भर्खरै :

पिता माताको सम्मान गरौँ

भदौ ३ गते बाबुको मुख हेर्ने कुशे आँैशी पर्व हामी मनाउँदै छौँ । कुश भनेको धार्मिक कार्य तथा यज्ञ आदिमा चाहिने पवित्र मानिएको काँसजस्तो एक प्रकारको घाँस हो । यो धेरै प्राचीन कालको एक हतियार र रामको जेठा छोराको नाम पनि हो । यो घाँसलाई पवित्र मानिन्छ । यसलाई महादेव र विष्णुको प्रतीकको रूपमा लिइने गरिन्छ । त्यसैले यसको महिमा श्रीमद्भागवत गीता, विष्णुपुराण, आर्थव र गरुडपुराणमा भएको पाइन्छ । औँशीको दिन कुशको पनि उपयोग गर्ने भएकोले यस पर्वलाई कुशे औँशी भनिएको हो । यस दिन काठमाडौँस्थित गोकर्णको गोकर्णेश्वर मन्दिर परिसर, ललितपुरको कुम्भेश्वर मन्दिर परिसर, भक्तपुरको हनुमानघाट मन्दिर परिसर, रसुवाको बेत्रावती, धरानको विष्णु पादुका, चितवन तनहुँको देवघाट, अन्य त्रिवेणी, नदी किनार आदि पवित्र ठाउँमा दिवङ्गत बाबुको नाममा सन्तानहरूले कुशलाई पुजेर पिण्डदान र अन्य दान गरेर मनाउने गर्छन् । यस पवित्र दिनलाई कुशे औँशी, गोकर्ण औँशी, पितृ तिर्पपति औँशी र बाबुको मुख हेर्ने दिन पनि भनिन्छ ।
यस दिन बाबु जीवित भएका विवाहित छोरीहरू माइतीघर गएर बाबुको मुख हेर्न जाने परम्परा छ । विवाहित छोरीहरूले आफ्नो बाबु अनि आमालाई सँगै राखेर सुस्वास्थ्य, दीर्घायु र खुसीको कामना गर्दै, आसिक दिँदै सगुन दिएर पूजा गर्ने चलन छ । यो बाबुप्रति सम्मान गर्ने नेपाली संस्कृति हो ।
अचेल यस पर्वमा केही विकृति बढेको पाइन्छ । कति छोरीहरू बाबुआमालाई पश्चिमी संस्कृतिको नक्कल गरेर यस पर्वमा केक काट्ने, त्यसको फोटो फेसबुकमा लोड गर्ने गर्दछन् । आजभोलि आफूले ल्याएका परिकार, गहना, पहिरनको पनि फेसबुकमा देखाउन थालेका छन् । मानौँ, उसले जति कसैले पनि आफ्नो बाबुआमालाई माया गरेका छैनन्, सम्मान गरेका छैनन् । बाबुआमालाई गरेको माया अरुलाई देखाउन होइन । कसैको उक्साहतमा देखासिकी गरेर बाबुको मुख हेर्न जानु उचित हो र ? आफ्नोे क्षमताअनुसार बुबाआमाको सामान्य पूजा गरेर उहाँहरूको स्वास्थ्य अनुकूल सामान्य भोजन गराउँदा हुँदैन र ? अझ अरु दिन वा समय–समयमा बुबाआमालाई भेट्न गएर उहाँहरूको स्वास्थ्यको बारेमा ध्यान दिनु, हेरविचार गर्नु, सान्त्वना दिनु, आफ्नो हातबाट एक गिलास तातो पानी तताएर खुवाउनु ठूलो सेवा हो, धर्म हो ।
स्वार्थी समाजमा मानिसले चाडपर्व र संस्कृतिलाई आफ्नो स्वार्थ पूरा गर्ने साधन या माध्यमको रूपमा उपयोग गर्न थालेका छन् । कति छोरीहरूले आफ्नो छोरीको सूर्यविवाह, पास्नी आदिमा तामझामका साथ भोज खुवाउन थालेका छन् । अनि आमाबाबुलाई पनि तामझामका साथ सगुन ल्याउन दबाब पर्छन्, दबाब दिन्छन् । ल्याइदिएन भने कोही बुबासँग रिसाउँछन्, कोही आमासँग रिसाउँछन् । बाबुको क्षमता हेर्दैनन्, आमाको औकात हेर्दैनन् । अनि बाबुआमाको ढाड सेकिन्छ । कुनै छोरीले धेरै दाइजो दिएन, कुनै जेठीलाई भन्दा कान्छीलाई बढी दाइजो दियो, कुनै कान्छीलाई भन्दा जेठीलाई बढी दाइजो दियो, आफूलाई कम भयो भनेर बुबाआमासँग झगडा गरेको पनि सुन्न पाइन्छ । कति छोरीहरूले वृद्ध अनपढ बुबालाई घरमा मिठाइ खुवाएर झुक्याई सहीछाप राख्न लगाएर बाबुआमाको सम्पत्ति हात पारेको पनि हामी सुन्छौँ । कुनै छोरीहरूले दाजुभाइबीच झगडा गराएर, कसैले आमाबाबु र दाजुभाइबीच झगडा गराएर सम्पत्ति झ्वाम पारेको पनि सुन्न पाइन्छ । कसैले मेरो आमाबुबालाई तपाईँहरूले पाल्नु पर्दैन, नोटले पाल्छ भनी दाजुभाइसित झगडा गर्छन् । घरखेत, सम्पत्ति बेच्न लगाएर पछि आफ्नो नाममा राखेको पनि सुन्न पाइन्छ । यसमा ज्वाइतिङ्ग्रे ज्वाइँहरूको पनि हात रहेको हुन्छ । त्यस्तै कोही बुहारीहरू आफ्ना सासू ससुरालाई यी बुढाबुढीहरू सर्धँै कचकच गर्छन्, कहिल्यै शान्तसँग बस्न दिएको होइन, आरामसँग सुत्न दिएको होइन भनेर वृद्धाश्रममा लगेर कोचिदिन्छन् । वृद्धाश्रममा पैसाले पाल्ने हो, मायाले होइन । छोराबुहारी, नातिको जतिसुकै माया र हेरविचार छैन भन्नु र वृद्धाश्रममा जतिसुकै माया र हेरविचार छ भन्नु कहिल्यै बराबर हुँदैन । त्यसैले छोराबुहारी र आमाबुबाले पनि यसमा ख्याल गर्नुपर्छ ।
आजको व्यवस्था पुँजीवादी व्यवस्था हो । यसले समाजमा चलिरहेको मूल्य र मान्यतालाई सिध्याइदिन्छ । सामाजिक सद्भाव र सम्बन्धलाई खलबल्याइदिन्छ । बाबुले छोरा भन्दैन, छोराले बाबु भन्दैन । आफ्नो बाबुलाई उद्योग व्यवसाय गर्ने नाममा घर खेत बेच्न बाध्य पारेको हुन्थ्यो । बुहारीले पनि नाम कहलिएको धनी साहुको महारानी कहलाउन दामी गरगहना, लुगाफाटो लगाउने, कारमा हुइँकिने, सुखी जीवन बिताउने लोभमा बुबाको सल्लाह, अनुरोधलाई छोरा बुहारीले धोती लगाइदिएको, बुबा पछि त्यही जग्गा बेचेको पीरबाट मरेको, मोजमस्ति गरेर टाट पल्टिएपछि दिवङ्गत बाबुको तस्बिरअगाडि छाती पिटीपिटी भकानिएको, पछुताएको हृदयविदारक दृश्य हामीले हेरेका छौँ । त्यस्तै हिन्दी चलचित्र ‘बागबान’ मा आफ्ना बाबुलाई छोरा बुहारीले दुव्र्यवहार गरेका दृश्यहरू पनि हामीले हेरेका छौँ ।

आमाबुबाको काख अरुको लाख भनेझैँ बुबाआमाले हामीलाई सानो हुँदा दिसाब पिसाब धोइदिएको, घामपानी, चिसोजाडोबाट बचाएको, काँधमा, पिठ्यूँमा बोकेर घुमाएको, कहीँ खानेकुरा खान लाग्दा छोराछोरीको लागि केही साँचेरमात्र आफूले खाएको र खुवाएको, शिक्षादीक्षा, सीप दिएर, हामीलाई बाँच्न, जीउन, सङ्घर्ष गर्न सक्षम बनाएको गुण छोराछोरीहरूले कहिल्यै बिर्सनु हुँदैन । हाम्रो जीवनमा उहाँहरूको ठूलो त्याग छ, लगानी छ ।

हिजोआज दाजुभाइहरू धेरै हुँदा एकै ठाउँमा, एकै घरमा बस्न असहज भएकाले भिन्न बस्ने गर्दछन् । यसरी छोराहरू भिन्न बस्दा छोराहरूले बुबा, म तपाईँसँग बस्छु, आमा, म तपाईँसँग बस्छु, म बाचुञ्जेल तपाईँहरूको सेवा गर्छु भन्दैनन् । बरु, बुबा तपाईँ कुन छोरासँग बस्नुहुन्छ, आमा, तपार्इँ कुन छोरासँग बस्नुहुन्छ भनी सोध्छन् । कुनै कुनै छोराहरूले त सर्त तेस्र्याउँछन्, मसँग बस्ने हो भने तपाईँहरूको नाममा राखेको सम्पत्ति मेरो नाममा पास गरिदिने हो कि होइन, पास गरिदिएमा पाल्न सक्छु नत्र पाल्न सक्दिन भन्छन् । कुनै छोराहरू बाँचुञ्जेल वास्ता गर्दैनन्, बोलचाल हुँदैनन् । जब बुबाको उमेर ढल्किन्छ, अशक्त हुन्छ, कमजोर हुन्छ, खानेकुरासमेत खान सक्दैनन् त्यसबेला सम्पत्तिको लोभमा समाजको डरले बाध्यताले देखावतीरूपमा हेरविचार गर्ने, मीठो मीठो खानेकुरा ल्याइदिने गरिन्छ । बाबुआमाको नाममा सम्पत्ति छैन भने कसैले पनि वास्ता गर्दैनन् । कसै कसैले बाँचुञ्जेल त वास्ता गरेन गरेन मरेपछि पनि वास्ता गर्दैनन् । कसैले जुठो बारेन, कसैले बर्खी बारेन, कसैले कपाल खौरेन, कस्तो विडम्बना ¤ यसको मतलब समाजमा श्रवणकुमारजस्ता छोराछोरी र छोराबुहारी पनि नभएका होइनन् । विनालोभ निःस्वार्थरूपले आफ्ना बाबु आमालाई सासू ससुरालाई समय समयमा खुवाएर, नुहाइधुवाइ गरिदिएर, सफा कपडा लगाइदिएका छन्, माया दिएका छन् । बुबाआमाका पनि कमी कमजोरीहरू होलान् । त्यस्तो कमी कमजोरीलाई नातेदार, टोलका दाजुभाइको सल्लाह र सहयोगमा हटाउन सकिन्छ ।
तपाईँले आफ्नो बुबा आमालाई राम्रो व्यवहार गर्नुभयो भने छोरा छोरीहरूले पनि त्यसरी नै सिकेर तपाईँलाई राम्रो व्यवहार गर्नेछन् । तपाईँले बाबुआमालाई नराम्रो व्यवहार गर्नुभयो भने तपाईँका छोराछोरीहरूले पनि तपाईँलाई पछि त्यसरी नै नराम्रो व्यवहार गर्नेछन् । त्यसैले आमा बुबालाई सम्मान गर्नुपर्छ ।
धन सम्पत्ति हुँदैमा आनन्द हुँदैन । यदि त्यसो नहुँदो हो त धनीमानी, राजा, महाराजाहरूलाई स्वर्गीय आनन्द हुनुपर्ने हो तर त्यस्तो भएको सुनिँदैन । अझ आफ्नो बुबाआमा रुवाएर, दुःख दिएर कमाएको वा प्राप्त गरेको धन सम्पत्तिमा झन् आनन्द हुँदैन भनी बुढापाका भन्ने गर्दछन् । आफ्नो पसिना बगाएर कमाएको मेहनत गरेर कमाएको, सम्पत्तिमा मात्र आनन्द हुन्छ । गौरव हुन्छ । हो, धन सम्पत्ति जीउनलाई चाहिन्छ । त्यो जीउनलाई चाहिने साधनमात्र हो साध्य होइन । दीन, दुःखी अनि समाजको सेवा गरेर इज्जतका साथ, सम्मानका साथ बाँच्नुमा नै स्वर्गीय आनन्द हुनेछ । त्यसैले यस कुशे औँशी बुबाको मुख हेर्ने पर्वमा कसैको बहकाउमा लागेर धेरै झिलिमिली नगरौँ । गुलियो पोतेको विषजस्तो कसैले दिएको सल्लाहमा, ध्यान नदेऔँ, सचेत होऔँ । बुहारीले सासू ससुरालाई आफ्नै आमाबाबुजस्तो र सासूससुराले पनि बुहारीलाई आफ्नै छोरीजस्तो सम्झी राम्रो व्यवहार गरौँ । कुनै काम गर्दा समस्या आउँदा त्यसको समाधान गर्न सबै सँगै बसेर छलफल गरौँ, सल्लाह लेऔँ, देऔँ ।
आमाबुबाको काख अरुको लाख भनेझैँ बुबाआमाले हामीलाई सानो हुँदा दिसाब पिसाब धोइदिएको, घामपानी, चिसोजाडोबाट बचाएको, काँधमा, पिठ्यूँमा बोकेर घुमाएको, कहीँ खानेकुरा खान लाग्दा छोराछोरीको लागि केही साँचेरमात्र आफूले खाएको र खुवाएको, शिक्षादीक्षा, सीप दिएर, हामीलाई बाँच्न, जीउन, सङ्घर्ष गर्न सक्षम बनाएको गुण छोराछोरीहरूले कहिल्यै बिर्सनु हुँदैन । हाम्रो जीवनमा उहाँहरूको ठूलो त्याग छ, लगानी छ । यस यथार्थलाई हामी सबै छोराछोरीहरूले मनन गर्दै आमाबाबुलाई यस पर्वको अवसरमा ‘पितृ देवः भवः’ को रूपमा सम्मान गरौँ । यस्तो गर्न सकेको खण्डमा मात्र हामीले बुबाको मुख हेरेको सार्थक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *