भर्खरै :

मानवता र न्यायको लागि लडेका स्वास्थ्यकर्मी – २

 
डाक्टर जेनर र बिफरको सुई
बिफर एक किसिमको डरलाग्दो रोग हो । यो रोग लाग्नाले मानिसको मृत्यु हुनसक्छ, कमसेकम उसलाई कुरूप बनाउन सक्छ । यो रोग हाम्रो आँखाले नदेख्ने स–साना कीटाणुहरूको कारणले हुन्छ । ती कीटाणुहरू र बिफरको सुई पत्ता लगाउने महान् डाक्टरको नाम एडवाई जेनर (Edward Jenner) हुन् । यो कुरो पत्ता लाग्नुभन्दा अघि बिफर रोग ईश्वर रिसाउनाले हुन्छ, पाप ग¥यो भने हुन्छ भनी हाम्रा बाजेबराजुहरू भन्नुहुन्थ्यो । भगवानलाई खुसी तुल्याउन बच्चा जन्मनासाथ बा–आमाहरू शीतला माईकोमा पूजाआजा गर्न जानुभएको हामीमध्ये धेरैले देखेकै होला ।
बिफर फैलाउने सूक्ष्म कीटाणुहरू हाम्रो रगतमा बस्छन् र तिनीहरूलाई माइक्रोस्कोपबाट मात्र देख्न सकिन्छ । ती कीटाणुहरूबारे डाक्टर जेनरले पत्ता लगाउनुअघि कसैलाई थाहा थिएन ।

डा. जेनर


ती महान् डाक्टरको जन्म १७४९ मा बेलायतको ग्लाउसेक्टर शायरको बर्कले भन्ने गाउँमा भएको थियो । कलिलैदेखि उनी बिरामी, अशक्त र असहायहरूलाई मद्दत दिन सदा तत्पर रहन्थे । यिनै फराकिला भावना लिएर उनी चिकित्सा विज्ञान पढ्न लण्डनको सेन्ट जर्जस् हस्पिटलमा भर्ना भए । हुने बिरुवाको चिल्लो पात भनेझैँ जेनरले पढाइमा सफलताहरू हासिल गर्दै गए र छिट्टै नै उनी स्कूलभरिका मेधावी छात्रहरूमध्ये एक हुन पुगे ।
त्यतिखेरको बेलायतमा बराबर बिफरको प्रकोप फैलिन्थ्यो । धार्मिक अन्धविश्वासमा परेका बिफरका बिरामी केटाकेटीहरूलाई उपचार गर्न त्यतिबेला औषधि पनि त केही थिएन । आफूजस्ता कलिला बालबालिकाहरूको मृत्युले जेनरलाई ठूलो चोट प¥यो । उनले सानैदेखि यो डरलाग्दो रोगको उपचारको सम्भावनालाई सोच्न थाले र उमेर बढ्दै गएअनुसार उनले बढी सोच्दै गए ।
भर्खर डाक्टर पास गरेका जेनरले त्यतिखेर काउपक्सको असर परेको मानिसलाई स्मलपक्स (बिफर) हुँदैन भन्ने हल्ला सुनिराखेको थियो । काउपक्स गाईलाई आउने बिफर हो । काउपक्स लागेकालाई स्मलपक्स (बिफर) नलाग्ने कुरामा सबै गाउँलेहरू विश्वास राख्थे । अब डाक्टर जेनरको रुचि काउपक्सको अध्ययनमा पनि जान थाल्यो । गाउँलेहरूको त्यो भनाइलाई उनी परीक्षण गर्न चाहन्थे ।
डाक्टरी पास गरेको करीब २० वर्षपछि (सन् १९९६ मा) उनलाई त्यो मौका मिल्यो । उनको क्लिनिकमा एक ग्वाला केटी दौडेर आइन् र आफ्नो हातमा लागेको घाउलाई देखाउँदै औषधि गरिदिन आग्रह गर्न थालिन् । डा. जेनरलाई बुझ्न बेर लागेर, त्यो काउपक्स थियो । ती केटीबाट जेनरले काउपक्सका कीटाणुहरू झिकेर जिम्मी फिलिप्स नामको केटोको रगतमा मिलाइदिए । केही दिनपछि उनले त्यही केटोको रगतमा बिफरका कीटाणुहरू मिलाइदिए । तर, पनि फिलिप्समा बिफरका लक्षणहरू देखापरेन । काउपक्सका कीटाणुहरूसँग सङ्घर्षमा बिफरका कीटाणुहरू हारेको कारणले केटोलाई बिफरले छुन नसकेको तथ्य स्पष्ट भयो । डाक्टर जेनरले अरू पनि थुप्रै मानिसहरूमाथि यही प्रयोग दोहो¥याएर र कैयौँ प्रयोगपछि उनमा आत्माविश्वास निकै बढ्यो । बिफर लाग्नबाट बचाउने औषधि अब पत्ता लागिसकेको थियो ।
प्रयोगको सफलतापछि डा. जेनर तुरून्तै लण्डनतिर लागे र आफ्नो आविष्कारलाई प्रचार गर्नथाले । त्यतिखेर बेलायतको फ्रान्ससँग लडाइँ चलिरहेको थियो । फ्रान्स र अन्य युरोपेली मुलुकहरूमा पनि यो हल्ला पुग्यो । त्यसको पाँच वर्षपछि स्पेन भन्ने देशले बिफरबारेको नयाँ आविष्कारलाई आफ्ना उपनिवेशहरूमा प्रचार प्रसार गर्न एक विशेष टोली संसारको ठाउँ–ठाउँमा पठायो । यसप्रकार व्यापकरूपमा बिफरविरोधी सुई लिने चलन चल्न थाल्यो र भगवानको कारणले हुन्छ भनी सामन्ती चुसाहाहरूले फैलाएको हल्लालाई झूटा सावित गरिदियो ।

सर्वप्रथम बेलायतका नाविकहरू (जहाजीहरू) लाई खोपाउँदा तिनीहरूले डा. जेनरलाई धन्यवादस्वरूप सुनको सिक्री कोसेली दिए । रुसकी साम्राज्ञीले पनि उनलाई सुनको औंठी उपहार पठाइन् । बेलायती संसदबाट उनले आर्थिक पुरस्कार पाए । अक्सफोर्ड विश्वविद्यालयले डा. जेनरलाई एम.डी. (डक्टरेट इन मेडिसिन) को उपाधिले सम्मानित ग¥यो । त्यतिखेर बेलायतसित लडाइँ लडिरहेको फ्रान्सका सम्राट नेपोलियनले समेत उनीसित खुसी भएर बन्दी बनाइएका तमाम निर्दोष बेलायती कैदीहरूलाई मुक्त गरिदिने आदेश दिए । जर्मनीमा डा. जेनरको जन्मदिन वा फिलिप्सलाई खोपाएको दिनलाई राष्ट्रिय बिदा घोषणा गरियो । कैयौँ राष्ट्रले अनिवार्यरूपले बिफरको सुई लिनुपर्ने कानुन बनाए । कुनै मुलुकले डा. जेनर जिउँदो हुँदै आफ्ना सिमानाभित्र बिफरको सुईलाई अनिवार्य भएको घोषणा ग¥यो । तर, स्वयम् उनको देश बेलायतमा भने उनको मृत्युको ३० वर्षपश्चात् मात्र अनिवार्यरूपले बिफरको सुई लिनुपर्ने कानुन बन्यो । यसप्रकार हामी तमाम मानव जातिलाई बिफरको महामारीबाट बचाउने श्रेय डा. जेनरलाई छ । डा. जेनरको बिफरविरुद्ध खोपको परिणाम आज विश्व बिफर मुक्त भएको छ । बिफर मुक्त भएको घोषणा विश्व स्वास्थ्य सङ्घले गरेको हो ।
स्रोत ः हाम्रो प्रयास (वर्ष ३, अङ्क २, २०४१)

Leave a Reply

Your email address will not be published. Required fields are marked *