भर्खरै :

नेमकिपाविरुद्ध पञ्चायती व्यवस्थाले किन षड्यन्त्र ग¥यो ?

नेपाल मजदुर किसान पार्टीमाथि चर्को दमन गर्न तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्था एउटा निहुँ खोज्दै थियो । मौकाको पर्खाइमा थियो । नेमकिपाको हेडक्वार्टर नै ध्वस्त पार्ने षड्यन्त्रको तानावाना बुन्दै थियो । धेरै समयपश्चात् विसं २०४५ भाद्र ९ गते भूकम्पको विपत्को घडीमा तिनले मौका छोपिहाले । भाद्र १० गते नै विजयी मुद्रामा षड्यन्त्रकारी महापञ्चेहरू लास प्रदर्शन गरेर ‘उत्सव’ मनाउन काठमाडौँदेखि भक्तपुर पुगे । बजार परिक्रमा गरे । भक्तपुरमा राज्य आतङ्क वर्ष दिनसम्म चालु रह्यो । पृथ्वीनारायण शाहको हमलाको समय बिर्साउने खालको अत्याचार, दमन राज्यबाट भयो । पुरुषहरू बाहिर आउन नसक्ने स्थिति भएपछि बाध्य भएर महिलाहरू सडकमा उत्रिए । नेमकिपाको सङ्गठन जहाँ – जहाँ छ, त्यहाँ –त्यहाँ श्वेत आतङ्क मच्चाइयो, विशेषगरी काठमाडौँ उपत्यकाका सहर–बजार र गाउँ – गाउँमा । नेमकिपाविरुद्ध पञ्चायती राज्यस्तरको षड्यन्त्र रचिनुका अनेकौँ कारण थिए ।
नेमकिपाले काठमाडौँ उपत्यकालाई मुख्य कार्यक्षेत्र बनाएर कम्युनिस्ट आन्दोलन फैलाउँदै थियो । प्रजातान्त्रिक आन्दोलन हुर्काउँदै थियो । दरबारको आँगनमै बसेर सामन्तवाद, भारतीय विस्तारवाद तथा संरा अमेरिकी साम्राज्यवादविरूद्ध विभिन्न गतिविधि अगाडि बढाउँदै थियो । साम्राज्यवादी युद्धहरूको कडा विरोध गर्दै थियो । किसान सङ्घर्षमार्पmत जनताको आन्दोलन अगाडि बढाउँदै थियो । पञ्चायतभित्र पसेर पञ्चायतका खराबी तथा कुकृत्य उदाङ्गो पार्दैै जनताको निःस्वार्थ सेवा कार्यलाई तीव्र पार्दै थियो । जनमत सङ्ग्रहमा भाग लिएर बहुदलको प्रचारप्रसार कार्यमा बिना कुनै दुविधा लम्कँदै थियो । भ्रष्ट पञ्चेहरूलाई जनताबीच निर्भिकतापूर्वक उदाङ्गो पार्दै थियो । नेमकिपाले तल्लो वर्गलाई शिक्षित एवम् सङ्गठित बनाएर परिवर्तनका निम्ति पृष्ठभूमि तयार पार्ने र पञ्चायती निरङ्कुशताको जरो नै काट्ने काम गर्दै थियो । तसर्थ, निर्विकल्प ठानिएको पञ्चायती व्यवस्था नेमकिपालाई समाप्त पारेर आफ्नो औचित्य पुष्टि गर्न चाहन्थ्यो । अन्य प्रतिबन्धित राजनीतिक दलहरूलाई पनि सवक सिकाउन चाहन्थ्यो । निभ्न लागेको बत्तीमा तेल थपेभैmँ कम हुँदै गइरहेको आफ्नो आयु थप्न चाहन्थ्यो । आप्mनो लूटको ‘स्वर्ग’ मा कुनै हलचल नहोस् भन्ने चाहन्थ्यो । खतरामुक्त हुन चाहन्थ्यो ।
स्थानीय स्तरका पञ्चे, मण्डलेहरू भक्तपुरमा एकछत्र शासन स्थापना गर्ने सपना देख्थे । हरेक क्षेत्रमा हालीमुहाली गर्न नपाएकोमा सा¥है चुकचुकाउँथे । त्यसमा ठूलो तगारोका रूपमा नेमकिपाका कार्यकर्तालाई देख्थे । नेमकिपा भएसम्म आप्mनो निरङ्कुशतामा बाधा भइरहने तिनको ठहर थियो । तिनको कुण्ठा, आक्रोश, विक्षिप्तताले सीमा नाघ्दै थियो । कति त निराश भएर जिल्ला छोडेर हिँडे । केन्द्रमा गलत सूचना दिएर र उक्साएर आप्mनो निहित स्वार्थ पूरा गर्थे । भिडन्तको स्थिति तयार गर्दै थिए । सानो स्वार्थका निम्ति सिङ्गो पञ्चायती व्यवस्थालाई दाउमा राख्ने गल्ती गर्दै थिए । नेमकिपामाथि षड्यन्त्रको एउटा पृष्ठभूमि यसरी जबर्जस्त तयार गरिइँदै थियो ।
केन्द्रीय स्तरका पञ्च र मण्डलेहरूमा भारतीय प्रभाव र दबाब बढ्दै थियो । भारतीय विस्तारवादले सन् १९६२ को भारत–चीन सीमा द्वन्द्वमा नराम्रो हार व्यहोरेपश्चात् नेपाललगायतका हिमाली देशहरूमा प्रभाव जमाउने र विस्तार गर्ने नीति लियो । दक्षिण एसियामा आप्mनो वर्चश्व कायम गर्न अनेक उपाय अपनाउन थाल्यो । सन् १९५० को दशकको अन्त्यतिरदेखि चिनियाँ समाजवादको हावा हिमालपारि नै रोक्ने बहानामा आप्mना छिमेकी देशहरूको आन्तरिक राजनीतिमा नाङ्गो हस्तक्षेप गर्दै थियो । कम्युनिस्टहरूमध्ये ‘पेकिङवादी’ कम्युनिस्टहरूलाई समेत माथि उठ्न नदिन भारत अनेक जालसाजी गर्दै थियो । भारतीय पुँजीपरस्तहरूको आँखामा नेमकिपा ‘पेकिङवादी’ थियो । तिनीहरू आफूले खाएभैmँ नेमकिपाले पनि विदेशी ‘दानापानी’ खाएको अनुमान लगाउँथे । आप्mना अन्नदातालाई रिझाउन र तिनको इशारामा नेमकिपामाथि ती बेलाबेला जाइलाग्थे ।
अरू पनि केही कारण थिए । नेमकिपाले विशेषगरी काठमाडौँ उपत्यका, चितवनमा वर्गसङ्घर्षलाई तीव्र पार्दै थियो । पञ्चायतले त्यसलाई गम्भीरतापूर्वक लियो । त्यसको दीर्घकालीन असरबारे अनुमान लगायो । भेरी र कर्णाली अञ्चलमा पञ्चायतको करिब एक्लो विपक्षको रूपमा नेमकिपा देखाप¥यो र विकास हुँदै थियो । पञ्चायती सामन्तहरूका निम्ति त्यो पूर्ण रूपमा अनपेक्षित थियो । दुर्गम बस्तीका अत्यन्त पिछडिएका जनतालाई सङ्गठित गर्ने कार्य पञ्चायतका निम्ति सह्य नहुनु कुनै आश्चर्य थिएन । तसर्थ, विसं २०४०–०४१ मा भेरी र कर्णालीमा नेमकिपाका सयौँ कार्यकर्ता गिरफ्तार गरिए । जुम्ला, हुम्ला, मुगुका जेलमा वर्षौँ कोचिए । पश्चिम नेपाललाई पञ्चायतले आफ्नो पकडबाट गुम्न नदिन सम्भव भएका हरेक उपाय अपनायो । नेमकिपाविरूद्ध ठूलो दमनचक्र चलायोे ।
नेमकिपामाथि पञ्चायत दमनमा उत्रनुको पछाडि सम्भवतः उसका केही बाध्यता पनि थिए !पञ्चायती व्यवस्थाका हर्ताकर्तामाथि एक खालको मनोवैज्ञानिक दबाब थियो । पञ्चायती व्यवस्थाले भव्यताका साथ रजत जयन्ती मनाइसक्दा समेत जनताबीच प्रिय तथा प्रतिष्ठित पात्रलाई समाजमा अघि सार्न असफल साबित भयो । निर्वाचनमा अगाडि सार्न बेदाग खालको व्यक्ति पञ्चायतले भक्तपुरमा एकजना पाउन सकेन । स्वच्छ छविको उम्मेदवार पाउन धौ–धौ प¥यो । निर्वाचनमा सम्मानजनक मत पाउन समेत असफल भयो । पञ्चायती शासकहरूले त्यसलाई प्रतिष्ठाको विषय बनाए । नैतिक हाँकको रूपमा लिए ।
पञ्चायती व्यवस्थामाथि विदेशी दबाब पनि बढ्दै थियो । काठमाडौँ उपत्यकामा समेत कम्युनिस्ट गतिविधि रोक्न नसकेको भनी विशेषगरी पश्चिमा देशले आपत्ति जनाए । भारतविरोधी गतिविधि पूर्णरूपमा नियन्त्रण नगरेको भनी पञ्चायती शासकले आरोप खेपेको चर्चा चल्दै थियो । संरा अमेरिकी साम्राज्यवादविरूद्ध बेलामौकामा हुने सङ्घर्षले पञ्चायतमाथि विदेशी दबाब उत्कर्षमा पु¥याउँथ्यो । तसर्थ, पञ्चायती व्यवस्थाका महारथीहरू विदेशीको स्यावासी पाउने आशमा नेमकिपामाथि बरोबर दमनमा उत्रिरहन्थे । विसं २०४५ भदौ ९ को दमनलाई पनि त्यसैको एउटा परिणति मान्न सकिन्छ ।
पञ्चायतका विभिन्न खेमा या शक्ति केन्द्रहरूमध्ये केही नेमकिपाका गतिविधिलाई ‘चिनियाँ दूतावास’ सँग जोडेर दिग्भ्रमित तुल्याउने प्रयास गर्थे । त्यसो गर्न भारतीय एकाधिकार पुँजीका दलालहरू निकै सक्रिय थिए । पानी धमिल्याएर माछा टिप्ने पर्खाइमा थिए । तिनले नेमकिपालाई आफ्नो ठूलो शत्रु ठाने । नेमकिपामाथि दमन भएको खण्डमा फाइदै फाइदा हुने अनुभव गर्थे । केही पञ्च नेमकिपाको नेतृत्व दशौँ वर्ष भारत प्रवासमा बसेकै आधारमा नेमकिपालाई ‘भारत नजिक’ भनी सतही ढङ्गमा बुझ्थे । सच्चा देशभक्तलाई जुनसुकै उपायबाट भएपनि सिध्याउनुलाई तिनले आफ्नो ‘व्यवसाय’ या ‘उद्देश्य’ बनाएका थिए । ती गलत तत्वको चक्रव्युहमा पञ्चायत फस्यो !
नेमकिपालाई कहिले भारतविरोधी त कहिले भारत समर्थक, कहिले ‘चिनियाँ दूतावासबाट निर्देशित’ भनी गलत विश्लेषणको आधारमा पञ्चायती सामन्तवादीहरू पाइला चाल्थे । षड्यन्त्र रच्थे । दमनमा उत्रन्थे । तर, परिणाम आत्मघाती निस्कन्थ्यो जसरी भदौ ९ को घटनामा भयो ।
नेमकिपाको सम्झौताहीन सङ्घर्ष, नझुकी लड्ने परम्परा, निःस्वार्थ राजनीति पञ्चायती प्रतिक्रियावादीहरूका निम्ति हाँक बन्यो । पञ्चायती व्यवस्थाले धेरै ‘प्रजातन्त्रवादी’ नेता, ‘वामपन्थी’ नेताहरूलाई आफ्नो अनुकूल प्रयोग गर्न सकेतापनि नेमकिपालाई तोडफोड गर्न र अन्तरध्वंस मच्चाउन आशातीत सफलता हात पार्न सकेको थिएन । नेमकिपा र यसको नेतृत्व पञ्चायतका निम्ति ‘फलामको चिउरा’ साबित हुँदै थियो । नेमकिपालाई राजनीतिक सङ्घर्षको माध्यमबाट तथा वैचारिक रूपमा परास्त या ‘ठेगान’ लगाउन नसक्ने पञ्चायतले प्रस्ट बुझिसकेको थियो । इमानदारी, नैतिकता, सेवा आदि विषयमा पनि नेमकिपाविरूद्ध होहल्ला गर्नसक्ने स्थिति थिएन । ती विषयमा नेमकिपालाई औँला तेस्र्याउन सक्ने परिस्थिति नभएकैले तिर्मिराएर पञ्चायतले षड्यन्त्रको सहारा लिन पुगेको बुझ्न गा¥हो छैन । नेमकिपाको निष्कलङ्कित नेतृत्वलाई छुनु आखिर पञ्चायतका निम्ति दनदन बलिरहेको आगोमा हात झोस्नु साबित भयो । तसर्थ, अध्यक्ष रोहित भन्नुहुन्छ, “शत्रु र मित्र नचिन्ने हरेक वर्ग र राजनीतिक शक्तिले पछुताउनुपर्ने हुन्छ । राजनीति आवेशमा गरिने वा अहङ्कारको अभिव्यक्ति हुने गर्दैन बरु प्रगतिशील परिवर्तनको तर्क र घच्घच्याइबाट प्रेरित निर्णय हुने गर्छ । २०४५ सालको भक्तपुर काण्ड षड्यन्त्रको शिक्षा नै यही हो ।” (मजदुर, विशेषाङ्क)

एउटा सम्भावना अस्वीकार गर्न सकिन्न, पञ्चायती सामन्तवादीहरूको अहङ्कारले नेमकिपालाई सानो देख्यो र भर्खर १५ औँ वर्षमा प्रवेश गरिरहेको कलिलो अवस्थामा निमोठ्न सजिलो हुने ठान्यो । अनपढ किसान, ‘ज्यापू’ हरूलाई छिट्टै र सामान्य ढङ्गमै दबाउन सकिने तिनको घमण्ड थियो । तसर्थ, प्राकृतिक विपत्तिजस्तो कठिन घडीमा फसाउनु या षड्यन्त्र गर्नुलाई तिनले अनुकूल अनुभव गरे । साथै, ‘नेवारहरू जातीयरूपले भारतविरोधी छन्’ भनी पञ्चायतको एउटा गुटलाई उक्साइरहने स्वयम् भारतीय र भारतीय ‘एजेन्ट प्रोभोकेटर’ हरूको फन्दामा पञ्चायत परेर नेमकिपालाई समुल नष्ट गर्ने टुङ्गोमा पुगेको अनुमान पनि आधारहीन जरूर होइन । जातीय अहङ्कारले पनि षड्यन्त्र रच्न घच्घच्यायो भन्नु सच्चात्न्दा टाढाको विषय जरूर होइन !
एउटा अचम्मको संयोग पनि उल्लेख गर्नु समीचीन हुनेछ । इतिहासमा भक्तपुरमाथि धेरै पटक हमला भए । ती हमलामा आततायीहरूले यहाँका बहुमूल्य पुस्तक, दस्तावेज या लिखित सामग्री खोसे या जलाए । त्यही इतिहास २०४५ को भदौ ९ को षड्यन्त्रमा पनि दोहोरियो । नेमकिपाका अध्यक्ष का. रोहित र पार्टीका पूर्व केन्द्रीय सदस्य बुद्धिकुमार गोसाई निवासबाट हजारौँ पुस्तक जफत गरिए । ती सबै दशकौँ लगाएर देश–विदेशबाट सङ्कलित विश्व कम्युनिस्ट आन्दोलन, राजनीतिक क्रान्ति, कला–संस्कृति, साहित्य, दर्शन आदिसँग सम्बन्धित दुर्लभ पुस्तक थिए । कति त पुस्तकका पाण्डुलिपी थिए । पञ्चायतको अन्त्यपश्चात् प्रजातान्त्रिक सरकारका प्रधानमन्त्री, गृहमन्त्रीहरूले पुस्तक तथा सामग्री फिर्ता गर्न चासोसमेत देखाएनन् । नेमकिपाले पटक – पटक अनुरोध ग¥यो र पुस्तक संरक्षणका लागि उपाय सुझायो तर तिनले हलुका तथा गैरजिम्मेवार अभिव्यक्ति दिए ।
यस आधारमा त्यो षड्यन्त्र राजनीतिक दमन तथा हमला त थियो नै, सँगसँगै प्रगतिशील विचार एवम् ज्ञानमाथिको बर्बर आक्रमण तथा प्रतिबन्ध थियो भन्न सकिन्छ । इतिहासका विभिन्न कालखण्डमा भक्तपुरमाथि भएका मुसलमान राजाको हमला, पृथ्वीनारायण शाहको हमला र पञ्चायती हमलाको क्रममा नियोजित ढङ्गमा पुस्तकमाथि रिस गर्नु के काकताली मात्र हुन सक्ला ? अथवा, उही रगतको करामत ?
भक्तपुर काण्डले पञ्चायती राज्यसत्ताको असली अनुहारमात्र उदाङ्गो पारेन बरु उसको अन्त्यको पृष्ठभूमि तयार पा¥यो भन्नु अतियुक्ति नहोला ¤ त्यस घटनाका कारण पञ्चायतको बदनाम त भयो नै, सदाका निम्ति गुमनाम पनि हुन पुग्यो । जनताको आन्दोलनबाट सदाका निम्ति पञ्चायतको अन्त्य भयो । नेमकिपा भने पञ्चायतको अन्त्यको ३० वर्षपछि पनि निरन्तर देश र जनताको पक्षमा सङ्घर्षरत छ । यद्यपि, सर्प मरे पनि पुच्छर हलिरहन्छ ¤ प्रतिक्रियावादी सत्ता र पुँजीपतिवर्गको सम्भावित षड्यन्त्रविरूद्ध अझ व्यवस्थित तयारी भने आवश्यक छ । अझ बढी सुझबुझ, अझ बढी होशियारी आवश्यक छ । सिद्धान्तनिष्ठ, सङ्घर्षशील एवम् दृढ सङ्कल्पित धेरै – धेरै कार्यकर्ता, जनताबीच भिजेको सङ्गठन तथा सचेत जनताको खाँचो छ ।
राजनीतिक आन्दोलनको इतिहास भन्छ, समर्पणभाव तथा सङ्घर्षशील भावनासहित सिद्धान्तनिष्ठ कार्यकर्ताहरूको जीवन्त सङ्गठन रहेसम्म प्रतिक्रियावादी शासकको षड्यन्त्रको जालो च्यात्न असम्भव हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *