भर्खरै :

षड्यन्त्र सिद्धान्त’ को धरातलमा भक्तपुर काण्ड

षड्यन्त्र सिद्धान्त’
इसापूर्व ६४ मा रोम सहरको दुईतिहाइ भाग जल्यो । नौ दिनसम्म सहर जलिरहँदा सम्राट बाँसुरी बजारहेका थिए (कतिपय इतिहासकारले नीरो सहरबाहिर भएको उल्लेख गरेका छन्) । जनता तड्पिरहेको बेला शासकहरू बेपरवाह भएको अर्थमा आज पनि ॅरोम जलिरहँदा राजा नीरो बाँसुरी बजाइरहेको’ आहान राखिन्छ । आगलागीपछि नीरोले आफ्नो निम्ति अत्यन्त सुविधासम्पन्न विशाल दरबार बनाउन लगाए । निराश जनताले नीरोले नै रोममा आगलागी गरेको आरोप लगाउन थाले । जनअसन्तोषको सामना गर्न छोडेर नीरोले इसाईहरूले रोम सहरमा आगो लगाएको प्रचार गर्न लगाए र क्रिश्चियनहरूमाथि दमन गर्न थाले । उनले पक्राउ र हत्याको शृङ्खला चलाए ।
पहिलो विश्वयुद्धमा पराजित जर्मनीमा फासीवादी हिटलरको उदय भयो । तर, जर्मनीको संसद्मा कम्युनिस्टहरूको सङ्ख्या उल्लेख्य थियो । जर्मनीका चान्सलर हिटलरले कम्युनिस्ट पार्टीलाई दबाउने अनेक कानुन ल्याए । तर, स्थिति भड्किएको थियो । सन् १९३३ फेबु्रअरीको एक साँझ संसद् भवन (राइखस्टाग) मा आगलागी भयो । आगलागीको दोष कम्युनिस्टहरूमाथि थोपरेर उनीहरूलाई बर्खास्त गरियो । र, संसद्मा नाजीहरूको बहुमत बनाइयो । फासीवादको तीव्र विस्तारको निम्ति यसरी बाटो खुला गरियो । सन् १९४० को दशकमा जर्मनीका यहुदी जातिविरुद्ध एउटा अर्को षड्यन्त्र भयो । पहिलो विश्वयुद्ध यहुदी जातिको कारणले हारेको भन्दै यहुदीमाथिको दमन सुरु गरे हिटलरले । सो क्रममा लाखौँ मानिसको हत्या गरियो, असङ्ख्य विस्थापित भए । वैज्ञानिक आइन्स्टाइनसमेतले देश छोड्नुपर्‍यो ।
षड्यन्त्रको सिद्धान्त (कन्स्पिरेसी थिअरी) नौलो होइन । सामन्ती तथा पुँजीवादी राज्यसत्ताले षड्यन्त्र गरेर नै सत्ता टिकाउने दुष्प्रयास गरिरहेका हुन्छन् । कुनै सानो तर शक्तिशाली समूहले कुनै घटना धेरै विनाशकारी वा दुःखद भएको भनेर व्याख्या गरी दमनमा उत्रिनुलाई षड्यन्त्रको सिद्धान्त भनिन्छ ।
अक्सफोर्ड विश्वकोश (एन्साक्लोपेडिया) का अनुसार युद्ध, आर्थिक मन्दी र भूकम्प, सुनामी तथा महामारीजस्ता प्राकृतिक प्रकोपपछाडि जनमानसमा देखिने पीडा, अनिश्चितता र कठिनाइको समयमा षड्यन्त्रको सिद्धान्तले काम गर्दछ । २००१ सेप्टेम्बर ११ मा अमेरिकामाथि भएको ॅआतङ्कवादी’ आक्रमणपछाडि पनि अनेक षड्यन्त्रका सिद्धान्तको प्रयोग भयो । अमेरिकी साम्राज्यवादले अफगानिस्तान, इराक, इरान, सिरिया, लिबियाजस्ता मुस्लिम देशहरूमाथि आक्रमण गर्नथाल्यो ।
षड्यन्त्रको सिकार नेपाली सत्ता
नेपाली परिवेशको एउटा उदाहरण हेरौँ ! विद्वान लेखक चित्तरञ्जन नेपाली (नारायणप्रसाद राजभण्डारी) ले आफ्नो पुस्तक पारिवारिक षड्यन्त्रका कथाहरू’ को नेपाल र ब्रिटिस साम्राज्य’ शीर्षकमा नेपालका तत्कालीन प्रधानमन्त्री भीमसेन थापा कसरी षड्यन्त्रमूलक तरिकाबाट पदच्यूत गरिए भन्ने व्याख्या गरेका छन् । राजा रणबहादुर शाह ब्रिटिस साम्राज्य समर्थक आफ्नै भाइ शेरबहादुरको हातबाट मारिए तर तत्कालै शेरबहादुर पनि मारिएपछि भीमसेन थापा नेपालको मुख्तियार भएका थिए । भीमसेन थापाले फ्रान्सेली प्राविधिक तथा अधिकृतहरूबाट नेपाली सेनालाई आधुनिक तालिम दिन लगाए । त्यसबेला फ्रान्स बेलायती साम्राज्यवादको विरोधी थियो । सो तालिम लिँदा शत्रुको शत्रु मित्र हुन्छ भन्ने चाणक्यको सिद्धान्त लागु गरिएको थियो । तर, फ्रान्सेली सेनालाई नेपाल भित्रिन भने दिइएको थिएन । यसबाट ब्रिटिस सत्ता नेपालसँग क्रुद्ध भएको थियो ।
सन् १८१४ मा नेपाल र ब्रिटिस भारतबीच युद्ध भयो । भीमसेन थापाले लेखक चित्तरञ्जनकै शब्दमा अङ्ग्रेजसितको युद्धमा चीन, तिब्बत तथा भारतका विभिन्न राज्य रजौटाहरूसित पनि सहयोगको अनुरोध गर्दै अङ्ग्रेजको विरोधमा एकसाथ खडा हुन समेत आह्वान गरेका थिए । त्यस युद्धमा नेपालले हार्‍यो भने बेलायत तिब्बत र चीनको निम्तिसमेत खतरा हुन जाने भनी प्रम भीमसेन थापाले चीनका बादसाहलाई पत्र पठाएका थिए । भीमसेन थापा समस्त दक्षिण एसियाबाटै अङ्ग्रेजलाई निकाल्न चाहन्थे । तर, कतै पनि सहयोग प्राप्त नभएपछि नेपाल एक्लिनुपर्‍यो । अन्ततः नेपालले हार खायो र सन् १८१६ (सं. १८७३) मा अङ्ग्रेजसँग सुगौली सन्धि गर्नुपर्‍यो । परिणामस्वरूप ब्रिटिस रेजिडेन्ट काठमाडौँमा बस्नथाल्यो । विसं १८७७ मा प्रम भीमसेन थापाले ब्रिटिस साम्राज्यविरुद्ध मिलेर लड्न भारतीय राज्यहरूलाई फेरि आह्वान गरे । काडमाडौँको ब्रिटिस रेजिडेन्टमाथि पनि कडा निगरानी गर्न छोडिएन । रेजिडेन्टले प्रमसँग मात्र सम्बन्ध राख्न पाउने थिति बनाइयो । साथै, रेजिडेन्ट नेपाली सेनाको घेरामा राखिएको थियो । तर, राजदरबार र भीमसेन थापाबीच बढ्दै गएको कटुताबाट लाभ उठाउँदै ब्रिटिस रेजिडेन्ट हज्सनले भीमसेन थापालाई मुख्तियारीबाट हटाउने प्रपञ्च रचे ।

भीमसेना थापालाई कुनै अपराधमा फसाई उनको राजनीतिक पतन गराउने षड्यन्त्र सुरु भयो । यसैबीच महारानी साम्राज्यलक्ष्मीका ६ महिनाका छोरा राजकुमार देवेन्द्रविक्रमको निधन भयो । यही मौका छोपेर विष खुवाएर हत्या गराएको आरोप लगाई भीमसेन थापालाई पक्राउ गरियो । त्यसअगाडि महारानीले आफ्नोअनुकूलको एक छुट्टै सैनिक टुकडी खडा गरिसकेकी थिइन् । भीमसेन थापासँग जोडिएका सबै मानिसलाई पक्राउ गरी अमानवीय यातना दिन थालियो । कतिपयलाई चारपाटे मुडियो, सर्वस्वहरण पनि गरियो । भीमसेन थापाकी कान्छी मुखिनीको हुर्मत लिइन्छ’ भन्ने हल्ला गराई नजरबन्दमा परेका भीमसेन थापालाई मानसिक यातना दिइयो । बदनामीको शोक र तापले विह्वल भएका भीमसेन थापा आफ्नै खुकुरीले सेरिए भनिन्छ तापनि वास्तवमा उनको हत्या भएको थियो । ब्रिटिसको षड्यन्त्रको सिद्धान्त नेपालमा यसरी सफल भयो । त्यसबेलादेखि नेपाली शासकहरू बेलायतीको गोटी बने ।
कन्टकेनैव कन्टकम्’
षड्यन्त्र सिद्धान्त धेरैजसो प्राकृतिक विपत्ति तथा महामारीमा लागु गरिन्छ भन्ने कुरा काठमाडौँमा सशक्त बन्दै गएको एउटा कम्युनिस्ट पार्टीलाई समाप्त पार्न २०४५ भदौ ५ को ठूलो भूकम्पपछाडि राहत वितरण गर्ने क्रमदेखि पञ्चायती राज्यव्यवस्थाले गरेको षड्यन्त्रले पनि पुष्टि गर्छ ।
काडमाडौंँ उपत्यकामा भित्रभित्र सक्रिय नेपाल मजदुर किसान पार्टी पञ्चायती व्यवस्थाको मुटुमा गढेको काँडा’ बनेको थियो । तत्कालीन सत्ताविरोधी सङ्घर्षको अग्रमोर्चामा थियो, नेमकिपा । पञ्चायती व्यवस्थाका पृष्ठपोषकहरू नै नेमकिपाको भ्रष्टाचारविरोधी आन्दोलनको तारो बनेका थिए । २०३७ सालमा भएको जनमत सङ्ग्रहमा बहुदल पक्षमा सबभन्दा बढी मत (प्रतिशतमा) भक्तपुरमै खस्यो, त्यसले पञ्चायती व्यवस्थालाई निकै ठूलो धक्का लागेको थियो ।
तत्कालीन नेमकिसंले व्यवस्थाभित्र प्रवेश गरी व्यवस्थाकै जरा काट्न निर्वाचनमा भाग लिने नीति लिएको थियो । गाउँ पञ्चायत, नगर पञ्चायत र राष्ट्रिय पञ्चायतमा निर्वाचित भई जनपक्षीय कार्य गरेकोले जनताबीच नेमकिपाले झाङ्गिने अवसर पाइरहेको थियो । नगर पञ्चायतले चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङलगायतका क्रान्तिकारीहरूको जीवनी पुस्तक प्रकाशित गर्नथाल्यो । नगर पञ्चायतको मासिक पत्रिका ॅपञ्चायत’ ॅकन्टकेनैव कन्टकम्’ जस्तै भएको थियो । पञ्चायती व्यवस्थारूपी काँडा फाल्न पञ्चायती व्यवस्थालाई नै उपयोग गरिएको थियो । ॅपञ्चायत’ पत्रिकाले संसारका मजदुर आन्दोलन र सङ्घर्षका कथाहरू प्रकाशित गर्नथाल्यो । पञ्चायती भूमिसुधार नीतिको उपयोग गर्दै नेमकिपा मोही किसानको पक्षमा उभियो, स्थानीय राजनीतिमा स्थानीय पञ्चहरूले मनोमानी गर्न नपाएकोमा उनीहरू नेमकिपाका नेता तथा कार्यकर्तासँग क्रुद्ध थिए । विगतको जस्तो सामन्ती हालिमुहाली कमजोर हुँदै गइरहेको थियो । श्रमिक जनता राजनीतिकरूपमा सचेत हुँदै थिए । ॅरात्री शिक्षा’ बाट किसानहरू शोषणविरुद्ध लड्न उत्प्रेरित भइरहेका थिए । साहित्य गोष्ठीहरूमा पनि चिनियाँ क्रान्ति, सोभियत क्रान्तिको बारेमा विश्लेषण हुन्थ्यो । हुनान किसान आन्दोलनका कथा पढेर सामन्तहरूसँग लड्न उत्साहित भइरहेका थिए किसानहरू ।
राजालाई सामन्तहरूको नाइकेको रूपमा प्रस्तुत गरिँदैथियो । गाईजात्रामा समेत राजनीतिक व्यङ्ग्य गरी पञ्चायती व्यवस्था, विस्तारवादी भारत तथा अमेरिकी साम्राज्यवादको विरुद्धमा आवाज बुलन्द गरिँदैथियो । यसरी एक किसिमले क्रान्तिको भर्भराउँदो आगो दन्किन थालेको थियो । नेमकिपा पञ्चायती व्यवस्थाकै आँखाको कसिङ्गर बनेको थियो । यस्तो परिवेशमा नेमकिपालाई सिध्याउने उद्देश्यसाथ ॅभक्तपुर काण्ड’ को षड्यन्त्र रचिएको थियो ।
ॅबलिको बोका’
पञ्चायती व्यवस्थालाई सबभन्दा सुहाउँदो ॅबलिको बोका’ चाहिएको थियो । जनताको नजरमा गिरिसकेको एक पात्रलाई उपयोग गर्‍यो पञ्चायती व्यवस्थाले । त्यतिन्जेल कणर्प्रसाद ह्योजू प्रजातन्त्रप्रेमी जनतालाई धोका दिई पञ्चायती व्यवस्थाको ॅबफादार कुकुर’ बनिसकेका थिए । र, एउटा नकारात्मक तर कमजोर पात्रलाई प्रयोग गरी नेमकिपालाई दमन गर्ने षड्यन्त्र बुनियो ।
भक्तपुरका जनताको अन्यायविरोधी भावनालाई राम्ररी बुझेको पञ्चायती व्यवस्थाले भूकम्पपीडित जनतालाई राहत वितरण गर्न राष्ट्रिय पञ्चायतका जननिर्वाचित पूर्वसदस्यलाई खटायो । उनलाई राहत वितरणमा योजनबद्धरूपमा धाँधली गर्न लगायो । धाँधलीको प्रतिरोध हुन्छ, भिडलाई उत्तेजित पार्ने, त्यसपछि ॅएजन्ट प्रभोकेटर’ लगाई कुटपिट गराउने र हत्या गर्ने योजना बनाएको रहेछ ।

ह्योजू नमर्दै नेमकिपाका नेता तथा कार्यकर्ता पक्राउ गर्नको निम्ति प्रहरी तयार भइसकेको रहेछ । रातभरमा दर्जनौँ नेता र कार्यकर्ता पक्राउ गरियो । भोलिपल्टै पञ्चायतको विजय यात्राजस्तो ॅशवयात्रा’ भयो । प्रधानमन्त्री, राष्ट्रिय पञ्चायतका अध्यक्ष, पञ्चायत नीति तथा जाँचबुझ समितिका अध्यक्ष सहभागी शवयात्रामा ॅरोहितलाई फाँसी दे’ जस्ता नारा लगाइयो । भदौ १० गतेको उक्त ॅपञ्च र्‍याली’ रोमका सम्राट नीरोले इसाईहरूमाथि दमनको उद्घोष गर्दाको जस्तो थियो । हिटलरले कम्युनिस्ट पार्टीलाई राइखस्टाइग आगलागीको दोषारोपण लगायो भने पञ्चहरूले नेमकिपालाई ह्योजू हत्याको आरोप । सारमा त्यो ॅपञ्च र्‍याली’ पञ्चायती षड्यन्त्र सिद्धान्तको एक अङ्ग थियो ।

सर्वसाधारण जनताले षड्यन्त्रको भेउ पाउने कुरै थिएन । पञ्चहरूको योजनाअनुसार नै घटनाक्रम अगाडि बढ्यो । भूकम्पले कुनै क्षति नगरेका परिवारलाई राहत वितरण गर्न थालेपछि मानिस चुप लागेर बसेनन् । जनता आक्रोशित भएर ह्योजूको कठालो समात्न पुगे । त्यसपछि भिडमा बजार परिक्रमा गराउने आवाज उठ्यो । भिडमा अनेक खालका मानिस आए, अनियन्त्रित भीडले ॅचामल चोर’ लाई ४-५ घण्टासम्म नियन्त्रणमा राख्यो । तर, प्रहरी प्रशासनले हेर्‍याहेर्‍यै गर्‍यो । अघिपछि हुने आन्दोलन तथा सङ्घर्षको समयमा निर्ममरूपमा प्रस्तुत हुने प्रहरी तमासे बनेर बस्यो । साँझ हिँडेरै प्रहरीको गाडीमा चढेको मान्छे मरेको घोषणा गरियो । त्यस दिनको घटनाक्रमले पुष्टि गर्छ कि ह्योजूलाई पञ्चायती व्यवस्थाले नै मारेको थियो । पोस्टमार्टम्को प्रतिवेदन कहिल्यै सार्वजनिक गरिएन । यसरी ह्योजू पञ्चायती व्यवस्थाको ॅबलिको बोका’ भए ।
ह्योजू नमर्दै नेमकिपाका नेता तथा कार्यकर्ता पक्राउ गर्नको निम्ति प्रहरी तयार भइसकेको रहेछ । रातभरमा दर्जनौँ नेता र कार्यकर्ता पक्राउ गरियो । भोलिपल्टै पञ्चायतको विजय यात्राजस्तो ॅशवयात्रा’ भयो । प्रधानमन्त्री, राष्ट्रिय पञ्चायतका अध्यक्ष, पञ्चायत नीति तथा जाँचबुझ समितिका अध्यक्ष सहभागी शवयात्रामा ॅरोहितलाई फाँसी दे’ जस्ता नारा लगाइयो । भदौ १० गतेको उक्त ॅपञ्च र्‍याली’ रोमका सम्राट नीरोले इसाईहरूमाथि दमनको उद्घोष गर्दाको जस्तो थियो । हिटलरले कम्युनिस्ट पार्टीलाई राइखस्टाइग आगलागीको दोषारोपण लगायो भने पञ्चहरूले नेमकिपालाई ह्योजू हत्याको आरोप । सारमा त्यो ॅपञ्च र्‍याली’ पञ्चायती षड्यन्त्र सिद्धान्तको एक अङ्ग थियो ।
पञ्चायती व्यवस्थाले सञ्चारमाध्यममार्फत रोहित समूहका मान्छेले कणर् ह्योजूलाई कालो मोसो दलेको, लठ्ठी, चक्कु र छाताले घोचेको प्रचार गरी घटनालाई अतिरञ्जित बनाएको थियो । त्यसबेला भक्तपुरका मान्छेलाई आततायी, नृशंस, हत्याराको रूपमा व्यापक प्रचार गरियो । यो घटना पञ्चायती व्यवस्थाको फासीवादी शैलीको दमनचक्र थियो, जसले आफ्नैविरुद्ध जनआन्दोलनको सुनामी ल्याएको थियो २०४६ सालमा ।
विशेष राजनीतिक मुद्दा
घटनालगत्तै भक्तपुरमा शृङ्खलाबद्ध राज्य आतङ्क मच्चाइयो । ॅमण्डले राज’ को ज्यानमुद्दामा फसाउने धम्कीबाट जनता त्राहित्राहि भए । नेमकिपाका अध्यक्ष रोहितको शब्दमा ॅबीस महिनासम्म भक्तपुरमा राज्य थिएन, अराकता थियो । १०४ वर्षको राणाशासनमा पनि यस्तो अत्याचार भएको थिएन । उपत्यका विजयपछि यस्तो अत्याचार कहिल्यै भएको थिएन ।’ घटनामा कतै संलग्न नभएका बच्चादेखि बुढासम्मले शारीरिक तथा मानसिक यातना भोग्नुपर्‍यो ।
वरिष्ठ राजनीतिज्ञ टङ्कप्रसाद आचार्यले भन्नुभएको थियो, “घटनाको बहानामा आज जसरी भक्तपुरका जनतालाई राजनैतिक कारणले आतङ्कित पारिएको छ, त्यो ज्यादती हो ।” विभिन्न मानवअधिकार सङ्गठनहरूले ॅऐन, कानुन मिचेर ॅइतर दबाऊ’ अभियानमा सक्रियरूपमा सरकार लागिरहेको, मानवअधिकारको उल्लङ्घन गरिरहेकोले र त्यस किसिमको श्वेत आतङ्क बन्द गर्न आह्वान’ गरेबाट पनि त्यो स्थितिको अन्दाज गर्न सकिन्छ । वामपन्थी राजनीतिज्ञ तुल्सीलालको शब्दमा ॅकाण्डलाई लिएर मनपरी जसलाई पायो त्यसलाई बिनाआधार आम गिरफ्तार गर्ने’ काम भयो । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले भन्नुभएझैँ ॅप्रशासकले कैयौँ निर्दोष व्यक्तिहरूसहित निर्दोष राजनीतिज्ञहरूलाई फसाउने काम’ भयो ।

किङ्सीप् नोज् नो किन्सीप्’ अर्थात् ॅराजत्वले बन्धुत्व चिन्दैन’ भनेझैँ सत्ता र शक्तिको निम्ति पञ्चायती व्यवस्थाका हिमायतीहरूले जनप्रिय नेता तथा कार्यकर्तालाई षड्यन्त्रको सिकार बनाए । तर, पञ्चायती व्यवस्थाले आगोसँग खेल्यो, त्यै आगोमा डढ्यो । किनभने, भक्तपुर काण्डले पञ्चायती व्यवस्था ढाल्न किसान र श्रमिकहरूलाई उत्प्रेरित गरेको थियो ।

पक्राउ परेका सर्वसाधारणसमेतलाई चरम यातना दिइयो । त्यसैबीच ॅपञ्चायत’ मा प्रवेश गराउने जालसाजी गर्न थालियो । बन्दीका परिवारलाई भड्काउन थालियो । खानतलासीको नाममा रातीराती घरघरमा प्रवेश गरी लुटपाट मच्चाइयोे । कोही पनि पुरुष घर बस्न नसकिने परिस्थिति आयो । तरकारी बेच्न हिँडेका किसानदेखि सामान्य व्यापारी र ज्यामीलाई समेत पक्राउ गरियो ।
राजनीतिक नेता-कार्यकर्तालाई पक्राउ गरिएको २१ दिनपछाडि विधिविपरीत शनिबारको दिन घटनाको सरजमीन गरियो । सरजमीनमा प्रत्यक्षदर्शीहरूलाई बोल्न पनि दिइएन । पूर्वतयारीअनुसार नियोजित व्यक्तिहरूलाई पूर्वलिखित कागजमा हस्ताक्षर गराई सरजमीन सिध्याइयो । नेमकिपाका अध्यक्ष रोहितलगायत ६७ जनाविरुद्ध ज्यानमुद्दा चलाइयो । सो मुद्दा हेर्न विशेष अदालतको गठन गरियो । यसरी यो सामान्य फौजदारी मुद्दा नभई विशेष राजनीतिक मुद्दा प्रमाणित हुनगयो ।
अन्तमा, ॅकिङ्सीप् नोज् नो किन्सीप्’ अर्थात् ॅराजत्वले बन्धुत्व चिन्दैन’ भनेझैँ सत्ता र शक्तिको निम्ति पञ्चायती व्यवस्थाका हिमायतीहरूले जनप्रिय नेता तथा कार्यकर्तालाई षड्यन्त्रको सिकार बनाए । तर, पञ्चायती व्यवस्थाले आगोसँग खेल्यो, त्यै आगोमा डढ्यो । किनभने, भक्तपुर काण्डले पञ्चायती व्यवस्था ढाल्न किसान र श्रमिकहरूलाई उत्प्रेरित गरेको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *