भर्खरै :

वायुसेवा कम्पनीले सरकारी मान्यताको पीसीआर रिपोर्ट देखाउनुपर्ने

काठमाडौँ, ११ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षण गर्न तोकेका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट गरिएको परिक्षणलाई मात्रै मान्यता दिने भएको छ । मन्त्रालयले बिहीबार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दै अन्तर्राष्ट्रिय वायुसेवा संस्थाले आफूखुसी यात्रुलाई एउटैमात्र कोभिड–१९ पीसीआर परीक्षण गर्ने केन्द्र, अस्पताल प्रतिष्ठानबाट गराउने र त्यसलाई मात्र मान्यता दिने गरेको उजुरी मन्त्रालयलाई प्राप्त भएको भन्दै यदि त्यस्तो पाइएमा कानुनी कार्बाही गर्ने चेतावनी दिएको छ ।
कुनै पनि वायुसेवा कम्पनीले यस विपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यवहोरा सम्बन्धित सबै वायुसेवाहरूलाई जानकारी गर्न÷गराउन मन्त्रालयको निर्णयअनुरूप प्राधिकरणलाई लिखित निर्देशन दिइएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । वायुसेवा कम्पनीले सरकारले तोकेको कुनैपनि सरकारी स्वास्थ्य प्रतिष्ठान र अस्पताल, निजी स्वास्थ्य प्रतिष्ठान, अस्पताल र स्वास्थ्य संस्थाहरूबाट गरिएको परीक्षणको मान्यता दिनेगरी वायुसेवाहरूलाई निर्देशन गर्न प्राधिकरणलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम पर्यटन मन्त्रालयले नेपाली तथा विदेशी एयरलाइन्सको एक महिनाको उडान तालिका पनि सार्वजनिक गरिसकेको छ । विदेशबाट दैनिक ५०० यात्रु नबढ्ने गरी यात्रु नेपाल ल्याउन अनुमति दिइएको छ । यसरी आउने यात्रुले पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्नेछ । पीसीआर नगरेकाले उनीहरूकै होटल क्वारेन्टिनमा बस्ने व्यवस्था गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *