भर्खरै :

धुलिखेल अस्पतालमा अत्यावश्यक सेवामात्र चालू

काभ्रे, ३२ साउन । धुलिखेल अस्पतालले अस्पताल सञ्चालनबारे जानकारी दिने उद्देश्यले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजूको हस्ताक्षरमा प्रकाशित विज्ञप्तिमा भनिएको छ –
“गत साउन २९ गतेका दिन प्रकाशित प्रेस विज्ञप्तिमा देशमा विगतका केही दिन यता कोभिड–१९ पोजेटिभ सङ्ख्यामा वृद्धि भएसँगै धुलिखेल अस्पतालमा उपचारार्थ चार जना बिरामी र एक जना उपचारमा संलग्न स्वास्थ्यकर्मीसहित पाँच जनाको रिपोर्ट पोजेटिभ देखिएकोले करिब १२० जना डाक्टर र उपचारमा संलग्न स्वास्थ्यकर्मी क्वोरन्टिनमा बस्नुपरेको थियो ।
पोजेटिभ देखिएकाहरूलाई उपचारका लागि आइसोलेसनमा राखिएको छ भने क्वारेन्टिनमा बसेकाहरूमध्ये थप चार जना स्वास्थ्यकर्मीहरूको नमुना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ र यी चार जनाको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट टे«ेसिङ तथा नमुना सङ्कलन गरी परीक्षण भइरहेको छ ।
धुलिखेल अस्पताल नेपाल सरकारबाट पूर्वी भेगका लागि कोभिड–१९ उपचारका लागि ‘लेभल ३’ अस्पतालको मान्यता प्राप्तपश्चात् अस्पतालले कोभिड–१९ सङ्क्रमित उपचारका लागि अस्पताल परिसरको छुट्टै भवनमा सङ्क्रमण सुरक्षासहित अन्य आवश्यक प्रबन्ध मिलाइसकेको व्यहोरा सबैमा विदित्तै छ । तसर्थ यस परिस्थितिमा अस्पतालका अति आवश्यक सबै सेवा सञ्चालन हुनेछन् र थप जानकारी भदौ ३ गते पुनः सूचना गरिनेछ ।
यस विषम परिस्थितिमा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, स्थानीय प्रशासन, सेवाग्राही, शुभचिन्तक, पत्रकार तथा अस्पतालका फ्याकल्टी कर्मचारीहरूबाट प्राप्त सहयोगको लागि पुनः धन्यवाद व्यक्त गर्दछौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *