भर्खरै :

कविवरप्रति श्रद्धासुमन !

कविवर माधव घिमिरेको मङ्गलबार निधन भयो । नेपालको साहित्य र संस्कृतिका एक जना धरोहर बिदा हुनुुभयो । स–साना केटाकेटीदेखि सबै उमेरका साहित्यप्रेमीहरूको मुखमै झुन्डिने कविता र काव्यका रचयिता घिमिरेको कृति नेपाली समाजमा युगयुगसम्म रहिरहने छ । नेपाली साहित्यमा रोमान्सवादी धाराका अगुवामध्ये गनिनुहुने उहाँ आफैँमा एउटा इतिहास हुनुहुन्थ्यो । एक सय एक वर्षको जीवनमा उहाँले नेपाली साहित्य र संस्कृतिमा पु¥याउनुभएको योगदानले भावी पुस्तालाई पक्कै प्रभावित बनाउनेछ ।
देशभक्तिदेखि प्रकृति वर्णनसम्म, बालबालिकाको गुनगुनाउन मिल्ने कवितादेखि जीवनका मर्म अभिव्यक्ति गर्ने गीतसम्म सबै भाव र भावनाका कविता लेखेर घिमिरे अमर हुनुभएको छ । नेपालको गौरव इतिहास गाउन परे नेपालीहरू संसारको जुनसुकै कुनामा पनि उनकै गीत गाउँछन् । आफ्ना स–साना नानीहरूलाई अक्षारम्भदेखि नै नेपालीहरू उनकै गीत गाउन सिकाउँछन् । जीवनका सबै अनुभव हासिल गरिसकेका वयष्क र ज्येष्ठ नागरिकहरू उनकै ‘गौरी’ खण्डकाव्यमा पढेर जीवनको बुझाइ गाढा बनाउँछन् ।
साहित्यमा माधव घिमिरेले पु¥याउनुभएको योगदानप्रतिको कदर भन्नु नै उहाँका कृतिलाई आगामी पुस्तासम्म पनि लोकप्रिय बनाउनु हो । अझ बढी उहाँका कृतिबाट भाव र भावनाको रस निकालेर समाजको सांस्कृतिक समृद्धिको लागि उपयोग गर्नु हो । उहाँको देह हामीसँग रहेन । तर, उहाँका अमर कृतिहरू अझै हामीसँग छन् । हाम्रा भावना, अभिव्यक्ति र सोचमा उहाँका कृतिहरू बाँचेकै छन् । कविवर माधव घिमिरेप्रति भावपूर्ण श्रद्धासुमन!
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *