भर्खरै :

काष्ठमण्डप पुनः निर्माण ७० प्रतिशत सम्पन्न

काठमाडौँ, ११ भदौ । काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यानुरूप अघि बढिरहेको छ । काष्ठमण्डप पुनःनिर्माण समितिले हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । पहिलो तलाको काम सम्पन्न गरी अहिले दोस्रो तलामा काठको काम भइरहेको बताइएको छ ।
विश्वभरि फैलिएको कोरोना भाइरसका कारण गत चैत – वैशाखमा काम हुन नसके पनि अहिले दैनिक ३५ कामदारले नियमितरूपमा काम गरिरहेका छन् । अहिले भएका कामदारले यही गतिमा काम गर्न पाए तोकिएको समयमा नै पुनःनिर्माणको काम सम्पन्न हुने पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।
विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको सुरुआत २०७५ साल कार्तिक २२ गतेदेखि भएको हो । निर्धारित समयानुसार समितिले २०७८ असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्नेछ । पुनःनिर्माणका लागि रु. १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु. १० करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ । पुनःनिर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्छ ।
भूकम्पले पूर्णरूपमा क्षति पु¥याएपछि सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम अहिले तीव्ररूपमा भइरहेको हो । तत्कालीन राजा लक्ष्मीनरसिंह मल्लका पालामा एउटै रुखबाट काष्ठमण्डप निर्माण गरेको इतिहास छ । निर्माणको क्रममा अहिले प्रयोग गरिएका केही काठ पुरानै र केही टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो । अहिले छानामा प्रयोग हुने काठको आवश्यकता परेकोले धनगढीबाट ल्याउने तयारी भएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *