भर्खरै :

गाईजात्रा पर्व ः २०४५ र २०७७

‘यसपालिको गाईजात्रा औपचारिकतामा मात्र सीमित गर्नुहोला । कोरोनाको महामारीबाट बच्न सकभर घरमै बस्नुहोला ।’ बिहानैदेखि नगरपालिकाको फोहोर सङ्कलन गर्न आउने गाडीमा जडान गरिएको स्पीकरबाट यस्तै सन्देशमूलक आवाज आइरहँदा श्रीमतीले भनिन्, “इतिहासमा पहिलोपल्ट बिस्काः जात्राजस्तै गाईजात्रा पनि खल्लो हुने भयो” । त्यतिबेलाको उमेरको कारणले हुनसक्छ उनलाई स्पष्ट सम्झना भएन होला, तर मैले गाईजात्रा खल्लो भएको २०४५ सालको गाईजात्रा अनायासै सम्झिएँ । यसपालिको गाईजात्रा कोरोनाले फिक्का पा¥यो भने २०४५ सालको गाईजात्रा भक्तपुर काण्डले जनिएको राज्यस्तरबाट प्रायोजित भदौ ९ गतेमा कर्ण ह्योजूको हत्याले फिक्का बनाएको थियो । ‘के निहुँ पाउँ कनिका बुकाउँ’ को पारामा निहुँ ढुकेर बसेको तत्कालीन पञ्चायत सरकारले कर्ण ह्योजूलाई बलिको बोको बनायो । २०४५ सालको भूकम्पबाट पीडितलाई राहत बाँड्ने क्रममा कर्ण ह्योजुले गरेको अनियमितताको भक्तपुरका पीडित जनताले विरोध गरे । तर, त्यहीँ मौकामा तत्कालीन पञ्चायती व्यवस्थाले ह्योजूको हत्या गरी दोष नेमकिपाका नेता कार्यकर्तामाथि थोप¥यो । नेपाल मजदुर किसान पार्टीका शीर्षनेता नारायणमान बिजुक्छेँलगायत थुप्रै कार्यकर्तालाई तत्कालीन पञ्चायती सरकारले रातरात पक्राउ ग¥यो । अन्धाधुन्ध तरिकाले भएको पक्राउमा नेमकिपाका कार्यकर्तामात्र होइनन्, सर्वसाधारण जनता पनि परे । पक्राउ आतङ्कको त्रासले नजिकिँदै गरेको गाईजात्रा (०४५ सालमा भाद्र १४ गाईजात्रा) समेत फिक्का भएको थियो ।
यसपालिको गाईजात्रामा कोरोनाबाट आतङ्कित भएर मानिसहरू घरभित्र बस्न बाध्य भएका थिए भने त्यतिबेलाको गाईजात्रामा राज्य स्वयम्बाट सिर्जित आतङ्गबाट मानिसहरू घरभित्रै बस्न बाध्य थिए । मेरो बाजेको निधन त्यही ०४५ सालमा भएको हुँदा परम्पराअनुसार हामीले पनि गाईजात्राको दिन ‘ताहा साँ’ लानुपर्ने थियो । तर, राज्य आतङ्कको कारण ‘ताहा साँ’ बोक्ने चार जना मानिस भेला पार्नसमेत हामीलाई धौ धौ परेको थियो । परम्परा धान्न गाईजात्राको दिन बाध्य भएर बाहिर आएका मजस्ता अरु मानिसहरूको अनुहार भयग्रस्त देखिन्थ्यो । जताततै प्रहरीको बाक्लो उपस्थिति थियो । ‘ताहा साँ’ लिएर सहर परिक्रमा गरिरहँदा यत्तिकै प्रहरीसँग आँखा जुध्दा हरेक सर्वसाधारणलाई पक्रिन आएका हुन् कि भन्ने डरले घर बसेका थिए । ०७७ सालको गाईजात्रामा सम्पूर्ण नेपाली जनता आतङ्कित रहे भने ०४५ सालको गाईजात्रामा भक्तपुरका जनतामात्र आतङ्कित थिए । ०७७ सालको गाईजात्रामा अदृश्य भाइरसले आतङ्कित बनाएको थियो भने ०४५ सालको गाईजात्रामा राज्यशक्तिले आतङ्कित बनाएको थियो । गाईजात्रामा अघिपछि हुनेजस्तो कुनै रौनक थिएन, मात्र परम्परा धान्ने बाध्यता थियो । वातावरण शान्त त थियो तर मुर्दा शान्तिमात्र व्याप्त थियो । भक्तपुरवासीको लागि एकखालको सङ्कटकाल नै थियो । उनीहरूको जीवनचर्यामा ठुलै परिवर्तन भएको थियो ।
उतिबेला मनोरञ्जनको साधन अहिलेजस्तो बग्रेल्ती थिएन । त्यसैले मानिसहरू मनोरञ्जनको निम्ति गाईजात्राको बडो व्यग्रताका साथ प्रतीक्षा गर्थे । अझ केटाकेटीहरूको लागि त्यो दिन धेरै अगाडिदेखि नै उल्टो गन्ती (काउन्टडाउन) सुरु हुन्थ्यो । सर्वसाधारणको यो जात्रामा उल्लेख्य उपस्थिति हुने गर्छ । गाईजात्राको दिनबाट सात दिनसम्म साँझदेखि अबेर रातिसम्म हुने विभिन्न प्रकारका नाचगान र व्यङ्ग्य–प्रहसनका गतिविधिले भक्तपुर रङ्गीन हुने गर्छ । केटाकेटीहरूको चहलपहल यत्रतत्र सर्वत्र हुन्छ । तर, ०४५ सालको गाईजात्राको समयमा साँझ नहुँदै सबै जनता आ–आफ्नो घरभित्र ‘अनुशासित’ रूपले थुनिसकेका हुन्थे । कोरोना महामारी फैलिएको अहिलेको समयमा जस्तो प्रहरीले धपाउनै पर्दैनथ्यो । सबै त्राहीत्राही थिए । बाजागाजा, नाचगानजस्ता कुनै चिजको होहल्ला थिएन । अघोषित रात्रिकालीन कफर््यु हुन्थ्यो । कोरोना फैलिएको यो समयमा नजिक कतै कोरोना सङ्क्रमित भेटियो रे, कोरोनाबाट फलानोको निधन भयो रे भन्ने हल्ला चलेजस्तै त्यतिबेला सुतेकै ठाउँबाट कोहीकोहीलाई राति नै पक्रियो रे, फलानो बेपत्ता भयो भन्नेजस्तो हल्ला चल्थ्यो । पक्राउ पर्नेहरूमा कोही कोही त घटना घटेको समयमा भक्तपुरमै थिएनन् । मानव हत्याको अभियोगमा मानवताको लागि जीवन अर्पण गर्ने मानवहरू नै धमाधम पक्राउ परेका थिए । नेमकिपाको समूल नष्ट गर्न खोजिएको थियो । नेमकिपाका कार्यकर्ताहरूलाई ती दिनहरू परीक्षाको समय बनेको थियो । मानिसहरू सुत्दा पनि आनन्दले सुत्न पाउँदैनथे । सुतिरहँदा रातको चकमन्न अँध्यारोमा खङ्ग्रङ आउने आवाजमात्रले पनि पक्रिन प्रहरी आएको हो कि भन्ने भान हुन्थे । पुरै सन्नाटा !
कोरोनाले त्राहीमाम बनाएको यो समयमा अहिले मानिसहरूको मनमा ‘मलाई कोरोना भयो कि !’ भनेर जतिखेर पनि ढुकमान भएजस्तै त्यतिबेला सर्वसाधारणमा समेत आज म पक्राउ पर्छु कि भन्नेजस्ता तर्कना मनमा बारम्बार खेलिरहन्थ्यो । नेपाल मजदुर किसान पार्टीसँग आबद्ध व्यक्तिहरू त सरकारको कुदृष्टिमा परेकै थिए, सर्वसाधारण जनतालाई समेत पक्रिएको कारणले जनमानसमा अदृश्य डर व्याप्त थियो । कोरोनाको यस घडीमा सबै मानिस भरसक एकआपसमा टाढै हुनखोज्छन् । मानिसहरू एकले अर्कोलाई शङ्काको दृष्टिले हेर्छन्, कहीँ कोरोना सङ्क्रमित यही व्यक्ति त होइन ? भनी सोच्छन् । त्यतिबेला पनि मानिसहरू एकले अर्कोबाट टाढा हुन खोज्थे । कहीँ यो मान्छे नेमकिपासँग आबद्ध त होइन ? भनी मानिस तर्किन खोज्थे । नेमकिपाका जुझारु कार्यकर्ताहरूलाई अहिलेको अवस्थाको कोरोना सङ्क्रमितजस्तै ठानेर व्यवहार हुन्थ्यो । अहिले मानिसहरू भौतिक दूरी कायम गरेजस्तै अवसरवादीहरू नेमकिपाका कार्यकर्ताहरूसँग भौतिक दुरी कायम गर्थे । ती कार्यकर्ताहरूसँग बोल्न डराउँथे, सत्ताको ताबेदारी गर्दै जता मल्खु उतै ढल्कु गर्ने सूर्यमुखी फूल मार्काका मानिसहरू । अहिले कोरोना सङ्क्रमित १४ दिने क्वारेन्टिनमा बस्छन् भने उतिबेला राज्य आतङ्कबाट सङ्क्रमित निर्दोष जनतासमेत महिनौँ क्वारेन्टिनमा बस्नु परेको थियो । तर, यस्तो सङ्कटको समयमा पनि वैचारिक चेत भएका कार्यकर्ताहरू अलिकति पनि दिग्भ्रमित र उदासीन नभई जनतालाई जागरुक बनाउन लागिरहे ।

यसपालिको गाईजात्रामा कोरोनाबाट आतङ्कित भएर मानिसहरू घरभित्र बस्न बाध्य भएका थिए भने त्यतिबेलाको गाईजात्रामा राज्य स्वयम्बाट सिर्जित आतङ्गबाट मानिसहरू घरभित्रै बस्न बाध्य थिए । मेरो बाजेको निधन त्यही ०४५ सालमा भएको हुँदा परम्पराअनुसार हामीले पनि गाईजात्राको दिन ‘ताहा साँ’ लानुपर्ने थियो । तर, राज्य आतङ्कको कारण ‘ताहा साँ’ बोक्ने चार जना मानिस भेला पार्नसमेत हामीलाई धौ धौ परेको थियो ।

इमान जमान छोडेर जिब्रो खिइने गरी बैरीको तलुवा चाट्न जाने केही कार्यकर्ता नभएको पनि होइन । तर, धेरै सहृदय भावका कार्यकर्ताहरू रातको सन्नाटालाई चिरेर पक्राउ परेका कार्यकर्ताका परिवारलाई सहयोगी हात बढाइरहेका हुन्थे भने अर्कोतिर पार्टीको गतिविधिलाई पनि भूमिगतरूपमा अगाडि बढाइरहेका हुन्थे । सनैसनै सर्वसाधारण पनि आत्मविश्वासका यस्तै जात्रालाई आन्दोलनको रुपमा परिवर्तन गर्दै सडकमा निस्कन थाले । अन्याय–अत्याचारलाई टुलुटुलु हेरेर नबस्ने स्वाभिमानी महिलाहरू पूजाको थाली बोकेर मन्दिर जाने बहानामा महिला जागरण अभियानमा लागे । त्यो तत्कालीन क्षण नेमकिपाका कार्यकर्ताहरूको एकखालको परीक्षा नै थियो । उच्च मनोबल भएका कार्यकर्ताहरू “कति उमेरसम्म बाँच्यो भन्ने कुरोले महत्व राख्दैन, कसरी बाँच्यो त्यसले अर्थ राख्छ ।” दास भएर लेखक बनेका पब्लिउस सिरसको यस भनाइलाई दृढ इच्छाशक्तिका साथ पछ्याइरहेका हुन्थे ।
“सत्य दुःखी होला तर हार मान्दैन”, यही विश्वासलाई कायम गरी किञ्चित पनि विचलित नभई कालो दिनको ३२ वर्ष पछिसम्म अन्याय र शोषणविरुद्ध अविरल अगाडि बढिरहेका ती पाइलाप्रति नमन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *