम्बू, बुङ्गमति सरोकार समितिका महेन्द्र बज्राचार्य, नेवा पोलिटिकल मुभमेन्टका डा. महेशमान श्रेष्ठ, राजवीर डंगोल, नारायणबहादुर दुवाल, सुमन सायमी, रामकृष्ण दुवाल, कृष्णभक्त डंगोल र तारालाल श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *