भर्खरै :

उपभोक्ता ठग्दै भाटभटेनी

काठमाडौँ, २६ साउन । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठुला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनको क्रममा पनि आधुनिक उपकरण जडान गरिएका भाटभटेनीबाट उपभोक्ता निरन्तर ठगिरहेको प्रतिवेदन सार्वजनिक भएको छ । विभागले प्रत्येक दिन गरेको अनुगमनको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ । गत चैत ११ गते कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी लागू गरिएपछिको अवधिमा भाटभटेनीका दुई वटा शाखा कारबाहीमा परेको विभागले जनाएको हो । यस अवधिमा भाटभटेनीको नक्साल र अनामनगर शाखा कारबाहीमा परेका हुन् ।
भाटभटेनी सुपरमार्केटले उपभोक्ताबाट नयाँ तरिकाबाट बढी पैसा असुल्ने गरेको छ । भाटभटेनीले सहुलियत दरमा सामान बिक्री गर्ने गरेको दाबी गरे पनि उपभोक्ताबाट पैसा लिई फिर्ता गर्ने बेलामा भीडभाडको मौका छोपी कम दिएर ठग्ने नयाँ शैली उपयोग गरेको बानेश्वरका पीडित उपभोक्ता राजेन्द्र कार्कीले बताउनुभयो । अनामनगर शाखाले सामान किनेपछि पैसा फिर्ता गर्दा भीडभाडको मौका छोपी रु. ९० कम फिर्ता दिएको उहाँले जानकारी दिनुभयो ।
भाटभटेनी सुपरमार्केटबाट सामान लिई बिल तिरेर फर्कने बेलामा काउन्टरमा भीड भएको मौका छोपी दिनुपर्ने भन्दा कम पैसा फिर्ता गरिएको उहाँले सुनाउनुभयो । कोरोनाका कारण भीडभाडमा नबसौँ भनी भाटभटेनीमा माइकिङ भइरहेको हुन्छ । भाटभटेनीबाट पैसा फिर्ता लिई फर्केर बाहिर आई हेर्दा कम भेटिने गरेको पीडित उपभोक्ताको गुनासो छ । सीसीटीभी क्यामेरासमेत जडान गरिएको भनिएको भाटभटेनीमा यस विषयमा गुनासो गर्दा पनि सुनुवाइ नहुने गरेको उपभोक्ताको गुनासो छ ।
भाटभटेनीको अनामनगर शाखाका व्यवस्थापक अजय लामा उपभोक्तालाई दिनुपर्नेभन्दा कम पैसा दिइएको उजुरीका आधारमा सीसीटीभीको फुटेज परीक्षण गर्दा कमजोरी भएको भेटिएको स्वीकार गर्नुहुन्छ । कम पैसा फिर्ता दिने कर्मचारीलाई आइन्दा गल्ती दोहो¥याए कारबाही गर्ने चेतावनी दिइएको पनि उहाँले सुनाउनुभयो ।
ठुलो सुपरमार्केट भएर पनि भाटभटेनीमा गुणस्तरीय सामान नपाइएको चुच्चेपाटीकी डोल्मा शेर्पाले गुनासो गर्नुभयो । भाटभटेनीबाट ल्याएको तरकारी भित्रभित्र कुहिएको हुने गरेको उहाँको भनाइ छ । भाटभटेनी आफैँले प्याकिङ गरेको दालको पोकाभित्र प्रशस्त ढुङ्गा भेटिने गरेको पनि उपभोक्ताको दुःखेसो छ । यस्ता सुपरमार्केटलाई पारदर्शीरूपमा गुणस्तरीय सामान बिक्री गराउन निरन्तर बजार अनुगमन गरिनुपर्ने माग पनि उपभोक्ताले गरेका छन् ।
गत चैत ११ गतेदेखि बन्दाबन्दी सुरु भएलगत्तै भाटभटेनीको मुख्य सुपरमार्केट नक्सालमा विभागले गरेको बजार अनुगमनको क्रममा म्याद नाघेका सामान बिक्री गरेको भेटिएको जनाउँदै कारबाही गरेको थियो । केही समयअघि भाटभटेनीको अनामनगर शाखा पनि मिति नाघेको सामान भेटिएको भनी कारबाहीमा परेको विभागका प्रवक्ता रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।
“अनुगमनको क्रममा गल्ती भेटिएपछि भाटभटेनीका अधिकारी भूल भयो, छुट भयो, झुक्कियो, बिर्सियो भन्नेजस्ता जवाफ दिएर उम्कने गरेका छन्, यसो भन्दैमा गरेको गल्तीबाट बचाउन सकिँदैन, कर्मचारीलाई दोष दिएर सुपरमार्केटका अधिकारीले कारबाहीबाट उम्कन खोज्छन्,” उहाँले भन्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *