भर्खरै :

भक्तपुर नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत बस्यालको बिदाइ

भक्तपुर, २७ साउन । भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याललाई आज बिदाइ गरियो । नगर प्रमुख सुनिल प्रजापतिले अधिकृत बस्याललाई भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ र नगरपालिकाका प्रकाशनहरू मायाको चिनोस्वरुप प्रदान गरी बिदाइ गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले जुनसुकै क्षेत्रमा इमानदारीपूर्वक काम गर्न हौसला दिँदै उहाँलाई आगामी दिनमा सफल कार्यकालको कामना गर्नुभयो ।
भक्तपुर नगरपालिकामा सरुवा भई आउने प्रमुख प्रशासकीय अधिकृतहरू निकै छोटो अवधिमै सरुवा भइदिँदा नगरपालिकालाई काम गर्न अप्ठेरो भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा अधिकृत बस्यालले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य र सम्पदा पुनःनिर्माणमा उल्लेखनीय काम गरिरहेको र भक्तपुर नपामा सात महिनाको कार्यकाल निकै फलदायी र स्मरणीय भएको बताउनुभयो । देशकै नमुना नगरपालिकामा बसी काम गर्न पाउनु गौरवको विषय भएको भन्दै उहाँले भक्तपुर नगरपालिकाको कार्यशैलीबाट आफू प्रभावित भएको बताउनुभयो ।
अधिकृत बस्याल भक्तपुर नगरपालिकाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भई जाँदै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *