भर्खरै :

भक्तपुर नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई झुल वितरण

भक्तपुर नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई झुल वितरण

भक्तपुर, १४ असार । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगर क्षेत्रभित्रका अपाङ्गता भएका व्यक्तिहरूलाई झुल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको परिचपपत्र वितरणसम्बन्धी अस्थायी समन्वय समितिका संयोजक एवं उपप्रमुख रजनी जोशीले संविधानले प्रत्याभूत गरेका अधिकारअनुसार नगरभित्रका अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य तथा आवश्यकतालाई ध्यानमा राख्दै नगरपालिकाले अपाङ्गता सहायक सामग्री वितरण गरिँदै आएको बताउनुभयो ।
केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त बजेट घट्दै गए पनि भक्तपुर नगरपालिकाले आफ्नै स्रोतबाट बजेट व्यवस्थापन गर्दै अपाङ्गता दिवसको अवसरमा विविध कार्यक्रम, खेलकुद, स्वास्थ्य शिविर तथा सर्वोत्तम पिठो वितरणजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । उहाँले पछिल्लो समय अटिजमको समस्या बढ्दै गएको भन्दै यसतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
समितिका सदस्य एवं वडा नं १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले वडाको सिफारिस तथा मागका आधारमा सहायक सामग्री वितरण गर्दै आएको चर्चा गर्दै नगरपालिकाले अपाङ्गतासम्बन्धी कार्यक्रमलाई वार्षिक कार्यक्रममा समावेश गरेको, साङ्केतिक भाषा तालिम सञ्चालन तथा संविधानले सुनिश्चित गरेका अधिकार कार्यान्वयनका लागि निरन्तर काम गरिरहेको जानकारी दिनुभयो ।
अतिथि डा. रत्नसुन्दर लासिवाले वर्षायाममा डेङ्गुलगायत लामखुट्टेबाट सर्ने रोगको जोखिम बढ्ने भएकोले समयमै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले अनावश्यक रसायनको प्रयोगबाट सावधानी अपनाउन, लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा सहभागी हुन तथा रोग नियन्त्रणका लागि पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले डेङ्गुको जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमका अतिथि तथा अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरणसम्बन्धी अस्थायी समन्वय समितिका सदस्य हिमालयश्वरलाल मूलले डेङ्गु रोगको जोखिम बढ्दै गएकोले घर–आँगन वरपर पानी जम्न नदिन आग्रह गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूले वडा कार्यालयसँग नियमित समन्वय गर्नुपर्ने तथा समितिको भूमिका परिचयपत्र वितरणमा मात्र सीमित नभई उनीहरूको जीवनयापन सहज बनाउन पनि केन्द्रित हुनुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैँया सुवालले बोल्नुभएको थियो । कार्यक्रमको समापनपछि उपप्रमुख रजनी जोशीले अपाङ्गता भएका व्यक्तिहरूलाई झुल हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *