भर्खरै :

सन् २०२१ मा २ अर्बको कोभिडको खोप बाँड्ने – डब्ल्युएचओ

विश्व स्वास्थ्य सङ्गठनले आगामी वर्ष सन् २०२१ को अन्त्यसम्ममा संसारभर कम्तीमा २ अर्ब वटा सुरक्षित र प्रभावकारी कोभिड–१९ विरोधी खोप वितरण गर्ने आशा व्यक्त गरेको छ । सङ्गठनको नियमित भर्चुएल पत्रकार भेटघाटमा अधिकारीले यस्तो आशा व्यक्त गरेका हुन् ।
गत सोमबारसम्ममा ‘कोभ्याक्स विश्वव्यापी खोप संयन्त्र’ नाम दिइएको कोभिड–१९ को खोप आविष्कार, उत्पादन र वितरणको संयुक्त विश्वव्यापी संयन्त्रमा १७२ वटा देश सामेल भइसकेका छन् ।
हालसम्म कोभिड–१९ का ९ थरी खोपको सुरक्षा र ठूलो परिणाममा उत्पादन गरी वितरण गर्न सकिनेबारे लगातार अनुसन्धान र समीक्षा भइरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम घ्रिब्रिएससले थप चार वटा खोपबारे पनि छलफल चालु रहेको जानकारी दिएका छन् । दीर्घकालीन प्रयोगको लागि विश्व स्वास्थ्य सङ्गठनले ९ वटा खोपबारे अध्ययन गरिरहेको उनले बताए ।
“यो कोभ्यास संयन्त्र साझा खरिद प्रणालीको महत्वपूर्ण संयन्त्र हो । यो संयन्त्रले धेरै थरी खोपमध्ये कुनै पनि सुरक्षित र प्रभावकारी खोपलाई संयन्त्रअन्तर्गतका सबै देशलाई उपलब्ध गराउन भूमिका खेल्नेछ”, महानिर्देशकले भने ।
उनले यो संयन्त्र विश्वव्यापी समन्वयको संरचना भएकोमा जोड दिए ।
विश्व स्वास्थ्य सङ्गठनले सबै अनुमोदित खोप सबै देशलाई समयमै समताको आधारमा वितरण गर्न खोप उत्पादकहरूसँग परामर्श गरिरहेको उनले बताए ।
“कुरा सहज उपलब्धताको मात्र होइन, सकेसम्म कम मूल्यमा उपलब्ध गराउने पनि हो”, उनले भने । उनले यदि उत्पादित खोप सीमित देशलाई मात्र उपलब्ध भए संसारभर नोबेल कोरोना भाइरस लामो समयसम्म अस्तित्वमा रहने बताए ।
“खोप राष्ट्रवादले भाइरसलाई अस्तित्वमा रहिरहन मद्दत गर्नेछ”, उनले भने ।
टेड्रोसले महामारी यता संसारभरका देशले आफ्नो आर्थिक गति कायम राख्न १२ त्रिलियन अमेरिकी डलर लगानी गरिसकेको तर त्यसको सट्टा खोप बनाउन केही लगानी गरे कोभिड–१९ महामारी पराजित हुनुको साथै दिगो आर्थिक पुनःस्थापना पनि हुने बताए ।
“कोभ्याक्सको सफलता त्यसमा सही गरेरमात्र हुने गर्दैन, बरु खोपको अनुसन्धान, विकासमा सहयोग गरेर पनि हुनेछ”, उनले भने ।
विश्व स्वास्थ्य सङ्गठनको जानकारीमा हाल ठूलो परिमाणमा उत्पादनको सम्भावना भएका सात थरी खोपको अनुसन्धान भइरहेको छ । अहिलेसम्म कुनै पनि खोप अनुमोदन भइसकेको छैन । कुनै पनि भाइरसको खोप परीक्षणको लागि सामान्यतः वर्षौं वर्ष लाग्छ । तर, वैज्ञानिकहरूले कोभिड–१९ भाइरसको खोप भने १२ देखि १८ महिनाभित्र विकास हुने आशा व्यक्त गरेका छन् । रुसले गत शनिबार आफूले उत्पादन गरेको खोपको पहिलो खेप उत्पादन गरेको छ । तेस्रो क्लिनिकल परीक्षणको लागि मेक्सिकोमा कम्तीमा दुई हजार वटा खोप पठाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *