भर्खरै :

मान्छे मारेर सुुटकेसमा फाल्ने अभियुक्त आमाछोरी पक्राउ

काठमाडौँ, २७ साउन । राजधानीको गोङ्गबुस्थित एक होटलमा बस्दै आएका एक जनाको हत्या गरी टाउकोविनाको शव सुटकेसमा हालेर फालेको अभियोगमा आमाछोरीलाई मङ्गलबार प्रहरीले सार्वजनिक गरेको छ । रोल्पा रुन्टीगढी गाउँपालिका–७ का ४५ वर्षीय कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा टोखा नगरपालिका–१० नवज्योति मार्ग बस्ने चितवन कालिका नगरपालिकाकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) र निजकी १५ वर्षीया छोरीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
टोखा–१० गोङ्गबु नवज्योति मार्गमा आइतबार बिहान सुटकेसभित्र टाउकोविनाको शव र सुटकेस भेटिएको स्थानभन्दा केही पर टाउको र खुट्टा पोको पारेर फालिएको अवस्थामा भेटिएको थियो । उक्त घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंँ र महानगरीय अपराध महाशाखाबाट संयुक्तरूपमा खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा हत्यामा संलग्न मुडभरीलाई कालिका –९ शक्तिखोरस्थित माइतीघरबाट सोमबार पक्राउ गरेको थियो ।
घटनास्थलबाट धारिलो हतियार, हथौडा, पञ्जा, म्याट्रेसको टुक्रा, सल, सुटकेशको ह्यान्डल, डोरी, मृतकका कपडा, स्लिपिङ ट्याब्लेटको खोल र मोबाइल थान प्रहरीले बरामद गरेको छ । बोहरा आठ महिनादेखि होटलमा बस्दै आएको, बोहरा र अभियुक्तबीच करीब चार वर्षदेखि फेसबुकमार्फत चिनजान भई सम्पर्कमा रहेको, उनीहरूको बेलाबेलामा कल्पनाको कोठामा भेट हुने गरेको, बोहराले अभियुक्तको तस्वीर राखेर फेक फेसबुक आइडी खोली चलाउने गरेको, आफूअनुकूल चलाउनका लागि दबाब दिने गरेको, बोहरा घटनाको दिन होटेलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटरमा कल्पनाको कोठामा गएको, कल्पनाले उनलाई दही, चिउरा, मासु र भोड्का खान दिएकोमा दहीमा निद्राको पाँच औषधिसमेत मिसाइदिएको तथा ती खानेकुरा खाएपछि बोहरालाई लठ्ठिएर सुतेका बेला हथौडाले प्रहार गरी सलले घाँटी कसेको र मरेको यकिन भएपछि धारिलो हतियारले टाउको र खुट्टा छिनाइ सुटकेस र झोलामा राखेर अभियुक्तले फालेको प्रहरीले बताएको छ ।
शवका टुक्रा फालेर अभियुक्त चितवन जाने एम्बुलेन्समा आइतबारै बेलुका माइतीघर चितवन गएको प्रहरीले जनाएको छ ।
यसरी भएको थियो जोजो अपरेसन
साउन २५ गते बिहान रातो प्लास्टिकले बेरेको नाम्लोसहितको कालो रङको सुटकेसभित्र टाउको र खुट्टा नभएको शव फेला परेको थियो । तत्काल जोजो नामको तालिमप्राप्त कुकुर परिचालन गरी घटनाको अनुसन्धानमा प्रहरी लाग्यो । तत्कालै कुकुरले सुटकेश भेटिएको अन्दाजी ३ सय मिटर पूर्वउत्तरस्थित स्वर्गद्वारी मार्गको खाली जमिन छेउमा टाउको र खुट्टा पोको पारेर फालेको अवस्थामा फेला परेको थियो ।
मृतकको पहिचान नखुलेपछि प्रहरीले पहिचानका लागि तस्वीर सार्वजनिक ग¥यो । साउन २६ गते नै बोहराका मामा पर्नेले उनको सनाखत गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली बताउनुहुन्छ । उनको घर रोल्पाको रुन्तीगढी गाउँपालिका–७ हो । हाल गोङ्गबुस्थित एक होटलमा बस्दै आएका थिए । उनी गार्मेन्टको सामान थोक बिक्री वितरणमा संलग्न थिए । प्रहरीको अनुसन्धानबाट उनी आठ महिनादेखि उक्त होटलमा बस्दै आएको खुलेको छ ।
उनीहरूबिच तीन÷चार वर्षदेखिको फेसबुकमार्फत चिनाजान रहेको पत्ता लागेको छ । अनुसन्धानका क्रममा मृतक बोहराले अभियुक्तको फोटो राखी नक्कली फेसबुक आइडी बनाएर चलाउने गरेको र महिलालाई आपूm अनुकूल हिँड्नका लागि दबाब दिने गरेको खुल्न आएको एसएसपी थापाले बताउनुभयो । उहाँका अनुसार छोरीलाई समेत उनले आँखा लगाउने गरेका थिए । हत्यामा त्यतिमात्रै कारण भन्नेमा प्रहरी ढुक्क छैन । अन्य कुरा अनुसन्धानपछि मात्रै खुल्ने जनाइएको छ ।
घटनास्थलको दिनमा त्यही होटलमा बा ७२ प ५६४४ नम्बरको स्कुटरसमेत फेला परेपछि प्रहरीलाई तथ्य खोज्न सहज भएको थियो । घटना भएको दिन राति महिलाले आफ्नै कोठामा बोलाएर मदिरासहित दही, चिउरा मासुसमेत खान दिएको खुल्न आएको छ । दहीमा पाँच वटा निद्रा लाग्ने औषधि मिसाएर खुवाएकी थिइन् । त्यसपछि बोहरा लठ्ठिएर सुतेपछि फलामको हम्मरले अण्डकोषमा हानेर मारेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । त्यसपछि सलले बाँधी धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाइ झोलामा राखेर आफैँले फ्याँकेको महिलाले बयान दिएकी छिन् । उनले घटना स्वीकार गरेको र अन्य पाटो भने अनुसन्धानको क्रममा रहेको एसएसपी थापाले बताउनुभयो ।
शव व्यवस्थापनमा कठिनाइ भएपछि छोरीसमेतलाई संलग्न गरेकी थिइन् । पानी परेकाले छोरीलाई छाता ओढाउन लगाए उनले सुटकेस बोकेर उनी त्यहाँ सुटकेस फ्याँकेर फर्किएकी थिइन् । भोलिपल्ट चिनजानको एम्बुलेन्समार्फत उनी चितवन फर्किएको खुल्न आएको छ । त्यो एम्बुलेन्स आफ्नो नातेदार रहेको बुझिए पनि यकिन भइनसकेको प्रहरीले जनाएको छ । घटना सबै घरभित्र घटाएर एक्लै शव व्यवस्थापन गर्न नसक्दा छोरीको सहयोग लिनुपरेको उनले बयान दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *