जेलका चिट्ठीहरू पुस्तक धेरैभन्दा धेरै पाठकहरूको मनसम्म पुग्न सफल होस्
- श्रावण २, २०८३
आपत्माथि विपत्
(विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाङ्की प्रस्तुत गर्ने गहकिलो एवम् प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मारिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।
अघिल्लो अङ्कमा हामीले सोभियत रुसको क्रान्तिकारी सरकारलाई अपदस्थ गर्न अन्य देशहरूले गरेको हमलामाथि लेनिन सरकारले गरेको विजय साथै साकोल्नीकीमा लेनिनलाई लुटेराहरूले लुटेको रोचक घटनाबारे सविस्तार पढ्यौँ ।)
मित्र–बिछोड
मार्च १९१९ । रेलगाडी पेत्रोग्राददेखि मस्कोतर्फ हुइँकिरहेको थियो । एक डिब्बामा लेनिन र दिदी अन्ना इल्यीनिच्ना बसेका थिए । रातको समय थियो । माटोको बत्तीले मन्द प्रकाश छरिरहेको थियो । डिब्बा हल्लिरहेको थियो । पाङ्ग्राको एकसुरे आवाजले उच्चाट छुटाइरहेको थियो ।
अन्ना इल्यीनिच्ना कुनामा काँध झुकाएर बसेकी थिइन् । लेनिन र उनी पेत्रोग्राद पार्कमा तिमोफिएभिचको अन्तिम संस्कारमा गएका थिए । तिमोफेइभिच अन्ना इल्यीनिच्नाका पति थिए ।
सोभियत सङ्घमा एउटा अर्को विपत्ति आएको थियो । टाइफसको प्रकोपले गर्दा सहर, गाउँ र रेलहरूमा हजारौँ मानिस भकाभक मरिरहेका थिए । अस्पताल, डाक्टर र औषधिको अभाव थियो ।

मार्क तिमोफेइभिच एलिजारोभ सरकारी कामले पेत्रोग्राद आएका थिए । तर, यहाँ टाइफसले उनलाई समात्यो र केही दिनमै उनले यो संसारबाट बिदा लिए । भोल्कोभ चिहानघाटमा भोजको सेतो रुखमुनि आफन्तजनका दुइटा चिहानहरूको छेउमा अर्को चिहान थपियो । भ्लादीमिर इल्यीचको जीवनका कति दुःख र सुखका वर्षहरू मार्कसँग जोडिएका थिए । जवानीमा मार्क साशाका साथी थिए । साशालाई फाँसी दिँदा मार्क उल्यानोभ परिवारका अङ्ग नै बने । कति बुद्धिमान्, सहृदयी र आत्मीय थिए उनी ।
रेल रातको अन्धकार चिर्दै तीव्रगतिमा कुँदिरहेको थियो । रेलमार्गको किनारमा फैलिएको हिउँदको नाङ्गो जङ्गल उराठलाग्दो थियो । बाटोमा घरिघरि घर देखापर्थे र पछाडि छुट्थे । कलकारखानाका चिम्नीहरूबाट धुवाँ उडिरहेको थियो । इन्धन र कच्चा पदार्थको कमीले कलकारखानाहरू बन्द हुँदै थिए । अर्थव्यवस्था चौपट भएको थियो ।
मस्कोले एक अर्को दुःखद समाचारको प्रतीक्षा गरिरहेको थियो । अखिल रूसी केन्द्रीय कार्यकारिणीका अध्यक्ष याकोभ स्वर्दलोभलाई स्पेनी फ्लुले समात्यो । यो डरलाग्दो रोग सायद स्पेनबाट आँधीबेरीजस्तै फैलेको थियो । हजारौँ मानिसहरू मरिरहेका थिए फ्लु, टाइफस, भोकमरी र गृहयुद्धका कारण । विपत्तिमाथि विपत्ति । विदेशी पत्रकारहरूले बदनियतपूर्वक लेखे ः सोभियत सत्ताको अन्त्य अब टाढा छैन ।
भ्लादीमिर इल्यीचले पुर्पुरो समाते । के गर्ने, कसो गर्ने ? उनी सोच्न सकिरहेका थिएनन् । स्वर्दलोभलाई निको भए हुन्थ्यो । उनीहरू कति मिलेर काम गर्थे ।
“याकोभ मिखाइलोभिच, हामीले…” लेनिनले कुनै कामबारे बताउन के सुरु गरेका हुन्थे बीचमा कुरा काट्दै स्वर्दलोभ जवाफ दिन्थे ।
“गरिसक्यौँ ।”
“के भन्यौ ¤ के गरिसक्यौँ ?”
“हो, लेनिन, गरिसक्यौँ ।”
“कहिले याकोभ ? हामीले यस विषयमा पूरा छलफल गरेकै थिएनौँ ।”
“पूरै नगरे पनि कुरा त गरेका थियौँ नि…” स्वर्दलोभ हाँस्न थाल्थे ।
लेनिनले भन्न खोजेका कुरा बुझ्न उनलाई आधा भए पुग्थ्यो । लेनिन स्वर्दलोभको कार्यकुशलता, क्रान्तिकारिता र राजनीतिक सुझबुझका प्रशंसक थिए ।
चिकित्सकहरूले लेनिनलाई बिरामी भेट्ने अनुमति दिएका थिएनन् । स्पेनी फ्लु सङ्क्रामक रोग थियो । तर, चिकित्सकहरूको कुरा सुनेको नसुने गरी लेनिन साथीलाई भेट्न आए र उनलाई भेट्नासाथ आश्चर्यचकित भए ।
यिनी स्वर्दलोभ नै हुन् त ? स्वर्दलोभ सिरानीको सहारा लिई निस्लोट र निश्चल सुतिरहेका थिए । उनी एकदम कमजोर भएका थिए । नाक पहिलेभन्दा चुच्चो देखिन्थ्यो । दारी बढेको थियो । आँखा भित्र पसेका थिए । अनुहारमा बुढ्यौली झल्किन्थ्यो । त्यसैले अनुहार अन्जान देखिन्थ्यो ।
लेनिन शय्यानिर बसे । “मेरो प्यारो विश्वसिलो, प्रतिभावान साथी, हामीलाई छोडेर नजाऊ ।” उनी सोचिरहेका थिए ।
स्वर्दलोभको स्वास्थ्य, यौवन, सतत सक्रियता, साहसी रूप लेनिनलाई राम्ररी सम्झना थियो । त्यसबेला स्वर्दलोभको उमेर तेत्तीस वर्षको थियो । जतिसुकै डरलाग्दो स्थितिमा पनि स्वर्दलोभ कहिल्यै डराएका थिएनन् । लेनिनले कल्पनामा पनि उनी डराएको घटना थिएन । मानिसहरूसँग भलाकुसारी गर्न र उनीहरूलाई क्रान्तिकारी काममा प्रेरित गर्नमा उनी कुशल थिए ।
परेला चल्मलायो । स्वर्दलोभले आँखा खोले । कहीँ टाढाबाट अर्धचेतन अवस्थामा उनले लेनिनलाई देखे । लेनिनलाई चिनेपछि उनको ओठमा एउटा विषाद र व्यथा भरिएको मुस्कान देखियो । उनी जसोतसो हाँस्न खोजेका थिए तर खै किन हो, हाँसो निस्किएन । यो देखेर लेनिनको घाँटीमा केही अड्केजस्तो । आँखामा आँसु छचल्किन थाले । शिर झुकाउँदै र आँसु लुकाउँदै लेनिन बाहिर निस्किए ।
केही मिनेटपछि स्वर्दलोभको प्राणपखेरु उड्यो । मृत्युभन्दा पहिले एकक्षण चेतना मानौँ लेनिनलाई देख्न नै आएको थियो । आँखाले बिदा मागे र सदाका लागि बन्द भए ।
सोभियत समाज निर्माणका प्रारम्भिक र सर्वाधिक कठिन समयका आफ्ना यी अथक योद्धालाई लेनिनले आजीवन बिर्सन सकेनन् ।
…….
जीवन एवम्रितले चलिरहेको थियो । सोभियत समाजको रक्षा गर्न र त्यसलाई बलियो बनाउन जरुरी थियो ।
लेनिनले स्वर्दलोभको ठाउँमा मिखाइल तनोभिच कालिनिनलाई अखिल रूसी केन्द्रीय कार्यकारिणीको अध्यक्ष नियुक्त गर्ने प्रस्ताव राखे ।
कालिनिनको जन्म त्वेर क्षेत्रको एक किसान परिवारमा भएको थियो । उनले पिटर्सवर्गमा मजदुरको पनि काम गरेका थिए । उपयुक्त व्यक्ति को हो ? लेनिनलाई राम्ररी थाहा थियो । मिखाइल कालिनिन असल कम्युनिस्ट थिए । इमानदार र बुद्धिमान थिए । जनताले पनि उनलाई असाध्यै रुचाउँथे ।
“म, कामदार जनताको छोरो”
सर्वोत्तम हतियारयुक्त दश लाखभन्दा धेरै श्वेत गार्डर विदेशी हस्तक्षेपकारी सेना रूसको मुटु मस्कोतर्फ लम्किरहेका थिए । शत्रुका ६ मोर्चाहरूले सोभियत मातृभूमिलाई मुट्ठीमा कस्दै थिए ।
मे महिनाको कुरा हो । एकदिन समग्र मस्को अभूतपूर्व हलचलको केन्द्र बन्यो । सशङ्कित महिलाहरू बिहानदेखि नै कलकारखानाका चौरमा एकत्रित भइरहेका थिए । कुनै चीजलाई पर्खिरहेका थिए । कागजका चिर्कटाजस्ता सेता अनुहार र चम्किला आँखा भएका मस्कोका मजदुर बस्तीका केटाकेटीहरू भोकले आमाका लुगाका छेउ समाती टाँसिँदै उभिएका थिए ।
कारखानाका गेट खुले । मजदुरहरू बाहिरिए । कसैले फौजी ओभरकोट लगाएका थिए त कसैले कपासवाल ज्याकेट लगाएका थिए । सबैका काँधमा किट र बन्दुकहरू थियो ।
“गोडाफाट ।” फौजी आदेश सुनियो ।
लालसेना लाइन लगाई उभिए । उनीहरूले केही समयअघि अल्पकालीन सैन्य तालिम पाएका थिए । सीधा लाइन बनाउन त उनीहरूलाई खासै आउँदैनथ्यो । तर, बन्दुक चलाउन भने सबैले जान्दथे ।
“लाल मैदानतिर लम्किनू ¤”
मस्कोका सबै इलाका र सबै कारखानाबाट मजदुर सैनिकहरूको लाइन क्रेमलिनतर्फ बढिरहेको थियो ।
शिरमा सेतो र रातो रुमाल बाँधेका महिलाहरू पनि छेउमा सँगसँगै हिँडिरहेका थिए । उनीहरू ठेस लागेर पल्टिँदापल्टिँदै थामिन्थे र फेरि दौडिन थाल्थे । सैनिकहरूको अनुहार हेर्थे र उनीहरूलाई आफ्ना पोकापोकी थमाउँथे ।
छोरासँग छुट्टिनुपरेकोले मुहार मलिन पारेकी एउटी बुढी आमै चिच्याइन् ः
“वा–आ–स्या, मेरो छोरा । हे प्रभु, मेरो वास्यालाई बुर्जुवाहरूको गोलीबाट बचाइदिनू… ।”
केटाकेटीहरू खाली खुट्टा सैनिकहरूको बीच यताउता दौडिइरहेका थिए । एक आपसमा गफ हाँकिरहेका थिए ।
“मेरो बुबासित कति राम्रो बन्दुक छ, देख्यौ ?”
“बन्दुक देखाउने ¤ मेरो बुबासँग झन् मेसिनगन छ । त्यसको गोलीले त सबै दुष्टहरू ठहरै हुनेछन् ।”
“ऊ हेर मेरो बुबासँग कति धेरै हातेबम छ ? कम्मरै ढाकेको छ । हेर्नू हाम्रो कारखानाका मजदुरहरूले ती बदमासहरूलाई धुलो चटाउनेछन्… ।”
………
“म, कामदार जनताको छोरो, सोभियत जनतन्त्रको नागरिक, आफूलाई आजैदेखि मजदुर र किसानहरूको सेनाको सैनिक घोषित गर्छु… ।”
कति अभिमानपूर्ण र कति उदात्त शब्द थिए । यी शब्द सुनेर मुटु जोडले ढुकढुक गथ्र्यो । एक वर्षअघि लेनिनले सोभियत राज्यको निष्ठापूर्वक सेवा गर्ने सपथ लिँदा उनको मुटु पनि बेसरी धड्किएको थियो । यो मिखेल्सन कारखानाको घटना थियो । त्यहाँ लालसेनासँगै लेनिनले सपथग्रहण गरेका थिए, “मजदुर र किसानहरूको सरकारको पहिलो पुकारमै सोभियत जनतन्त्रको रक्षा गर्न तयार हुने कसम खान्छु । ”

सम्झनामा डुबेका लेनिन साथीहरूसँगै लाल मैदान पुगे ।
लाल मैदानमा जनसागर उर्लेको थियो । लेनिनले सङ्गीनहरूको घुइँचो देखे । इस्पातका सङ्गीनले घाममा कडा र आँखै तिर्मिराउने प्रकाश फालिरहेका थिए । महिलाहरू आफ्ना लोग्ने र छोराहरूसँग छुटिन सकिरहेका थिएनन् । धेरैजसो लाल सैनिक आफ्ना स्वास्नीहरूसँग अङ्कमाल गर्दै बिदा भइरहेको र आफ्ना छोराछोरीलाई चुमिरहेको लेनिनले देखे ।
लाल मैदानमा लालसेना र अनिवार्य सैनिक सेवामा भर्ती भएका सैनिकहरूको फौज एकत्रित थियो ।
अघिल्लो वर्ष लेनिनले सबै कामदार जनताले अनिवार्य सैनिक तालिम लिनुपर्ने अध्यादेश जारी गरेका थिए – मातृभूमि खतरामा छ । मजदुर देशका सबै नागरिकहरूले बन्दुक चलाउन सिक । सोभियत मातृभूमिको रक्षा गर्न तयार होऊ ।
लाल मैदानमा कुनै विशेष मञ्च बनाइएको थिएन । खालि एउटा हिलाम्य र पुरानो ट्रक राखिएको थियो । त्यसको एक छेउमा रातो झन्डा राखिएको थियो र अलि माथि ठुल्ठुला अक्षरमा लेखिएको थियो, “जमिनदार र पुँजीपतिहरूको गिरोहलाई तहसनहस गरेरमात्र विश्राम गर्नेछौँ ।”
लालसेनाको कमान्डरसँगै लेनिनले सबै गणहरूको निरीक्षण गरे र ट्रक माथि उभिए ।
आँखासामु हजारौँ हजार मजदुरहरू बन्दुक हातमा लिएर उभिएका थिए । तिनीहरूमध्ये हरेकका आफ्ना दुःख थिए, सुख थिए, प्रेम थिए, सपना थिए र पनि प्रत्येक व्यक्ति मजदुर र किसानहरूको सरकारको पहिलो पुकारमा सबै कुरा त्यागेर श्वेत गार्डविरुद्ध लड्न तम्तयार भएका थिए ।
लेनिनले बोल्न सुरु गरे ।
सारा मैदान सुनसान भयो ।
लेनिनले भनिरहेका थिए, “पहिले सिपाहीहरूलाई जार र बुर्जुवाहरूको रक्षा गर्न सिकाइन्थ्यो । तर, अब लाल सैनिकहरूले स्वयं आफ्नो, आफ्नो घर र आफ्ना सन्ततिहरूको रक्षा गरिरहेका छन् ।”
लेनिनका कुराहरू मन छुने, सीधा र सरल हुन्थे । क्रेमलिनको पर्खालअगाडि उभिएका हजाराँै लाल सैनिकहरूले यसबेला जे सोचिरहेका थिए उनले त्यही कुरा भनिरहेका थिए । उनीहरूका श्रीमतीहरूले पनि यही सोचिरहेका थिए । श्रीमतीहरूका आँखामा आँसु थिएन तर उनीहरूका मुहार मलिन अवश्य भएका थिए ।
सभापछि लालसेनाको फौज लाल मैदानदेखि सीधा मोर्चाहरूतिर लाग्यो ।
अनुवाद ः माधव अधिकारी
Leave a Reply