भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
ङातापोल्हँ मन्दिर संरक्षण कार्य योजना उपभोक्ता समितिको प्रतिवेदन
उपभोक्ता समिति गठन तथा कार्य आरम्भ
विसं २०७२ सालको विनाशकारी भूकम्पबाट देशैभर धनजनको अपूरणीय क्षति भयो । देशभरका सांस्कृतिक सम्पदाहरू पनि त्यस बिपत्तिबाट अछुतो रहेनन् । भक्तपुरमा पनि सयौँ सम्पदामा क्षति पुग्यो । ङातापोल्हँमा पनि त्यस विपत्तिले केही क्षति पु¥यायो ।
सम्पदा संरक्षणमा स्थानीय जनताको सहभागिता र अपनत्वको भावना जगाउने भक्तपुरको परम्पराअनुरूप २०७६ कार्तिक ७ गते स्थानीय जनताको भेलाबाट ङातापोल्हँ मन्दिर संरक्षण कार्यको लागि म केशव तमखुको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन भयो । उपभोक्ता समिति गठन भएपश्चात् कार्तिक २० गतेबाट आवश्यक बाँस सङ्कलन गरी मंसिर ७ गतेदेखि खः बाँध्ने काम सुरु भयो । मंसिरको २५ गतेको शुभसाइतबाट मन्दिरको छानामा रहेको झिङ्गटी निकाल्ने कार्य सुरु गरी २०७६ फागुन १७ गते मन्दिरको गजुर निकाल्ने काम भयो । भूकम्पको प्रभावले पाँचौँँ तल्लामा क्षति भएकोले निर्देशानुसार पाँचौँँ तल्ला पूर्णरूपमा भत्काउने काम भयो ।
पाँचौँँ तल्लाको पुनः निर्माण
२०७६ फागुन २८ गते पाँचौँँ तल्लाको लकांसि र थांलगायतको काठ राखेर पाँचौँँ तल्लाको पुनः निर्माण थालनी गरियो । चैत १ बाट उक्त तल्लाको गारो लगाउने कार्य आरम्भ गरी चैत ८ गतेसम्ममा गारो निर्माण कार्य सम्पन्न गरी गजुरको काठ स्थापना गरियो । पाँचौँँ तल्लाको निर्माणको क्रममा यसको पूर्व, पश्चिम, उत्तर र दक्षिणमा रहेको चारवटा भैरव मुखाकृति भएका झ्यालहरूमध्ये पश्चिमतर्फको झ्यालको भैरवको मुखाकृति पुनःस्थापना गरियो । साथै उत्तर तथा पूर्वतर्फ रहेका झ्यालहरूमा क्रमशः माथिल्ला र तल्ला काठहरू फेरियो । यस तल्लाको छानाको दक्षिणपूर्व कुनामा रहेको सलाँ अपा भूकम्पको कारण वा अन्य कुनै कारणले नोक्सान भएको हुनाले नयाँ सलाँ अपा राखियो । साथै पश्चिमतर्फको छानाको दक्षिण पश्चिमतर्फ रहेको एक बिलम्पू जीर्ण भई प्रयोग गर्न नमिल्ने भएकोले सोको स्थानमा नयाँ बिलम्पू राखियो । पुरानो बिलम्पू भनपाको सम्पदा शाखामा बुझाइएको छ । पाँचौँँ तल्ला पुनःनिर्माणको लागि ५ सय ७५ वटा दाची अपा र ३ सय वटा दाची कुं अपा प्रयोग भएको छ । दक्षिण पूर्व कुनामा रहेको ल्हाकै अपा पनि पुनः प्रयोग गर्न नमिल्ने भएको हुँदा नयाँ राखिएको छ । यस तल्लाको छानामा अघिल्लो चरणको संरक्षण कार्यमा चारवटै ग्वंग अपा सिमेन्टबाट बनाएर प्रयोग गरिएकोमा सोको ठाउँमा तिलमाधव नारायण मन्दिरबाट प्राप्त भएको ग्वंगअपा प्रयोग गरिएको छ ।
लकडाउन एक चुनौती
मन्दिरको संरक्षण कार्य सम्पन्न नहुँदै विश्वव्यापीरूपमा फैलिएको कोभिड—१९ को महामारीको कारण अचानक कार्य रोक्नुपर्दा चिन्ता भयो । २०७६ चैत ११ गतेदेखि २०७७ वैशाख ५ गतेसम्म मन्दिरको सम्पूर्ण कार्य बन्द नै भयो । साथै वर्षाले समस्या पार्नसक्ने हुनाले भक्तपुर नपाका मेयर तथा निर्देशक समितिका अध्यक्ष सुनिल प्रजापतिको निर्देशनपछि वैशाख ६ गतेबाट पुनः कार्य सुरु गरियो । सम्बन्धित सरोकारवाला निकाय र प्रशासनको जानकारीमा कार्य पुनः सुरु गरेको हुँदा काममा संलग्न कालिगढ तथा ज्यामीहरूलाई प्रहरी प्रशासनबाट सहयोग प्राप्त भयो । विषम परिस्थितिको समयमा पनि पुर्खाको धरोहर संरक्षणमा कालिगढ तथा ज्यामी दाजुभाइहरू दत्तचित्त भई लाग्नुभयो । लकडाउनको समयमा पनि निरन्तर कार्य गरेर २०७७ वैशाख २४ गते मन्दिरको गजुर स्थापना गर्ने काम भयो ।
छाना छाउने कार्य र जनश्रमदान
मन्दिरको पाँचौँँ तल्लाको छाना छाउने कार्य २०७७ वैशाख २८ गतेबाट सुरु भयो र ३१ गते छाना छाउने कार्य सम्पन्न भयो । यसभन्दा अगाडिको कार्य बढी जोखिमपूर्ण रहेकोले मन्दिरको लागि जनश्रमदान गर्न इच्छुकहरूलाई समावेश गरिएन । चौँथो तल्लाको छाना छाउने कार्यआरम्भसँगै स्थानीय जनताबाट जनश्रमदान थालनी भयो । फलस्वरूप चौँथो तल्लाको छाना छाउने कार्य २०७७ जेठ ६ र ७ गरी दुई दिनमा सम्पन्न भयो । त्यसैगरी तेस्रो तल्लाको छाना छाउने कार्य जेठ १४ गतेदेखि १७ गतेसम्ममा सम्पन्न भयो भने दोस्रो तल्लाको छाना छाउने कार्य जेठ २८ गतेदेखि असार ३ गते र पहिलो तल्लाको छाना छाउने कार्य असार १३ गतेदेखि असार १८ गतेसम्ममा सम्पन्न भयो । छानाको कार्य आरम्भ भएसँगै श्रमदानमा सहभागी हुन चाहने मनकारीहरू धेरै आए । उहाँहरूको नाम सूचिकृत गरी पालैपालो श्रमदानको दिन निर्धारण गरियो । सोही क्रममा भक्तपुर नगरपालिकाका मेयरज्यूसहित ३८ जना जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसमेतले श्रमदान गर्नुभयो ।
पुर्खाको धरोहरको संरक्षणमा आएको जनलहरसँगै कोरोनाको डर पनि उत्तिकै थियो । त्यसैले उपभोक्ता समितिको तर्फबाट श्रमदानमा आउनुहुने महानुभावहरूको लागि मास्क र पञ्जालगायतका सुरक्षा सामग्री व्यवस्था गरी सावधानी अपनाई जनश्रमदानलाई व्यवस्थित गर्ने कार्य भयो । सोही क्रममा कतिपयले स्वतःस्फूर्तरूपमा मास्क वितरणको कार्य पनि भयो । साथै सहभागी महानुभावहरूलाई विभिन्न सङ्घ—संस्था र व्यक्तिहरूले पानी खुवाउने, चकलेट–जुस बाँड्ने, चिसो बाँड्ने, दही तथा चिउरा उपलब्ध गराउनेलगायत विभिन्न सहयोग गरे । २०७७ असारको २७ गतेसम्ममा मन्दिरको सरसफाइलगायत इस्टिमेटअनुसारको सम्पूर्ण कार्य सम्पन्न भयो ।
थप सामग्रीको प्रयोग
भूकम्पको कारणले गर्दा मन्दिरमा रहेका केही सामग्रीहरू नोक्सान भएको र केही सामग्री पुरानो भई काम नलाग्ने भएको हुनाले देहायबमोजिमका थप सामग्रीहरू प्रयोग गरिए ।
स्थानीय स्रोत साधन तथा जनशक्तिको उपयोग
मध्यकालका राजा भुपतीन्द्र मल्लको पालामा भक्तपुर तथा यसका उपसहरका जनताको परिश्रमको उत्कृष्ट नमुनाको रूपमा रहेको ङातापोल्हँको पछिल्लो संरक्षण कार्यको लागि सामग्री सङ्कलनको सम्बन्धमा विभिन्न तर्क वितर्कहरू भए । अन्तमा आधुनिक पाइपको पोलभन्दा स्थानीयरूपमा उपलब्ध हुने बाँसको लागत पनि कम हुने र संरक्षण कार्यमा स्थानीय प्रविधि तथा परम्परा पनि जोगिने निष्कर्षसहित खः बाँध्नको लागि स्थानीय सामग्री बाँस र डोरी नै उपयोग गरियो । संरक्षण कार्यमा कुशल स्थानीय कालिगढहरूले उत्साहपूर्वक कार्य गर्नुभयो ।
सरसल्लाह र निर्देशनबमोजिम कार्य
ङातापोल्हँ भक्तपुरवासीको मात्र गौरवको विषय होइन । समग्रमा सारा देशवासीको प्रतिष्ठासँग जोडिएको र विश्व सम्पदामा सूचिकृत भएको नाताले विश्वकै सम्पत्ति हो । तसर्थ यस्ता सम्पदाको संरक्षण कार्यमा सामेल हुनु गौरवको विषय हुनुको साथै चुनौतीपूर्ण पनि छ । यसै तथ्यलाई मध्यनजर गरी ङातापोल्हँ मन्दिर संरक्षण कार्यको लागि विभिन्न समितिहरूले महत्वपूर्ण भूमिका खेले । उपभोक्ता समितिको कार्यको आवश्यक रेखदेखको लागि अनुगमन समितिले कार्य गरेको थियो । साथै आवश्यक प्राविधिक अध्ययन तथा परामर्शको लागि विज्ञ तथा प्राविधिकहरूको प्राविधिक समिति, सम्पदाविद् र संस्कृतिविद्हरूको सल्लाहकार समिति तथा भक्तपुर नपाका मेयरज्यूको अध्यक्षतामा निर्देशक समिति गठन भएको थियो । उपभोक्ता समितिले उल्लेखित विभिन्न समितिहरूको राय, सल्लाह र सुझावहरूलाई मनन गर्दै हजारौँ भक्तपुरवासी दाजुभाइ तथा दिदिबहिनीहरूको उत्साहपूर्ण सहभागितामा ङातापोल्हँ मन्दिरको संरक्षण कार्य सम्पन्न गर्याैँ ।
आर्थिक तथा भौतिक सहयोग
ङातापोल्हँ मन्दिर संरक्षण कार्यको लागि भक्तपुर नगरपालिकाको तर्फबाट रु. ६५,१३,३५८।– २७ विनियोजन भएको थियो । साथै, ङातापोल्हँ मन्दिर संरक्षण कार्यको लागि हजारौँ सङ्ख्यामा जनश्रमदान प्राप्त भयो, जसलाई मौद्रिकरूपमा भन्दा पनि भावनात्मकरूपमा मूल्याङ्कन गर्नु उचित हुन्छ । विभिन्न सहृदयी महानुभावहरूबाट रु. १५,४७,५७०।– आर्थिक सहयोग प्राप्त भएको छ । यसका साथै भैरवनाथ मन्दिरबाट १६०० वटा र ख्वप इन्जिनियरिङ कलेजबाट ११० वटा गरी जम्मा १७१० वटा बाँस, तिलमाधव नारायण मन्दिर, लोकेश्वर मन्दिरलगायत विभिन्न महानुभावहरूबाट १७६७० झिङ्गटी, ४०० भन्दा बढी क्वपूअपा, ४ वटा ग्वङ्ग अपा, १ वटा सलाँ अपा र माटोलगायत विभिन्न सामग्रीहरू सहयोगको रूपमा प्राप्त भयो । उक्त सामग्रीहरूको बजार मूल्य मूल्याङ्कन गर्दा देहायबमोजिम हुन आउँछ ।
जनश्रमदान भक्तपुरको पहिचान
सार्वजनिक सम्पत्ति संरक्षण कार्यमा जनसहभागिताको कुरा भक्तपुरको लागि नौलो कुरो होइन । भक्तपुरका समाजसेवीहरूले विगत लामो समयदेखि जनताको चेतनास्तर उकास्नको लागि खेलेको भूमिकाको यसमा महत्वपूर्ण स्थान छ । आफ्ना पिता पुर्खाले निर्माण गरेका सम्पदाहरू हामी आफैँले नै संरक्षण गर्नुपर्ने कुरामा यहाँका जनता सचेत छन् । यहाँको भौतिक सम्पदा संरक्षण र विकास निर्माणमा जनसहभागिता परम्परा नै बनिसकेको छ । ङातापोल्हँ मन्दिर संरक्षण कार्यमा पनि त्यसले निरन्तरतामात्र पाएको हो । विश्व सम्पदा भएकोले यसको संरक्षणमा केही थप उत्साहको सञ्चारमात्र भएको हो ।
श्रमदानका लागि भक्तपुरको विभिन्न क्षेत्रका दाफा, गुठी, सङ्घ—संस्था तथा कतिपयले स्वतःस्फूर्तरूपमा सहभागिता जनाउनुभयो । श्रमदानको उत्साहलाई व्यवस्थापन गर्नको लागि हामीले उहाँहरूलाई नामावली तयार गरी मिति तोकेर पालो दिनुप¥यो । कतिपय सङ्घ—संस्थालाई हामीले पालो नै पु¥याउन सकेनौँ ।
झिङ्गटी सफा गर्न १५ समूहबाट ३२१ जना र छाना छाउनको लागि ५४ समूहबाट ३८६६ जना गरी जम्मा ४१८७ जना सम्पदाप्रेमी महानुभावहरूले श्रमदान गर्नुभएको तथ्याङ्क छ । साथै उपभोक्ता समितिको जानकारीविना नै सयौँ जनश्रमदानको लागि आउनुभएको होला । यसको हामीले रेकर्ड राख्नसमेत सकेनौँ ।
ठेक्कामा होइन जनतामा विश्वास
ठेक्कामा काम गर्नुको उद्देश्य उसले गरेको कामको दिगोपनाभन्दा पनि नाफा कमाउनु हो । नाफाको लागि गुणस्तरहीन कार्य भएका थुप्रै उदाहरण हाम्रोसामु छन् । त्यसको विपरीत उपभोक्ता समितिले गरेका कार्यहरूमा कसैलाई नाफाघाटाभन्दा कार्यको दिगोपनामा विशेष ध्यान दिने गरिन्छ । आफ्नै घर आँगन, टोल–छिमेक र पिता पुर्खाको धरोहरको संरक्षणमा स्थानीय जनता आफ्नोपन र गर्वको महसुस गर्दछन् । यसले गर्दा विकास निर्माण तथा सम्पदा संरक्षणका कार्यहरू अनुमानितभन्दा पनि कम लागत र तोकिएको समत्न्दा चाँडो सम्पन्न भएका प्रशस्त उदाहरण भक्तपुरमा देख्न पाइन्छ । त्यसको ठीक उल्टो ठेकेदारले गरेका कार्यहरू समयमा सम्पन्न नहुने, कमसल काम गर्ने र अनुमानित लागतभन्दा धेरै गुणा लागत परेको उदाहरण हाम्रैसामु छ ।
ङातापोल्हँको सन्दर्भमा पनि जनताप्रतिको विश्वासलाई झन् बलियो बनाएको छ । संरक्षण कार्यको सिलसिलामा संरक्षण कार्य अवधिभर ज्यामी, मिस्त्री, सिकर्मी, ताम्रकर्मी र पोल्हँकर्मीसमेत गरी जम्मा २३६१ जनाले ज्यालामा काम गरेका थिए । उक्त सङ्ख्याको करिब दोब्बर जनताले श्रमदान गरी जनताको धरोहर संरक्षण कार्यमा योगदान गरे । यो हामी सबैको लागि खुसीको कुरा हो ।
स्थानीय सीप र स्वदेशको पौरख
भक्तपुरको सम्पदा संरक्षणको लागि विदेशीले सहयोग गर्ने कुरा पत्रपत्रिकामा प्रकाशित समाचार हामीले पनि पढेका छौँ । तर, त्यस्तो सहयोगमा देशको स्वाभिमानमा चोट पु¥याउने खालका बन्धनहरू जोडिएर आएको हुनाले त्यसलाई अस्वीकार गरिएको कुरा पनि प्रकाशमा आएको थियो । सर्तसहितको सहयोगले देश र समाजलाई पराधीन बनाउने सम्भावनालाई विचार गरेर ती सहायता नलिएको होला । तर, विदेशीको सहयोग नभए पनि हाम्रो नगरको सम्पदा संरक्षणको कार्य रोकिएन । बरु विदेशीको भरपर्नुभन्दा आफ्नै पौरख र पसिनाले काम गर्ने भावनासहित व्यापक जनताले सम्पदा संरक्षणमा योगदान गरे ।
जनताको सीप र पौरख पोखिएको ङातापोल्हँ
मल्लकालमा पनि यसमा हजारौँ जनताले आफ्नो सीप र कौशल पोखेको इतिहास पढ्न पाइन्छ । यसपटक पनि ङातापोल्हँ मन्दिरको संरक्षण कार्यमा भक्तपुरका जनताले उत्साहपूर्वक श्रमदान गरे । डाक्टर, इन्जिनियरदेखि समाजका विभिन्न पेशा व्यवसायमा आबद्ध महानुभावहरूले सहयोग गर्नुभएको थिये । यस पुनित कार्यमा श्रमदान तथा आर्थिक एवं भौतिक सहयोग गर्ने सम्पूर्णमा उपभोक्ता समितिको तर्फबाट म धन्यवाद दिन चाहन्छु ।
बढी भएको सामग्री व्यवस्थापन
जनताको असीम माया र सद्भावले ङातापोल्हँको लागि प्राप्त भएको सामग्रीमध्ये केही सामग्री बढी भए । ती सामग्रीहरू भक्तपुर नपाकै पहलमा पुनः निर्माण भइरहेको भैरवनाथ द्योछेँको कार्यमा उपयोग गर्न उपलब्ध गराइयो । ङातापोल्हँबाट ५,५०० वटा झिङ्गटी, २९० वटा क्वपू र ३ (तीन) ट्याक्टर मुछेको माटो उक्त कार्यको लागि पठाइयो ।
पेश्कीको बाँकी रकम फिर्ता ः
ङातापोल्हँ मन्दिर संरक्षण कार्यको लागि पहिलो पेश्कीस्वरूप रु. ३० लाख र चन्दा रकम रु. १५,४७,५७०।– गरी जम्मा रु. ४५,४७,५७०।– उपभोक्ता समितिलाई प्राप्त भएको थियो । व्यापक जनश्रमदान र विभिन्न महानुभावहरूले उपलब्ध गराउनुभएको आर्थिक तथा भौतिक सहयोगले गर्दा जम्मा नगद रु. ३८,७७,६२८।४१ को खर्चमा इस्टिमेटअनुसारको सम्पूर्ण कार्य सम्पन्न भएको छ । उक्त रकममध्ये ज्यालातर्फ रु. २६,१७,५००।– सामग्रीतर्फ रु. ११,०२,४७८।४१ र भाडातर्फ रु. १,५७,६५०।– खर्च भई बाँकी रकम रु. ६,६९,९४१ भक्तपुर नगरपालिकाको पुँजीगत खर्च खाता नं १९०३०००००२००४०००००१ मा जम्मा गरिसकेको छु ।
पुर्खाको धरोहरमा आजको पुस्ताको योगदान
ङातापोल्हँ पुर्खाको धरोहर हो । त्यही पुर्खाले सिर्जेको सम्पत्ति नै आज विश्वसमक्ष नेपालीको गौरवको रूपमा परिचित छ । भूकम्पले यस्ता सम्पदामा क्षति पुग्नु दुःखको कुरा हो । आजको पुस्ताले पुर्खाको धरोहर संरक्षण कार्यमा थोरै भए पनि योगदान गर्न पाउनु गौरवको कुरा हो । यस्तो महत्वपूर्ण सम्पदा संरक्षण कार्यको लागि विश्वास गर्नुभएकोमा सम्पूर्ण उपभोक्ता समिति तथा अनुगमन समितिको तर्फबाट भक्तपुर नगरपालिकाका मेयरज्यूलगायत सम्पूर्ण सरोकारवाला सङ्घ–संस्थामा हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन गर्दछु ।
Leave a Reply