भर्खरै :

विपद् व्यवस्थापन समिति बैठक राष्ट्रिय परिचयपत्र वितरण स्थगित गर्ने निर्णय

भक्तपुर, २८ साउन । भक्तपुर नगरपालिकाका प्रमुख एवम् नगर विपद् व्यवस्थापन समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा विपद् व्यवस्थापन समितिको बैठक बुधबार बस्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले भनपाले समुदायमा कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन नगरपालिकाकै भवन तथा विभिन्न होटलमा क्वारेन्टाइनको व्यवस्था गर्दै आएको र सोको व्यवस्थापनको लागि नगरपालिकाले ९ जना कर्मचारीको व्यवस्था खटाएको बताउनुभयो ।
बैठकमा नगर प्रमुख प्रजापतिले हालसम्म विभिन्न देशबाट हवाई मार्ग हुँदै भक्तपुर प्रवेश गरेका १०१ जना नगरबासीहरूको व्यवस्थापन गरिएको जानकारी गराउनुभयो ।
बैठकले काठमाडौँ उपत्यकामा पनि दिनहुँ सयौँको संख्यामा कोभिड १९ का सङ्क्रमितहरू बढिरहेको वर्तमान अवस्थामा सङ्घीय सरकारले जारी गरेको निर्देशनअनुसार भीडभाड हुने कुनै पनि गतिविधि नगर्न भनपाका वडाहरूमा राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन लागि सुरू गरिएको फोटो खिच्ने अभियान हाललाई स्थगित गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले काठमाडौँ उपत्यकामा प्रवेश गर्ने मुख्य नाकाहरूमा कडाइ गर्न र अनधिकृत प्रवेशलाई पूर्णतया रोक्न नेपाल सरकारलाई अनुरोध गर्ने र कोरोना सङ्क्रमणको जोखिमप्रति संवेदनशील भई निकट भविष्यमा मनाइने कुशे औँसी (बुबाको मुख हेर्ने) पर्वलाई औपचारिकतामा मात्र सीमित गर्न सार्वजनिक अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले भक्तपुर नगरपालिका क्षेत्रमा रहेका उद्योग धन्दा एवम् कल–कारखानामा कार्यरत कर्मचारी र मजदुरमा समेत कोभिड – १९ सङ्क्रमण बढिरहेको स्थितिमा जोखिमको संवेदनशीलतालाई मध्यनजर गरी आफ्ना मजदुर एवम् कर्मचारीलाई आफ्नै उद्योग परिसरमा क्वारेन्टिनको व्यवस्था अनिवार्य गर्न उद्योगपतिहरूलाई निर्देशन दिन र क्वारेन्टिनको व्यवस्था नगर्ने उद्योगधन्धाहरू बन्द गराउन जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्ने निर्णय ग¥यो ।
त्यस्तै भनपाले कोभिड – १९ सङ्क्रमण तीव्र गतिमा फैलिएको अवस्थामा लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधनहरू हाललाई सञ्चालन नगर्न सम्बन्धित सङ्घीय सरकारलाई अनुरोध गर्ने, नगरपालिका प्रवेश गर्ने प्रमुख नाकाहरूमा थप कडाइ गर्न नगरपालिका, प्रशासन कार्यालय, महानगरीय प्रहरी, स्वयम्सेवक तथा सरोकारवाला संस्थाहरूको तर्फबाट एकीकृत गस्ती परिचालन गर्ने, भक्तपुर नगरपालिका क्षेत्रभित्रका सडक, गल्ली, चोक, मन्दिर र खुला ठाउँलगायतका क्षेत्रमा विषादी छर्कने तथा बजार क्षेत्र, राजमार्ग र सहायक मार्ग वरपरका क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका ठेलागाडा तथा साइकल हटाउने र फुटपाथ पसल व्यवस्थित गर्ने निर्णय गरेको छ ।
बैठकमा भनपाका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य सङ्घ भक्तपुरलगायतका प्रतिनिधिहरूले कोभिड – १९ रोकथाम नियन्त्रणको लागि अपनाउनुपर्ने उपायहरूबारे आ—आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *