भर्खरै :

मौन क्रन्दन – ३, पराजयको चोट

(१८१६ देखि १८३९ सम्मको नेपाल र नेपालीबारे लुडविग एफ. स्टिलरको पुस्तक ‘मौन क्रन्दन’ (The Silent Cry को सङ्क्षिप्त अध्ययन)
मकवानपुरमा १८१६ को मार्चको प्रथम साँझ घाम डुब्यो । यत्तिकैमा नेपाल–कम्पनी युद्धको अन्तिम गोली पड्कियो । यसअघि नै जनरल अक्टरलोनीले नेपालका लागि बेलायती प्रतिनिधि बनाई लेफ्टिनेन्ट बोइलिउलाई काठमाडाँै पठाइसकेका थिए । यो नै काठमाडौँमाथि युद्धको पहिलो असर थियो । तर, यता जानुभन्दा अगाडि हामी नेपालमाथि परेका शारीरिक चोटबारे छलफल गर्छौँ । त्यसपछि मात्र हामी भावनात्मक खतहरू ठम्याउन सक्नेछौँ ।
युद्ध हारिएको थियो । नेपालले तत्काल महाकाली नदीभन्दा पश्चिमको समस्त भूभाग गुमाउँदै थियो । पूर्वमा मेची र टिस्टा नदीबीचको भूभाग पनि सदाका लागि गुम्दै थियो । साथै तराईमा झन्डै ७ हजार वर्ग माइल भूभाग अङ्ग्रेजहरूले लिँदै थिए । तराईका भूभागको बदलामा कम्पनीले त्यहाँका भारदारहरूलाई बर्सेनि २ लाख हर्जाना तिर्ने कबुल गरेको थियो । त्यसले गर्दा युद्धलगत्तै के नेपाल तराईबिना अखण्ड मुलुक रहन सक्ला भन्ने प्रश्न उठ्यो । नेपालको अस्तित्वले नै यस प्रश्नलाई महत्वपूर्ण बनाइदिएको थियो । तराईको विषयबाहेक सन्धिका अन्य प्रावधानले नेपाललाई त्यतिविधि असर गरेन । पश्चिमी भूभाग गुम्दा वा पराजय आफैँले नेपाललाई त्यति छोएन । नेपालको अखण्डता कायम रहनुले नै हामीलाई पृथ्वीनारायण शाहदेखिको नेपालबारे धेरै कुरा बताउँछ ।
पश्चिमी भूभागको हार
नेपालका पश्चिमी भूभागमा कुमाउँ, गढवाल, अठार ठकुराइ र बा¥ह ठकुराइ थिए । यो भूभाग अङ्ग्रेजहरूको हातमा पर्दा नेपालको इज्जतमा ठेस लागेको थियो । तर, यो यदाकदा चर्चा गरिनेजस्तो आफैँमा ठूलो चोट थिएन । भौगोलिक रूपमा त्यो भेग काठमाडाँैभन्दा पनि अवध, सहारनपुर र दिल्लीसँग नजिक थियो । पहिले स्वाधीन रहँदा समेत सांस्कृतिक रूपमा मुगलहरूसँग नजिक थियो । काठमाडाँैको कब्जामा परेपछि पनि यो स्थिति फेरिएन । काठमाडाँैदेखि ३ सय माइल टाढाको त्यो भेगसम्मको सञ्चारसूत्र असाध्यै अप्ठ्यारो थियो । यसकारण महाकालीवारिको दाँजोमा पश्चिमी भूभाग एकदम अलग्गै थियो । जुम्ला, डोटी आदिसँग काठमाडौँको सयौँ वर्षदेखिको सम्बन्ध थियो ।
पश्चिमी भूभागका पहिलेका शासकहरूले गोर्खालीहरूविरुद्ध विद्रोहहरू गरेका थिए । हर्षदेव जोशीजस्ता विद्रोहीहरूले केही ससाना राज्यहरूसँग मिलेर गोर्खालीहरूबाट छुटकारा पाउन प्रयास गरेका थिए । अन्तमा १८१५ मा अलमोडामा अङ्ग्रेजहरूलाई जिताउन उनीहरूले सघाएका थिए । बा¥ह र अठार ठकुराइका ससाना शासकहरू अङ्ग्रेजहरूलाई सघाउन तँछाडमछाडमा थिए । काँगडा किल्लामा नेपालीहरूको धेरै धन खर्च हुनु र काठमाडाँैबाट त्यो स्थान टाढा हुनुले पनि यसो भएको थियो । त्यस भेगसम्म सम्पर्क कायम गर्न निकै गा¥हो थियो । स्थानीय प्रशासकले आफ्नै स्रोतसाधनका भरमा शासन चलाउनुपथ्र्यो । त्यसकारण उनीहरू काठमाडाँैको माध्यमबाट भन्दा पनि आफैँ अङ्ग्रेजहरूसँग सम्झौताहरू गर्थे । जस्तो बडाकाजी अमरसिंह थापाले सीधै अङ्ग्रेजहरूसँग सम्झौता गरेका थिए ।
अर्कोतिर पश्चिमी भूभागबाट नेपाललाई अत्यन्त थोरै आम्दानी हुन्थ्यो । त्यहाँबाट प्राप्त हुने धेरै रकम सेनामै खर्च हुन्थ्यो । वर्षको केही हजार रुपैयाँ मात्र काठमाडौँसम्म पुग्थ्यो । उदाहरणको लागि सन् १८०५ मा कुमाउँबाट १४ हजार १ रुपैयाँ उठेको थियो भने १८०८ मा गढवालबाट ३५ हजार रुपैयाँमात्र उठेको थियो । पश्चिममा तराई पनि भइदिएको भए स्थिति अर्कै हुने थियो । कुमाउँको तराई शासकहरूको तानाबानामा परेर अवधका नवाबको हातमा पुगेको थियो । त्यसैले त्यस भेगमा दून उपत्यकाबाहेक प्रशस्त खेतीयोग्य जमिन थिएन ।
आन्तरिक एकता
पश्चिमी भूभाग र महाकालीवारिको भेग ठीक विपरीत थियो । पश्चिमी भूभागका शासक गोर्खाली शासनको विरोधमा थिए तर महाकालीवारिको भूभाग गोर्खाली कब्जाले बिथोलिएको थिएन । नेपाल–अङ्ग्रेज युद्धले बाइसी राज्य टुक्रिन सक्ने सम्भावना थियो । तर, त्यस्तो केही भएन । एकीकृत नेपालको नयाँ परिवेशमा उनीहरू केही हदसम्म जोडिइसकेका थिए । नेपाली राजा काठमाडौँ बस्ने नयाँ तथ्यले पुरानो राज्य व्यवस्थालाई म्याद सकिएको वस्तु बनाइदिएको थियो । इतिहासकारहरूले यी पुराना साना राज्यहरूलाई नकारात्मक वा विखण्डनकारी शक्ति ठान्न पुगेका थिए । सुदुर पश्चिमका बाइसी, पश्चिमका चौबीसी, काठमाडौँ उपत्यकाका मल्ल राज्य, मकवानपुर, विजयपुर र चौदण्डीका सेन राज्य सबैको विषयमा यस्तो भान पार्न खोजिन्छ । त्यसैगरी मुस्ताङ, गोर्खा र केही हदसम्म सिक्किमले पनि देशलाई विभाजन गर्न खोजेको विद्यार्थीमा छाप पर्छ । यो सत्य होइन । यी राज्यहरू जटिल भूगोल र अर्थव्यवस्थाका कारण विभाजित थिए ।
माथि उल्लिखित कुनै पनि राज्यमा एउटा मात्र जातिको बसोबास थिएन । बरु विभिन्न जातिका मानिसहरू सबै पहाडी राज्त्रि फैलिएका थिए । त्यसैले नेपालको जातीय विविधता राजनीतिक विभाजनमा आधारित थिएन । जस्तो नेवारजस्ता केही जातिलाई अन्य राज्यमा पनि स्वागत गरिएको थियो । हिमालयको काखको कुनै पनि राज्य आफैँमा राष्ट्र थिएन । तिनीहरू मुलतः जातीय राज्य थिए । राष्ट्रजस्ता देखिने केही राज्यका एउटै जातिका बासिन्दा पनि वरपरका अन्य राज्यहरूमा छरिएर बसेका हुन्थे । त्यसैले राजनीतिक विभाजनका कारण अरू नै थिए । खासमा जमिन नै विभाजनको कारण थियो । मानिसहरू पायक पर्ने स्थानमा सङ्गठित भएका थिए । दुर्लङ्घ्य नदी, पहाड र हिमालले गर्दा मानिस मानिसमाझ सम्पर्क गर्न गाह्रो थियो । यसरी यहाँ ससाना राज्यहरू जन्मिन पुगेका थिए । वास्तवमा यिनै ‘भुरेटाकुरे’ राज्यहरूका कारण एकीकरण अभियान सफल भएको थियो । राजाको अधिकार असीम हुने भनिए पनि उनको भूभागमा खेतीपाती गर्ने प्रजाको चाहनाले उनको अधिकार खुम्चाउने गथ्र्यो । जमिनको गुणस्तर, प्रजाले तिर्नुपर्ने तिरोको भार र वरपरका राज्यहरूको जीवनचर्या आदिमा किसानको आवादी भर पथ्र्यो । प्रजालाई राजाको महत्व थाहा थियो । राजाले आफ्नो सुरक्षा गर्ने र जमिन कमाउन दिने प्रजालाई थाहा थियो । साथै आपसी झैझगडा पनि राजाले मिलाउँथे । राजाले दिएको जमिनमा खेती गर्ने, तिरो तिर्ने, आफ्ना देवताको पूजा गर्ने र छोराछोरी हुर्काउनु नै किसानको जीवन थियो ।

सन् १८०५ को ब्रिटिस इन्डिया


राजालाई देवतासरह ठान्दा नै सम्भवतः मुसलमान आक्रमणमा परेर भागेका राजपुतहरूले १५ औँ र १६ औँ शताब्दीमा पहाडी राज्यहरूमा उच्च स्थान पाउन सके । उनीहरूलाई क्षेत्रीय योद्धाको रूपमा पहाडी राजाहरूले सहायक बनाए । प्रजाले कुनै नाइनास्ती गरेनन् किनभने तिनको सरकारमा फेरबदल आएको थिएन । बरु उनीहरू अझै सुरक्षित बनेका थिए । नयाँ जागिरदार आउँदैमा उनीहरूको जीवनचर्या फेरिएको थिएन । गोर्खाली कब्जापछि पनि किसानको जीवनचर्या बिथोलिएन । तिर्नुपर्ने तिरो उति नै थियो, चाडबाड उही थिए, उनीहरूका मठमन्दिरको संरक्षण गरिएकै थियो । खालि जागिरदारहरूको अनुहार र पोशाक फेरिएको थियो र नयाँ सरकार काठमाडौँमा बस्थे । शान्ति सुरक्षा र न्यायको लागि सरकारका मान्छे गाउँमा थिए । त्यसैले प्रजा आत्तिनुपर्ने कुनै कारण थिएन ।
स–साना राज्यहरूको इतिहास कस्तो थियो भने राजाहरू प्रजाकै कुलको हुनुपर्ने नियम थिएन । त्यसैले पृथ्वीनारायण शाह र उनका सन्तानलाई पनि प्रजाले स्वीकार गरे । राजाप्रतिको प्रजाको बफादारीमा कमी आएन । गोर्खाली शासनको २५ वर्षले पहाडी भेगका गाउँलेहरूमा नयाँ सरकारप्रतिको छाप बलियो बन्यो । जीवनमा पहिलोपल्ट उनीहरूले एकै किसिमका सैनिकहरू देखे । कतिपयका लागि त गोर्खालीहरूका हातहतियार पनि नयाँ थिए । त्यस्तै उनीहरूले सरकारी छाप लालमोहरबारे थाहा पाए । यसबीच जन्मेको नयाँ पुस्ता पनि गोर्खाली शासनमा अभ्यस्त भइसकेको थियो ।
एकताका सेतुहरू
आधुनिक नेपालको जन्मसँगै गाउँले जनताहरू विशाल राज्यका कामकारबाहीसँग परिचित भए । यहाँ क्रमशः उनीहरूका नयाँ अनुभवबारे चर्चा गरिन्छ ।
हुलाक सेवा ः यो सेवा काठमाडौँदेखि देशभरि खबर र सरसामान पु¥याउन स्थापना गरिएको पुरानो सञ्जाल थियो । यातायातको लागि भरियाहरू प्रयोग भए पनि यो सञ्जाल प्रभावकारी थियो । काठमाडौँबाट पश्चिमतिर जाने हुलाक सेवा नुवाकोट, गोर्खा, पोखरा, प्युठान, दैलेख, दुल्लु, अछाम, डोटी, अलमोडा, श्रीनगर र दुनसम्म पुग्थ्यो । (यसबाहेक अन्य ससाना बाटाहरू पनि थिए ।) यी सबै नाकामा सेनाका रक्षादल हुन्थे । चिट्ठीपत्र र हातहतियार सबै स्थानीय गाउँलेले बोक्ने गर्थे । एक दिनको बाटोको लागि २० वटा परिवारबाट ४ वटा समूह बनाइएको हुन्थ्यो । उनीहरूलाई परिचालन गर्न एकजना नाइके तोकिएको हुन्थ्यो । सजिलो स्थानमा भरियाले धेरै बाटो छिचोल्नुपथ्र्यो भने जटिल भूगोलमा थोरै बाटो छिचोले पुग्थ्यो । हुलाक सेवामा भाग लिने परिवारले श्रम करको रूपमा यसमा भाग लिन्थे । यो सेवा चौबीसै घन्टा चल्थ्यो । त्यसैले यसमा लाग्ने परिवारले अरू करमा सहुलियत पाउँथे ।
हुलाक सेवाले परम्परागत काममा थोरै तनाव ल्यायो । जागिरदार र बिर्तावाल जमिन्दारहरूले पहिले गाउँलेहरूलाई झारा, बेठबेगारीजस्ता स्थानीय काममा खटाउँथे । तर, सैनिक कारबाहीको लागि हुलाक सेवा अत्यावश्यक थियो । त्यसकारण, जागिरदार र बिर्तावालहरू पनि लाइनमा आउन बाध्य भए । यसरी नेपालको इतिहासमै पहिलोपटक एक देशव्यापी योजनाका रूपमा स्थानीय अधिकारमाथि पनि हाबी हुँदै हुलाक सेवा स्थापित भएको थियो । एउटै पत्राचारले लडाइँ जितिने त थिएन तर भरियाको अधिकारमाथि तलमाथि हुँदाबित्तिकै हुलाक सेवामा हलो अड्किने थियो । त्यसैले यस सेवामा लागेका परिवारलाई आफ्नो जमिनबाट बेदखल गर्ने जामिन्दारहरूको अधिकार राज्यले खोस्यो । यसबाट ती परिवारहरू समाजमा बढी सुरक्षित बन्न पुगे र उनीहरूको मान पनि बढ्यो । मान्छेले सञ्चालन गर्ने हरेक व्यवस्थामा मानवीय दोष देखिएजस्तै हुलाक सेवामा पनि दोष देखिएका थिए । सरकारी कर्मचारीहरूले आफ्ना सामान पनि हुलाक सेवामार्फत आदानप्रदान गर्न थाले । त्यसकारण यस्ता कर्मचारीको सरकारले निन्दा गरिरहन्थ्यो । यसबाट जिल्लामा खटिएका त्यसबेलाका सरकारी कर्मचारीहरूको स्वार्थी सोच झल्किन्छ । उनीहरू आफूलाई साधारण जनताभन्दा माथि राखेर सोच्थे । यो विचार उच्च कुलको हुँदैमा कोही सरकारी सेवक बन्न नसक्ने पृथ्वीनारायणको सोचभन्दा उल्टो थियो । पातलो जनसङ्ख्या भएको ठाउँमा सरकारी कर्मचारीले बालबालिकालाई पनि भरियाको काम गर्न बाध्य पारेका थिए । कमीकमजोरी हुँदाहुँदै पनि हुलाक सेवा नेपाललाई जोड्ने सेवा थियो । केही प्रशासक र जमिन्दारका स्वार्थहरू मिचिएको भए पनि यो सेवा देश र जनताको हितमा थियो । नेपालको एकतामा यसका दुइटा देन छन् । पहिलो, यसबाट केन्द्र सरकारले स्थानीय प्रशासक र युद्धरत गोर्खाली सेनासँग सम्पर्क कायम गर्न सक्यो । दोस्रो, यसमा सहभागी भरिया परिवारले आफूलाई गाउँको परिधिभन्दा बाहिरसम्म जोडिएको काममा खटिने मौका पाए । उनीहरूले आफूलाई सरकारका कारिन्दा मान्थे । उनीहरूले आफूलाई टाढाटाढाका भरियाहरूसँग आफ्नो काम जोडिएको पाए । यस्तै धागोले राष्ट्रिय भावनाको माला उनिन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *